धादिङका निर्वाचित उम्मेदवारको राजनीतिक पृष्टभुमी

Avatar photo
Dhadingpost
सोमवार, मंसिर २५, २०७४

भुमीप्रसाद त्रिपाठी
प्रतिनिधी सभा सदस्य क्षेत्र नं. १ धादिङ

२०२३ सालमा धादिङको मलेखुमा जन्मिएका त्रिपाठी तीन दशकभन्दा लामो समयदेखि कम्युनिष्ट राजनीतिमा क्रियाशील छन् । त्रिपाठीको तत्कालीन आदर्श माध्यमिक विद्यालय गजुरीमा अध्ययनरत रहँदा २०३६ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट आफ्नो राजनीतिक यात्रा सुरु रारजनितिक यात्रा सुरुभएको थियो । त्यस क्रममा उनी ल क्याम्पसको स्ववियु सचिवसमेत बनेका थिए । धादिङ–काठमाडौं सम्पर्क मञ्चमा आवद्ध भएर जिल्लाको राजनीतिसँग पनि जोडिएका त्रिपाठी २०४५ मा पार्टी विभाजन भएपछि जिल्लामा फर्किएर सक्रिय राजनीतिमा लागे । राजनीति शास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातकसम्मको औपचारिक अध्ययन गरेका त्रिपाठी हाल एमाले धादिङका अध्यक्ष समेत हुन् । उनले दोब्बर मतले नेपाली काँग्रेसका विश्व अर्याललाई हराएका हुन् ।

खेम लोहनी
प्रतिनिधी सभा सदस्य क्षेत्र नं. २ धादिङ

वि.सं. २०१७ सालमा जन्मिएका लोहनी एमालेका केन्द्रीय सदस्य हुन् । ज्वालामुखी गाउँपालिका वडा नम्बर ७ का स्थायी बासिन्दा लोहनीले मानविकी र शिक्षाशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् । २०३५ सालमा विद्यार्थी आन्दोलनबाट राजनितिक यात्रा सुरु गरेका लोहनीले २०३८ सालमा विश्वविद्यालय क्याम्पस कीर्तिपुरको स्ववियु सदस्य बने । त्यसपछि सक्रिय राजनीतिमा लागेका लोहनी २०५४ सालमा जिल्ला विकास समिति धादिङको सभापतिमा निर्वा्चित भए । जिविस सभापतिको रुपमा ५ वर्षे कार्यकाल पूरा गरेका उनले २०६९ सालबाट एमाले धादिङको अध्यक्षको रुपमा जिम्मेवारी सम्हाले । हाल उनी केन्द्रीय सदस्य एवम् धादिङ, नुवाकोट र रसुवा जिल्ला इञ्चार्जको जिम्मेवारीमा समेत छन् । लोहनीले कडा प्रतिस्पर्धी नेपाली काँग्रेसका दिलमान तामाङलाई हराएका हुन् ।

राजेन्द्र पाण्डे
प्रतिनिधी सभा क्षेत्र नं. १ को प्रदेश सभा १ धादिङ

त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा एम.ए.सम्मको अध्ययन गरेका राजेन्द्र पाण्डे सक्रिय राजनीतिमा आउनुअघि (२०३४–२०४२) शिक्षण पेसामा आबद्ध थिए । उनले २०३३ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिए । त्यसपछि २०३४ देखि नेपाल राष्ट्रिय शिक्षक संगठनको संस्थापक सहित २ कार्यकाल धादिङ जिल्ला अध्यक्ष भएर काम गरे । २०३६ सालबाट ८ वर्षसम्म उनी पार्टीको जिल्ला सचिव भए । पाण्डे २०५० देखि ०५६ सालसम्म नेकपा एमाले बाग्मती अञ्चल कमिटी सचिव र २०५५ सालमा पार्टी केन्द्रीय सदस्य बने भने २०६५ सालदेखि पोलिटब्युरो सदस्य छन् । पाण्डे साविकको धादिङ क्षेत्र नम्बर ३ बाट २०४८, ०५१ र ०५६ मा विजयी भएका थिए । २०६५ साल जेठ ८ देखि चैत १५ गतेसम्म स्थानीय विकास मन्त्री पाण्डेले २०६४ को पराजयको बदला शालिकराम जमकट्टेललाई २०७० तिरेका थिए । यस पटक पाण्डेले नेपाली काँग्रेसका उम्मेदवार मधुकुमार श्रेष्ठलाई फराकिलो मतान्तरले पराजित गरेका छन् ।

शालिकराम जमकट्टेल
प्रतिनिधी सभा क्षेत्र नं. १ को प्रदेश सभा २ धादिङ

२०३० साल भदौमा साविकको किराञ्चोक गाविस वडा नम्बर ९ मा जन्मिएका जम्कट्टेल हाल माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम् धादिङ जिल्ला अध्यक्ष हुन् । बि.ए., बि.एल.सम्मको अध्ययन गरेका जम्कट्टेलले २०४४ सालमा अखिल छैटौंमा आबद्ध भएर विद्यार्थी राजनीति सुरु गरेका थिए । २०४८ औद्योगिक मजदुर संगठनको ललितपुर जिल्ला कमिटी सदस्य हुँदै केन्द्रीय कोषाध्यक्ष सम्म बने । माओवादी जनयुद्ध सुरु भएपछि उनी त्यसमा निरन्तर क्रियाशील रहे । २०६० सालबाट एक दशकभन्दा बढी समय माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष बनेका जमकट्टेल २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा धादिङ क्षेत्र नम्बर ३ बाट एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेलाई पराजित गरेका थिए यद्यपि त्यसको पैचो पाण्डेले २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा लिएका थिए । जम्कट्टेलले लोकतान्त्रिक गठबन्धन नेपाली काँग्रेसका प्रभात किरण सुवेदीलाई पराजित गरे ।

डा. रामकुमार अधिकारी
प्रतिनिधी सभा क्षेत्र नं. २ को प्रदेश सभा १ धादिङ

२०२२ सालमा साविकको धुवाँकोट ८ मा जन्मिएका डा. अधिकारी एमालेको ३ नम्बर प्रदेश कमिटीका सदस्य हुन् । महाराजगञ्ज मेडिसिन क्याम्पसबाट पिएचडी गर्ने पहिलो व्यक्तिको रुपमा चिनिएका डा. अधिकारीको राजनितिक यात्रा २०३७ सालमा अमृत साइन्स क्याम्पसमा अनेरास्ववियु पाँचौंको सहप्रारम्भिक कमिटीबाट सुरुभएको थियो । २०४३ सालमा चैनपुर गाउँ सक्रिय दलको सदस्य बने । त्यसपछि तत्कालीन भूमिगत पार्टी मालेको इलाका नम्बर ५ कमिटी सदस्य बनेका अधिकारी २०४९ नेकपा एमालेको जिल्ला कमिटी सदस्य बने । हाल उनी पार्टीको प्रदेश कमिटी सदस्य तथा एमाले निकट बुद्धिजीवि संगठनका केन्द्रीय सदस्य हुन् । उनले नेपाली काँग्रेस धादिङका प्रभावशाली नेता ररमेश धमलालाई पराजित गरेका हुन् ।

जगत सिंखडा
प्रतिनिधी सभा क्षेत्र नं. २ को प्रदेश सभा २ धादिङ

२०३० सालमा साविकको आगिञ्चोक गाविस वडा नम्बर १ मा जन्मिएका सिंखडा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम् अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव हुन् । २०४६ साल कात्तिकमा भीमोदय माध्यमिक विद्यालय गोलाङले पञ्चायत विरोधी गतिविधिमा संलग्न भएको भन्दै निष्कासन गरेपछि सिंखडा औपचारिक राजनीतिक यात्रा सुरु थियो । आइए सम्मको अध्ययन पुरा गरेका सिंखडाले २०५३ सालमा माओवादी जनयुद्ध सुरु भएपछि भूमीगत बनेर सक्रिय राजनीतिमा होमिएका थिए ।
त्यस क्रममा माओवादी जनमुक्ति सेनाको धादिङ जिल्ला प्लाटुन कमिसार बनेर फौजी नेतृत्व सम्हाले । २०६१ सालमा पार्टीले उनलाई कास्की पठायो । पोखरा गएर उनी अखिल नेपाल टूेड युनियन महासंघको गण्डक क्षेत्रीय व्यूरो संयोजक बने । माओवादी शान्ति प्रक्रियामा आएपछि सिंखडा अखिल नेपाल यातायात मजदुर संघको केन्द्रीय अध्यक्ष बने । हाल उनी अखिल नेपाल ट्रेड युनियन महासंघको महासचिव छन् उनले लोकतान्त्रिक गठबन्धन राप्रपा उम्मेदवार डम्बर तामाङलाई पराजित गरेका थिए ।