जनमतको अपमान नगर

Avatar photo
Dhadingpost
मङ्लबार, पुस २५, २०७४

उत्तम बिक
देशमा भर्खरै मात्र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएसँगसँगै देशमा लामो समयदेखि चलेको राजनैतिक अस्थिरताको अन्त्य हुने आशामा आम नेपालीहरुमा एक प्रकारको खुशियालीको सञ्चार भएको छ । बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको बिच भएको मुख्य प्रतिस्पर्धामा बाम गठबन्धनले स्पष्ट बहुमत हासिल गरेको छ । जसले गर्दा पहिलो पटक देशमा स्थायी सरकारको निर्माण हुने कुरामा नेपाली जनताहरु आशावादी देखिएका छन् ।

नेपालमा २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना भएपनि हालसम्म कम्युनिष्टहरुले बहुमत प्राप्त गरि सरकार निर्माण गर्न सकेका थिएनन् । टुटफुटबाट विखन्डित भएको कम्युनिष्ट पार्टीहरु लामो समय पछि एकतावद्ध भई चुनाव लडेकै कारण बहुमत प्राप्त गर्न सफल भएका छन । नेपालमा बिभिन्न समयमा भएकोे आन्दोलन, दश बर्षीय जनयुद्ध, मधेश आन्दोलन लगायत परिवर्तनको लागी भएको विभिन्न संघर्षहरुबाट नेपाली जनताले धेर थोर उपलब्धि हासिल गरेका छन् । संविधानसभा मार्फत संविधान, धर्म निरपेक्षता, राजतन्त्रको अन्त्य, लोकतान्त्रिक गणतन्त्रको स्थापना लगायतका परिवर्तन संगै १९ वर्षपछि स्थानीय निर्वाचन मार्फत नेपाली जनताले स्थानीय प्रतिनीधि छनोट समेत गरेका छन् ।

लोकतान्त्रिक गणतन्त्रको स्थापना पछि नेपाललाई सात प्रदेशमा विभाजन गरि प्रदेशको समेत निर्वाचन भैसकेको छ । २०७४ मंसिर १० र २१ गरि दुई चरणमा प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको छ । उक्त निर्वाचन मार्फत नेपाली जनताले कम्युनिष्टहरुको बाम गठबन्धनलाई बहुमतका साथ जिताएर देश परिवर्तनको लागी सुनौलो अवसर दिएका छन । उक्त जनमतको कदर गर्दै बाम गठबन्धनले नेपाली जनताको सपना पुरा गर्न सक्छन कि सक्दैनन अहिले सर्वत्र चासोको बिषय बन्न पुगेको छ ।

एकातिर बाम गठबन्धनको बहुमत आए संगै स्थायी सरकार बन्छ र देशमा विकासका बाटोहरु खुल्छ भन्ने जनतामा आशा पलाएको छ भने अर्काेतिर राजनैतिक दलका नेताहरुको छाटकाटले फेरी कतै नेपाली जनताले दुख पाउने त हैनन भन्ने पनि डर देखिएको छ ।

निर्वाचन पहिला हामी पदको लोभी होईनौ देश परिवर्तको लागी हामी एक भईसकेका छौँ भन्दै भाषण गर्ने नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचन्डबीच जुन खालको समझदारी भएको थियो त्यही अनुरुप सम्बोधन हुनुपर्ने आम नेपाली जनताको अपेक्षा रहेका बेला नेकपा एमाले र माओबादी केन्द्रबीच एकता नचाहने केहि अवसरबादी तत्वहरु नेपाली जनताको भावना विपरीत बोल्दै हिँड्नु नेपाल र नेपाली जनताको लागी दुखद्को कुरा हो ।

विगत लामो समयदेखि राजनैतिक किचलोको कारण अस्तब्यस्त अवस्थामा पुगेको देशमा नेपाली जनता विकास संगै निकास चहान्छन भन्ने भुलेर व्यक्तिगत स्वार्थको लागी कुनै व्यक्ति लाग्छ भने अब त्यो दिवा सपना मात्रै हुनेमा दुईमत छैन । नेपाली जनताको माझ नेकपा एमाले र माओवादी केन्द्रले निर्वाचन पहिला जुन खालको घोषणा पत्र सार्वजनिक गरे त्यसै अनुरुप जनताले एकपटक बाम गठबन्धनलाई साथ दिएका छन । विश्वको सामु नेपाल र नेपालीको अस्तित्व बचाउनको लागी पनि बाम तलमेल एकतामा परिणत हुँदै बलियो कम्युनिष्ट केन्द्र बन्न आवश्यक छ । चाहे एमाले होस् या माओवादी केन्द्र यी दुबै पार्टी नेपाली जनताको हित विपरीत गए आफैलाई घाटा हुने निश्चित देखिन्छ । जनताले धेरै दुख भोगी सकेका छन् । यो या त्यो बाहानामा जनता बिरोधी कदम चालेमा नत पार्टी रहन्छ नत नेता, त्यसैले बाम गठबन्धनले जनताको जनमतको कदर गर्दै एकता गर्न जरुरी छ । जनताले केपी ओली र प्रचण्डलाई साथ दिएको देश निर्माणको लागी हो कुनै नेताको कुर्सी बचाउनको लागी हैन भन्ने उनिहरुले बुझ्न जरुरी छ ।

देशमा राणा शासन, राजतन्त्र, पञ्चायत, बहुदल सबैको अन्त्य गर्न नेपाली जनताले साथ दिए । आज एक्काईसौं शताब्दी सुहाउदो परिवर्तन नेपाली जनताले चाहिरहेका छन । जस्को लागी हाल प्रदेश र प्रतिनीधि सभाको निर्वाचन मार्फत नेपाली जनताले बाम घटकहरुलाई अवसर दिएका छन त्यो अवसरलाई सदुपयोग गरेर देशलाई आमुल परिवर्तन गराउने यो राजनैतिक फोहोरी खेलमै अवसान गराउने सबै बाम गठबन्धनको नेतृत्वहरुको हातमा छ ।

देशको तरल अवस्थालाई मध्यनजर गर्दै ठोस विकासको लागी नेतृत्व पंक्तीले विना संकोच, विना स्वार्थ निर्णायक भुमिका खेल्नेमा सबै आशावादि पनि छन । धेरै दुख भोगिसकेका नेपालीहरुले अब अरु दुख भोग्न चाहदैनन । जसरी हुन्छ देशमा परिवर्तन होस भन्ने चहान्छन । स्वदेश तथा बिदेशमा रहेका आम नेपालीहरुको चहाना भनेको नै देशमा विकास होस अरुको देशमा गएका लाखौं नेपालीहरुले आफ्नै देशमा फर्किए राजगारिको ब्यवस्था गर्न सकुन ।

नेताहरुको भाषण ब्यवहारमा परिणत होस । चुच्चे रेल, हिन्दु महसागरमा पानी जाहाजको जस्ता ठुला सपनाहरु विस्तारै पुरा गरुन तर नेपालमा रहेका नेपालीहरुको लागी काम गरेर जिवन निर्वाह गर्ने वातावरण बनोस । अन्तमा जनताको जनमत अनुसार बहुमतको सरकार निर्माण होस, देशमा रहेको सबैखाले अस्थिरताको अन्त्य संगै विकासका नयाँ योजनाहरु शुरु होस लाखौं लाख नेपालीहरुले विदेशी भुमिबाट फर्केर आफ्ंनै देशमा रोजगार पाउन, विदेशमा कमाएको रकम लगानी गरि आफुसंगै अरुलाई पनि रोजगार दिन सक्ने, वातावरण निर्माण होस । देशमा बन्द अबस्थामा रहेका कलकारखाना पुर्ण सञ्चालनमा ल्याएर स्वरोजगार बन्न सरकार र सम्बन्धित निकायले निर्णायक भुमिका खेल्न सकोस । स्वस्थ्य, शिक्षा, रोजगारमा सरकारको प्रभाबकारी भुमिका रहोस जस्को कारण कुनै पनि नेपाली जनताले स्वास्थ्य, शिक्षाबाट बन्चित हुन नपरोस ।

नेपाली जनताले जसरी बाम गठबन्धनलाई विश्वास गरेर जनमत दिए त्यसै गरेर बाम गठबन्धनले पनि नेपाली जनतालाई विभिन्न खाले समस्याबाट मुक्ति दिएर समुन्नत नेपालको निर्माण गर्न सकुन । अबको पाँच वर्षमा नेपाली जनताले बाम गठबन्धन बाट मात्रै यो देशको परिवर्तन भयो भन्ने खालको सन्देश दिन सकुन । परिवर्तनको ढोकामा पाईला टेकेका कम्युनिष्टहरुले विना स्वार्थ, विना संकोच परिवर्तनको ढोका खोल्ने हिम्मत गरुन हाम्रो शुभकामना ।