सेर्तुङ गाविसको परिचय

नामाकरणः–
sertung vdcतामाङ जातीको उद्गम थलो धादिङ जिल्लाको उत्तरी भेगमा रहेका तामाङ बाहुल्य गाविसहरुको नामाकरण तामाङ जातीको भाषाबाट नै भएको छ । सेर्तुुङ गाविसलाई वस्ती योग्य भूमि बनाउन अघि रसुवाको÷तिव्वतको महम भन्ने ठाउ‘बाट आएको मम्वा थरका तामाङहरुले हाल तिप्लिङ गाविस अन्र्तगत रहेको बोगरतम्वा भन्ने ठाउ‘बाट हेर्दा हाल सेर्तुङ गाविसमा अवस्थित सेदाचेत भन्ने धार्मिक स्थलमा केहि बस्तु चम्किरहेको देख्यो । पछि तामाङहरु त्यस स्थानमा पुग्दा सुनको खम्बा अर्थात तामाङ भाषाबाट सेरकिदुङ (सेर भनेका सुन र दुङ भनेको खम्बा) देख्यो । सो स्थानमा सुनको खम्बा भएकैकारण सेर्तुङ गाविसको नाम सेरकिदुङ नामाकरणहुदै पछि सो तामाङ भाषाको शब्द सेरकिदुङ अपभ्रंस भएर हालको सेर्तुङ गाविस नामाकरण रहन गएको भन्ने विश्वास स्थानिय वायोबृद्धहरु बताउछन् ।

अवस्थितिः–
धादिङ जिल्लाको उत्तरी दुर्गम क्षेत्र अन्र्तगत गणेश हिमालको फेदमा सेर्तुङ गाविस रहेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस गाविसमा गणेश हिमाल, कालो दह, सेतो दह, तातोपानी, सिङल्ह लेक, आखु खोला जस्ता पर्यटक स्थलहरु रहेको छ । गाविसको उत्तरमा चीनसंग जोडिएको गणेश हिमाल, पूर्वमा रसुवासंग जोडिएको तिप्लिङ गाविस, पश्चिममा झार्लाङ गाविस, उत्तर–पश्मिमा लापा गाविस, दक्षिणमा नुवाकोट जिल्लाको उत्तरी सीमाहरु पर्दछन् ।

भौगोलिक स्वरुपः–
क्षेत्रफल – १२४.०४ वर्ग किमी
परिधि – ७२.९५ किमी
सदरमुकामबाट दुरी – १८ कोष
उचाई (समुन्द्रि सतह) – १७३२ मी
उचाई – ५६८१ फीट

पहाडी भूभागमा अवस्थित सेर्तुङ गाविसले उत्तरमा चीनको तिब्बतसंग जोडिएको छ । भौगोलिक रुपमा केहि वार्ड बाहेक अधिकांस भुभाग उत्तरतीर फर्केको अवस्थामा रहेको छ ।

भौगोलिक बनावट ः–
उत्तरी धादिङको दुर्गम गाविस सेर्तुङ गणेश हिमालको फेदमा अवस्थित रहेता पनि अधिकास भुभाग पहाडले ओगटेको छ । यस गाविसमा आखु खोला, अदा खोला लगायत पर्यटकिय स्थल कालो दह, सेतो दह, सिङल्हा, तातापानी लगायतका स्थलहरु रहेको छ । साथै यस गाविसले उत्तरी सीमानामा नेपालको प्रख्यात हिमाल मध्यको गणेश हिमालसगं पनि जोडिएको छ ।

नदीनालाः–
आखु नदि, आदा खोला,

हावापानीः–
हिमाली भुभागसंग जोडिएको गाविस भएको कारण यस क्षेत्रको‘ हावापानीमा खासैउतारचढाप भएको पाइदैन । यो गाविस जिल्लाको नै उत्तरी चीनको सीमासंग जोडिएको माथिल्लो भू–भाग भएको कारण यहॉ शितोष्ण हावापानी पाइन्छ ।

खानी ः–
यस गाविसमा जस्ता, तामा, सिसा, क्वाजर्, जस्ता खानीहरु रहेको पाइन्छ ।

बजारहरुः–
विकासको दृष्ट्रिकोणले धेरै नै पछि परेको यस भेगमा यातायातको असुविधाका कारण खासै बजारहरुको बिकास भएको पाइदैन । व्यापारिक दृष्टिकोणले यस गाविसको बोराङगाउ‘ मुख्य रुपमा व्यापारिक केन्द्रविन्दु बनेको छ । त्यसबाहेक सेर्तुङ र चालिस गाउ‘मा पनि समान्यरुपमा बजारहरु विस्तार भईरहेकोछ ।

पर्यटकीय एवं ऐतिहासिक स्थलहरुः–
सेर्तुङ गाविसभित्र रहेका अधिकांस भूभागहरु प्राकृतिक एवं ऐतिहासिक, जैविक विविधता, वनजङ्गल र जीवजन्तुहरुका साथै एतिहासिक धार्मिक स्थल र मनै लोभ्याउने मनोरम दृष्यहरुको संगम थलोको रुपमा परिचित छ । यस गाविस भित्र रहेका प्रमुख एवं चर्चित पर्यटकिय स्थल एवं धार्मिक स्थलहरु यस प्रकार रहेका छन् ः–

(क) गणेश हिमाल ः
देश कै चर्चित हिमाल मध्येको गणेश हिमाल यस गाविसको उत्तरीसीमामा अवस्थित छ । प्रकृतिको बरदानको रुपमा रहेको यस हिमालले यस भेगको शोभा बढाएको छ । बर्र्षेनी सयौको संख्यामा पर्यटकहरु अवलोकन गर्न यहॉ आउने गर्दछन् । पर्यटक आकर्षकको केन्द्रविन्दु भईकन यस हिमालले यस गाविसलाई बिजुली नभईकन पनि बिजुली भएसरी उज्ज्यालो बनाईरहेको छ ।
(ख) सिङल्ह ः
धादिङ जिल्लाको ऐतिहासिक एवं धार्मिक पर्यटक स्थल सिङल्ह सेतुङ गाविसमा पर्दछ । सिङ्गलादेवी परापूर्वकालदेखि नै स्थानिय बासिन्दाहरुले धार्मिक स्थलको रुपमा श्रद्धा, आस्था भावका साथा मान्दै आएका छन् । सिङ्गलादेवी बारेमा धेरै बर्ष पहिले योञ्जन थरका तामाङ गोठालाले मङ्गच्यात भन्ने ठाउ‘मा गोठ गरी बस्दा राती सपनामा चमत्कारपूर्ण चेलीले लेकमा प्रत्येक बर्ष भक्तिभासाथ पूजा अर्चना गर्नु भनेकाले योञ्जन गोठालाले एउटा माने खडा गरे । त्यही समयदेखि प्रत्येक बर्षको भदौ पूर्णिमामा जात्रा हुन्छ । यस जात्रामा झाक्रीहरुको महत्वपूर्ण स्थान हुन्छ । त्यो वेला नयॉ झाक्रीहरुलाई वाङ्गगुर दिन्छन् जसबाट झाक्रीहरु एकदमै निपुण, सक्षम, एवं सवल हुन्छन् भन्ने विश्वास गरिन्छ । तीन बर्षसम्म लगातार सिङल्हामा गई पुजा गरेमा आफ्नो इच्छा पुराहुने श्रद्धालु भक्तजनहरु विश्वास गर्दछन् । धादिङ लगायत नुवाकोट र रसुवा जिल्लाका विभिन्न गाउ‘बाट पनि झाक्रीहरु ढ्याङ्गग्रो बजाउदै मीठो लयमा गीत गाउदै नॉचगान गर्ने गर्दछन् । यस जात्रामा विशेष गरी युवा–युवतीहरुको अति घुइ‘चो हुन्छ । चेलीहरुले यस जात्रामा अनेकन प्रकारका मिष्ठान्न भोजनहरु तयार पारेर लैजान्छन् । अनि नयॉ झाक्री लगायत त्यस जात्रामा सम्मिलित दाजुभाइहरुलाई बॉडछन् । दाजुभाइहरुले पनि आफ्नो गच्छेअनुसार पैसा दिन्छन् । मनै लोभ्याउने मनोरम प्राकृतिक दृष्यहरुले भरिपूर्ण यस क्षेत्र एक मनमोहक लेकाली स्थल हो । यस क्षेत्रबाट गगनचुम्वी गणेश हिमाल, प्यालदोर हिमाल देखि लिएर पङसङ भञ्ज्याङ्ग र विभिन्न लेकाली फॉट र खर्कहरु देखिन्छन् । यस लेकको अनौठो प्रकारको रंगीचंगी फुलहरुले पर्यटकहरुलाई आनन्दित तुल्याइदिन्छन् । सिङ्गलादेवी मनोरम प्राकृतिक दृष्यावलोकन गर्न प्रत्येक वर्ष थुप्रै विदेशी पर्यटकहरुले आहोर–दोहोर गर्दछन् ।
(ग) कालो दह÷सेतो दह
सेर्तुङ गाविसको हिन्दुङ गाउ‘बाट एक दिनको पैदल यात्रा पश्चात पुग्ने र गणेश हिमालको ठिक तलतिर रहेको कालो र सेतो नामक दुई दहहरु रहेका छन् । यी दुई दहहरु नामअनुसारकै रंगका देखिन्छन् । यी दुई दह वरिपरी ज्यादै ठूलो चरन छ । यहि चरनको केन्द्र बिन्दुमा यी दुई दहहरु छन् । कालो दहको माथिबाट कुनै चराचुरुङ्गी या यान्त्रिक उडानहरु उडेमा सिधै उक्त दहमा खस्छन् भन्ने मान्यता पाइन्छ । साथै यी दुई दहहरुलाई सफासुग्घर गर्ने एउटा फिस्टे नामक चरा पनि छ भन्ने कुरा गाउ‘लेहरु बताउ‘दछन् । त्यो फिस्टे चराले कुनै पनि पातपंतिगरका फोहोर चीजहरु खस्न लाग्दा टिपेर बाहिर फाल्दछ भन्ने कुरा प्रत्यक्षदर्शी गाउ‘लेहरु बताउ‘दछन् । अहिलेसम्म कुनचाहि‘ देवीदेवता छन् भन्ने कुरा गाउ‘लेहरु ठम्याउन सकेका छैनन् । यस दह वरिपरि पर्यटकहरुको घु‘इचो लाग्ने गर्दछ । सेर्तुङ लगायत तिप्लिङ, लापा र झार्लाङ गाविसका जनताहरु विभिन्न समयमा गाईवस्तु लिएर त्यहि दह वरिपरि महिनौ गोठ बनाई विताउ‘दछन् ।
(घ) तातोपानी
सेर्तुङ गाविस स्थित हिन्दुङ गाउ‘को पुछारमा तथा माथिल्लो ऑखुको तिरमा अवस्थित धार्मिक एवं पर्यटकिय स्थल तातोपानी निकै नै प्रसिद्ध छ । यस स्थलको वरिपरी हरियो वनले ढाकेको विशाल पहाडहरु रहेको छ । गणेश हिमालको फेदबाट प्रस्फुटित सङलो र चिसो पानी आखुनदिको रुपमा तातोपानीको छेउबाट कलकल वगिरहेको छ । विशाल चट्टानको फेदबाट निस्किएको तातोपानीमा एक चौर पनि रहेको छ । विशेष गरि यस ठाउमा औंशी र पूर्णिमाको दिनहरुमा पुजा हुने गर्दछ । माघे सङक्रान्तिको दिन यहॉ झाक्रीद्धारा पुजा गरे पश्चात तातोपानीको तापक्रममा वृद्धि हुने गर्दछ । पुजा पाठ गर्ने वेलामा सो स्थानमा स्नान गर्नाले विभिन्न प्रकारका रोगहरु निको हुने गर्दछ । स्थानिय विद्यार्थीहरुले यस स्थललाई रमाइलो पिकनिक स्थलको रुपमा पनि प्रयोग गर्ने गर्दछन् । तातोपानी यस गाविसको आन्तरिक तथा वाह्या पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु बनेको छ । वर्षेनी यहॉ पर्यटकहरुको घु‘इचो बढ्ने गरेको पाइन्छ ।
(ङ) सेदाचेत
तिब्बतका राजा स्रङचङ गम्पोका घोडा–सवार सेनाहरु थिए । राजा गम्पोले घोडाचढी सेनाहरुको सहयोगबाट निकै ठूूलो भू–भागलाई आफ्नो नियन्त्रणमा लिंदै थिए । ती घोडसवार डफ्फाहरु तिव्वतको माम् भन्ने ठाउ‘सम्म फैलिएका थिए । ती डफ्फाहरु माम् भन्ने ठाउ‘बाट धेरै समयपश्चात दर्धो लामा नामक लडाकुको नेतृत्वमा गत्लाङ्ग, गोल्चोङ्ग, माङ्गच्यात, सिङ्गला, मजेम्वो हुदै पाङ्गसाङ्ग भञ्ज्याङ्गबाट दर्धो लामाले वर्तमानको सेर्तुङ गाउ‘मा सुनको खम्वा देखेको थिए । सेर्तुङ्ग गाउ‘लाई माम्बाट आएका माम्बाहरुले आफ्नो अधीनमा ल्याउनु अगावै नागराज (ङ्गयान्वु)लाई हटाउ‘दा पाङ्गसाङ्ग भञ्ज्याङ्गमा अवररोधको रुपमा रहेको ढुंगालाई कॉक्रा चिरे जस्तै दुई टुक्रामा विभाजित गरेर आफ्नो विजय अभियान गरका थिए । एवं प्रकारले नागराज र दर्धो लामा बीचको घमासान लडाईमा दर्धोलामाको विजय भयो । दर्धो लामाको विजय पश्चात त्यस ठाउ‘मा एक प्रकारको महामारी फैलियो जसबाट धेरै जनाको अकालमै मृत्यु भयो । त्यो महामारी हुनुमा नागराजको सराप सम्झि त्यसबेलादेखि नागराज बस्ने ठाउ‘मा प्रत्यक बर्ष जेठ–पूर्णिमामा माम्बा थरका तामाङ्गहरुले कालो बोका बलि दिई पुजापाठ गर्दछन् । त्यस ठाउ‘लाई पछि सेजच्यात भनी नामाकरण गरियो । सेजच्यातको दक्षिणी भाग उकालो जहॉ सात वटा रुखहरु छन् त्यसलाई स्थानिय तामाङ्ग भाषामा पानादोङ्गवो भन्दछन् । पूर्वपट्टि लेकबाट बगेको कञ्चन र निर्मल खोला छ । पश्चिम पट्टिभागमा जलजले माटो छ, जुन ठाउ‘मा कुनै पनि जीवजन्तु परेमा डुब्दछ भन्ने गाउ‘लेहरु बताउ‘छन् । त्यसको वरिपरि समथर मैदानी दुवो उम्रेको रमणीय ठाउ‘ छ । त्यस ठाउ‘मा दुईवटा माने छ । यस स्थलमा भैसीलाई पस्न दिदैन, भैसी पसेमा ठुलो हुरी बतास आएर ठुले धनजनको नास हुने स्थानिय बासीहरु बताउ‘छन् ।
(च) घले राजाको दरबार
(छ) फ्यान्चेत गुम्बा (ङवाङ नमग्याल), खटेल गुम्बा
(ज) प्यान्तिस्या (शिव) मन्दिर
पृथ्वी नारायण शाहले तत्कालिन २२सी२४ राज्यलाई विस्तार गर्ने अभियानका क्रममा सेर्तुङ्ग गाविस रहेको घले राजालाई हराएपछि यो मन्दिरको निर्माण गरिएको हो । एक राज्य, एक धर्म, एक भाषा, एक संस्कृतिको निरङ्कुश निति अनुरुप स्थानिय तामाङ्ग र घले जातिहरुलाई जवर्जस्त रुपमा हिन्दु धर्म मान्न बाद्य बनाउने उद्धेश्यकासाथ यो मन्दिरको निर्माण गरिएको हो । त्यस पश्चात सम्पूर्ण तामाङ्गहरु हिन्दु धर्मको परम्परालाई निरन्तरता दिदै आएको छ । यो मन्दिरको सम्पूर्ण भाग कलात्मक बुट्टदारढुङ्गबाट निर्माण भएको छ । प्यागोडा शैलीमा निर्माण भएको सो मन्दिरको ठिक अगाढि सिङ्गो ठूलो ढुङ्गाको साढे रहेको छ । मन्दिरको भित्री भागमा ढुङ्गाबाट नै निर्मित शिव लिङ्ग रहेको छ । गणेश हिमाल र प्याल्दोर हिमालबाट प्रस्फुटित दुई माथिल्लो आखुको दोभानको समतल भू–भागमा अवस्थित यस मन्दिरलाई चारैतिरबाट पहाडले घेरेको छ । वर्षेनी माघे सङक्रान्तिको दिन यहॉ ठूलो मेला लाग्ने गर्दछ । तिप्लिङ्ग, लापा र सेर्तुङ्ग गाविसबाट झाक्रीहरुको उपस्थितिमा त्यस दिन रातभरि नाचगान गरी यहॉ रमाइलो गर्ने गरिन्छ । रातभर झाक्रीले पूजा गरिसकेपछि विहान झाक्रीबाट आसिस लिने गरिन्छ ।
(झ) ३ कन्या देवी देवीथान
सेर्तुङ गाविसको वडा नं–४ चालिस गाउ‘को सिरानमा पर्ने ३ कन्या देवि थान धेरै वर्ष अगाडी देखि नै एक ऐतिहासिक धार्मिक स्थलको रुपमा चर्चित रहेकोे छ । स्थानिय बायोबृद्धहरुको भनाई अनुसार वि.स. १९४० साल तिर रङगु गुरुङ नाम गरेको एक जना गरुङले आफ्नो स्वास्थ्य ठिक नहुदा हाल ३ कन्या देविथान भित्र रहेको ढुङगामा तरवार गाडेर पूजा गर्दा आफ्नो स्वास्थ्य ठिक भएको भएको कुरा बताएका छन् । सो ढुङगा हाल पनि सो स्थानमा प्रत्यक्ष देख्न सकिन्छ । यस देवि थानमा वर्षेनी भवानी पुजा, चण्डी पुजा, तिज, दशै, एकादशी, चैते दशै लगायतका धेरै पर्वमा पुजा पाठ गर्ने चलन छ । यस कन्या देविमा पुजा गर्नाले आफुले चिताएको इच्छा पुरा हुने, निःसन्तानलाई सन्तानलाई सन्तान हुने, गाउ‘ बस्तीको रक्षा गर्ने, परदेश लाग्दा दर्शन लिएर जॉदा यात्रा सफल हुने जस्ता कुरामा विश्वास लिने गरिन्छ । सार्थ खडेरी जॉदा ३ जना कन्या केटालाई सिगार पटार गरि प्रत्येक घरमा गई हाराहारा महादेव पानी देउ यतिले पुगेन थपिदेउ भन्दा पानी पर्ने र ठूलो हुरिबतास असिना पानी परि धनजनको क्षति पर्याएमा पुजापाठ गर्दा मौसम ठिक हुने आदि विश्वास गर्ने गरिन्छ । एकादशी खाना नखाई धुपबत्ती बाली वर्तबस्ने चलन पनि रहेको छ सो दिन तामाङ झाक्रीहरु आई रातभरि नाच्ने चलन छ । पहिला पहिला बेशी तीरबाट पनि दमाई बाजागाजाका पुजा पाठ गर्न आउने कुरा पनि गाउ‘लेहरु बताउछन् ।
(ञ) डुब्चु दह
सेर्तुङ गाविसको डुव्चु दह पनि धार्मिक दृष्टिबाट महत्वपूर्ण स्थल मानिन्छ । यस दहमा माघ महिनामा जात्रा हुन्छ । यो जात्रामा बोम्बो अर्थात झॉक्रीहरु रातभरि ढ्याङ्गग्रो बजाउ‘दै नॉचगान गर्ने गर्छन् । अर्कोतिर अधिकांस युवा–युवतीदेखि बुढापाकाहरु समेत बुद्ध भगवानप्रति अटल आस्था राख्दै माने र दोरा नाच्ने गर्दछन् । यो डुव्चु दह अचम्म स्थानमा रहेको छ । डुव्चुको माथि घना जङ्गल अनि तल डरलाग्दा बुट्टेदार चट्टानहरु रहेको भीर, पहराहरु छन् भने बीचमा समतल भाग रहेको छ । डुब्चु दहमा केहि सुख्खा कुवाहरु छन् । बोम्बोहरुले रातभरि नाच्दै ढ्याङग्रो बजाएर भाकाल गरेपछि भोलिपल्ट आफसेआफ ती कुवाहरुमा टम्म पानी भरिएको हुन्छ । तीर्थयात्रीहरुले दिउ‘सो नुहाइसकेपछि ती कुवाहरु पुनः सुक्छन् । दुई दिनसम्म लाग्ने यस जात्रामा तिप्तिङ्ग, झार्लाङ र लापा गाविसका मानिसहरुको घुइचो लाग्ने गर्दछ ।
(च) च्याम्रा, ब्राकर
सेर्तुुङ गाविसको वार्ड नं–८ स्थित विशाल चट्टानको माथिल्लो डाडामा च्याम्रामाई देवि माईको माने रहेको छ । टाढाबाट हेर्दा निलो आकाशमा आकाश गंगा जस्तो देखिने यो ठाउ‘मा पूजा गर्ने बेलामा महिलाहरुलाई जान निषेध छ । यस स्थलको माथिल्लो टुप्पोदेखि तल्लो फेदसम्म एउटा सानो क्षेत्रफलमा बाटो छ जहॉ कुनै पनि जंगली झारपात, घॉसपात र बोटबिरुवाहरु उम्रिएको छैन । च्याम्रादेविमाई त्यहि सानो बाटो भएर पानीको लागि आवत–जावत गर्ने हो भन्ने किंवदन्ती छ । यो स्थानमा जेठ महिनामा विशेष आराधाना पूजा हुने गर्दछ । पूजा पाठ गर्ने बेलामा पूजारी सेतो भेषमा जानुपर्ने चलन रहेको छ । पूजाको समयमा कुखुराको वलि दिई अण्डा चढाउने प्रचलन छ । त्यो खाली बाटोमा भैंसी लिएर जानु हुदैन भन्ने कहावत छ । यदि भैंसी गएमा ऑधी बेहरी, हुरी बतास चली धनजनको क्षति हुने कुरामा विश्वास राख्दछन् । खासगरी डिम्दुङ थरका तामाङ्गहरु च्याम्रादवि माईमा पूजापाठ गर्दछन््
(छ) मछ्याम्बो

सेर्तुङ गाविस जानकारी
जातीहरुका
सेर्तुङ गाविसमा तामाङ, गुरुङ, नेवार र विश्वकर्मा गरी चार प्रमुख जातिहरुको बसोबास रहेको छ । यी चार प्रमुख जातिहरुमा केहि रुपमा उचनिचको भावना देखिएता पनि समग्रतामा आपसी मेलमिलाप, सहयोग, र सदभाव भएको पाइन्छ । यातायातको असुविधा भएका कारण सरदमुकाबाट २÷३ दिनको पैदलयात्रा पछिमात्र पुग्न सकिने र ज्यादै दुर्गम र विकट भएका कारण यो गाविस हरेक दृष्ट्रिकोणबाट पछि परेको देखिन्छ । स्वास्थ्य, शिक्षा र रोजगार जस्ता आधारभूत आवश्यकताबाट बञ्चित यस भेगका मानिसहरुको जीवन निकै कष्टदायी र संघर्षमय छ । यहॉ यस गाविसमा रहेका जातीहरुको छोटो परिचय दिने कोशिस गरिएको छ ।
तामाङ
यस गाविसमा तामाङ्ग जाति अन्य जातिको तुलनामा अति घना संख्यामा रहेका छन् । तामाङ्गहरुको उद्गमथलोको रुपमा रहेको यस गाविसमा माम्बा, गोम्जा, डिम्दुङ, घले, चौथेन, ङ्गारथेन, रम्पोद थरका तामाङ्ग जातिहरुको बसोबास रहेको छ । जन्म, विवाह, मृत्यु, र अन्य चाडपर्व आफ्नै धर्मानुसार मनाउने प्रचलन छ । बच्चा जन्मिदा चोख्याउनु पर्ने, मागी विवाह, चोरी विवाह र जारी विवाहको प्रचलन यो जातिमा पाइन्छ । मान्छे मरेको खण्डमा सम्पूर्ण गाउ‘लेहरु काममा नगई शोक मनाउन बार्ने चलन छ । त्यस दिन कुनै पनि व्यक्ति काम नगर्ने र मलामी जाने चलन छ । अन्तमा लामाको प्रक्रिया पुरागरिसकेपछि मृतकको सम्झनामा माने खडा गर्ने चलन छ । यो एक वर्षभित्र पुरा गर्नुपर्ने हुन्छ । यिनीहरुको विवाहवारी, फुपुचेली र मामाचेलीमा पनि चल्दछ । यिनीहरुको धर्म बौद्ध हो । गाउ‘मा यी जातिहरुको बाहुल्य भएकाले गाविस पदाधिकारी पनि तामाङ्ग नै बढी छन् ।

विश्वकर्मा
सेर्तुङ्ग गाविसको वडा नं–२, ४ र ८ मा केहि विश्वकर्मा जातिहरु छन् । यिनीहरुको स्थिति ज्यादै दुःख लाग्दो छ । यी मध्ये वार्ड नं–८ का विश्कर्माहरु जग्गा–जमिन बिहिन सुकुम्बासीको रुपमा रहेका छन् । बर्षौदेखि स्थानिय जातिको रुपमा बसोबास गर्दै आएका यी विश्वकर्माहरुलाई जग्गा दिलाउ‘ने काममा सम्वन्धित निकायले ध्यान दिनु जरुरी देखिन्छ । अशिक्षाका कारण परम्परातग पेशामा निर्भर यो जाति गाउ‘ घरमा वाली उठाएर गुजारा चलाउने गर्छन् । यिनीहरुको मुख्य पेशा गाउ‘घरमा घरायसी प्रयोजनका सामग्रीहरु जस्तैः ह‘सिया, खुकुरी, कुटो, कोदालो आदि जस्ता साधनहरु बनाउनु हो । रुढीवादी परम्परा अनुुसार यो जातिहरुलाई तामाङ्ग, नेवार र गुुरुङ्ग जातिका घरभित्र प्रवेश गर्न नपाउने परम्परा केहि बर्ष यतादेखि कम हुदै आएको छ । यी जातिहरुको पनि मामा फुपुचेलीबीच विहावारी गर्ने चलन छ । खस भाषालाई मातृ भाषाको रुपमा लिए पनि यो जातिले प्रष्ट रुपमा तामाङ्ग भाषा बोल्ने गर्दछन् ।

नेवार
नेवार जातिहरु धेरै वर्ष पहिले पाटनबाट डुल्दै–डुल्दै सेर्तुङ्गमा पुगेका हुन् भन्ने मत छ । बज्रचार्य र शाक्य थरका नेवारहरु मात्र भएको यस गाउ‘मा यिनीहरुले सानातिना पसलहरु खोलेर बसेका थिए । गाउ‘मा चाहिने आवश्यकीय बस्तुहरु राजधानीबाट ल्याएर बेच्नुका साथै कपडा सिउने गर्दथे । तर हाल ती नेवारहरु व्यापारका लागि काठमाडौं बसाइ सरेका छन् । यी जातिहरुले पनि तामाङ्ग भाषा बोल्न सक्छन् । व्यापारमा कठोर लगनशिल र परिश्रमको परिणम आज राजधानीका प्रमुख ठाउ‘हरुमा सुनचॉदी पसल खोलेका छन् जसबाट उनीहरुले आर्थिक स्थितिलाई मजबुत बनाएको छ । सेर्तुङ्ग गाविसको लगभग सयको हाराहारीमा युवाहरुलाई यिनीहरुले राजधानीमा रोजगारी दिलाइका छन् । धादिङ्ग जिल्लाको उत्तरी चार गाविस मध्ये सेर्तुङ्ग गाविसमा मात्र यी जातिहरु बासोबास रहेको पाइन्छ ।

गुरुङ
गुरुङ्ग जातिहरु यस गाविसमा धेरै वर्ष पहिले लमजुुङ्गबाट तामाको खोजीमा आएकोअ अड्कल गुरुङ्ग बुढापाकाहरु बताउ‘छन् । गुरुङ्गहरुको आफ्नो मातृभाषा भएपनि बोल्ने गर्दैनन् । बरु तामाङ्ग जातिको भाषा प्रयोगमा ल्याउने गर्दछन् । त्यसको अलावा गुरुङ्गहरु नेपाली भाषा पनि बोल्ने गर्दछन् । यिनीहरुले यस सेर्तुङ्ग गाविसिको वार्ड नं–४मा एकलौटी बाहुल्य बनाएर बसेका छन् । चालीस धुरी मात्र चालिस धुरी मात्र आएकोले गाउ‘को नाम चालिस गाउ‘ भएको छ । ती गुरुङ्ग जातिहरु ज्यादै सोझा, मिलनसार र सहयोगी हुन्छन् । यी गुरुङ्ग जातिहरुको हरेक किसिमको सामाजिक प्रक्रियाहरु तामाङ्ग जातिहरुसं‘ग मिल्दोजल्दो छ । लामा, लामिछाने र घले थरका गुरुङ्गहरु छन् । यी जातिहरु भारतिय र नेपाली सेनामा भर्ती हुने गर्दछन् ।

शिक्षा
धादिङ्ग जिल्लाको उत्तरी दुर्गम भेगमा रहेको सेर्तुङ्ग गाविसको शैक्षिक अवस्था अत्यन्तै नाजुक स्थितिमा रहेको छ । अत्यन्तै विकट भएको र जिल्लाको सदरमुकामबाट ३ दिनको पैदलयात्रा पछि मात्र पुग्न सकिने यस गाविस हरेक दृष्ट्रिणले उत्पीडनमा परेको छ । दुर्गम एवं विकट हुनु यसको कारण हुदाहुदै पनि वर्षौ देखिको सामान्तवादी राजनितिक संस्कार नै प्रमुख समस्याको रुपमा रहेको छ । विगतका स्थानिय राजनितिक प्रतिनिधिहरुको गलत राजनैतिक चरित्रका कारण गाविस भित्र रहेको विद्यालयहरुको सहि व्यवस्थापन र परिचालन हुन सकेको देखिदैन । एक मा.वि, एक नि.मा.वि. र चारवटा प्राथमिक विद्यालयहरु रहेता पनि भौतिक पूर्वाधारको कमि, शिक्षक दर्वन्दिको अभाव, दरवन्दिमा रहेको शिक्षकहरुको विद्यालयमा न्युन उपस्थितिका साथै विद्यालय व्यवस्थापन समितिका कमजोरी कारण यस गाविसको शिक्षा क्षेत्र सोचे अनुरुप अगाडी बढेको छैन । गरिबी र बेरोजगारका कारण रातदिन मेहनत गर्दा पनि गुजारा चलाउन गाह्रो भएका कारण स्थानिय अभिभावकहरु आफ्नो छोराछोरीहरुलाई विद्यालय पठाउन नसकेर साहुको ऋण थापेर खाडी मुलुक पठाउन बाद्य छन् । शिक्षाको अभावका कारण समाजमा बिद्यमान कुसंस्कार, विकृती विसंगती, रुढिबादी संस्कारलाई हटाउन सकिएको छैन । विद्यालय जाने उमेरमा नै विवाह बन्धनमा बॉधिने संस्कारले स्थानिय यूवायूवतीहरु पढाई छाडेर खेती किसानमा नै सिमित रहनु र रोजगारको निमित्त विदेशीनु बाद्य छन् । यस गाविसबाट पहिलो पल्ट एस.एल.सी उत्तीर्ण गर्ने व्यक्ति हुन भू.पु. मन्त्री बुद्धिमान तामाङ्ग । उहॉले २०३० सालमा एस.एल.सी उत्तीण गर्नु भएको थियो । मन्त्री तामाङ्गको सक्रियतामा शिक्षा क्षेत्रलाई सुधारने क्रममा २०१९ सालमा स्थापना भएको स्थानिय मुक्राप देवि प्रा.वि.लाई २०५४ सालमा मा.वि.मा परिणत गरेबाट बार्षिक ५÷६ जनाका दरले एस.एल.सी उत्तीण गर्ने विद्यार्थी संख्यामा बृद्धि भईरहेको छ । आर्थिक समस्या र बेरोजगारका कारण एस.एल.सी उत्तीण पश्चात उच्च शिक्षा हासिल गर्ने अवसरबाट वञ्चित अधिकांस विद्यार्थीहरु पनि विदेशिनु पर्ने बाद्ययता छ । केहि वर्षयता स्थानिय यूवाहरुको सक्रियतामा शिक्षा क्षेत्रमा विस्तारै व्यापक परिवर्तन हुदै आएको छ । गाविसमा रहेको एक मात्र मा.वि.लाई शैक्षिक सत्र २०६७ बाट उच्च मा.वि. सञ्चालन गर्ने प्रक्रिया अगाडि बढिरहेको छ । कक्षा ५ सम्म मात्र सञ्चालन भईरहेको श्री च्याम्रा देवि प्रा.वि. हाल नि.मा.वि.मा परिणत गरी हाल कक्षा ८ सम्म सञ्चालन भईरहेको छ । गाविसमा रहेका प्रत्येक विद्यालयहरुको भौतिक पूर्वाधार पूर्ण रुपमा सुधारिएको छ । विद्यालय छाड्ने विद्यार्थीको संख्यामा निकै कम भएको छ, भने विचैमा आफ्नो पढाई छाडेर बसेका विद्यार्थीहरु पनि विद्यालय भर्ना हुन थालेका छन् । अभिभावकहरुमा पनि छोराछोरीलाई विद्यालय पठाउनु पर्ने चेतना आएको छ । प्रत्येक विद्यालयको व्यवस्थापन समितिलाई परिमार्जन गरि सक्रिय गरेबाट समग्रतामा यस गाविसको शैक्षिक अवस्था विगतको तुल्नामा निकै नै सुध्रिदै आईरहेको छ ।
पेशा
यस गाविसको मुख्य पेशा खेतीपाती र पशुपालन हो । यस गाविसका किसानहरु खेतीपाती र पशुपालनबाट नै आफ्नो जीवन गुजारा गर्नु सिवाय अन्य कुनै निश्चित आयस्रोत छैन । । विशेष रुपमा यहॉ मकै, गहु‘, कोदो, जौ, फापर, भटमास र आलुको खेती हुन्छ । यी सबै अन्नबाली एक बाली मात्र हुने गर्छ । बाह्रै महिना खेतीपातीमा जोतिए पनि यहॉका गरिब किसानहरुलाई दुईछाक गुजारा चलाउन पनि धौधौ छ । खेतीपातीको अलावा अन्य कुनै निश्चित आयस्रोत नभएबाट यहॉका युवाहरुलाई विदेशीनु पर्ने बाद्ययता छ । तिव्बतस‘ग व्यापार सुरु भएको आर्थिक जीवनसंगै यहॉका तामाङहरु केरुङका बासिन्दाहरुसंग गहु‘, मकै, आलुस‘ग नुन चामल साटेर उपभोग गर्ने गर्दछन् । धान खेति नभएको कारण चाडपर्वहरुमा आफ्नो परिवारलाई केहि छाक भएपनि चामलको भात खुवाउन आलुस‘ग धान साट्नको निमित्त आलु बोकेर जिल्लाको सदरमुकाम छेउका गाविसहरुमा झर्ने गर्दछन् । यसरी दुई÷तीन दिन आलुको भारी बोकेर धानस‘ग साट्न आएका सोझा तामाङहरुलाई धान भन्दा पनि भुस बढि दिएर शोषण गर्ने कटु यथार्थ छ । वर्ष दिनको मेहनत र परिश्रमबाट पनि गुजारा नचल्ने भएका कारण बाद्य भएर संसारकै दुर्लभ वन्यजन्तुको रुपमा रहेको कस्तुरीको सिकार गरी बिना संकलन गर्न देशको विभिन्न जिल्ला जस्तैः सोलुखुम्वु, लमजुङ, बाग्लुङ, डोल्पा लगायात देश बाहिर सिक्कीम, आसाम, भुटान र तिव्वतमा समेत पुगेको देखिन्छ । गैर कानुनी रुपमा धेरै दुःख गरेर कस्तुरीको विना संकलन पश्चात राजधानी पुर्याउने क्रममा धेरैजना पक्राउ परी हाल पनि कारगारमा छन् । यस व्यापारमा संलग्न व्यापारीहरुले राजधानी पुर्याएका कस्तुरीको विना पनि दलालको हातमा परेर धेरै न्यून रकम प्राप्त हुने अनुभव सुनाउ‘ने गरेको पाइन्छ । विदेशीहरुका लागि खुला पर्यटनको विकासको सुरुवातस‘गै यहॉका अधिकास तामाङ र गुरुङ्ग जातीका यूवायूवतीहरु पर्यटकहरुको भरियाको रुपमा काम गर्ने अवसर पाएका छन् । केहि यूवाहरुले राजधानीमा ट्रेकिङ एजेन्सि खोलेर व्यवसायिक रुपमा यूवाहरुलाई रोजगारी दिलाएका छन् । ट्रेकिङ्ग व्यवसाय संगै केहि यूवायूवतीहरु राष्ट्रिय–अन्तराष्ट्रिय स्तरमा लागु पदार्थ ओसारपसार कार्यमा संलग्न भएका छन् । हाल पनि यस गाविसबाट थाइल्याण्डको बैंककमा लागूपदार्थ ओसारपसारकै क्रममा केहि यूवाहरु हिरासतमा रहेका छन् । केहि वर्षयता देखि यस व्यवसायलाई छाडेर धेरैजसो यूवायूवतीहरु बैदेशिक रोजगारीको लागि साउदीअरव, कतार, मलेसिया, दुबई, ओमन, कुवेत लगायतका देशहरु गएक छन् । यसरी विदेशी पर्यटकहरुस‘गै भरियाको रुपमा र बैदेशिक रोजगारीमा जानेको संख्या बृद्धिसंगै गाउ‘बाट राजधानी लगायत अन्य शहरहरुमा झर्नेको संख्या बृद्धि हुन थाल्यो । राजधानी प्रवेशसंगै केहि मानिसहरु सानातिना होटल तथा खुद्रापसल खोलेर व्यवसायमा लागेका छन् । लगभग सयौंको हाराहरीमा यूवाहरु राजधानीको सुनचॉदी पसलहरुमा कार्यरत छन् । यी मध्ये अहिले २० जना जतिले आफ्नै सुनचॉदी पसल खोलेर व्यवसायिक रुपमा यूवाहरुलाई रोजगारी दिलाएका छन् । सरकारी वा गैर सरकारी संस्थामा कार्यरत व्यक्तिहरुको संख्या न्युन रहेता पनि केहि वर्षयता यसको संख्यामा बृद्धि भईरहेको छ । यस गाविस कै विभिन्न विद्यालयहरुमा अस्थायी दरवन्दि तथा निजी स्रोत गरी जम्मा ९ जना स्थानिय शिक्षकहरु कार्यरत छन् । यूवाहरु वैदेशिक रोजगार र राजधानी लगायत शहरहरुमा गई पेशा व्यवसायमा लाग्न थालेपछि यहॉको मानिसहरुको आर्थिक स्तर केहि हदसम्म सुधारिएको छ, जसको कारण विगतको जस्तो खेतीयोग्य जमिनको अभावमा अनिकालको चपेटाबाट मुक्त भएका छन् । धेरै मानिसहरु केहि वर्ष यता गाउ‘ छाडेर शहरबजारमा बसाई सर्ने क्रम बढिरहेको छ ।
विकास निर्माणको अवस्था र संभावना
विकास निर्माणलाई यहॉका जनताहरुले एकादेशमा एउटा कथाको रुपमा लिने गर्दछन् । भौतिक सुख सुबिधाबाट बञ्चित दुर्गम र विकट भेगमा रहेका यस गाविसका जनताहरु सडक असुविधाका कारण सदरमुकाम आउन समेत दुई दिनको कठिन पैदलयात्रा गर्नु पर्ने बाध्यता छ । यातायातको असुविधाका कारण विभिन्न भौतिक निर्माण कार्य सम्पन्न गर्न धेरै खर्चिलो र कठिन छ । यस भेगमा उत्पादन भएका अन्नहरु जस्तैः मकै, कोदो, आलु, फलफुल लगायत बहुमुल्य जडिबुटीहरुको निर्यात गर्न कठिनाई भएको कारण स्थानिय जनसमुदायहरुको आयआर्जनमा आई परेको समस्याका कारण आर्थिक स्थितिमा सुधार ल्याउन सकिएको छैन । साना जलविधुतको लागि प्रशस्तमात्रमा स्थानिय खोलाहरुको स्रोत भएता पनि यसतर्फ ध्यान गएको देखिदैन । विजुलि बत्ती नभएका कारण अन्धकारमय जीवन बिताउन बाध्य छ । अनियमितता कारण सेर्तुङ सिंचाई आयोजना सुरुवात हुन नपाउदै भत्किएर गएको छ । केहि वर्ष अघि टेलिफोनको सुबिधा समेत नभएको यस गााविसमा हाल निजि र सामुदायिक गरेर ४÷५ लाइन टेलिफोन सेवा भने उपलब्ध रहेको छ । नेपाल सरकारको कम चासो भएको अवस्थामा यस गासिसका विभिन्न क्षेत्रमा कादुरी नामक गैरसरकारी संस्थाको पहलमा धेरैजसो खोलाहरुमा झुलुङ्गे पुलहरु निर्माण भएको छ । यस गाविसमा मात्र नभई यस संस्थाले धादिङको विभिन्न उत्तरी दुर्गम गाविसहरुको विकास निर्माणमा उल्लेखनिय भूमिका रहेको छ । यस संस्थाले झु.पु. निर्माणको साथै साना जलविधुत निर्माण कार्य पनि गर्दै आएको छ । रि, लापा र तिप्लिङ्ग गाविसमा यो संस्थाले साना जलविधुत निर्माण गरिसकेको छ भने सेर्तुङ गाविसमा पनि सर्भेकार्य सम्पन्न गरिसकेको छ । सोलर वितरण कार्यक्रमको साथै विद्यालयहरुको भौतिक संरचनामा पनि विशेष सहयोग उपलब्ध गर्दे आएको छ । जिल्लाको उत्तरी अत्यन्त विकट एवं दुर्गम यस भेगलाई विकास निर्माणको मूलधारमा ल्याउन यस क्षेत्रलाई नै प्रभाव पार्ने एकमात्र सडक “धादिङबेशी साङ्कोष तिप्लिङ सडक”लाई द्रुत गतिमा आगाडि बढाउन आवश्यक छ । कछुवाको गतिमा निर्माण भईरहेको यो सडकको अहिलेसम्म डिटेल सर्भे भएको छैन, जसका कारण वर्षेनी निर्माणकार्य विवाद हुने गर्दछ । तामाङबाहुल्य यस भेगका जनताहरुको दैनिक जीवनसंग सरोकार रहेको यो सडकको विकासमा जिविस धादिङ लगायात जिम्मेवार राजनैनिक दलहरुको ध्यान खासै रहेको छैन । यातायातको असुविधाका यस गाविसको हरेक क्षेत्रमा प्रभावित भएको छ ।
जनसंख्या
२०५८ सालमा सम्पन्न राष्ट्रिय जनगणना अनुसार सेर्तुङ्ग गाविसको कुलजनसंख्या ३९०७ (महिला–२१७० र पुरुष–१७३७) रहेको छ । हाम्रो संस्था श्री गणेश हिमाल सामुदायिक अध्ययन केन्द्र, सेर्तुङ्गले २०६७ असार महिनासम्मको सर्वेक्षण अनुसार हाल यस गाविसको कुल जनसंख्या ४८०२ (महिला–२४७० र पुरुष–२३३२) रहेको छ । यस गाविसमा गुरुङ्ग, विश्वकर्मा र नेवार जातिको तुलनामा तामाङ्ग जातिको जनसंख्या अत्याधिक रहेको छ । गरिबी र बेरोजगारी जस्ता समस्याले ग्रसित यस गाविसमा पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको छ । अशिक्षित र अज्ञानताका कारण परिवार नियोजन महत्व थाहा नभएकोले धेरै सन्तान जन्माउने परिवारको संख्या भएको कारण यस गाविसको जनसंख्या बृद्धिदर बढी रहेको छ ।
स्वास्थ्य
स्वास्थ्य मानिसको अपरिहार्य आवश्यकता हो, भनिन्छ स्वास्थ्य नै धन हो । तथापि हरेक दृष्ट्रिकोणले उत्पीडनमा परेको यस गाविसमा रहेको एकमात्र इलाका स्वास्थ्य चौकी नाममा मात्र सिमित रहेकोछ । पॉच जनाको दरबन्दि रहेको यस स्वास्थ्य चौकीमा जसोतसो एकजना अहेव र पिउन कार्यरत छन् । यी दुई कर्मचारी पनि विभिन्न तालिम या भौतिक विकटताका कारण महिनौं दिन उपस्थित नभएर स्वास्थ्य चौकी नै खाली हुने गर्दछ । यस गाविसको अलावा लापा,झार्लाङ र तिप्लिङ लगायतका गाविसहरुबाट पनि उपचारको निमित्त बिरामीहरु यस स्वास्थ्य चौकीमा आउने गर्दछन् , तर अधिकांस विरामीहरु उपचार नपाएर फर्किनु बाद्य हुन्छन् । जिल्ला कै दुर्गम क्षेत्रको यस इलाका भएको यस स्वास्थ्य चौकीमा सामान्य ल्यावको पनि व्यवस्था गर्न सकिएको छैन । सरकारले निशुल्क वितरण गर्ने औषधी पनि पर्याप्त मात्रामा उपलब्ध गर्न नसकेकोले सामान्य झाडा पखलाबाट पनि मानिसहरुको मृत्यु हुने गरेको छ । स्वास्थ्य चौकीको भौतिक पूर्वाधार जीर्ण अवस्थामा रहेको छ । स्वास्थ्य क्षेत्र जस्तो जनतासंग प्रत्यक्ष सरोकार हुने विषयमा पनि जनताद्धारा निर्वाचित नेतृत्वहरुको निरंकुश र भ्रष्ट प्रवृतीको नाङ्गो उदाहरणको रुपमा यस गाविसको परम्परागत कुराजनैतिक संस्कारलाई लिन सकिन्छ । बर्षौ देखि जनताको रतग र पसिना खाएर मोटाएका भ्रष्ट नेताहरु राजधानीमा महल खडा गरेर वसेका भने निमुखा जनताहरु भोग र रोगले तडपिएर बस्न विवश छन् । वर्षौदेखि इनारमुनिको भ्यागुताको रुपमा जीवन बाद्य जनताहरु अशिक्षित र अज्ञानता कारण स्वास्थ्य सम्बन्धि कुनै ज्ञान छैन । परम्परागत रुपमा चलन चल्तिमा आएको झारफुकमा विश्वास गर्ने रुढिबादी चलन अझै विद्यमान छ । अत्यन्तै विकट भएको कारण यस गाविसका मानिसहरु आपतकालिन परिस्थितिमा सामान्य उपचार समेत नपाएर ज्यान गुमाउन बाद्य छन् । अज्ञानताका कारण विरामीहरु अन्तिम अवस्थामा पुगेपछिमात्र अस्पतालको मुख ताक्ने प्रबृतीले पनि समस्या निम्त्याएको छ । सामान्य उपचारबाट पनि निको हुने विभिन्न प्रकारका रोगहरुको उपचार नपाएका कारण यस गाविसमा अपाङ्गको संख्या पनि धेरै रहेको छ । उपचारको समस्याबाट नभै भुतप्रेतको कारण अपाङ्ग वा रोगी भएको भनि रोगलाई लुकाइ राख्नु पनि एक समस्याको रुपमा रहेको छ । स्थानियवासीहरुमा झाडापखला, ज्वरो, पेटमा जुका, खोप, रगत मासी, ऑउ लगायतका सामान्य रोगहरुको समस्या र समाधानका उपाया सम्बन्धि सफा खानेपानीको व्यवस्था, चर्पीको प्रयोग र वातावरणीय सरसफाइमा जनचेतना जगाउनु आवश्यक छ । हिमालयन हेल्थ केयर नामक गैर सरकारी संस्थाले विगत १८ वर्षदेखि यस गाविसको स्वास्थ्य क्षेत्रमा खेलेको उल्लेखनिय भूमिकाबाट यस गाविसका जनताहरुले ठूलो राहातको अनुभूति गरेका छन् ।
धर्म
गाउ‘मा पहिले बोन (झॉक्री धर्मालम्वीहरु भिए । धेरै वर्ष पहिले गुम्वा प्रमुख लामाको छोरा दर्जेन लामा तिव्वतको ल्होङहासाङ्ग भन्ने ठाउ‘मा गएर बुद्ध धर्म सम्वन्धि ज्ञान हासिल गरी गाउ‘मा फैलाएका थिए भन्ने कुरा बुढापाकाको मुखबाट सुनिन पाइन्छ । यसरी ज्ञान हासिल गरी फर्कदा सेर्तुङको मिमाङ्ग भन्ने ठाउ‘मा गाउ‘लेहरुले भव्य स्वागत गरेको कुरा पनि लामाको पोस्तामा प्रस्ट दख्न पाईन्छ । स्वागतको वेला दर्जे लामो आमाले “क्षे कु फे ज्यो माने, आमे–बो पा” भन्ने गीत गाएकी थिइन् । यो गीत हाल पनि विवाह, भोज, छेवार, चाडपर्व जस्ता कुनै पनि शुभसाईत वा सगुन गरेको बेला गाईने चलन यथावत् नै छ । यस गीतको सार– तिम्रो लक्ष्य अनुसार तिमीले लामा वा बुद्ध धर्म सम्वन्धि ज्ञान पायो कि पाएनौ ? पाएनौं भने मछौं भन्ने छ । बुद्ध धर्म नै यस गाविसको प्रमुुख धर्म भएता पनि एमाओबादीको जनयुद्ध र १९ दिने ऐतिहासिक जनआन्दोलन पश्चात देश धर्म निरपेक्ष भएबाट यस गाविसमा क्रिस्चीयन धर्मलम्वीहरु पनि छिरपुट रुपमा देखिन थालेका छन् । सेर्तुङ गाविसको वार्ड नं– ६मा एक चर्च पनि निर्माण भएको छ । बुद्ध र क्रिस्चीयन धर्म बाहेक यस गाविसमा हिन्दु धर्मलम्बीहरु पनि रहेको छ । विशेषतः यस गाविसका तामाङजातीहरु बुद्ध र क्रिस्चीयन धर्म मान्दछन् भने गुरुङ र विश्वकर्मा जातीहरु हिन्दु धर्म मान्ने गर्दछन् ।
चाडपर्व र संस्कृतिहरुः
तामाङ जातीको बाहुल्य रहेको यस सेर्तुङ गाविसमा तामाङहरुले मान्ने पर्व ल्होछार नै प्रमुख पर्वको रुपमा रहेता पनि २४० वर्षे एकात्मक हिन्दु ब्रम्हणवादी राज्य सत्ताले जर्वजस्त हिन्दु धर्मको परम्परात धर्म संस्कृति लादेको कारण यहॉका जनताहरुले ब्रम्हणवादी हिन्दु धर्म र संस्कृतिलाई नै विभिन्न चाड र पर्वको रुपमा मनाउदै आएको यथार्थ छ । हाल केहि वर्षयता हिन्दु धर्म संस्कृतिको चाडपर्वलाई कम प्राथमिकता दिएता पनि दशैं, तिहार, भदौं पूर्णिमा, संक्रान्ति जस्ता प्रमुख चाडहरु मनाउने चलन हालसम्म पनि यथावत नै छ । रातदिन मेहनत गर्दा पनि विहान बेलुका हातमुख जोड्न धौ–धौ पर्ने यहॉका जनताहरु वर्ष भरिको दुःख र कठिन परिश्रमलाई विर्सेर चाडपर्वको बेला खुसीसाथ विभिन्न मिठा–मिठा खानाका परिकारकासाथ रमाइलो गर्ने गर्दछन् । ल्होछार, दशै र तिहार जस्ता विशेष पर्वहरुमा विदेशीएका आफन्तहरु पनि घर आई चाडपर्व मनाउने गर्दछन् । विशेषतः तामाङ जातीको संस्कृति तथा पहिचान झल्किने पहिरनमा÷भेषभूषामा सजिएर यहॉका यूवायूवती देखि लिएर बृद्ध–बृद्धाहरु मातृभाषाको गीतको भाकामा रातभरि नाची रमाईलो गर्ने गर्दछन् ।

ल्होछार
२४० वर्षसम्म ब्राम्हणवादी हिन्दु खस सामन्ती राजतन्त्रले जातिय, भाषिक, धार्मिक, सास्कृतिक विविधतालाई विकासको बाधक ठानी एकल हिन्दु धर्म, भाषा, संस्कृतिको संरक्षण र विकास लागि नेपालका सम्पूर्ण रैथाने आदिवासी जाति, जनजाति, भाषा, धर्म, संस्र्कति र सभ्यातालाई मान्यता नदिएको मात्र होइन हिन्दु मुल्य र मान्यतामा सवैलाई विलय गराउने दमनकारी बाटो अपनायो । एनेकपा माओबादीको १० वर्षे जनयुद्ध र १९ दिनको ऐतिहासिक जनआन्दोलन पश्चात एकल जातिय नितिद्धारा क्षतविक्षत भएका सवै सास्कृतिक सभ्याताले पहिचान, प्रतिष्ठा र मान्यता पाउनको साथै ल्होछारको दिन सार्वजनिक विदा समेतको व्यवस्था भएको छ । “ल्हो” को अर्थ तामाङ भाषामा साल, संवत, वर्ष र “छार”को अर्थ नयॉ अर्थात ल्होछारको अर्थ “नयॉ वर्ष हुन्छ । मुसा, गोरु, बाघ, खरायो, गरुड, सर्प, घोडा, भेडा, बॉदर, चरा, कुकुर र ब‘देल गरी विभिन्न पशुपंक्षीको नामबाट राखिएको बाह्र ल्होले बाह्रवटा वर्षलाई प्रतिनिधित्व गर्दछ । बाह्र ओटा मध्ये प्रत्येक वर्ष एकवटा फेरिन्छ । बाह्र वर्षको चक्र पुरा गरेपछि पुनः पहिलो ल्हो दोहोरिएर आउ‘छ । यसै क्रममा एक वर्ष समाप्त भएर अर्को ल्हो फर्कने समयलाई ल्होछार भनिन्छ । तामाङ जातिले भने माघ शुक्ल प्रतिपदाको दिन अर्थात ल्होछारको सवैभन्दा पुरानो परम्पराकै अनुशरण गदैछन् भने तमुहरुले पुष पन्ध्रलाई ल्होछारको रुपमा मनाउने गर्दछन् । ल्होछारको अघिल्लो दिन ल्होछार प्रेमीहरु बाह्र जीवजन्तुको ल्हो बनाई नराम्रो ग्रहदशा हटाउन र सुखको दिनलाई स्वागत गर्न मनाउने गर्दछन् । ल्होछारको दिन प्राणीमात्रको मुक्ति र सुखको लागि घर घर, गुम्बा, सार्वजनिक स्थलमा प्रार्थना गर्ने धार्मिक झण्डा फहराउ‘छन् । आफूभन्दा ठुलाको आर्शिवाद लिन तथा शुभकामना दिनु १५ दिनसम्म आफन्तकहॉ जाने चलन छ । विदेश गएकाहरु घर फर्कन्छन् यो तामाङहरुको लागि ठुलो चाड हो । विभिन्न सास्कृतिक कार्यक्रमको आयोजना गरी तामाङ भेषभुषा सजिएर रमाइलो गर्ने परम्परा छ ।

दशैं
दशैलाई विशेष प्रमुख चाडको रुपमा मनाउने गरिन्छ । यसबेला स्वदेश वा विदेशमा छरिएर रहेका आफन्तहरु एक ठाउ‘मा भेला हुने गर्दछन् । यस पर्वमा स्वदेश तथा विदेशबाट आफ्ना आफन्तले कोसेलीको रुपमा ल्याईदिएको नयॉ लुगा र खानेकुराहरु ल्याउने चलन रहेको छ । वर्ष दिनमा एकचोटी भए पनि यहॉका स्थानिय केटाकेटीदेखि लिएर बुढापाकासम्म नयॉ–नयॉ कपडा लगाएर खुशीयालीमा नाच्ने र गाउ‘ने गर्दछन् । यस पर्वको वेला खसी, बोका, भेडा, रॉगा जस्ता पशुहरुको बलि दिने गरिन्छ । दशमी टीकाको दिनलाई खासै महत्व नदिए पनि विशेषतः गोम्जा थरका पाको बृद्धबाट टीका ग्रहण गर्ने चलन रहेको छ । दशै पर्वको सेर्तुङ गाविसमा अर्कै किसिमको महत्व रहेको छ । दशै चाड भरी नै रातभरि तामाङ जातीको इतिहास झल्किने गीत गाएर नाचगान गर्ने गरिन्छ । नवमी र दशमीका दिन यहॉ ऐतिहासिक महत्व बोकेको तिर खेल खेल्ने चलन रहेको छ । नवमीका दिन वार्ड नं–७ स्थित चेत टोल र वार्ड नं–५ स्थित गोम्बो टोलमा यो खेल खेलिन्छ भने दशमीका दिन वार्ड नं–६ स्थित बर्खाप टोलमा खेलि वार्ड–८ स्थित खर्च टोलमा गई सवैसंग भएको धनुष बॉड जम्मा गरेर तामाङ भाषाको गीत गाएर नाचगान गर्ने चलन रहेको छ । यहॉबाट दशैको अन्त्य भएको सङ्केत दिइन्छ ।

तिहार
यस गाविसमा दशैको तुलनामा तिहारलाई त्यति महत्वका साथ मनाएको देखिदैन ।
भदौ–पूर्णिमा
यस पर्वमा झॉक्रीहरुको विशेष भूमिका हुन्छ । नयॉ झॉक्रीहरुलाई सक्षम, सवल र योग्य बनाउन वाङ्गगुर दिईन्छ । यस बेला सिङ्गलादेवी र तिकासुङ भन्ने उच्चतम स्थान रहेका तीर्थस्थलहरुमा झॉक्रीहरु भेला भएर ढ्याङ्गग्रो बजाउ‘दै भाकल गर्दछन् । यस बेला ठूलो जात्रा हुन्छ । यस पर्वमा विभिन्न ठाउ‘बाट नयॉ झॉक्रीहरु भेला भएर ढ्याङ्गग्रो बजाएर भाकल गरिसकेपछि पाको झॉक्रीबाट वाङ्गगुर लिन्छन् । यस जात्रामा विशेष गरी युवा–युवतीहरुको अति घुइ‘चो हुन्छ । चेलीहरुले यस जात्रामा अनेकन प्रकारका मिष्ठान्न भोजनहरु तयार पारेर लैजान्छन् । अनि नयॉ झाक्री लगायत त्यस जात्रामा सम्मिलित दाजुभाइहरुलाई बॉडछन् । दाजुभाइहरुले पनि आफ्नो गच्छेअनुसार दक्षिणा दिन्छन् ।

संक्रान्ति
यहॉका जनताहरुले माघे र साउने गरी दुई किसिमका संक्रान्ति पर्व मनाउ‘दछन् । प्रमुख पेशा नै खेतीपाती भएका कारण धेरै समय परिश्रम गर्नु पर्ने भएतापनि विभिन्न चाडपर्वको वेला फुर्सद निकालेर मनोरञ्जनमा सहभागी हुन्छन् । साउने सङ्क्रान्तिको दिन वार्ड नं–६ स्थित फ्यान्चेत पोखरीमा जाने चलन छ । यस दिन विशेषतः चेलिबेटीहरुले रोटीका परिकार, फलफुल र विभिन्न परिकारका मिठा–मिठा खानेकुराहरु लाने र दाजुभाईका साथ भेला भई खाने गर्दछन् । पोखरीमा पौडी खेल्नुका साथै पोखरी वरिपरि बसि बॉसद्धारा निर्मित पिचकारीबाट एक अर्कालाई पानी छ्यापेर रमाईलो गर्दछन् । माघे सङ्क्रान्ति माघ महिनामा दुई दिनसम्म मनाउ‘छन् । यस दिनमा विशेषतः तरुल विभिन्न प्रकारका परिकारहरु पकाएर खाने चलन छ । यो बेला डुब्चु दह, प्यान्तिस्या, तातोपानी, चेन्दङ लगायतका धार्मिक स्थलहरुमा ठूलो संख्यामा जात्रा हुन्छ । झाक्रीहरुको विशेष महत्व रहेको यस जात्रामा सहभागी झॉक्रीहरु रातभरि नाचेर विहान सवै तिर्थालुहरुलाई आसिस दिने गरिन्छ । साथै झॉक्री फर्किने बेलामा गाविसको विभिन्न टोल झाक्रीबाट आसिस लिनेको घुइचो लाग्ने गर्दछ । यस जात्रामा सेर्तुङ लगायत तिप्लिङ्ग, झार्लाङ र लापा गाविसका अधिकांश युवायुवतीहरुको घुइ‘चो हुन्छ ।
छेवार (व्रतबन्ध)
छेवार तामाङ जातीको एक विशेष प्रमुख संस्कार हो । विशेषगरी तामाङ दम्पतीबाट जन्मेको जेठा छोराको गरिने संस्कारलाई छेवारको रुपमा लिइन्छ । छेवार बालक जन्मेको ३,५वा७ वर्षको अवधिमा शुभसाइत हेरेर कुनै पनि बखत गरिन्छ । जस्तो सुकै निम्न आयस्रोत भएपनि छेवारलाई विशेष रुपमा सम्पन्न गर्ने चलन छ । यस अवसरमा आमा–बुवाको अलवा फुपु र मामाको विशेष भूमिका हुन्छ । मामाद्धारा भान्जाको कपाल काटिन्छ र मामाले विशेषरुपले विभिन्न प्रकारका खानाका परिकार खुवाई नयॉ कपडा लगायत अन्य सामग्रीहरु उपहारको रुपमा दिने चलन छ । यस अवसरमा निम्तोमा आउने आफन्त र इष्टमित्रहरु भेला भई बालकलाई टीका टालो गरी आशीर्वाद दिनुका साथै आफ्नो गच्छेअनुसार उपहार दिने गरिन्छ । छेवारमा सम्मिलित परिवारका सदस्य, आफन्त र इष्टमित्रहरुलाई भोजमा सामेल गराई नाचगान गर्ने चलन पनि रहेको छ ।

घेवा
यस गाविसमा तामाङ, गुरुङ्ग र विश्वकर्मा जातिमा कुनै व्यक्तिको मृत्यु भएको खण्डमा सकेसम्म २९ दिन भित्र मृतकको आत्मा चिरशान्तिको लागि घेवा गरिन्छ । मरिसकेको व्यक्तिको बनावटी रुप वा पुत्ला तयार पारेर लामाहरुद्धारा निज मृतकको आत्मा चिरशान्तिको लागि पूजापाठ गर्दछन् । लामाहरुद्धारा पूजापाठ गरिसकेपछि मृतकको हंस उडेर वायुमा जान पाउ‘दैन भन्ने विश्वास गरिन्छ । मृत्यु पश्चात लामाले पूजापाठ नगरेमा वायुमा उडी अन्य व्यक्तिमा सर्ने गर्दछ भन्ने विश्वास गर्दछन् । गाउ‘का नातेदारदेखि सम्पूर्ण गाउ‘लेहरु आएर मृतकका परिवारमा दुःखमा साथ दिन्छन् । घेवामा सम्मिलित सवै जनालाई खानपिनको (काट्टो) व्यवस्था हुन्छ । यो परम्परा ज्यादै खर्चिलो छ । त्यसो त गरीवहरु घेवा प्रक्रिया समाजको सामु रीतपूर्वक अपनाउनु पर्ने बाध्यताले तिनीहरु ऋणले ग्रसित हुन पुग्छन् । घेवामा नचाहिंदो ढंगले भोज भतेरमा जस्तै गाउ‘लेहरुलाई खुवाउनुका साथै जॉड रक्सीको अनिवार्यता समेतले त्यसमा सम्मिलितहरु मातेर हिड्छन् जुन ज्यादै ठूलो विसंगति हो । त्यस्ता संस्कारहरुलाई समय सापेक्ष ल्याउनु नितान्न आवश्यक देखिन्छ । जे होस् एकचोटी घेवा गरिसकेपछि बाहुन–क्षेत्री जस्तो प्रत्येक वर्ष श्राद्ध गरी रहनु पर्ने प्रचलन छैन ।