धादिङ लगायतका जिल्लामा निःशुल्क प्राथमिक उपचार तालिम हुने

Avatar photo
Dhadingpost
शनिबार, माघ २७, २०७४

युएई । युवा उद्यमी ओम उप्रेतीद्धारा धादिङ लगायत ७ जिल्लामा १ दिने निशुल्क प्राथमिक उपचार तालिमको आयोजना गरिने भएको छ ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईको पहल तथा डिस्कभरी रोयल स्पोर्ट्स एल.एल.सी को सहयोगमा पहिलो चरण अन्तर्गत नेपालका ७ जिल्लामा एकै पटक निशुल्क प्राथमिक उपचार सम्बन्धि तालिम प्रदान गरिने भएको छ । गत शुक्रबार युएईको दुबई स्थित सिल्भर स्पोन रेस्टुरेन्टमा आयोजना गरिएको पत्रकार सम्बेलनमा एनआरएनए युएईका एनसिसी सदस्य तथा डिस्कभरी रोयल स्पोर्ट्स एल.एल.सी का प्रबन्ध निर्देशक ओम उप्रेतीले तालीम सम्बन्धि जानकारी दिएका हुन ।
एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा गरिएको उक्त पत्रकार सम्मेलनमा बेहोश(Faint), हिस्टेरिया (Seizure), अंगभंग भएमा (Fracture), निस्सासिएमा (Choking), विद्युत प्रबाह घात (Electronic shock), सर्पको टोकाई (Snake bite) रक्तस्राव (Bleeding) आगोले पोल्नु (Burn बिष सेवन (Poisson) हृदयघात (Heart attack), किराको टोकाइ (Insect bite), दम (Asthma), लु लाग्ने (Heat stroke), घात (Shock), स्वास प्रस्वास र रक्तसञ्चार प्रणाली (CPR) जस्ता महत्त्वपूर्ण प्रथामिक उपचार सम्बन्धि तालीम प्रदान गरिने उप्रेतीले  बताएका छन ।
स्वास्थ्य सम्बन्धि सामन्य ज्ञान समेत नहुदा धेरैले अकालमै ज्यान गुमाउनु परेको भन्दै त्यसलाइ केहि हद सम्म न्यूनीकरण गर्दै हरेक गाउँ टोलमा प्राथमिक उपचार गर्न सक्ने स्वयंसेवकको उत्पादन गर्न मुख्य उदेश्य सहित महत्त्वपूर्ण बिसयमा तालिम प्रदान गर्न लागिएको बताएका छन ।
तालिमका लागि पहिलो चरण अन्तर्गत चितवनको खैरेनी नगरपालिका र भरतपुर महानगरपालिकामा चैत्र १ गते बिहिबार , धादिङको बेनिघाट र गजुरीमा चैत्र २ गते शुक्रबार, तनहुँको बन्दिपुर डुम्रेबजार र शुक्लागण्डकीमा चैत्र ३ गते शनिबार, कास्कीको पोखरा लेखनाथ महानगरपालिका अन्तर्गत निर्मलपोखरी र कृष्टी नाच्ने चौरमा चैत्र ४ गते आइतबार, दोलखाको खरिढुँगा र चरिकोटमा चैत्र ६ गते मंगलबार, सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको म्यागनेसाइट र बलेफी गाउँपालिकाको सुकुटेमा चैत्र ७ गते बुधबार तथा काभ्रेपलान्चोकको बनेपा नगरपालिका र पनौती नगरपालिकामा चैत्र ८ गते बिहिबार सन्चालन गरिने आयोजकले जानकारी दिएको छ ।
प्रत्येक जिल्लाबाट बढिमा सय जनाको सहभागिता रहने तालिममा १८ देखि ५० बर्ष उमेर समुहका प्रशिक्षार्थीले भाग लिन पाउने छन। प्रशिक्षार्थी छनोट गाउँपालिका वा नगरपालिका भित्रका विद्यालय, क्याम्पस तथा गा.पा.को प्रत्येक वडाबाट बढिमा ५ जना (३ पुरुष र २ महिला) सहभागी हुने गरि छनौट गरि पठाउन गाउँपालिका तथा नगरपालिकासँग आबश्यक समन्वय गरिने बताएका छन ।
तालिम सम्पन्न पश्चात सहभागी प्रशिक्षार्थीलाई अन्तराष्ट्रिय मान्यता (ISO) प्राप्त प्रमाणपत्र प्रदान गरि तालिममा सिकेको ज्ञान सीप लाई व्यबहारमा लागू गर्न प्रशिक्षार्थीलाई प्रेरित गरिने उप्रेतीले जानकारी दिएका छन ।