धादिङबेसीमा माघ २६ र २७ गते मोतियाविन्दुको अप्रेशन हुने

Avatar photo
Dhadingpost
बुधबार, माघ २४, २०७४

अर्जुन खतिवडा
धादिङ थर्पुभञ्ज्याङ, माघ २४ । धादिङबेसी स्थित सामुदायिक आँखा अस्पतालमा माघ २६ र २७ गते दुई दिन मोतियाबिन्दुको अप्रसन हुने बताइएको छ ।

धादिङको नेत्रावती गाउँपालिका स्थित भोक्टेनी सामुदायिक स्वास्थ्य ईकाई थर्पु भञ्ज्याङमा एक दिने आँखा शिविरमा धादिङ सामुदायिक आँखा अस्पतालका रामसिंह तामाङले २ दिन मोतियाबिन्दुको अप्रसन हुने बताएका हुन् ।

कोठमाडौं स्थित तिलगंगा आँखा अस्पताल र धादिङ सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा बुधबार थर्पु भञ्ज्याङ आँखा शिविर सम्पन्न भएको थियो ।

शिविरमा ८१ जना आँखाका विरामीले आँखा जाँच गराएका थिए । विशेषगरी मोतियाविन्दुको जाँच गराएको र कुल विरामीहरु मध्ये ९ जनाको आँखामा मोतियाविन्दुको अपरेशन गर्नुपर्ने पाइएको धादिङ सामुदायिक आँखा अस्पतालका नेत्र अधिकृत रामसिंह तामाङले बताए ।

धादिङ सामुदायिक आँखा उपचार केन्द्रमा २६ र २७ गते मोतियाविन्दुको अप्रेशन गर्ने गरी २ दिने शिविरको आयोजना भैसकेकोले शिविरमा मोतियाविन्दुको समस्या देखिएकोहरुलाई धादिङवेसी आउन आग्रह गरिएको नेत्र अधिकृत तामाङले जानकारी दिए ।