नेपालद्वारा नामिबिया पराजित

Avatar photo
Dhadingpost
शुक्रबार, माघ २६, २०७४

काठमाडौं माघ २६ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन –२ मा नेपालले बिहिबार नामिबियालाई पराजित गरेको छ ।

नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा भएको उद्घाटन खेलमा नेपालले उत्कृष्ट बलिङसहित नामिवियामाथि १ विकेटको जित हासिल गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले नेपाललाई जीतका लागि १३९ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपालले ४९ दशमलव २ ओभरमा ९ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

नेपालको जीतमा शुरुआती ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले १५ रन जोड्दै बाहिरिए भने कप्तान पारस खड्का १९ रनमा समेटिए । नेपाली इनिङ्समा शरद् भेषवाकरले सर्वाधिक २९ रन जोडे जसमा उनले तीन चौका प्रहार गरेका थिए । दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए भने करण केसीले तीन तथा रोहित पौडेलले १७ रन बनाए ।

सोमपाल कामीले १३ र वसन्त रेग्मीले २४ रन जोडे । नेपालका तर्फबाट रेग्मीले एक छक्का प्रहार गरे ।

त्यसअघि पहिले ब्याटिङ गरेको नामिबिया निर्धारित ५० ओभरको खेलमा ३४.२ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमा समेटिएको थियो । नामिबियाका लागि क्रेग विलियम्सले ४१ तथा जेन फ्रेलिङक र जाने ग्रिनले २२–२२ रन बनाए । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले चार, कामीले तीन तथा भेषवाकर, खड्का र रेग्मीले एक–एक विकेट लिए । जवाफी ब्याटिङमा उत्रेको नेपालका दुई ब्याट्सम्यान शून्य रनमा आउट भए । शुरुआती ब्याट्सम्यान दिलीप नाथ र आरिफ शेख शून्य रनमै बाहिरिए ।