चरीघरे योजनाले चल्ला र कांग्रेस ?

Avatar photo
Dhadingpost
बिहिबार, माघ ४, २०७४

बद्री अर्याल
नयाँ युगमा नयाँ सोचाइ, नयाँ इच्छा र चाहनाले नेपाली जनताको आकांक्षा आकासिएको छ । यसैवेला जनताको हक–अधिकारका लागि समर्पित भएर जनता र देशको सेवा गर्छु भन्ने कांग्रेस पार्टी तथा यसका पदीय दायित्व बोकेका नेताहरूले जनआकांक्षा सम्बोधन गर्न सक्नुपर्छ । जनताको आधारभूत आवश्यकता पूरा गर्ने र कार्यकर्ताको भविष्य उज्ज्वल बनाउने सवालमा पार्टीका नेताको भूमिका महत्वपूर्ण हुन्छ ।

पार्टीको पद र सरकारी सुविधाको पद प्राप्त गरिसकेपछि जनता कार्यकर्ता र तल्लो निकायलाई बिर्सने विगतको परिपाटीले क्रमशः कांग्रेस कमजोर हुँदै आएको छ । जनता र कार्यकर्ता निराश छन् । न कांग्रेस या यसका नेतासँग जनता खुसी छन्, न आफ्नै पार्टीका कार्यकर्ता उत्साही र सक्रिय छन् । विगत लामो समयदेखि कंग्रेसका नेताले पार्टीको पद पहुँच र राज्यको कार्यकारी भूमिका प्राप्त गरेर आफ्नो पार्टीका कार्यकर्ताको भन्दा आर्थिक पार्टीका कार्यकर्ताको मात्र कुरा सुन्ने र काम गर्ने भएकाले कार्यकर्ताको उत्साहमा कमी भई चुनावी नतिजा कमजोर देखिएको छ ।

जुन वेला आवश्यक पर्छ, त्यही वेला मात्र सम्झिइएका जनता र जुटाइएका कार्यकर्ताबाट लक्ष्य पूरा गर्न सकिन्न । पार्टी संगठनको उद्देश्य, दृष्टिकोण र मर्म पनि बुझ्न र बुझाउन सकिन्न । पार्टी चुस्त दुरुस्त र चलायमान हुन सक्दैन । त्यसैले हरबखत पार्टी सञ्चालनमा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । खेती गर्ने असारमा र थन्क्याउने मंसिरमा हो । खेतमा जाने असारमा या मंसिरमा हो भनेर खेतको संरक्षण गर्न भुल्नु हुन्न खेतमा त सधैँ धाउनुपर्छ । त्यसको सधैँ संरक्षण गर्नुपर्छ । केन्द्रीय समितिले चाहेका वेला मात्र सक्रिय भएर हुँदैन । मातहतका समिति समन्वयकारी र स्थानीय तहका समिति जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने हुनाले तिनको बढी महत्व हुन्छ । केन्द्रीय कमिटी देश र जनताको भविष्यबारे योजना बनाउने, नीति निर्माण गर्ने र जनताको हक–अधिकारका लागि लड्ने भएकाले उसको अलग्गै महत्व हुन्छ ।

कांग्रेसको संगठन सञ्चालनमा कमी–कमजोरी प्रशस्त हुने गरेका छन् । पछिल्लो समयमा कांग्रेस सिद्धान्तमा धनी र विचारमा गरिब बन्दै गएको आभास हुन्छ । बहुदलीय व्यवस्था, जननिर्वाचित सरकार, विधिको शासन, आवधिक निर्वाचनलगायत सिद्धान्तको मूल मर्म अंगीकार गरेको कांग्रेस सैद्धान्तिक रूपमा धनी छ ।

कांग्रेस स्थानीयस्तरमा जनआकांक्षा सम्बोधन गर्न र तत्कालीन विषयवस्तुको पार्टीगत धारणा अनि विचारको सम्प्रेषण गर्ने कार्यमा कमजोर बनेको छ । केन्द्रीय तहमा भएका नीति निर्माण र सरकारमा रहँदाका बखत गरेका कामकारबाहीबारे सुसूचित र प्रशिक्षित गराउन नसक्नु कांग्रेस कमजोर हुनुको अर्को कारण हो ।

त्यसैगरी स्थानीयस्तरमा पार्टीको काम–कारबाही, नीति, निर्णय र विचारका आधारमा अन्य प्रतिस्पर्धी पार्टीका कार्यकर्तासँग वैचारिक बहसमा प्रतिस्पर्धा गर्न नसक्नु पनि कांग्रेस पछि पर्नुको कारण हो । विचार र व्यावहारिक प्रतिस्पर्धामा खरो उत्रन नसक्नु, जोस जाँगर, कर्तव्य बोध र आत्मविश्वाससाथ पार्टीको विगतमा भएका कार्य, ऐतिहासिकता र भावी कार्ययोजनालगायत विषयमा विचार दिन नसक्नु पनि निर्वाचनमा कमजोर नतिजा आउनुको कारण हो । प्रतिस्पर्धी पार्टी र उसका कार्यकर्ताबाट लगाइएका आरोपको प्रतिवाद गर्न नसक्नु, उनीहरूको कमजोर पक्षको पर्दफास गर्नसक्ने कार्यकर्ता उत्पादन गर्न नसक्नु पार्टीको ठूलो कमजोरी हो ।

कांग्रेसले योजना वा विधान बनाउँदा या पार्टीको भावी दृष्टिकोण बनाउँदा सदाबहार र अविच्छिन्न रूपमा कार्यकर्तालाई शारीरिक, मानसिक र वैचारिक खुराकसाथ जनताको दैनिक जीवनमा क्रियाशील राख्ने व्यवस्था मिलाउनुपर्छ । चरीले आफूले अन्डा पार्ने वेलामा मात्र सिन्कासिन्की खोजेर गुँड बनाएझैँ कांग्रेसले पनि निर्वाचन आउन लाग्दा मात्र जनतामा जाने, कार्यकर्ता खोज्ने र अरू वेला चिनेको नचिन्यै गर्ने प्रवृत्ति आजैदेखि त्याग्नुपर्छ । म र मेरा लागि मात्र कार्यकर्ताले क्रियाशील हुनुपर्छ भन्ने प्रवृत्तिबाट माथि उठेर हामी र हाम्रो भन्ने भावना विकास गर्दै तमाम कार्यकर्ताको भविष्यको ग्यारेन्टी गर्नुपर्छ । कार्यकर्ताको भविष्यमाथि खेलबाड गरेर आफ्नो स्वार्थ सिद्ध गर्न खोज्ने पार्टी नेताको भविष्य अन्धकार छ । उनीहरूको दैनन्दिनी तथा सामान्य पढाइ लेखाइसम्ममा पार्टी र नेताले ध्यान पुर्‍याउनुपर्छ । इमानदार कार्यकर्ताको अलावा, पद खाने कोही कसैको आफन्त र आसेपासेले मात्र पार्टी संगठन चुस्तदुरुस्त बन्न सक्दैन । कांग्रेसको विधान पहिले समावेशिता, सहभागिता र प्रतिनिधित्वको हिसाबले समेटिएको भए पनि अधिवेशन व्यवस्थापनको हिसाबले धेरै नै भद्दा भएको थियो । केन्द्रीय महाधिवेशन सञ्चालन गर्दा केही कठिनाइ उत्पन्न भएका थिए । हाल राज्य पुनर्संरचनापछि कंग्रेसको विधानमा यसको क्रियाशील सदस्यताको नयाँ प्रावधान निर्धारण, अनुगमन मूल्यांकनको दिगो र परिणाममुखी व्यवस्था गर्नुपर्छ ।

कांग्रेससँग होनहार कार्यकर्ता नभएका होइनन्, कार्यकर्ता व्यवस्थापन नभएको मात्र हो । कुन कार्यकर्ताको क्षमता कस्तो छ, कुन कार्यकर्तालाई कस्तो जिम्मेवारी दिनुपर्ने हो त्यसबारे नेतृत्वले राम्रो जानकारी नराखेको पाइन्छ । मूल्यांकन अनुगमन पद्धतिबारे पार्टीभित्रका हरेक निकायमा घनीभूत छलफल गरी अब आउने नयाँ विधानमा समावेश गर्नुपर्छ । जसरी सम्पूर्ण पार्टपुर्जा उपलब्ध भएर पनि त्यसको उचित संयोजन नहुँदा गाडी चल्न सक्दैन, त्यसैगरी उचित व्यक्ति उचित जिम्मेवारीसहितको स्थान नहुँदा पार्टी चल्न सक्दैन । त्यो पार्टी बिग्रिएको गाडीसमान हो, गन्तव्यमा पुग्न सक्दैन । कार्यकर्ता भनेका पार्टी चलाउने गाडीरूपी पार्टीका पुर्जा हुन्, जसको उचित संयोजन हुनैपर्छ । सिट कस्ने नटले इन्जिन कस्यो भने के होला, वेलैमा ध्यान दिनुपर्छ, नत्र हेर्दाहेर्दै पार्टी दुर्घटनामा पर्छ ।

राष्ट्रिय सहमतिको अभावमा राज्यका धेरै दीर्घकालीन योजना कार्यान्वयन हुन सकेका छैनन् । अल्पकालीन योजनामा देशले गति लिन सकेको छैन । नेपाली राजनीतिका शिखर पुरुष स्व। गिरिजाप्रसाद कोइरालाले जीवनकै उत्तरार्धमा भन्ने गर्थे, सहमति सहकार्य र एकताले मात्र निकास निस्कन सक्छ । अहिले पनि त्यो भनाइ देश, जनता, पार्टी नेता र कार्यकर्ताका लागि त्यत्तिकै सान्दर्भिक छ । हालको राजनीति पनि यिनै भनाइको पेरिफेरीमा घुमिरहेको छ । देशमा दिगो विकास गर्न र जनताको उच्च आकांक्षा पूरा गर्न कांग्रेस, यसको दृष्टिकोण र यसको कार्य पद्धतिमा पुनर्ताजगीकरण गर्नुपर्छ । मुलुकमा क्रियाशील सम्पूर्ण प्रजातान्त्रिक शक्ति एकाकार गराई विकास निर्माणका कार्यमा सरिक गराउने कार्यको नेतृत्व संगठित कांग्रेसले गर्नुपर्छ । साभारः नयाँ पत्रिका दैनिक