वाम एकता : गलाउने रणनीतिमा दुवै दल

Avatar photo
Dhadingpost
मङ्लबार, माघ २३, २०७४

काठामाडौं माघ २३ । एमाले-माओवादी एकता एकीकृत पार्टीको मूल नेतृत्वमा पुगेर अड्किएको छ। एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एक/अर्कोलाई गलाउने ‘रणनीति’ मै केन्द्रित हुन थालेपछि एकता प्रक्रियामा विलम्ब हुन थालेको हो ।

नेतृत्वका सन्दर्भमा सहमति खोजी गर्न दुई अध्यक्षबीच पटक-पटक छलफल भए पनि निष्कर्ष निस्कन नसक्दा एकता हुने(नहुने संशय देखा पर्न थालेको छ ।

एकीकृत पार्टीको नेतृत्व माओवादीलाई नदिने एमालेको अडान र अध्यक्ष पद नलिई एकतामै नजाने माओवादीको ढिपीका कारण एकता प्रक्रिया अड्किएको हो ।

नेतृत्वको विवाद मिलाउन दुई अध्यक्षबीच विभिन्न विकल्पमा छलफल भने चलिरहेको वाम नेताले बताएका छन्। एकीकृत पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक एमाले र एक माओवादीले लिने गरी भागबन्डा गर्नुपर्ने माओवादीको अडानमा एमाले सहमत छैन।

नेतृत्वको छलफलका सन्दर्भमा सुरुमा माओवादी अध्यक्ष दाहाललाई एकीकृत पार्टीको सहअध्यक्षसम्म दिएर पार्टी अध्यक्ष र प्रधानमन्त्री एमालेले आफंै राख्न चाहेको थियो । तर, पछिल्ला छलफलमा एमाले लचिलो बनेर दुई अध्यक्ष प्रणालीसम्मको छलफलमा आएको स्रोतले बताएको छ । एमालेको यो प्रस्तावमा पनि माओवादी मानेको छैन।

एकीकृत पार्टी अध्यक्ष र प्रधानमन्त्रीमै दुई अध्यक्षको व्यवस्थापन मात्रै अहिलेको सन्दर्भमा सम्मानजनक पार्टी एकताको एउटा मात्रै विकल्प भएको मत राखिरहेको माओवादी केन्द्रका सचिवालय सदस्य नारायण दाहाललेबताएको खबर आजको अन्नपुर्ण पोष्टमा छापिएको छ ।