Dhading News

एकता र विच्छेदको मौसम र कम्युनिष्ट आन्दोलन


मङ्लबार, माघ १६, २०७४
विचार / ब्लग

प्रमोद धिताल
नेपालको जुन राजनीतिक आन्दोलनलाई “कम्युनिष्ट आन्दोलन” भनिदै आएको छ, त्यो अहिले पनि कम्युनिष्ट आन्दोलन नै हो या अरु केहि आन्दोलनमा परिणत भइसकेको हो ? कम्युनिष्ट आन्दोलन यतिखेर जुन ठहराबमा उभिएको छ, त्यसलाई परम्परागत भाषामा “कम्युनिष्ट आन्दोलन” भनिदिदा त केहि फरक नपर्ला तर सारमै जे होइन त्यो कालान्तरसम्म भनिराख्दा र मानिराख्दा त्यसको असर समाजमा कस्तो पर्ला ? वर्तमानमा “क्रान्ति”, “समाजवाद” या यस्तै चिन्ताहरुसहित सुनिदै गरेका निरपेक्ष एकतामुखी राग या सैद्धान्तिक विमति राखेर, चित्त नबुझेर, विरक्तिएर या पद, प्रतिष्ठा र वार्गेनिङको लागि गरिदै आएका सम्बन्ध विच्छेदको तात्विक अर्थ र असर के हो ? या तिनीहरुभित्र साँच्चिकै आन्दोलनलाई अगाडि बढाउने संकल्प र मानसिक हुटहुटी छ ? यो बारेमा घोत्लिने या तदनुरुप पहिला आफूभित्रै गरिनुपर्ने क्रान्तिको बारेमा सोच्ने फुर्सद कतिले निकालेका होलान् ?

इतिहासको अध्ययन, वर्तमानका सबै साक्षी प्रमाणहरुलाई एकठाउँमा राखेर हेर्ने हो भने र कम्युनिष्ट चश्माबाट हेर्ने हो भने अहिले पनि जुन आन्दोलन (विशेषगरी माओवादी केन्द्र–एमालेद्वारा अगुवाई गरिएको) लाई “कम्युनिष्ट आन्दोलन” भनिदैछ, त्यसलाई वाम आन्दोलन भनेर पनि विश्वास गर्न हम्मे हम्मे पर्छ । प्रथमतः दार्शनिक, सांगठनिक, राजनीतिक तथा साँस्कृतिक कार्यदिशाको समग्र या किस्ता किस्तामा तिलाञ्जली यसको मुख्य अधार हो । दीर्घकालीन यात्रा तय गर्नुपर्ने आन्दोलनभित्र न त तिनीहरुका सूक्ष्म आयामहरुको बारेमा नै चिन्तन र गृहकार्य देखिन्छ । दैनन्दिन कार्यनितक प्रश्नहरुमा अल्झिादा अल्झिदै यो आन्दोलन हाल आएर नाममा कम्युनिष्ट, रुपमा वामपन्थी र सारमा त्योभन्दा पनि तल झरेर अस्तिव निर्वाहको निम्ति संघर्षरत देखिन्छ । यद्यपी बहसका धेरै आयामहरु होलान, फेरि पनि आधारभूत रुपमा आफ्नौ मूल मान्यता र संैद्धान्तिक स्खलन नै यसको मूल कारण मान्नुपर्ने हुन्छ । तर यो कुरा गरिरहँदा विचलित, निराशावादी या जडशूत्रवादीमा आरोपित हुनेमा पनि धेरै अड्कलबाजी गरिराख्नु नपर्ला ।

वैज्ञानिक सोंचबाट निर्देशित “कम्युनिष्ट” भनिदै आएको आन्दोलनका कार्यकर्ताहरुको ठूलो हिस्सालाई विश्वासै मान्न पनि गाह्रो लाग्ने अवैज्ञानिक साँचोमा ढालिएको छ । अब अन्धविश्वास विश्वासमा परिणत भएको छ । चाकडी र भक्तिगान आस्था र निष्ठामा परिणत भएको छ । तर्कको लागि तर्क र सच्चाईदेखि छलिनको लागि गरिने स्वीकारोक्ति र कहिल्यै लागू गर्नु नपर्ने हावादारी नाराहरु नै आदर्शमा परिणत भएका छन् । बिना प्रश्न, बिना संदेह र बिना मन्थन अनि अन्वेषण कुनै पात्र विशेषका अनुयायीहरु स्वतः क्रान्तिकारी अनि अविचलित योद्धा मानिने वातावरणले घर गरिसकेको छ । कैयन यस्ता राजनीतिक, साँस्कृतिक, व्यक्तिगत आचरण, संस्कृति र व्यवहारहरु जो वाम रुझान राख्ने पार्टी र कार्यकर्ताहरुका लागि पनि स्वीकार्य हुँदैनन् ती कुराहरु नै अब “क्रान्ति”का लागि गरिने पवित्र कर्ममा अनुवाद भएका छन् । हुँदा–हुँदा यस्ता अनैतिक राजनीतिक दाउपेचहरुमा दक्षिणपंथी र बुर्जुवाहरुलाई उछिनेर मात्र “क्रान्ति” सम्भव छ भन्ने मूर्खतापूर्ण आग्रह हावी हुँदो छ, सिद्धान्तको प्रश्न कोमामा पुगिसकेको छ । अहिलेको भयावह अवस्था यही हो ।

एकाताबिना क्रान्ति सम्भव छैन भन्ने नाउँमा अन्तर्यमा “भीड जम्मा गर र त्यसकै बलमा सत्तारुपी स्वर्गको भोग गर” भन्ने अघोेषित नारा स्वीकार्य बनाइदैछ । तर एकता कस्तो ? अनि कस्को निम्ति एकता ? एकताको आधार कम्युनिष्ट निष्ठा या केहि पात्रहरुको अस्तित्व रक्षा र पदीय भागबण्डा ? सामन्ती–पूँजीवादी उत्पीडनको शिकार हुँदै आएको वर्गको हीत गर्ने एकता या अन्ततः त्यसैमाथि शासन गर्ने एकता ? “राज्य सत्ता बाहेक सबै कुरा भ्रम हो” भन्ने नाराभित्रको वर्गीय पक्षधरताको सारलाई नामेट पारी जुनसकुै सर्तमा पनि सत्ता, जसको सत्तामा पनि सहभागिता भन्ने मान्यताले वैधानिकता पाउँदैछ । एकताको नाउँमा निरपेक्ष र निसर्त एकतालाई जोड दिंदै कम्युनिष्ट आदर्शलाई तपशीलको विषय र जसरी पनि सरकारमा उपस्थिति जनाउने कुरालाई साध्य बनाइदैछ । सरकारमा बहुमत ल्याउनु नै सत्ता प्राप्ती हो भन्ने झूठो कुरालाई सत्य साबित गर्न खोजिदैछ । यसबाट पनि नेपालको कम्युनिष्ट आन्दोलन “कम्युनिष्ट आन्दोलन” नभएर अबको दलाल पूँजीवादी राज्य व्यवस्थाभित्रको प्रतिपक्षी वाम आन्दोलनका रुपमा परिणत भएको निस्कर्ष निकाल्न धेरै गाह्रो छैन ।

जहाँसम्म यसको विकल्पमा विद्रोह गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन खोजिरहेका शक्तिहरुको कुरा छ, उनीहरु या त परम्परागत व्याख्या विश्लेषणकै आधारमा आन्दोलनलाई संगठित गर्न खोजिरहेका छन् या त परम्परागत रुढिबाट मुक्त हुने नाउँमा कम्युनिष्ट मूल्य र आधारभूत प्रस्थापनाहरुको मर्म बिपरित संगठित गर्न खोजिरहेका छन् । यसको सबैभन्दा ज्वलन्त उदाहरणको रुपमा परम्परागत कम्युनिज्मको आदर्श पुरानो भैसक्यो, यसबाट काम चल्दैन भन्दै नयाँको खोजी गर्ने अभ्यासमा लागेका नयाँ शक्ति नेपालका अध्यक्ष बाबुराम भट्टराईलाई लिन सकिन्छ । उनको नयाँको अभ्यासको हालतले कहाँ पु¥याउँदैछ यो कुरा जगजाहेर नै छ । उनको प्रस्थापनालाई यसकारणले असफल भन्न मिल्दैन कि रातारात उनको पार्र्टी ठूलो आकारको हुन सकेन । अनि यसकारणले पनि उनलाई गलत भन्न मिल्दैन कि चुनावी मोर्चामा उनी पहिलो या दोस्रो नम्बरको पार्टी बनाउन सकेनन् । बरु उनको असफलता हेर्ने यहाँनेर हो कि उनले आफ्नो सैद्धान्तिक प्रस्थापनाको औचित्य पुष्टि गर्ने सम्भावना देखिन्न । सत्य कुराको पछि सुरुमै ठूलो जमात लागिहाल्छ भन्ने होइन । हाम्रो जस्तो समाजमा सत्य कुराको समर्थन गर्ने जमात सुरु–सुरुमा सानो नै हुन्छ । अवसरवादीहरुको जमात नै ठूलो भएको समाजमा त्यो कुनै अनौठो कुुरा पनि होइन, तर प्रस्थानविन्दु नै गलत छ भने त्यसको पक्षमा ठूलो जमात होस् या सानो केहि अर्थ राख्दैन । बरु बाबुराम भट्टराईको हकमा न उनको प्रस्थापनामा उनी सफल हुने देखिन्छ, न त उनी वर्तमान सत्ता संरचनाभित्र नै अपेक्षित रुपमा ठूलो पार्टी बनाउन सफल भए । यो उनका लाथि थप दुःखको विषय हो । केहि माक्र्सवादभित्रका र केहि पूँजीवादभित्रका सकारात्मक कुराहरु मिलाएर नयाँ सिद्धान्त प्रतिपाद गर्दै समाजमा क्रान्ति गर्ने उनको चाहना चाहनामै सीमित हुने कुरामा धेरै द्विविधा पालिराख्न जरुरी छैन । यी “शास्त्रीय कम्युनिज्मको विकल्प खोज्ने अभियान” अन्तर्गतका पुरानै नाराहरुमध्यको एउटा नारा हो ।

त्यसरी नै विचलित कम्युनिष्ट आन्दोलनको विकल्पमा विद्रोहको झण्ठा उठाउने अन्य पात्र अनि निर्माण भएका शक्तिहरुले अपेक्षित विश्वास आर्जन गर्न सकेको देखिन्न । अर्को भषामा भन्दा ती शक्तिहरु परिक्षणकै चरणमा छन् भन्दा अतिशयोक्ति नहोला । इमान्दातिा र क्रान्तिकारिताको फैसाला रातारात भैहाल्ने कुरा पनि होइन । तर तुलानात्मक रुपमा अगाडि बढ्न नसक्नुका केहि आत्मगत कारणहरु जिम्मेवार छन् । जसलाई नछिचोली अगाडि बढ्न अब कुनै पनि कम्युनिष्ट शक्ति, नेतृत्व र पात्रका लागि सम्भव छैन । यसको पछाडि मूलतः तीन ओटा कारणहरु जिम्मेवार छन् । जुन कारणहरुको उचित जवाफ दिदैं कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने हिम्मत गर्नु अबका कम्युनिष्ट अगुवाहरुको काँधमाथि थपिएको दायित्व हो ।

पहिलो, फरक पार्टी घोषणा गर्दैमा मात्र त्यसलाई विकल्पको रुपमा बुझिहाल्नुपर्ने र स्वीकार्नैपर्ने वाध्यता हुँदैन । त्यसले विकल्प नै दिनुपर्ने हुन्छ । तत्कालको लागि कम्तिमा पनि क्रान्तिकारी आशावाद इमान्दारी झल्किनेखालका कार्यक्रमहरु समाजमा पेश गर्नैपर्ने हुन्छ । अन्यथा उस्तै सारको फरक रुपलाई सारमै फरक हो भनेर बुझ्नु र बुझाउन खोज्नुको अर्थ कि त ठूलै दृृष्टिभ्रमले काम गरेको हुनसक्छ या त्यहाँ कुनै सौदाबाजी हुनसक्छ । त्यो बाहेक पनि केहि हो भने व्यक्तिगत र पारिवारिक स्वार्थ पूर्तिको लागि गरिने राजनीति धन्धागिरी या व्यावशायिक मानसिकताले काम गरेको हुनसक्छ । यसको उदाहरणको रुपमा सीपी मैनाली र उनले नेतृत्व गरेको मालेलाई लिन सकिन्छ । विशेष गरी महाकाली सन्धीको विषयमा आफ्नो विमति जनाउँदै एमाले नेता वामदेव गौतमले ने.क.पा.(माले) को गठन गरे । तर त्यो एमालेले अंगिकार गरेको समग्र सैद्धान्तिक प्रस्थापना या बाटोको अस्वीकार थिएन । तत्कालीन इस्युहरुमा पैदा भएको विमितले मुख्य काम गरेको थियो । निर्वाचनको देशव्यापी असफलतापछि यो कदमलाई जनताले स्वीकार गरेनन् भन्दै फेरि उनी एमाले मै समाहित भए । तर उनीसँगै रहेका सीपी मैनालीले ने.क.पा.(माले) लाई निरन्तरता दिइ नै राखे । हालसम्मको उनको अवस्था हेर्दा वाम प्रतिपक्षीको भूमिका निर्वाह गर्ने (त्यो पनि नाम मात्रको) वाहेक विचलित कम्युनिष्ट आन्दोलनको विकल्पमा क्रान्तिकारी कम्युनिष्ट शक्ति निर्माण गर्न खोजेका कुनै आधारहरु भेटिदैनन् । न त एमालेले अंगिकार गरको नीतिभन्दा फरक नीति नै कार्यक्रमिक रुपमा उनले पेश गरेको देखिन्छ । पार्टीको दस्तावेजमा केहि फरक कुराहरु उल्लेख गरिराखेर मात्र फरक संगठन भएको औचित्य पुष्टी हुँदैन् । त्यसो त नेपाली काँग्रेसले पनि समाजवादको कुरा नगरेको होइन । तर कस्को समाजवाद ? कस्तो समाजवाद ? कसरी पुग्ने त्यो समाजवादमा ? अरु त टाढाकै कुरा भयो यी प्रश्नहरुमा सो पार्टीमा लागेर कपाल फुलाइसकेको जमात पनि अनभिज्ञ छ । तसर्थ हामीलाई फलाक्ने र खोपीको देउता बनाएर पूजा गरिराख्ने तर कहिल्यै कार्यान्वयन नहुने नीति र सिद्धान्त चाहिएको होइन । जीवन र जगत बदल्ने सिद्धान्त चाहिएको हो । तसर्थ फरक पार्टी, त्यो कम्युनिष्ट नामधारी नै किन नहोस् चलाएकै भरमा किन विश्वास गर्नुपर्ने ? जसको परिणामस्वरुप सीपी मैनाली र उनले नेतृत्व गरेको माले न संसदीय चुनावी राजनीतिमा सफल देखिन्छन् न त कुनै वैकल्पिक कम्युनिष्ट क्रान्तिकारी शक्तिको रुपमा स्थापित हुन सकेको छ । तथर्स भिन्न नामको भिन्न संगठन चलाएकै भरमा त्यो वैकल्पिक शक्ति भैहाल्छ भन्ने सोच्नु भ्रम बाहेक अरु केहि हुँदैन । त्योसँग बैकल्पिक दृष्टि, प्रस्तावहरु र सो अनुरुप कार्र्यक्रम र कार्ययोजनाहरु सांगठनिक जीवनमा पनि कम्युनिष्ट आचरण हुनैपर्छ । अन्यथा त्यो अस्तित्व यथास्थितिको सेवा या सामान्य प्रतिक्रियाको राजनीतिमा सीमित हुन्छ ।

दोस्रो, नियत मात्र क्रान्तिकारी र विद्रोही भएर कुनै नेता, कार्यकर्ता वा वैकल्पिक शक्तिलाई क्रान्तिकारी वैकल्पिक शक्तिको रुपमा विकास गर्नसकिने भए क्रान्तिकारी रुपान्तरण धेरै सहज काम हुन्थ्यो होला । त्यसको लागि समाजको ऐतिहासिक द्वन्दात्मक भौतिकवादी कोणबाट अध्ययन र स्पष्टताको त्यत्तिकै जरुरत छ । माक्र्सवादका तीन मुख्य अंगहरुमा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद रहेका छन् । ती माथिको पकड, त्यसको आधारमा आफ्नो सामु विद्यमान जिउँदो जाग्दो समाजको निरिक्षण, विश्लेषण र संश्लेषणको अभाव नेपालको कम्युनिष्ट आन्दोलनभित्रको अहिले पनि विद्यमान भयानक समस्या हो । समाज एउटा जैविक मेशिन हो । त्यसलाई बदल्नु भनेको कुनै निर्जिव मेशिनभित्र थप निर्जिव पूर्जाहरु फिट गरिदिएर मेशिन चल्ने बनाएजस्तो हुँदैहोइन । त्यसको लागि गतिशील समाजको गतिशील अध्ययन अपरिहार्य कुरा हो । तसर्थ कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने हो भने दर्शन–दृष्टिकोणको कोणबाट, उत्पादन सम्बन्धको कोणबाट र संस्कृतिको कोणबाट व्यापक अध्ययनको जरुरी छ । यो प्रस्तावना भनेको कम्युनिष्ट पार्टी र त्यसका मुख्य अभियन्ताहरुको प्रमुख प्रस्तावनाभित्र पर्दछ । वैचारिक स्पष्टाबिना कुनै पनि राजनीतिक आन्दोलनलाई अगाडि बढाउने कुरा दिवास्वप्न मात्र हो । माक्र्सले त्यसै भनेका होइनन्, “अज्ञानतले कहीं क्रान्ति भएको छैन ।”

तेस्रो, हाम्रो कम्युनिष्ट आन्दालनभित्र समाज रुपान्तरणको निम्ति भएका तमाम सबल पक्षहरुका बाबजुद एउटा पक्ष निकै कम्जोर देखिएको छ, त्यो भनेका अभ्यासको सिद्धान्त हो । हामी जतिसकुनै सिद्धान्तमा पारंगत हौं या त्यसलाई तार्किकिरण गर्न सक्षम बनौं, अन्ततः त्यसको अन्तिम लक्ष भनेको अभ्यास हुँदै जीवन र जगतको रुपान्तरण नै हो । आफूले प्राप्त गरेको त्यो पनि सीमित ज्ञानको भरमा गरिने वुद्धिविलाशले मात्र क्रान्ति सम्भव हुने भए यो दुनियामा हजारौं वर्षदेखि ज्ञानी र बुद्धिसम्पन्न पात्रहरु आएका छन् । तर ती बुद्धिविलाश र उपदेशमा मात्र सीमित भए । तिनीहरुले अभ्यसको सिद्धान्तलाई अंगिकार गरेनन् । अभ्यासको सिद्धान्तले अभ्यास, गति र रुपान्तरणमा जोड दिन्छ । अर्थात् बुझाई, भनाई र गराईको महान एकता नै अन्ततः क्रान्ति र रुपान्तरणको निर्णायक सर्त हो । यी पक्षहरुबीचको विरोधाभाषले अवसरवादलाई दिनुसम्म टेवा पु¥याएको छ । यसले गर्दा भुक्तभोगीहरुको एउटा जमात कसैले ठीक तर्क गरिहाल्दा पनि नियतमाथि प्रश्न उठाउने अवस्थामा छ । यसको कारण अरु केहि नभएर आन्दोलनभित्रैको नकारात्मक विरासत र दृष्टान्तहरुले पैदा गरेको समस्या नै हो । पहिलो समस्या त नियतमै देखिन्छ । त्यो भनेको सबैभन्दा महत्वपूर्ण भूमिकाम रहेका नेताहरु नै आफ्नो वरिपरि आलोचनात्मक चेतले सम्पन्न सहयोद्धाहरु होइन इमान्दार अनुयायीकर्ताहरुको मात्र जमात देख्न लालायित हुनु हो । “मालेमा” (माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचार) लाई नै आफ्नो पथ प्रदर्शक सिद्धान्त बनाउने तर माओवादकै मर्मअनुरुप काम नगर्ने कुराले पथप्रदर्शक सिद्धान्तकै भ्रष्टिकरण गर्दै आएको छ । माओले चिनीय क्रान्तिपश्चात दिएको “महान सर्वहारा साँस्कृतिक क्रान्ति” को नारा चानचुने नारा थिएन । त्यो समाजवादी÷साम्यवादी क्रान्तिको सामु विद्यामान चुनौतिहरुसँग लड्ने सबैभन्दा वैज्ञानिक नारा थियो । प्रतिक्रान्तिसँग जुध्ने यो भन्दा अर्को कुनै जादूको छडी विश्व कम्युनिष्ट आन्दोलनसामु अहिले पनि छैन । तसर्थ यसलाई इतिहासको भूल या पुरानो भैसकेको मान्नेहरु अहिले पनि कम्युनिष्ट हुन् भनेर स्वीकार्र्नु अन्ततः पूँजीवादी मार्ग अनुसरण गर्नु हो ।

विचारधारात्मक प्रश्नलाई हल गर्ने र नयाँ समाजको निम्ति नयाँ मानवको निर्माण गर्ने अभियानको सुरुवात कहाँबाट गर्ने ? त्यो ठाउँ भनेको कम्युनिष्ट संगठन र त्यसका अगुवा नेता–कार्यकर्ताहरु नै हुन् । कोहि आविष्कारकर्ता र कोहि अनुयायी मात्र बन्ने आग्रहले या कोहि निर्देशक र कोहि आदेशपालक कारिन्दामात्र हुने अभ्यासले कम्युनिष्ट आन्दोलनलाई नै “घुमिफिरी रुम्जाटार” को अवस्थामा पु¥याउँछ, पु¥याइपनि रहेछ । चिनिया क्रान्तिपछि माओले पैल्याएको रोग र औल्याएको भरपर्दो वैज्ञानिक विधिलाई रक्षात्मक अवस्थामा रहेको हाम्रो आन्दोलनले इमान्दारितपूर्वक आत्मसात गर्न नसक्नुले हाम्रो इमान्दारिता र नियतमाथिनै प्रश्न चिन्ह खडा भएको छ । बाहिरका तमाम मोर्चाहरुमा जित्ने तर भित्री मोर्चामा पराजित भएर सबै गुमाउने नियतिको पछाडि आफूभित्र यही सवालप्रति अनभिज्ञ रहनु या उपेक्षा गर्नु नै हो ।

यो सवालसँग सम्बन्धित केहि मूर्त समस्याहरुको बारेमा चर्चा गर्दा सान्दर्भिक होला । कम्युनिष्ट आन्दोलनका घोषित दुस्मनहरु सामन्तवाद, पूँजीवाद तथा साम्राज्यवाद हुन् । आज आएर नेपालमा सामन्तवादी राजनीतिक शक्ति केन्द्रको अन्त्य भएको छ । साँस्कृतिक विरासतको तहमा सामन्तवाद कायमै छ । त्यसको विरुद्ध निरन्तर लडिराख्नुपर्नेछ । तर कम्युनिष्ट आन्दालनकै अगुवा हर्ताकर्ताहरु सामन्तवादी साँस्कृतिक चेत र मनोविज्ञानबाट डरलाग्दो गरी ग्रसित छन् । त्यो आत्मिक रुपमा मात्र प्रकट हुँदैन, बरु भौतिक गतिविधिहरुमै पनि प्रकट भैरहेछ । सांगठनिक जीवन सञ्चालनको अभ्यासमा होस् या कार्यकर्ताहरु बीचको व्यक्तिगत सम्बन्धहरुमा । जिम्मेवारी प्रदानमा होस् या कार्यकर्ता मूल्यांकनको सन्दर्भमा । व्यक्तिगत जीवनशैली र आनीबानीहरुका सवालमा होस् या पारिवारिक सम्बन्धहरमा । सामन्तवाद धेरै हावी छ । यही वास्तविकता पूँजीवाद या साम्राज्यावादी संस्कृति र शक्तिहरुलाई बुझ्ने, व्याख्या गर्ने र तिनीहरुसँग संघर्ष गर्ने सवामा पनि देखिन्छ । कुरा समाजवादका छन् तर जिविकाको निम्ति आर्थिक स्रोत र विधि समाजवादी हुने त कुरै भएन न्यूनतम बुर्जुवा आदर्श पनि भेटिन्न । अपारदर्शिता आदर्शले अनुमोदन गर्नैनसक्ने सबैखालका धन्दाहरुमा पात्रहरु लिप्त देखिन्छन् । अँझ विचित्रको कुरा त के पनि छ भने राजनीतिक पहिचान र हैसियत त्यसको लागि गतिलो सहयोगी साबित भएको छ । संस्कृतिको कोणबाट कुरा गर्ने हो भने बुर्जुवा मूल्य, मान्यता र जीवशैलीप्रति एक से एक क्रान्तिकारी अभियन्ताहरुका दिमागहरु सर्लक्कै रंगिएका छन् । क्रान्तिकारी आदर्श शब्दमा बााहेक कहिँपनि नभेटिने अवस्था सृजना भएको छ । हुँदा हुँदा धेरै पहिले सामाजिक साम्राज्यवादमा परिणत भैसकेका पूँजीवादी मूलुकहरुमा विद्यमान व्यवस्था (चीन, रुस लगायत) समेत आज आएर “कम्युनिष्ट व्यवस्था” देखिन थालेका छन् उनीहरुका लागि । यस्तो भावभूमिमा उभिएको “कम्युनिष्ट आन्दोलन” ले अवको पूँजीवादी–साम्राज्यवादी लडाईको मोर्चा कसरी सम्हाल्छ ?

उपरोक्त तीनवटा प्रश्नहरुको इमान्दार जवाफ व्यवहारिक रुपमै नदिएर न यो आन्दोलनले आफ्नो औचित्य पुष्टि गर्नसक्छ न त अगाडि बढाउन सम्भव छ । जहाँसम्म अस्तित्व निर्वाहको सवाल छ, आ–आफ्ना मनचिन्ते राजनीतिक खिचडी पाकिरहन्छन्, चाहे त्यो परम्परागत संसदीय होस् या कम्युनिष्ट आन्दोलनको खिचडी । सवाल राजनीतिक इमान र जमानको हो । त्यसको खडेरी विगतदेखि वर्तमानसम्म हामीले भोगेको सबैभन्दा डरलाग्दो खडेरी हो । विद्रोहको नाउँमा या एकताको नाउँमा हुने राजनीतिक नाटक मञ्चनहरु हामीले गएको दश वर्षे अन्तरालमा पनि धेरै देखेका छौं । जसले गर्दा आन्दोलनको निम्ति विभिन्न कोणबाट योगदान दिएका व्यक्तिहरुमा विश्वासभन्दा बढि संसय पैदा भएको छ । तर एउटा सच्चाई के हो भने तमाम चुनौति र समस्याहरुको बाबजुद पनि जीवनको विकल्प मृत्यु कदापि हुनसक्दैन । विचलनको विकल्प विचलन हुनसक्दैन । विचलन र पतनको विकल्प फेरि पनि उत्थान र क्रान्तिकारी रुपान्तरण नै हो । त्यसको लागि जो जहाँबाट संगठित भएर सम्भव छ पहल कदमीहरु अगाडि बढाउन जरुरी छ । संसदीय आहाल र मानसिकता भित्र चुुर्लुम्म डुबिसकेकाहरुको निम्ति यो विकल्प हास्याँस्पद लाग्नु स्वाभाविक हो । तर कम्युनिष्ट नजरबाट हेर्दा एउटा यथास्थितिवादी राजनीतिक गर्ने भीमकाय पार्टीभन्दा कम्युनिष्ट आन्दोलनको निम्ति योगदान गर्नसक्ने एउटा क्रान्तिकारी क्लबको महत्व सयौं गुणा बढि देखिन्छ । ठीक कुराको निम्ति संघर्ष गर्दै अगाडि बढ्ने कुराले जो जहाँ भएपनि एकठाउँमा पुग्नु विज्ञानको नियम हो ।

सैद्धान्तिक मान्यताबाट अनन्त विचलनका उपरोक्त दृष्टान्तहरुको कसीमा राखेर हेर्ने हो भने भनिदै गरेको कम्युनिष्ट आन्दोलन कसरी कम्युनिष्ट आन्दोलनको रुपमा स्वीकार्ने आधारहरुको अन्त्य भएको छ ? यद्यपी बहस अँझै आवश्यक छ । एकथरिको लागि एकता र सत्तालाई प्रधानता दिने नाउँमा शक्ति आर्जनको स्रोत विचार विहिन भीड र बुर्जुवा संरचनाभित्रको सत्ता नै सब थोक हुदै छ । जब कि भीडले क्रान्ति गर्ने होइन । क्रान्तिको लागि आम जनताको साथ समर्थन र सहभागिता पनि चाहिन्छ, त्यो अलग कुरा हो । तर क्रान्तिको लागि क्रान्तिकारी विचार, पार्टी, नेतृत्वपंक्ति र कार्यकर्ताहरुको गतिशील जमात यो कहिल्यै पुरानो हुने मान्यता होइन । न भीडतन्त्रलाई स्थापित गर्नु क्रान्तिकारी कदम हो न त भीडसँग सम्बन्ध विच्छेद गर्नुमात्रै क्रान्तिकारी कदम हो । कम्युनिष्ट आन्दोलनभित्र देखिएका विचलनका घटनाहरुले निराश भएको (तत्कालको निम्ति नेतृत्ववीहिन महशुश गरेको) पंक्तिभित्र क्रान्तिकारी आशा र क्रियाशीलता पैदा गर्न सकेमा मात्र पनि दिनानुदिन रक्षात्मक बन्दै गएको आन्दोलनको निम्ति ठूलो योगदान हुनसक्छ । आत्मरतिबाट यो सम्भव छैन । चानचुने मेहनतले मात्र पनि यो आवश्यकता पूरा हुने देखिन्न । तर यो असम्भव पनि छैन । त्यसको निम्ति देशैभरि छरिएर रहेका क्रान्तिकारीहरुले मानिसक तथा भौतिक क्रियाशिलतालाई बढाएर जानुपर्ने आवश्यकता छ । इमान्दार संकल्पको आवश्यकता छ ।

Loading...
  • नेपाल भ्रष्टाचार हुने १२२ औँ स्थानमा

    नेपाल भ्रष्टाचार हुने १२२ औँ स्थानमा

    काठमाडौं, फागुन १० । नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा यो वर्ष १२२ औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले १८० वटा देशलाई समेटेर सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल गतवर्षको
  • एमाले र माओवादीले मन्त्रालय भागबण्डा गरे

    एमाले र माओवादीले मन्त्रालय भागबण्डा गरे

    काठमाडौं फागुन १० । एमाले र माओवादी केन्द्र बीच मन्त्रालय भागबण्डामा कुरा मिलेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलपछि मन्त्रालय भागवण्डाको टुंगो
  • अनमोल फुटसल खेल शुक्रबारबाट

    अनमोल फुटसल खेल शुक्रबारबाट

    धादिङबेसी फागुन १०। धादिङका फुटबल स्टाइकर अनमोल भण्डारीले आफ्नै नामबाट फुटसल प्रतियोगिता आयोजना गरेका छन् । धादिङबेसीमा विगत १ वर्ष अघि देखि संचालनमा आएको फुटसलमा हुन लागेको यो दास्रो ठुलो
santoshanamol cup