चीनले एउटै विद्यालयमा ८० करोड रुपैयाँ लगानी

Avatar photo
Dhadingpost
मङ्लबार, माघ ९, २०७४

नेपालकै नमुना विद्यालय स्थापना गर्न भन्दै चीन सरकारले लमजुङको एक विद्यालयमा ठूलो लगानी गरेको छ । लमजुङको राईनास नगरपालिका वडा नम्बर ९ स्थित मोहिरियाकोटको भैैरव माविमा चीन सरकारले करिब ८० करोड रुपैयाँ लगानी गर्न लागेको भैरव माविका प्राध्यानाध्यापक राजेश्वर ढकालले बताए ।

आवासीयसहितको कक्षा १२ सम्म सञ्चालन गरी कक्षाकोठा, पुस्तकालय, संयुक्त कक्षाकोठा, प्रयोगात्मक कक्षा, अध्ययन–कला–संगीत कक्ष, कम्प्युटर कक्ष, शिक्षक कक्ष एवं कार्यालय, चमेनाघर, शौचालय, खेल मैदानलगायत संरचना निर्माण हुने भएको ढकालले जानकारी दिए । लमजुङका जिल्ला शिक्षा अधिकारी भमशीन धामी, प्राविधिक शुवोचन गुरुङ, तत्कालिन सार्क महासचिव अर्जुन बहादुर थापालगायतको पहलबाट चीन सरकारले लमजुङको भैरव माविलाई छनोट गरेको ढकालले बताए । उक्त विद्यालयको भवन ८ रोपनी क्षेत्रफलमा निर्माण हँुदैछ ।

ठेकेदार, इन्जिनियर, कामदार, निर्माण सामग्रीदेखि अधिकांश भवन निर्माणमा प्रयोग हुने वस्तुहरु चीनबाटै ल्याइएको प्राध्यानाध्यापक ढकालले बताए । ९ महिनादेखि दैनिक ७० जनाभन्दा बढी कामदारले उक्त परियोजनामा काम गर्दै आएको स्थानीयले बताएका छन् । २० कोठे अस्थायी भवनमा हाल कामदार बस्ने गरेका छन् । सन् २०१९ जुन २५ भित्र हस्तान्तरण गर्ने योजना रहेको भए पनि आगामी एक वर्षभित्र सकिने गरी काम तिव्र गतिमा भइरहेको इन्जिनियरले बताएका छन् ।

करिब एक वर्षअघि उक्त योजना सुरु भएको हो । चीनले नेपालमा १० उत्कृृष्ट नमुना विद्यालय बनाउने घोषणा गरेसँगै हिमाली भेगमा दुई वटा विद्यालय निर्माण गर्न लागेको हो । यसअन्र्तगत लमजुङमा भैरव मावि र सिन्धुपालचोकमा ब्रम्हाची गाविस–९ स्थित रत्नराज्य माविको भवन रहेको छ । रत्नराज्य मावि ८१ करोडको लागतमा निर्माा कार्य तिव्र गतिमा भइरहेको बताइएको छ ।

२०१४ सालमा स्थापना भएको उक्त विद्यालय २०३३ मा निम्न माध्यमिक विद्यालय र २०५३ सालदेखि माविमा स्तरोन्नति भएको प्राध्यानाध्यापक ढकालले बताए । २ सय ७५ विद्यार्थी रहेकोमा दुई तिहाई छात्रा रहेका छन् । कारोवार दैनिकमा दिननाथ बरालले खवर लेखेका छन् ।