धादिङबेसीमा हाँस्य कलाकार र लोक गायकको वेजोड प्रस्तुती हुने

Avatar photo
Dhadingpost
आइतवार, माघ ७, २०७४

धादिङबेसी माघ ७ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा राष्ट्रिय स्तरका ख्याति कमाएका हाँस्य कलाकार तथा लोक कलाकारको वेजोड प्रस्तुती रहने भएको छ ।

सरस्वती पुजाका दिन एड्भान्स एकेडेमीले आयोजना गरेको एक विशेष कार्यक्रममा हाँस्य कलाकार राजा राजेन्द्र र लोक गायक प्रकाश कटुवालको माघ ८ गते प्रस्तुती रहने भएको हो ।

साथमा धादिङको नाट्य समाजको विशेष प्रहसन हुने छ भने धादिङबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सदस्यहरुलाई सम्मान गरिने कार्यक्रम समेत रहेको प्रिन्सिपल गोविन्द बुढाथोकीले बताए ।

एड्भान्स एकेडेमीको प्राङ्गणमा विहान ७ वजे देखि सरस्वतीको पुजा र साना नानी बाबुहरुको अक्षराम्भ गरिने छ, भने ११ बजेबाट साँस्कृतिक कार्यक्रम सुरुहुने हुँदा तमाम् धादिङबासीलाई कार्यक्रममा सहभागी हुन एड्भान्सका एसोसिएट प्रन्सिपल भिम श्रेष्ठले धादिङपोष्ठलाई बताए ।

सरस्वती पुजा
सृष्टिको प्रारम्भिक कालमा भगवान विष्णुको आज्ञानुसार ब्रह्माले जीवहरूको, विशेष गरि मनुष्य योनिको रचना गरे । आफ्नो सृष्टिसित उनी खुशी थिएनन् । उनलाई केही कमी भएको भान हुन्थ्यो । जसको कारण चारतिर मौनता छाएकोथियो । विष्णुसित अनुमति लिएर ब्रह्माले आफ्नो कमण्डलुबाट जल छरे, पृथ्वीमा जलकण छरिने बित्तिकै कंपन हुनथाल्यो । यसपछि वृक्षहरूका बीचबाट एक अद्भुत शक्तिको उत्पत्ति भयो । यो प्राकट्य एक चतुर्भुजी सुंदर स्त्रीको थियो जसको एक हातमा वीणा तथा अर्को हातमा वर मुद्रा थियो । अरु दुई हातहरूमा पुस्तक र माला थिए ।

ब्रह्माले देवीसित वीणा बजाउने अनुरोध गरे । जब देवीले वीणाको मधुरनाद गरिन्, संसारका समस्त जीव-जन्तुहरूलाई वाणी प्राप्त भयो । जलधारामा कोलाहल व्याप्त भयो । हावा चल्दा सरसर आवाज आउँन थाल्यो अथवा शव्दको प्रादुर्भाव भयो । तब ब्रह्माले ती देवीलाई वाणीकी देवी सरस्वती भने । संगीतको उत्पत्ति गरेको कारण यिनी संगीतकी देवी पनि हुन् भनिन्छ । वसन्त पञ्चमीको दिनलाई यिनको जन्मोत्सवको रूपमा पनि मनाइन्छ । पुराणहरू अनुसार श्रीकृष्णले सरस्वती सित खुशी भएर उनलाई वरदान दिएका थिए कि वसन्त पञ्चमीको दिन तिम्रो पनि आराधना गरिनेछ भारत र नेपाल का धेरै भागहरूमा वसन्त पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पनि पूजा हुन शुरु भयो जो आजसम्म चलिरहेछ ।

यस सम्बन्धमा मिथक पुराणहरूमा यस्तो भेट्टाइन्छ- एकपटक ऋतुहरूका राजा वसन्त ऋतुको सम्मान कार्यक्रमको आयोजना अन्य पाँचौ ऋतु जम्मा भएर गर्ने विचार गरेछन् । यसै क्रममा आफ्ना राजा वसन्तलाई अभिवादन गर्दै पाँचवटा ऋतुले आफ्नो ऋतु कालबाट आठ आठ दिन वसन्तलाई समर्पण गरेछन् । यसैले वसन्त ऋतु अरू ऋतुभन्दा ४० दिन बढी हराभरा भएर लोकजीवनलाई आनन्दमय बनाउने भएकाले यही दिनदेखि वसन्त याम आएको हो भन्ने भनाइ छ । यसैले यो दिनलाई वसन्त पञ्चमीको नामले चिनिने मान्यता छ ।

हातको अघिल्लो भागमा लक्ष्मी मध्यभागमा सरस्वती र मूल भागमा ब्रह्माको निवास छ । अतः यही कर्मवादी हातलाई ब्रह्माको सिर्जनाशीलता, लक्ष्मीको सम्पन्नतालाई जोड्ने र गतिशील संसारलाई मोड्न मध्यभागमा सरस्वतीलाई राखेर सम्मान गर्ने परम्परा रहि आएको छ ।

विद्याकी देवी
स्वर, सङ्गीत, ताल, लयकी श्रोत स रे ग म प ध नि सं देखि नृत्यकला, कार्यकुशलता, ज्ञानको भण्डार, वास्तुकला, शिल्पी, प्रविधि, हातको सीप, वाणीको माधुर्य, गला र कलाको आकर्षणको केन्द्र र निरन्तर साधनाबाट साध्य प्राप्तिमा प्रेरित गर्ने सरस्वतीका विभिन्न साधना र पूजाका विधान छन् । बौद्धधर्मीहरूले उनैलाई मञ्जुश्रीका नामले चिन्दछन् भने उनका विभिन्न स्वरूपका चिन्तन गर्दै बालबालिका अक्षरम्भ गर्छन् भने बुद्धिजीवीहरू विशेषज्ञता प्राप्त गर्ने प्रयास गर्छन् ।

वाहन राजहंसले दूध र पानीलाई सहजै छुट्याउन सकेझैँ ठीक वा बेठिकको सही पहिचानको ज्ञान, बुद्धि, संयम र विवेक प्रदायिनी देवी सरस्वतीको कृपा प्रसादबाटै मानव मस्तिष्कको अथाह ज्ञान प्रयोग गर्दै आजको संसार विज्ञानमय बनेको छ र सर्वसुलभ सुविधा प्राप्त गरेको छ । संस्कार, सभ्यता र संस्कृतिकी श्रोत महादेवी सरस्वती जयन्तीका दिन नाक, कान, छेड्नेदेखि अन्य उद्यमशीलताका कार्यहरू आरम्भ गर्दा कुनै साइत जुराउनु पर्दैन ।

धातु या मूर्तिमा वा प्रतिमा या उनका चित्र अङ्कति फोटोहरू सजाएर आफ्नो साधनालाई निरन्तरता दिने सन्दर्भमा साधकहरू देवीलाई मनपर्ने दही, दूध, घ्यू, मह, चिनी, नैवेद्यहरू, फलफूल, मिठाई, कपुर, वस्त्र, भेटी, चन्दन, अगरु, शफ्, बेल, मूला, लड्डु नरिवल आदि अर्पण गर्ने गर्छन् । उत्साह, लगनशीलता र अथक प्रयासलाई नै सफलताको प्रेरक मान्ने देवी विद्याकी खानी नै हुन् । सबैभन्दा उत्तम धन भनेको विद्या नै हो जसका धेरै प्रकार छन् । जसमध्ये चार वेद, चार उपवेद, सयौँ वेदाङ्गहरू, शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द, ज्योतिष, मीमांसा, न्याय, धर्मशास्त्र, अठार पुराण, अठार उपपुराण, पञ्चमवेद, महाभारत, आयुर्वेद, धनुर्वेद, गान्धर्व वेद, स्थापत्यवेद -वास्तुशास्त्र) र अर्थशास्त्र प्रमुख छन् । विद्या प्रकाश हो, अविद्या अँध्यारो, अज्ञानताको पर्दा नउघारी भक्तिको उदय सम्भव हुन्न, भक्तिमा ज्ञान र वैराग्यको क्षमता हुन्छ । भक्ति र शक्तिको सङ्गम भए विद्या विज्ञान बन्न पुग्छ र यसको सदुपयोग हुन्छ । विद्याहीन व्यक्ति भाग्यबाट पनि टाढा रहन्छ। नैतिकता, लज्जा, त्याग, सेवा र समर्पण भाव नै विद्याका गहनाहरू हुन् ।