राष्ट्रियसभा चुनावमा ४ बेग्लाबेग्लै मतपत्र

Avatar photo
Dhadingpost
बुधबार, माघ ३, २०७४

काठमाडौं माघ ३ । निर्वाचन आयोगले माघ २४ मा हुने राष्ट्रियसभाको निर्वाचनका लागि बेग्लाबेग्लै चार प्रकारका मतपत्र बनाउने भएको छ । मतपत्रको प्रारम्भिक डिजाइन तयार पारिसकेको आयोगले यसबारे दलहरूसँग मंगलबार राय सुझाव लिएको थियो ।

आयोगले राष्ट्रियसभाको चुनाव तयारीबारे जानकारी दिन र आवश्यक राय सुझाव लिन मंगलबार पाँच राजनीतिक दलका प्रतिनिधिलाई आयोगमै डाकेको थियो ।

राजनीतिक दलका प्रतिनिधिहरूले पनि चार प्रकारका मतपत्र बनाउन उपयुक्त हुने सुझाव दिएपछि आयोगले सोहीअनुसार मतपत्र बनाउने निष्कर्षमा पुगेको हो । ‘आयोगले मतपत्रको प्रारम्भिक डिजाइन देखाएर दलका प्रतिनिधिसँग सुझाव मागेकोमा मतभारका लागि फरक–फरक रंगका मतपत्र बनाउन उपयुक्त हुन्छ भन्ने सुझाव उहाँहरूले दिनु भएको छ’, निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने ।

राजनीतिक दलका प्रतिनिधिले मतपत्र ढाँचाजस्तो प्राविधिक विषयमा अब सुझाव दिइरहनु नपर्ने र त्यसमा आयोग निर्णय नै मान्य हुने बताएका थिए । आयोगले चार प्रकारका अलग–अलग मतपत्रको डिजाइन तयार गरेको छ । महिला, दलित, अपांग र अल्पसंख्यक समूह गरी चार वटा मतपत्र हुने भएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

एउटा मतदाताले चार ठाउँमा भोट हाल्नु पर्नेछ । मतपत्र पनि दुई रंगको हुने भएको छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुखले प्रयोग गर्ने एउटा रंगको र प्रदेशसभाका सदस्यले प्रयोग गर्ने मतपत्र अर्को रंगको हुनेछ । स्थानीय तह र प्रदेश गरी एउटा प्रदेशमा दुई वटा मतदान केन्द्र हुने छन् । ‘कस्तो रंगको मतपत्र बनाउने आयोगले छिट्टै निर्णय गर्नेछ’, आयोगका उपसचिव देशबन्धु अधिकारीले भने ।