मेयरसा’प ‘चर्पी अभियान’ थालौं

Avatar photo
Dhadingpost
बुधबार, माघ ३, २०७४

ध्रुव लम्साल
ऐतिहासिक सम्पदा रानीपोखरी निर्माणका सन्दर्भमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यमाथि चर्कै प्रहार भयो । शाक्य निर्वाचित भएर आउनुअघि नै पुरातत्व विभागको सिफारिसमा निर्माण सुरु भएको रानीपोखरीमा मेयर शाक्यले कंक्रिटको वाल लगाएर ऐतिहासिकता मासेको आरोप लाग्यो ।

महानगरपालिकाका उपमेयर हरिप्रभा खड्की स्वयंले मेयर शाक्यको कार्यशैलीको विरोध गरिन् भने, स्थानीयले सम्पदा मास्न पाइँदैन भन्दै निर्माणस्थलमा ताला नै लगाए । धेरैखाले विवाद र मन्थनपछि अब रानीपोखरीलाई प्रताप मल्लकालीन शैलीमै बनाउने निर्णय भएको छ । तत्कालका लागि रानीपोखरी विवाद साम्य भएको छ ।

रानीपोखरी, धरहरा, वसन्तपुर दरबार क्षेत्रलगायत काठमाडौंका थुप्रै सम्पदा १२ वैशाख २०७२ मा गएको भूकम्पले ध्वस्त बनाएको छ । ती सबै मठ, मन्दिर र अन्य ऐतिहासिक सम्पदा जस्ताको तस्तै बनाउनुपर्ने दायित्व मेयर शाक्यको काँधमा आएको छ । ठेकेदारले समयमा काम नगर्नु, दक्ष कालीगढ नपाइनु जस्ता स्थायी समस्या त छँदै छन् । प्रतिपक्ष पार्टीको उत्तेजनात्मक आलोचनाको सामना पनि मेयर शाक्यले नै झेल्नुपर्ने बाध्यता छ । अन्य सम्पदा निर्माणका सन्दर्भमा पनि मेयर शाक्य रानीपोखरीजस्तै विवादको भुमरीमा पर्छन् वा स्वतःस्फूर्त अघि बढ्छन्, उनकै कार्यशैलीमा भर पर्छ ।

बिर्सन नहुने के पनि हो भने केवल सम्पदा पुनर्निर्माण गरेर मात्रै काठमाडौंका जनप्रतिनिधिले जस पाउँदैनन् । हेर्दा सामान्यजस्ता लाग्ने तर जटिल र महत्वपूर्ण समस्या कति छन् भन्ने त गनीसाध्य र भनीसाध्यै छैन । तत्काल नबनाई नहुने महत्वपूर्ण काम हो, सार्वजनिक शौचालय ‘चर्पी’ निर्माण । अहिले काठमाडौंमा ५० लाख जनसंख्या भएको अनुमान छ भने सिंगै काठमाडौंमा ४० वटा पनि सार्वजनिक शौचालय छैन । भएका शौचालयको हालत पनि अति नाजुक छ । कतिपय त शौचालय हो कि नाली भन्ने छुट्याउनै मुस्किल पर्छ ।

पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न संघसंस्थाले यस वर्ष १० लाख पर्यटक भित्रिएको भन्दै नाक फुलाए । सरकारले अर्को वर्ष २० लाख पर्यटक भिœयाउने लक्ष्य घोषणा नै गरिसकेको छ । तर, पर्यटक धेरै भित्रयाउने हो भने सहरमा सार्वजनिक शौचालय पनि निर्माण गर्नुपर्छ भन्नेमा सरकारले कहिल्यै चासो दिएको देखिँदैन । यसैगरी पर्यटन व्यवसायीले पनि यो कामलाई प्राथमिकतामा राखेको देखिँदैन ।

सार्वजनिक शौचालय निर्माण अभियान थाल्दा सम्पदा मिचियो वा यसरी बनाउन पाइदैन भन्दै कसैले आन्दोलन गर्दैनन् । कुनै सम्पदाको तुलनामा शौचालय कम लागतमै निर्माण हुन्छ र काठमाडौंबासीले मस्तले उपभोग गर्न पाउँछन् त्यसकारण जनप्रतिनिधिका लागि अंक बढाउने झिनो अवसर पनि हो सार्वजनिक शौचालय

अन्त जानै पर्दैन, पर्यटकीय क्षेत्र ठमेलकै कुरा गरौं न । कुनै पनि पर्यटकलाई घुम्दाघुम्दै दिसापिसाब लाग्यो भने कि त कुनै क्याफेमा पसेर केही चीज अर्डर गर्नुपर्छ कि त बास बसेकै होटल दौडनुपर्छ । सर्वसाधारणको सास्ती त कुरा गरिसाध्यै छैन । कहीँ सपिङमा निस्कनुप¥यो भने थोरै पानी पिएर हिँड्नुको विकल्प छैन । सवारीसाधन रोक्ने र यात्रु चढाउने एनएसी, जमल, लैनचौर, सोह्रखुट्टे, महाराजगन्ज बालाजु कहीँ पनि सार्वजनिक शौचालय छैन ।

यसरी बनाउन सकिन्छ शौचालयसार्वजनिक शौचालय थोरै लगानीमा निर्माण गर्न सकिने लोकप्रिय परियोजना हो । यसको उपभोग सर्वसाधारणले प्रत्यक्ष अनुभूति गर्न सक्छन् । यस अर्थमा मेयर उप–मेयरदेखि वडा अध्यक्षसमेतले जस पाउने काम हो सार्वजनिक शौचालय निर्माण । किनकि सार्वजनिक शौचालय निर्माण गर्दा कोही पनि सम्पदा मिचियो वा यो भएन त्यो भएन भन्दै आन्दोलन गर्न आउँदैनन् । विकास निर्माण अन्य सम्पदाको तुलनामा शौचालय कम लागतमै निर्माण हुन्छ । त्यसकारण जनप्रतिनिधिका लागि अंक बढाउने झिनो अवसर पनि हो । अर्को कुरो सार्वजनिक शौचालय बनाउन काठमाडौंमा जग्गा जमिनको अभाव छैन । कतिपय स्थानमा सार्वजनिक जग्गा छ भने विभिन्न गुठीका जग्गा भाडामा लिएर पनि बनाउन सकिन्छ । कतिपय सार्वजनिक जग्गा भू–माफियाले मिचेका छन् । यदि महानगरपालिकाले चाह्यो भने भू–माफियाद्वारा मिचिएका जग्गा तत्कालै खाली गराउन सक्छ र त्यहाँ सार्वजनिक शौचालयको साथै सुन्दर बगैचासमेत बनाउन सकिन्छ ।

नियमावलीमा के छ ?

२१ औं शताब्दीमा मुलुकभरकै विद्वान बस्ने सहरमा सार्वजनिक शौचालय भएन वा छैनभन्दा लाज लाग्छ । दुःखको कुरा राज्य सत्तामा बस्नेहरू ‘अन्धा र बहिरा’ भएपछि साना कुरालाई पनि ठूला अक्षरमा लेख्नुपर्ने बाध्यता छ । ‘जाबो चर्पी त नबनाउने सरकारबाट राष्ट्रिय गौरवका आयोजना निर्माणको के आश गर्नु’ भन्ने पनि प्रसंग आउनसक्छ । सरकार आफैंले बनाएको नियमावली मात्रै कार्यान्वयन गरेको भए काठमाडौंमा शौचालयको हालत यति खराब हुने थिएन ।

नेपाल आयल निगमको विनियमावलीकै कुरा गरौं । २०६५ अनुसार पेट्रोलियम पदार्थ बिक्रीस्थलमा सार्वजनिक शौचालयको व्यवस्था हुनैपर्छ भनेर उल्लेख गरिएको छ । यसको अर्थ हो पेट्रोल पम्पमा इन्धन भर्न आउनेमध्ये कसैलाई दिसापिसाब लागेको छ भने उसले इन्धन भरुन्जेल ‘रिफ्रेस’ हुने अवसर पाउँछन् । विशेष गरी सार्वजनिक सवारीका चालक र सह–चालकलाई सजिलो हुन्छ । काठमाडौंका कुनै पनि पेट्रोलपम्पहरू शौचालयमैत्री छैनन् । इन्धन भर्नेको कुरा छोडौं, कतिपय पेट्रोल पम्पका कर्मचारीसमेत दिसापिसाब लागेपछि छिमेकीको शौचालय धाउन बाध्य छन् ।

पेट्रोल पम्पलाई जसरी पनि शौचालय बनाउनैपर्छ भनेर ताकेता गर्ने हो भने केही दिनमै शौचालय तयार हुन्छ । पम्प छेउमा एउटा चर्पी पम्पवालाको सामान्य दायित्व हो । अर्को कुरा काठमाडौंमा सञ्चालित चलेका रेष्टुरेन्ट एवं होटललाई कम्तीमा एउटा कोठाको सार्वजनिक शौचालय अनिवार्य गराउने हो भने ती होटल एवं रेष्टुरेन्टले बनाउन सक्छन् । सार्वजनिक शौचालय निर्माण गर्नु होटल एवं रेष्टुरेन्टको सामाजिक दायित्व पनि हो । अहिले हेर्ने हो भने अधिकांश चलेका होटल एवं रेष्टुरेन्टका छेउमा कुनै न कुनै बैंकको एटीएम मेसिन हुन्छ । बैंकको एटीएमका लागि जमिन उपलब्ध गराउन सक्ने होटल रेष्टुरेन्टले शौचालयका लागि जमिन छैन भन्न पाउँदैनन् ।

आम्दानीको गतिलो स्रोत

पछिल्लो समय आम्दानीको सबैभन्दा गतिलो स्रोत भनेकै सार्वजनिक शौचालय हो । शौचालय जतिसुकै फोहोर किन नहोस् पिसाब फेरे वापत पाँच र दिसा गरे वापत १० रूपैयाँ तिनैपर्छ । दिसा पिसाब गरेपछि पैसा तिर्न नाइँनास्ती कसैले गर्न सक्दैन । काठमाडौंमा दुई सय सार्वजनिक शौचालय भयो । दुई सय जनाले त सीधै रोजगारी पाउँछन् । सबै ठाउँमा सम्भव नहोला । जमिन भएको ठाउँमा सार्वजनिक शौचालयसँगै सानो कफी सप सञ्चालन गर्ने हो भने त्यहाँ थप रोजगार सिर्जना गर्न सकिन्छ । शौचालयजस्तै कफी सपमा पनि अरू दुईसयलाई रोजगारी दिन सकिन्छ ।

अर्को बिर्सन नहुने कुरा काठमाडौंमा केवल धनीहरू मात्रै बस्दैनन् । दैनिक लाख खर्च गर्नेदेखि दिनमा एकसय आम्दानी गर्न नसक्नेहरू पनि यहीँ छन् । सडकमा माग्न बस्नेदेखि विभिन्न जटिल रोगले ग्रस्त भएपछि चन्दा संकलनका लागि पनि काठमाडौंमै आउँछन् । ती असहायहरूका लागि शतप्रतिशत निःशुल्क शौचालयको व्यवस्था पनि गरिनुपर्छ ।

शौचालय किन आवश्यक ?

मानवीय स्वास्थ्यका लागि मात्रै हैन, सहरको सौन्दर्य पनि हो शौचालय । काठमाडौंको आकासे पुल, गल्ली र ठूला रूखका फेदमा अहिले पनि प्रशस्तै देखिन्छ दिसापिसाब । बाटोमा दिसापिसाब गरेपछि सहरको सौन्दर्य कस्तो हुन्छ ? तपाई आफैं अनुमान गर्नुस् । स्वास्थ्यको कुरा गर्ने हो भने विभिन्न तथ्याङ्क र प्रतिवेदनअनुसार एउटा स्वस्थ मान्छेले दैनिक कम्तीमा चार लिटर पानी पिउनुपर्छ । पानी नपिउँदा र समयमा पिसाब नगर्दा जटिल रोगले जोसुकैलाई आक्रमण गर्नसक्छ । विज्ञानका कुनै पनि सिद्धान्तले दिसापिसाब रोक्नु भन्दैन । दिसा लागेपछि समयमा दिसा गरेन भने कब्जियतलगायत पेटसम्बन्धी रोग लाग्छ भने समयमा पिसाब नगर्दा मिर्गौलामा असर पर्ने सम्भावना हुन्छ । समयमा दिसापिसाब नगर्दा लाग्न सक्ने अरू धेरै समस्या छन् ।

अन्त्यमा

काठमाडौं महानगरपालिकाले राजधानीका सय स्थानमा सार्वजनिक शौचालय निर्माणका लागि सम्भाव्यता अध्ययन गरेको जानकारी गराएको एक वर्ष पूरा हुन लाग्यो । मेयर शाक्यले पनि ६ महिनाअघि नै ‘क्लिन द सिटी’ अभियानमा सार्वजनिक शौचालयलाई महत्व दिएका थिए ।

अब त राजधानीासीले सोध्न पनि थालेका छ्न, ‘खै शौचालय निर्माणको अभियान निर्माण सुरु भएको ?’ मेयर शाक्यले प्रत्येक वडा अध्यक्षलाई निर्देशनात्मक आदेश जारी गर्दै भन्नुपर्छ, ‘आफ्नो वडामा सबैभन्दा पहिला सार्वजनिक शौचालय बनाऊ ।’ आफ्नो टोलमा मलमूत्र विसर्जनस्थल बनाउने दायित्व वडा अध्यक्ष, सदस्य र अन्य सामाजिक संस्थाको पनि हो । स्थानीयवासी पनि शौचालय निर्माणको सवालमा सकारात्मक हुनुपर्छ । यो अभियानमा सरकारी पहलमा सहभागी हुनुपर्छ ।