प्रदेश सभाको तयारीमा देशः कमजोर पूर्वाधार, अपूरो बजेट

Avatar photo
Dhadingpost
बुधबार, माघ १७, २०७४

काठमाडौँ  माघ १७  ।  प्रदेश १ : विराटनगरमा सोमबार पहिलो बैठक

प्रदेश सभाको पहिलो बैठक सोमबार बस्दै छ । तर, बैठकस्थल मोरङ जिल्ला समन्वय समितिको हल अझै अस्तव्यस्त छ । सभामुख बस्ने ड्यास बनाउनेदेखि सांसद बस्ने कुर्सी मिलाउनेसम्मका काम बाँकी नै छन् ।

प्रदेश सभामा जम्मा ९७ सदस्य छन् । तर, आगन्तुकदेखि पत्रकारसम्मलाई बस्न १४४ कुर्सी राखिनेछन् । बैठकमा उनीहरूले बोल्दा हातेमाइक प्रयोग गर्नेछन् । तयारी गर्ने समयको अभाव र साँघुरो हल भएकाले छुट्टाछुट्टै माइकको व्यवस्था गर्न नसकिएको हो ।

साबिकका केही कार्यालयमा प्रदेश सभा, प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रालयहरूको व्यवस्थापन गरिएकाले त्यहाँका कर्मचारी कामविहीन बनेका छन् । घाम तापेर दिन बिताउने उनीहरू नयाँ अड्डाको पर्खाइमा छन् ।

प्रदेश २: आइतबार बैठक बस्दै प्रदेश सभाहलको बेहाल

२१ माघमा प्रदेश सभाको बैठक डाकिएको छ । प्रदेश सभा केन्द्रीय संसद्को जस्तै बनाउने बताइएको छ । तर, चार दिन बाँकी हुँदा पनि बैठक कक्ष तयार भएको छैन । भुइँमा इँटा ओछ्याएर मंगलबार ढलान गरिएको छ । जनकपुरको कुवा रामपुरस्थित शैक्षिक तालिम केन्द्रको सभाहलमा बैठक बस्नेछ ।

बजेट अभावका कारण आवश्यक भौतिक पूर्वाधार निर्माण तथा व्यवस्थापनका लागि ढिलाइ भएको छ । ५५ करोड माग गरिएकोमा सरकारले पहिलो चरणमा ७ करोड ५० लाख मात्रै पठाएको छ ।

प्रदेश सभाका लागि इन्स्पेक्टरको नेतृत्वमा २१ मर्यादापालक खटाइनेछन् । नेपाल प्रहरीका ३५ र सशस्त्र प्रहरीका करिब ५० जना खटाइनेछ । मर्यादापालकको संख्या पनि ५० पु¥याउने लक्ष्य रहेको छ ।

प्रदेश ३: प्रदेश सभाको पहिलो बैठक प्रदेश ३ ले गर्दै

प्रदेश ३ को प्रदेश सभाको पहिलो बैठक १८ माघमा बस्दै छ । प्रदेश सभाको बैठक क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा तोकिएको छ । बैठकका लागि भवनको रंगरोगन र सजावटको काम भइरहेकोे छ । बुधबार बेलुकासम्म सम्पूर्ण तयारी सम्पन्न हुने प्रदेश कार्यालयका सचिव डा। रोजनाथ पाण्डेले जानकारी दिए ।

११० सांसद अट्ने संसद् भवन र सचिवालय तयार पार्ने काममा कर्मचारी संयन्त्र जुटेको छ । ‘११० सांसदलाई व्यवस्थित ढंगले राख्न कुर्सी व्यवस्थापन र सभाहल आकर्षक बनाउने काम अन्तिम चरणमा पुगेको छ,’ सचिव पाण्डेले भने, ‘रंगरोगनदेखि, कार्पेट, पर्दा फेर्ने र रोस्ट्रम बनाउने काम भइरहेको छ ।’

संसद् बैठकलाई मर्यादित र व्यवस्थित बनाउन प्रहरी निरीक्षकको कमान्डमा ३० जना प्रहरी र बाहिरी सुरक्षाका लागि सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ३५ जना खटाइने सचिव पाण्डेले जानकारी दिए । आज अपराह्न ४ बजे बस्ने सर्वदलीय बैठकले प्रदेश सभा बैठकको कार्यविधि तय गर्नेछ ।

प्रदेश प्रमुखको पत्र वाचन, सभामुखको चयनलगायत विविध विषय कार्यसूचीमा पेस हुन सक्ने पाण्डेले बताए । सबै दलको सहमतिमा कार्यसूची तय हुनेछ । ‘निरन्तर संसद् बैठक हुने भएकाले दिगो हिसाबले सभाहल व्यवस्थित गर्ने काम सुरु भएको छ,’ भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्र हेटौँडाका प्रमुख सुदीप आचार्यले भने, ‘तर, संसद् सचिवालयबाट अनुभवी जनशक्ति आइनपुगेकाले के कसरी काम गर्ने केही अन्योलता छ ।’

प्रदेश–३ को अस्थायी राजधानी तोकिएको हेटौँडामा विभिन्न प्रादेशिक संरचना निर्माणका लागि साढे ७ करोड बजेट विनियोजन गरिएको छ । तर, तत्कालका लागि प्राविधिकतर्फका कर्मचारी अभाव भएपछि काम गर्न समस्या भएको भवन प्रविधि तथा अनुसन्धान तालिम केन्द्र प्रमुख सुदीप आचार्यले बताए । ‘सरकारले पर्याप्त बजेट छुट्याएको छ,’ उनले भने, ‘तर हामीसँगै प्राविधिक जनशक्ति नहुँदा समस्या खड्किएको छ ।’

मन्त्रीदेखि सचिवसम्मलाई निवास व्यवस्थित गर्नै चटारो
प्रदेशस्तरीय मन्त्रालयहरू राख्ने भवनसँगै मुख्यमन्त्री, मन्त्रीहरू र सचिवलगायतका कर्मचारी रहने निवासको खोजीकार्य भइरहेको छ । मुख्यमन्त्रीको निवास अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवन र सभामुख–उपसभामुख सडक डिभिजन कार्यालयको भवनमा रहने प्रमुख जिल्ला अधिकारी चक्र बुढाले जानकारी दिए । प्रदेशका सबै मन्त्रीहरूको सामूहिक निवास हेटौँडा सिमेन्ट उद्योगमा राख्ने तयारी छ ।

त्यस्तै, मुख्यसचिवको निवास क्षेत्रीय वन कार्यालय र मन्त्रालयका सचिवहरूको सामूहिक निवास डिभिजन सडक कार्यालय, सचिव र कर्मचारीहरूका लागि हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको गेस्ट हाउस, अफिसर्स क्लबको भवन, जिल्ला कृषि विकास कार्यालय, वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट, टेनोमेन्ट क्वार्टर आवासको रूपमा प्रयोग गरिने तयारी भएको प्रजिअ बुढाले जानकारी दिए । ‘ती आवासहरूको पहिचान गरी मर्मत र व्यवस्थित गर्ने काम थालिसकेका छौँ,’ उनले भने ।

प्रदेश ४ : आकर्षक भवनमा सोमबार पहिलो बैठक बस्दै

नगर विकास प्रशिक्षण केन्द्रको सभाहलमा सोमबार प्रदेश सभाको पहिलो बैठक बस्दै छ । सभाभवन बाहिरदेखि भित्रसम्म झकिझकाउ पारिँदै छ । बैठक बस्ने भवन रंगरोगन गर्नेदेखि फर्निचर मिलाउनेसम्मका काम लगभग सकिँदै छ ।

बैठक बस्ने दिन नजिकिँदै गर्दा सांसदहरू पोखरामा डेरा खोज्न थालेका छन् । छिमेकी जिल्लाका सांसद डेरा खोज्ने कि घरबाटै ओहोरदोहोर गर्ने दोधारमा छन् । केही सांसद डेरा नपाउन्जेल साथीभाइ र आफन्तकहाँ पाहुना लाग्ने तयारीमा छन् ।

बैठक सञ्चालनका लागि केन्द्रीय संसद्बाट सहसचिवको नेतृत्वमा चार कर्मचारी खटिएका छन् । त्यस्तै, बैठकस्थल व्यवस्थित पार्न ३० मर्यादापालक खटिने भएका छन् । प्रदेश सभामा पाँच दलको प्रतिनिधित्व छ ।

प्रदेश ५:  फितलो तयारीका बीच आइतबार पहिलो बैठक

प्रदेश सभाको पहिलो बैठक आइतबार बोलाइएको छ । बुटवलमा तुलनात्मक रूपमा भौतिक पूर्वाधार पर्याप्त छ, व्यवस्थित नगरिँदा भद्रगोल छ । बैठक बस्ने बुटवल उद्योग वाणिज्य संघको सभाहलमा अहिलेसम्म कुनै संरचना बनाइएको छैन । मंगलबारसम्म पनि विभिन्न संघसंस्थालाई कार्यक्रम सञ्चालन गर्न सभाहल भाडामा दिइएको छ ।

बैठक कक्षमा सत्तापक्ष र विपक्षका लागि छुट्टाछुट्टै बस्ने ठाउँ, सभामुख बस्ने ड्यास तथा कार्यकक्ष, साउन्ड सिस्टम, आगन्तुक र पत्रकार बस्ने ठाउँलगायतका अन्य तयारी चार दिनभित्र सक्नुपर्नेछ ।
िबैठक कक्षमा सांसदहरू बस्ने कुर्सी बुटवल उपमहानगरले सहयोग गर्दै छ । प्रदेश सभामा जम्मा ८७ सदस्य छन् । पहिलो बैठकलाई मात्र १० लाख खर्च हुने अनुमान छ ।

प्रदेश ६:  पूर्वाधारको अभावबीच आइतबार पहिलो बैठक

प्रदेश सभाको पहिलो अधिवेशन आइतबार बोलाइएको छ । पहिलो बैठक सिँचाइ डिभिजन कार्यालयको भवनमा बस्दै छ । प्रदेश सभाको त्यसपछिका नियमित बैठक भने शैक्षिक जनशक्ति तालिम केन्द्रको भवनमा बस्नेछन् । भौतिक संरचनाको व्यवस्थापन गर्न हम्मे परेको छ ।

क्षेत्रीय वन कार्यालयको तालिम केन्द्रमा प्रदेश प्रमुखको कार्यालय राखिएको छ । तीनतले भवनको एउटा कोठा मात्रै प्रदेश प्रमुखले पाएका छन्, बाँकी अभैm खाली गरिएको छैन । बजेट नहुँदा चिया पनि उधारोमा खानुपरेको प्रदेश प्रमुख दुर्गाकेशर खनालको गुनासो छ ।

प्रदेश सरकारका मन्त्रालय रहने भवन अहिलेसम्म टुंगो लागेको छैन । केन्द्रबाट प्रदेशमा सरुवा भएका कर्मचारी अभैm पुगेका छैनन् ।

प्रदेश ७:  आइतबार पहिलो बैठक
कामचलाउ तयारी
िअस्थायी मुकाम धनगढीमा भौतिक पूर्वाधार व्यवस्थापन गर्न हम्मे परेको छ । सबै प्रक्रिया नयाँ थालनी गर्नुपर्ने भएकाले कर्मचारीहरू पनि अलमलमा परेका छन् । बैठक बस्ने जिल्ला समन्वय समितिको हलमा अभैm सत्तापक्ष र प्रतिपक्ष बस्ने छुट्टाछुट्टै व्यवस्थित ठाउँ, टेबुल, स्तरीय साउन्ड सिस्टमलगायतको व्यवस्थापन गरिएको छैन । बैठक सञ्चालनका लागि तत्काल आवश्यक पूर्वाधार जुटाउने काम मात्रै भइरहेको छ ।
िपहिलो बैठक आइतबार बोलाइएको छ । ज्येष्ठ सदस्य दिव्येश्वरी शाहले बैठकको अध्यक्षता गर्नेछिन् । पहिलो बैठकबाटै सभामुख, उपसभामुख निर्वाचनको प्रक्रिया थाल्ने तयारी गरिएको छ । बैठक सञ्चालनका लागि सहजीकरण गर्न केन्द्रीय संसद्बाट खटाइएको कर्मचारीको टोली अभैm धनगढी पुगेको छैन ।