राष्ट्रियसभामा पनि बामले ४० सिट जित्ने

Avatar photo
Dhadingpost
आइतवार, पुस ३०, २०७४

काठमाडौ पौष ३० । राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले ४० सिट जित हात पार्ने देखिएको छ । प्रदेश २ बाहेक अन्यमा बलियो देखिएको वाम गठबन्धनले प्रदेश ६ मा तीनवटै खुला र तीनवटै महिला जित्ने देखिएको हो ।

कांग्रेसले १२ र मधेसकेन्द्रित दलले ४ सिटमा मात्र जित निकाल्ने देखिएको छ। राष्ट्रियसभाको ५६ सिटका लागि माघ २४ गते निर्वाचन हुँदै छ। ५९ सदस्यीय राष्ट्रियसभामा एक महिलासहित तीन जना राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ ।

प्रदेशसभाका सांसद र स्थानीय तह गाउँपालिका/नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने भएकाले राष्ट्रियसभाको नतिजा अनुमान गर्न सकिएको हो । ७ सय ५३ स्थानीय तहका प्रमुख/उपप्रमुख गरी १ हजार ५ सय ६ जना र प्रदेशसभाका ५ सय ५० जना सांसद राष्ट्रियसभा निर्वाचनका मतदाता हुन् तर स्थानीय तह र प्रदेशसभाका सांसदले दिने मतको भार भने फरक–फरक छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभाका सांसदको मतको भार ४८ निर्धारण गरिएको छ । दुवै तहको मतभार ५३ हजार ५ सय ८ छ । प्रत्येक प्रदेशबाट ८ जनाका दरले राष्ट्रियसभामा सांसद निर्वाचित हुनेछन् । प्रत्येक प्रदेशबाट तीन महिला, एक जना दलित र एक जना अल्पसंख्यक वा अपांगता भएका व्यक्ति र तीन जना अन्य निर्वाचित हुनेछन् । एक जना दलित र एक जना अल्पसंख्यक वा अपांगता भएका व्यक्तिका लागि बहुमतीय चुनाव प्रणाली अवलम्बन हुनेछ भने तीन महिला र तीन अन्यका लागि एकल संक्रमणीय चुनाव प्रणाली लागू हुनेछ ।

प्रदेश २ बाहेक सबैमा वाम गठबन्धनले एक दलित र एक अल्पसंख्यक वा अपांगता भएका व्यक्तिको चुनावमा जित हासिल गर्ने देखिन्छ । प्रदेश २ मा मधेसकेन्द्रित दल राजपा र संघीय समाजवादीले कांग्रेस वा वाम गठबन्धनमध्ये जोसँग तालमेल गर्छन्, उसैले जित्ने अवस्था छ । एकल संक्रमणीय चुनाव प्रणालीमा जम्मा सदर मत संख्यालाई जम्मा निर्वाचित हुने पद संख्यामा एक जोडेर हुन आउने संख्याले भाग गर्दा आउने भागफलमा एक जोड्दा आउने संख्यालाई आवश्यक मत संख्या मानिन्छ । जित्न आवश्यक मत पुगेपछि बढी भएको मत सोही दलको अर्को उम्मेदवारमा संक्रमण वा सर्ने सिद्धान्त यो चुनाव प्रणालीमा लागू हुन्छ । तस्बीर अन्नपूर्ण पोष्ट