सहिद स्मृतिको साधारणसभा सम्पन्न (यस्तो छ प्रगति विवरण)

Avatar photo
Dhadingpost
आइतवार, पुस ३०, २०७४

धादिङबेसी पौष ३० । रेडियो बिहानी ९७.६ मेगाहर्ज संचालन गरिरहेको धादिङबेसी स्थित सहिद स्मृति संचार सहकारी संस्था लि. को आठौ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य विष्णुपुकार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा माओवादी केन्द्र धादिङका उपाध्यक्ष एवम् जिउँदा सहिदका रुपमा चिनिने रामबहादुर भण्डारीको विशेष आतिथ्यता रहेको थियो ।

साधारणसभामा प्रमुख अतिथि विष्णुपुकार श्रष्ठले रेडियो बिहानीले दुरदरजका जनतालाई मनोरञ्जनमात्र दिएको छैन अभिमुखिकरण पनि गराएकोमा खुसी व्यक्त गर्दै संचारको महत्वबार प्रष्ट्याएका थिए ।

यस्तै विशेष अतिथि रामबहादुर भण्डारीले सहिदको नाम सँग जोडिएको यस सहकारीले जनयुद्ध जनआन्दोलनको मर्मलाई भुल्न नहुने भन्दै वर्ग पक्षधरता भन्दा बाहिर रेडियो बिहानी जान नहुने बताएका थिए ।

कार्यक्रममा कार्यसमितिका अध्यक्ष जगत सिंखडा प्रदेश सदस्यमा र उपाध्यक्ष मनराज भण्डारी नीलकण्ठ नगरपालिकाको उप प्रमुखमा निर्वाचित भएको खुसीयालीमा सम्मान गरिएको थियो ।

साधारणसभामा उपाध्यक्ष कमल सापकोटाले स्वागत मन्तव्य र संस्थाका महासचिव सुदर्शन खतिवडाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष विष्णुप्रसाद कोइरालाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यस सहकारीले संचालन गरेको यस रेडियो बिहानी, धादिङ सहित ३० जिल्ला भन्दा बढी जिल्लामा सुन्न सकिने गरी अहिले आफ्नै नयाँ भवनबाट प्रसारण हुँदै आएको छ ।

महासचिव खतिवडाको यस्तो थियो प्रगति प्रतिवेदन

सहिद स्मृति सञ्चार सहकारी संस्था परिवर्तनका खातिर प्राणोत्सर्ग गर्नुहुने महान सहिद परिवारको स्मृति र सम्मानमा स्थापित संस्था हो । यो संवेदनशीन र महत्वपूर्ण जिम्मेवारी उठाएको संस्थाको आठौं वार्षिक साधारणसभामा यहाँहरुलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु । म मुलुकमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको अभियानमा आफ्नो प्राण अर्पण गर्नुहुने सम्पूर्ण सहिदहरुप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु ।

संस्था स्थापनाको गौरवमय ९ वर्ष पूरा गरिसकेको अवस्थामा हामी यात्राका उतारचढावमय अनुभूति र अनुभवबाट समृद्ध भएका छौं । साथै, संस्थाको उद्देश्यमुताबिक आफ्नो मूल उद्देश्यलाई सापेक्षितरुपमा निर्वाह गर्न सफल भएका छौं ।

हामी साधारणसभामा छौं । यो दिन विगतको गम्भीर समीक्षा गर्दै भविष्यको लागि वैज्ञानिक बाटो तय गर्ने अवसर हो । हरेक सदस्यहरुले अधिकार र कर्तव्यको कसीमा आफ्नो भूमिकाको मूल्यांकन गर्दै रुपान्तरणसहित नयाँ भूमिकामा प्रस्तुत गर्ने अवसर पनि हो साधारणसभा ।
स्थापनाकालदेखि संस्थाको नेतृत्व गरेको हिसाबले अहिलेसम्मको यात्राको समीक्षा गर्न चाहन्छु ।

मेरो बुझाईमा, संस्थाले आफ्नै स्वामित्वको भवनमा रेडियो स्टेशन सारिसकेपछि अब हामीले भौतिक स्तरन्नोति (हार्डवेयर) का लागि केही पुराना यन्त्रउपकरण मर्मत सम्भार र खरिद गर्न आवश्यक छ । साथै, केही प्रशासनिक कामहरु सम्पन्न गरिसकेपछि हामीले संस्थाको आत्मगत अवस्था (सफ्टवेयर)मा स्तरोन्नतिमा जोड दिनुपर्ने हुन्छ । त्यो भनेको संस्थाको लागि आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन तथा व्यवस्थापन, संस्थागत क्षमतामा अभिवृद्धि, चुस्तदुरुस्त र पारदर्शी प्रशासनजस्ता आधारभूत आवश्यकताहरुको परिपूर्ति गर्नु हो । रेडियोमा समाजको आवश्यकता पूरा गर्नसक्ने गुणस्तरीय सामग्री उत्पादन तथा प्रभावकारी प्रसारणलाई व्यवस्थित गर्ने काम आगामी दिनमा हाम्रो प्राथमिकतामा पर्नुपर्दछ ।

संस्थाले हाल रेडियो बिहानी एफएम सञ्चालन गर्ने एक मात्र परियोजना अगाडि बढाइरहेको छ । यसलाई नै सफलतापूर्वक सञ्चालन गर्ने एक सुत्रीय अभियानलाई हामीले जोड दिन आवश्यक छ । एक वर्ष अगाडि काम सुरु गरेको यो कार्यसमितिले संस्थामा आइपर्ने तत्कालीन समस्याहरुको समाधान गर्दै आइरहेको छ तर दीर्घकालीनरुपमा यसलाई उत्पादनमुलक परियोजनासँग जोडेर रेडियोको आम्दानीलाई वृद्धि गर्दै दिगो विकास र व्यवस्थापनमा आवश्यक ध्यान दिन सकिरहेको छैन ।

सहकारीलाई सदस्यहरुबीचको जीवन सहकार्यको चौतारी बनाउन हामीले विशेष कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने देखिन्छ । कार्यसमितिलाई नै प्रभावकारी परिचालनमार्फत सबैको योग्यता र क्षमतालाई संस्थामा केन्द्रिकरण गर्दै सफलताको मार्गप्रशस्त गर्न यो साधारणसभाले विशेष योगदान गर्ने विश्वास लिएको छु ।

अध्यक्ष एवम् सभासदज्यूहरु,

म अब सम्भावित चुनौतीहरु र भावी योजनाहरुलाई बुँदागत रुपमा प्रस्तुत गर्न चाहन्छु ।

उपलब्धिहरुः

१. संस्थाको स्वप्निल परियोजनाको रुपमा रहेको भवन निर्माण कार्य सम्पन्न गर्दै रेडियो स्टूडियो निर्माण गरी आफ्नै भवनबाट रेडियो प्रस्तारण सुरु गरिएको छ ।
२. जस्तोसुकै अप्ठेरो परिस्थितिमा पनि रेडियोको नियमित प्रसारण बन्द हुने अवस्थालाई न्यूनीकरण गर्दै जान यो कार्यसमिति सफल भएको छ ।
३. स्थानीय स्तरमा भएका विभिन्न औपचारिक÷अनौपचारिक कार्यक्रमहरुमा सक्रियतापूर्वक सहभागिता सुनिश्चित गर्दै सामाजिक संवादलाई खुकुलो बनाउँदै समुदायसँग जोडिने अभ्यासलाई अगाडि बढाउन सफल भइएको छ ।
४. विभिन्न स्तरमा बैठक, समस्या र समाधानकेन्द्रित छलफलहरु विभिन्न तहमा प्रभावकारी ढंगले अगाडि बढाइएको छ ।
प्रस्ताविक कार्यक्रमहरु ः
१. उपार्जनमुलक व्यवसायिक परियोजनाको सुरुवात २. शेयर तथा पुँजी विस्तार अभियान ३. नेतृत्व विकास तालिम ४. पत्रकारिता तालिम ५. उपकरण खरिद र मर्मत सम्भार ६. रेडियो स्रोता क्बलहरुको विस्तार र सहयोग समितिहरु गठन र परिचालन ७. संस्थागत सम्बन्ध विस्तार तथा सुदृढीकरण ८. बजार बिस्तार र थप नियमित आयस्रोतहरुको खोजी ९. स्थानीय तहहरुसँग सम्बन्ध बिस्तार र बजारीकरण १०. रेडियोको प्रस्तारण क्षमता र प्रसारण सामग्रीको गुणस्तरमा वृद्धि
अन्त्यमा,
शेयर सदस्यले सामाजिक चरित्र र संस्कारको प्रतिनिधित्व गर्दछन् भने कार्यसमितिले समाज र शेयर सदस्यहरु दुवैको । कार्यसमिति गुण, दोष, क्षमता, सामथ्र्य, सीमा, कमजोरी आदिको केन्द्रीकरण पनि हो । हामीसँग उपलब्ध सकरात्मक पक्षहरुको केन्द्रीकरण र परिचालन गर्नु नै नेतृत्वको प्राथमिक दायित्व हो । आगामी दिनमा हामी संस्थाको संस्थागत क्षमता र नेतृत्वको नेतृत्व क्षमता विकास गर्दै संस्थाको लक्ष्य र उद्देश्य हासिल गर्दै अगाडि बढ्न अझ दृढताका साथ अगाडि बढ्नेछौं ।

निष्क्रिय सहपाठीको रुपमा शेयर सदस्यदेखि कार्यसमितिसम्मले भूमिका निर्वाह गर्न सक्दैन । गतिशील कार्यसमिति र सक्रिय शेयर सदसयबीचको जीवन्त सम्बन्ध र अन्तरक्रियाले संस्थाको जीवनमा नयाँ ऊर्जा भर्न सकिन्छ । विकसित परिस्थितिहरुले पैदा गरेको चुनौतीलाई अवसरमा रुपान्तरण गर्नै भन्दा पनि विगतका चुनौतीहरुको पहाडले थिचिने अवस्थाबाट हामी मुक्त हुनै पर्दछ ।
धन्यवाद । जय सहकारी !