बामगठबन्धनका सुत्रधारले नै हारे चुनाव

Avatar photo
Dhadingpost
आइतवार, मंसिर २४, २०७४

धादिङ मंसिर २४ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र अन्य वामपन्र्थीहरुको एकीकरणको बहस चलाउने योजनाकार नै प्रतिनिधि सभाको चुनावबाट आउट भएका छन् ।

नेकपा एमाले र माओवादी केन्द्र चरम विवादमा रहँदा पनि यी दुई पार्टीलाई मिलाउने बहसलाई निरन्तरता दिने नेकपा एमालेका प्रभावशली नेता वामदेव गौतम र माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ नै प्रतिनिधि सभाको चुनावबाट आउट भएका हुन् ।

नाराणकाजी श्रेष्ठ गोरखाबाट आफ्ना पूर्व सहकर्मी डा.बाबुराम भट्टराईसँग पराजित भएका छन् । मतगणनाको प्रारम्भमा पटक पटक भट्टराई भन्दा अगाडि लागेका श्रेष्ठ अन्तत उनीसँग ६ हजार ८ सय ७४ मतान्तरले पराजित गरेका हुन् । भट्टराईले ३१ हजार ८ सय ७ र श्रेष्ठले २४ हजार ९ सय ३३ मत ल्याएका छन् ।

यस्तै नेकपा एमालेका प्रभावशाली नेता, पूर्व गृहमन्त्री तथा बाम गठबन्धनका सूत्राधार बामदेव गौतम समेत बर्दिया क्षेत्र नं। १ बाट पराजित भएका छन् । उनी वर्तमान सिंचाई मन्त्री समेत रहेका सञ्जयकुमार गौतमसँग ७ सय ७५ मतले पराजित भएका हुन् । सञ्जयले ४४ हजार ८ सय २९ मत ल्याँउदा गौतमले ४४ हजार ७६ मत ल्याए ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वामगठबन्धन बनाएर चुनावी मैदानमा होमिन एमाले र माओवादी केन्द्र बचिको सुत्रधार नै यी दुई नेता चुनावबाट बाहिरिनुले अप्रत्याशित रुपमा लिइएको छ ।

चुनाव हार्ने चर्चित नेता

डा. रामशरण महत
पटक पटक अर्थमन्त्री समेत बनेका र नुवाकोटबाट अविछिन्न रुपमा जित हासिल गर्दै आएका नेपाली कांग्रेसका नेता डा. रामशरण महतले यसपटको प्रतिनिधी सभाको निर्वाचनमा हार बेहोर्नु परेको छ । उनले नुवाकोपट क्षेत्र नं. १ बाट माओवादीका हितबहादुर तामाङ सँग ९ हजार मतान्तरले पराजित भएका हुन् । तामाङले ३६ हजार ४ सय ७३ मत ल्याँउदा महतले २७ हजार ९ सय २० मत पाएका हुन् ।

दमननाथ ढुङ्गाना
भक्तपुर क्षेत्र नं.२ मा बाम गठबन्धनका उम्मेदवार महेश बस्नेतले नेपाली कांग्रेसका पूराना नेता दमननाथ ढुङ्गानालाई भारी मतले पराजित गरेका छन् । एमालेका यूवा नेता बस्नेतले ३६ हजार ४ सय १३ मत ल्याएर बिजयी भएका हुन् । पराजित भएका ढुङ्गानाले १८ हजार ६ सय ३५ मत ल्याएका छन् ।

कमल थापा
मकवानपुर क्षेत्र नं. १ बाट राप्रपा अध्यक्ष कमल थापा पराजित भएका छन् । एमालेका कृष्ण दाहालले ४० हजार ६ सय ३१ मत ल्याँउदा थापाले ३४ हजार ६ सय ५८ मत ल्याएर पराजय भोगेका हुन् ।

अर्जुन नरसिंह केसी
नुवाकोट क्षेत्र नं. २ मा बाम गठबन्धनका उम्मेदवार एमालेका नेता नारायण खतिवडासँग नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी पराजित भएका छन् । उनी १० हजार मतान्तरले पराजित भएका हुन् । खतिवडाले ३६ हजार ८ सय ९२ मत पाँउदा केसीले २६ हजार ३ सय ३५ मत पाएका थिए ।

कृष्णप्रसाद सिटौंला
झापा क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री समेत कृष्णप्रसाद सिटौला राप्रपाका उम्मेदवार राजेन्द्र लिङदेनबाट पराजित भएका छन् । बाम गठबन्धनबाट सहयोग पाएका लिङदेनसँग सिटौला एक्लै चुनाव लडेका थिए । आइतबार सम्पन्न मत परिणाम अनुसार लिङदेनले ४४ हजार ६ सय १४ मत ल्याएका थिए भने सिटौलाले ३१ हजार १ सय ५६ मत ल्याएर पराजि त भएका थिए ।

विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका चर्चित यूवा नेता विश्वप्रकाश शर्मा झापा क्षेत्र नं. १ बाट पराजित भएका छन् । माओवादीका नेता राम कार्कीसँग उनले पराजय भोगेका हुन् । कार्कीले ३६ हजार १ सय ७३ मत ल्याउर जितको झन्डा गाडेका थिए भने शर्माले ३३ हजार ३ सय १० मत ल्याएर पराजित भएका थिए ।

रामचन्द्र पौडेल
तनहुँ क्षेत्र नंं. १ को प्रतिनिधीसभा निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पराजित भएका हुन् । झन्डै ४५ सय मतान्तरले एमालेका उम्मेदवार किसानकुमार श्रेष्ठले पौडेललाई पराजित गरेका हुन् । विजयी भएका श्रेष्ठले ३४ हजार ४ सय ८९ मत ल्याएका छन् भने पौडेलले २७ हजार ६ सय ७५ मत ल्याएका छन् । पार्टी सभापति र प्रधानमन्त्रीका आकांक्षी रहेका पौडेलको सपनामा यो चुनावले पूर्णबिराम लगाइदिएको छ ।

आरजु राणा देउवा
कैलाली क्षेत्र नं. ५ बाट प्रधानमन्त्री शेरबहादुर पत्नी आरजु राणा पराजित भएकी छिन् । उम्मेदवारी दिएलगतै धनगढीमा ३ करोडको घर किनेर चुनावी प्रचारमा जुटेकी राणालाई एमालेका उम्मेदवार नारदमुनी रानाले पराजित गरेका हुन् । रानाले २७ हजार २ सय २ मत ल्याए भने कांग्रेस उम्मेदवार राणाले २२ हजार ३ सय २२ मत ल्याएकी थिइन् ।

विमलेन्द्र निधि
धनुषा क्षेत्र नं. ३ बाट प्रतिनिधीसभाको निर्वाचनका लागि प्रतिष्पर्धामा रहेका नेपाली कांग्रेसका प्रभावशाली नेता बिमलेन्द्र निधी राजपाका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोसँग पराजित भएका हुन् । निधी महतोसँग २९ सय मतान्तरले पराजित भएका हुन् । निधीले २७ हजार ८ सय ४७ मत ल्याँउदा महतोले ३० हजार ७ सय ५० मत ल्याएका थिए ।

खगराज भट्ट
डडेल्धुराबाट प्रतिनिधीसभाको निर्वाचनमा माओवादी केन्द्रका नेता खगराज भट्ट पराजित भएका हुन् । उनी प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग झन्डै ७ हजार हाराहारी मतले हार्न पुगेका हुन् । देउवा २८ हजार ४४ मत पाएर विजयी भए भने भट्टले २१ हजार १ सय १५ मत ल्याएका छन् । यो क्षेत्रमा देउवाले २०४८ सालदेखि निरन्तर रुपमा विजयी हुँदै आइरहेका छन् ।

दीपकुमार उपाध्याय
भारतका लागि पूर्व राजदुत समेत रहेका नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्याय कपिलबस्तु क्षेत्र नं. १ बाट पराजित भएका छन् । बाम गठबन्धनबाट प्रतिष्पर्धामा रहेका माओवादी केन्द्रका नेता चक्रपाणी खनाल बलदेवसँग उपाध्याय पराजित भएका हुन् । खनालले २९ हजार ७ सय ९९ मत ल्याएका छन् भने उपाध्यायले २८ हजार ८ सय ५३ मत ल्याएका छन् ।

डा. शेखर कोइराला
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला एमालेका चर्चित नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितसँग पराजित भएका छन् । मोरङ क्षेत्र नंं. ६ का उम्मेदवार कोइरालाले ३३ हजार २ सय ६६ मत ल्याए भने उनलाई पराजित गरेका लालबाबु पण्डितले ३३ हजार ९ सय ४१ मत ल्याएका छन् ।

पशुपति शमशेर राणा
सिन्धुपाल्चोक क्षेत्र नं. २ मा तेश्रो पटक पराजित भएर राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले हारको ह्याट्रिक गरेका छन् । उनी २०६४, ७० तथा ७४ को तीन ओटै निर्वाचनमा पराजित भएका हुन् । नेपाली कांग्रेसको लोकतान्त्रिक गठबन्धनबाट चुनाव लडेका राणालाई एमालेका शेरबहादुर तामाङले ८ हजार मतान्तरले पराजित गरेका हुन् । तामाङले ३८ हजार ४ सय १ मत ल्याँउदा राणाले ३० हजार ६९ मत ल्याएका थिए ।

रामहरि खतिवडा
२०७० को निर्वाचनमा ओखलढुङ्गाबाट निर्वाचित सांसद रामहरी खतिवडा आकर्षक ढंगले संसदमा प्रस्तुत हुने गर्दथे । संसदीय समितिमा खासगरी लेखा समितिमा कांग्रेसका अर्का पूर्व सांसद धनराज गुरुङ र रामहरी खतिवडा आमन्त्रित सरकारी कर्मचारी तथा मन्त्रीहरुलाई तथ्यपूर्ण रुपमा उनीहरुले गरेको कमजोरी औंल्याई झाँको झारेर पठाउँथे ।
प्रतिनिधी सभा निर्वाचनमा ओखलढुङ्गा क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका खतिवडा एमालेका उम्मेदवार यज्ञराज सुनुवारसँग पराजित भएका छन् । सुनुवारले ३२ हजार ५ सय ८० मत ल्याएका छन् भने खतिवडाले २७ हजार ३ सय ३७ मत ल्याएका छन् ।

विक्रमबहादुर थापा
महिला बालबालिका तथा समाजकल्याण मन्त्री समेत रहेका राप्रपाका नेता काठमाडौं ७ मा पराजित भएका छन् । उनी एमाले नेता तथा पूर्व सांसद रामवीर मानन्धरसँग पराजित भएका हुन् । मानन्धरले १८ हजार १ सय २ मत ल्याएका छन् भने थापाले १० हजार ७९ मत ल्याएका छन् ।

उदयशमशेर राणा
नेपाली कांग्रेसका यूवा नेता तथा सरकारका अर्थराज्यमन्त्री उदयशमशेर राणा प्रहरीका पूर्व डिआइजी नवराज सिलवालसँग पराजित भएका छन् । ललितपुर क्षेत्र नं.१ मा बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका सिलवालले २६ हजार ९ सय ४६ मत ल्याउदै जित निकालेका हुन् । पराजित भएका राणाले २० हजार ७ सय २९ मत ल्याएका छन् ।

अम्बिका बस्नेत
सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी कांग्रेस नेतृ अम्बिका बस्नेत काठमाडौं क्षेत्र नं. ३ मा एमाले नेता कृष्ण राईसँग पराजित भएकी छिन् । राईले १९ हजार १ सय ६९ मत ल्याए भने पराजित भएकी बस्नेतले १४,८८४ मत ल्याएकी छिन् । उनी यसअघि समानुपातिकबाट सांसद बनेकी थिइन् ।

दीपक प्रसाद कुँइकेल
नेपाली कांग्रेसका नेता दीपक प्रसाद कुँइकेल २०७० मा भएको निर्वाचनमा माधव कुमार नेपाल विजयी भएर छोडेको काठमाडौं २ मा निर्वाचित भएका थिए । माधव नेपाल विजयी भएर छोडेपछि भएको उपनिर्वाचनमा कुँइकेलले जित निकालेका थिए । लोकतान्त्रिक गठबन्धनबाट चुनाव लडेका उनले १४ हजार २ सय ९ मत पाए भने विजयी भएका माधव नेपाले २७ हजार ३ सय ६६ मत ल्याएका छन् ।

नवीन्द्रराज जोशी
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशी काठमाडौं क्षेत्र नं. ८ मा एमालेका नेता जीवनराम श्रेष्ठसँग पराजित भएका छन् । श्रेष्ठले १३ हजार ३ सय ९७ मत ल्याएका छन् भने जोशीले १२ हजार ९ सय ९३ मत ल्याएका छन् ।

डा.राजन भट्टराई
एमालेका यूवा डा. राजन भट्टराई कांग्रेसका यूवा नेता गगन थापासँग पराजित भएका छन् । २०७० को निर्वाचनमा नेकपा एमालेबाट समानुपातिकबाट सांसद बनेका भट्टराई बौद्धिक नेताका रुपमा चिनिन्छन् ।
काठमाडौं क्षेत्र नं. ४ मा बाम गठबन्धनबाट उम्मेदवार बनेका भट्टराईले १८ हजार १ सय ४० मत ल्याए भने उनलाई पराजित गरेका गगन थापाले २१ हजार ५ सय ५८ मत ल्याएका छन् ।

झक्कु सुवेदी
काठमाडौं निर्वाचन क्षेत्र नं. ६ मा बाम गठबन्धनबाट उम्मेदवारी दिएका झक्कु सुवेदीलाई झड्का लागेको छ । उनी नेपाली कांग्रेसका नेता तथा रक्षामन्त्री भीमसेनदास प्रधानसँग पराजित भएका हुन् । प्रधानले १६ हजार ७ सय ८५ मत ल्याँउदा सुवेदीले १५ हजार ४ सय ८५ मत ल्याएका छन् । २०६४ सालमा भएको संविधान सभा निर्वाचनमा झक्कुले एमाले नेता माधवकुमार नेपाललाई पराजित गरेका थिए ।

रवीन्द्र मिश्र
बीबीसीका पूर्व पत्रकार विवेकशील साझा पार्टीका प्रमुख रवीन्द्र मिश्र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भए । काठमाडौं क्षेत्र नं. १ मा नेता सिंहले १० हजार ९ सय ३७ मत ल्याए भने विवेकशील साझाका मिश्रले १० हजार २ सय १८ मत ल्याए । निर्वाचन अगाडि यसबर्ष राष्ट्रिय दल बन्ने र अर्को पटक सरकारको नेतृत्व गर्ने नारा बनाएको उनको पार्टीलाई झड्का लागेको छ । सामाजिक सञ्जालबाट निर्वाचन प्रचार प्रसारलाई तीब्र बनाएको उनको दलले काठमाडौंका अन्य क्षेत्रहरुमा पनि जित निकाल्न सकेन ।