मेरो प्रतिवद्धता

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक २७, २०७४

म राजु नेपाल । विद्यार्थी कालदेखि राजनीतिमा सक्रिय भएर जीवनको महत्वपूर्ण ऊर्जा र समय मैले राजनीतिक परिवर्तनका लागि खर्चिएँ । जनयुद्ध र जनआन्दोलन मार्फत गणतन्त्र, धर्म्निरपेक्षता, संघीयता, समानुपातिक समावेशिता सहितको जनपक्षीय संविधान निर्माण भइ सकेको छ । हामी समाज विकासको अर्को नयाँ चरणमा फड्को मार्दैछौं । भूगोल एकीकरणको चरण, राजनीतिक परिवर्तनको चरण हुँदै अब हामी समृद्धि अथवा भौतिक सभ्यता निर्माणको चरणतर्फ लम्किरहेका छौं । व्यवस्था फेर्ने राजनीतिको लम्बे अभियानको क्रममा विकास भएका कतिपय नकरात्मकता फेर्दै मुलुकलाई समृद्धिमा लैजानु आज हामी सबैको दायित्व भएको छ । इतिहासमा राजनीतिक परिवर्तनका लागि भूमिका खेलेका दल र नेतृत्वले मुलुक र जनताको चाहना र आवश्यकता बुझ्न नसक्दा जनतामा निराशा बढिरहेको छ । राजनीतिक दल र नेतृत्व प्रतिको विश्वास र भरोसा टुट्दै गएको छ । नागरिकले धेरै अवसर शीर्ष नेताहरुलाई दिइसकेका छन् । तर, व्यवहारमा निराशा शिवाय केही पाउन सकेका छैनन् । गरिबी र बेरोजगारी बढिरहेको छ । प्राकृतिक स्रोत सम्पदाको दृष्टिले हामी धनी छौं । अवसरमा रुपान्तरण गर्न सके हाम्रो रणनीतिक अवस्थिति पनि महत्वपूर्ण छ । तर, प्रकृतिले दिएको सुनको थाल बोकेर हामी विदेशीसँग मागेर बाँचिरहन विवश छौं । लाखौं लाख युवा देशको शासकीय असक्षमताले विदेशी भूमिमा रगत र पसिना बगाउन बाध्य छन् । उनीहरुले आफ्नै परिवारसँग बसेर आफ्नै खेतबारी र पाखा पखेरोमा पानी र पसिनाले सिंचाई गर्ने अवसर गुमाइरहेका छन् । स्वदेशमा लगभग वृद्धवृद्धाहरु मात्रै बाँकी छन् ।
हाम्रा नाबालक सन्तानहरुले उचित शिक्षा र स्वास्थ्यको अवसर पाइरहेका छैनन् । के अथाह सम्भावना भएको हाम्रो देशमा हाम्रै युवाहरुले सिर्जनशील पाखुरा खियाएर हाम्रै धर्ती स्वर्ग बनाउन सकिँदैन ? अवश्य सकिन्छ । हामी आफ्नो गाउँ–ठाउँ आफैं मिलेर बनाउन सक्छौं । यही दृष्टिकोण र आत्मविश्वास बोकेर म यहाँहरुसँग सहकार्य गर्ने सपना र भिजन सहित यहाँहरुको बीचमा आएको छु ।
राजनीतिक परिवर्तनको बेला हामी विभिन्न वाद, विचार र पार्टीहरुमा संगठित भयौं । अब समृद्धिका लागि सहकार्य आवश्यक छ । मन साँघुरो बनाएर हामी समृद्धिसम्म पुग्न सक्दैनौं । विकसित र समृद्ध मुलुक हेर्नेमनको सपनाको निर्धारण हाम्रो मतले मात्रै पूरा गर्न सक्छ । हाम्रो मतले व्यवस्था फेर्यो, हाम्रै मतले अवस्था फेर्न सक्छ । पुरानो व्यवस्था प्रतिको लगाव नफेरेको भए व्यवस्था फेर्न सकिन्नथ्यो । त्यसर्थ, समृद्धिका लागि मन बदलौं । छातीमा हात राखेर सोचौं । कतै भोट हालिरहेको हात नयाँ चिन्हतिर जान नमान्न सक्छ । तर, आखिर हातले मनको आदेश न मान्ने हो । मनलाई सोधौं, आँखा खोलौं । आँखा चिन्हमा मतदान गरौं । नयाँ पुस्ताको क्षमता, गुण र जोशको समष्टि प्रज्ज्वलित गर्दै अवगुणको अँध्यारो लखेटौं । विकास र समृद्धिको बाटो हुँदै समुन्नत समाजवादतर्फ अगाडि बढौं । आन्दोलनको समयमा हामीले हाम्रो विरता प्रदर्शन गर्यौं र तानाशाहलाई घोडाबाट खसाल्यौं । अब हामीले गरिबी र विपन्नताविरुद्धको लडाईं लड्नुपरेको छ । यसको लागि हामीभित्रको उद्यमशिलतालाई उजिल्याउनुको विकल्प छैन । कृषिको आधुनिकीकरण, वैज्ञानिक र जीवनपयोगी शिक्षा, स्वास्थ्यको सहज पहुँच, व्यवस्थित र वैज्ञानिक पूर्वाधारहरुको निर्माण, पर्यटन, घरेलु र ठूला उद्योगहरुको विकास, खानेपानी र सिंचाईको सुविधा, स्वरोजगार लगायतका परियोजनाहरु युद्धस्तरमा सञ्चालन गर्न अब नयाँ पुस्ताको नेतृत्व आवश्यक छ । यही आवश्यकता सम्बोधन गर्न म नयाँ शक्ति पार्टी, नेपालको उम्मेदवारको रुपमा यहाँहरुको बीचमा आएको छु । यो अभिभारा हामी सबैको एकता, सहकार्य र क्रियाशीलताबाट मात्र सम्भव छ । यहाँहरुसँगको साथ, सहकार्य र सहयोगले नै हामी उज्यालो र समृद्धितर्फ यात्रा गर्न सक्छौं । मेरो क्षेत्रका सम्पूर्ण आमा, बुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा म यही अपिल गर्न चाहन्छु ।

हाम्रा प्रतिबद्धताहरुः
आर्थिक वृद्धि

कृषिः यो क्षेत्र काठमाडौंमा तरकारीको मागको महत्वपूर्ण हिस्सा पूरा गर्ने भूमिकामा छ । तर, धादिङको तरकारीले भारतको बजारबाट आउने तरकारीसँग पनि प्रतिष्पर्धा गर्न सकिरहेको छैन । सरकारले देशलाई कृषिप्रधान देश भनेको छ । राष्ट्रिय अर्थतन्त्रमा यो क्षेत्रले ३० प्रतिशतभन्दा बढी योगदान गर्दछ । तर कृषिमा राज्यको लगानी ५ प्रतिशतभन्दा तल छ । यसले कृषि र कृषकप्रतिको सरकारी रवैयालाई पुष्टि गर्दछ । नयाँ शक्ति पार्टी नेपाल र म कृषिमा बजेट बढाउँदै यसको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिन प्रतिवद्ध छौं । कृषिजन्य उत्पादनको न्यूनतम् लागत मूल्य निर्धारण, बहुआयामिकरुपमा अनुदान र सहयोग उपलब्ध गराउने र उत्पादनको वैज्ञानिक बजारीकरणमा मेरो पूर्ण मेहनत रहनेछ ।
पर्यटनः काठमाडौं, पोखरा र मुलुकका अन्य महत्वपूर्ण शहरहरु जोड्ने सडक मात्र होइन, धादिङको भौगोलिक विशिष्टता, रणनीतिक अवस्थिति, प्राकृति स्रोत र सम्पदाको उपलब्धतालाई पर्यटन उद्योगसँग जोड्न सके हाम्रो लागि यो अथाह अवसर हो । सुन्दरनागी, तोप्लाङ र बोन्लेको डाँडाहरुलाई हिल स्टेशनको रुपमा विकास गर्दै त्यहाँसम्म केवलकार, सडक र पदमार्गले जोड्न सकिन्छ । यसैगरी विभिन्न गाउँहरुमा होम स्टे सञ्चालन गर्ने, प्राकृतिक र सांस्कृतिक धरोहरहरुको संरक्षण गर्दै स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्न जोड दिइनेछ ।
वैदेशिक रोजगारः राज्य र नेताको असक्षमताका कारण लाखौं युवाहरु विदेशिनु परेको छ । सुन साइला जस्ता गीतहरु नवजवानहरुले पीडासहित गाइरहेका छन् । वैदेशिक रोजगारीमा रहेका तीन चौथाई नेपाली युवा अदक्ष छन् र २ प्रतिशत मात्र दक्ष र २३ प्रतिशत अर्धदक्ष रहेको तथ्यांकहरुले देखाएका छन् । मुलुकको अर्थतन्त्रमा रेमिट्यान्सले २९ प्रतिशतभन्दा बढी योगदान गरिरहेको छ । यो भयानक तथ्यांकलाई सच्याउन म स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने, उद्यमशीलताको विकास गर्ने कार्यमा प्रतिवद्ध छु । यसको लागि विज्ञहरुसँग बसेर आवश्यक योजना तर्जुमा गरेर अगाडि बढ्ने सोच सहित समृद्धिलाई अर्जुन दृष्टि बनाएको नयाँ शक्तिमा जोडिएको छ । तर, तत्कालको लागि नेपाली युवालाई सीप, सर्टिफिकेट र सुरक्षा सहित वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने योजनासहित युवा साथीहरुबीच आएको छु । यसले मुलुकको अर्थतन्त्रमा रेमिट्यान्सले गर्ने योगदान कयौं गुणा वृद्धि हुने विश्वास लिएको छु ।
पर्यावरणीय संरक्षण: पर्यावरणीय मुद्दा आजको विश्वको जल्दोबल्दो मुद्दा हो । पृथ्वी नै रहेन भने कहाँ राजनीति गर्ने ? तर पुराना पार्टी र नेताहरु प्रकृतिको अत्यधिक दोहन गरेर भावी पुस्ताको सुरक्षित पृथ्वीमा जन्मन र बाँच्न पाउने अधिकार हनन गरिरहेका छन् । सुरक्षित र स्वच्छ वातावरणमा बाँच्न नपाउने मात्र होइन, मरेपछि लैजाने घाट र डाँडाकाँडाहरु पनि राजनीतिक संरक्षणमा सञ्चालित बालुवा तस्करहरुले खोसिरहेका छन् ।
यसर्थ, म ‘सफा त्रिशुली, पवित्र त्रिशुली’को अवधारणासहित आएको छु । यो पवित्र कर्ममा सबैले सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । गिट्टी, बालुवाको तस्करी र इट्टालगायतका कलकारखानाको अव्यस्थित विकासले हामीलाई धूलैधूलो र बगरैबगरको बस्तीमा बस्न बाध्य बनाइँदैछ । यसको विरुद्ध म कडा अभियान चलाउनेछु । साथसाथै, सामुदायिक वन संरक्षण गर्ने, सांस्कृतिक धरोहरहरुको संरक्षणलगायतका मुद्दाहरु पनि मेरो प्राथमिकतामा पर्नेछन् । स्याटेलाइट सिटी काठमाडौंसँग जोडिएको धुनिवेसी नगरपालिलाई नमूनाको रुपमा व्यवस्थित सहरीकरण गर्नुपर्दछ ।.यो क्षेत्र व्यवस्थापन गर्न सके अवसर र व्यवस्थापन गर्न नसके चुनौती बन्ने निश्चित छ । चुनौतीहरुलाई अवसरमा ढाल्ने र अवसरहरुको अधिकतम् उपयोग गरी उक्त नगरपालिकालाई काठमाडौंको स्याटेलाइट सिटीको रुपमा विकास गरिनेछ । खासगरी काठमाडौंमा अव्यवस्थितरुपमा रहेका शिक्षालयलाई धुनीबेसी नगरपालिकामा स्थानान्तरण गर्ने योजनासहित यो क्षेत्रलाई शैक्षिक हबको रुपमा विकास गर्न प्रयत्न गर्नेछु । यहाँ विभिन्न विश्वविद्यालयलाई नै स्थानान्तरण गर्न प्रयास गरिनेछ ।
राजमार्गः सुरक्षित र सुन्दर सञ्जालसहितको सडक सभ्यताको विकास मेरो सपना हो । धादिङमा ८४ किलोमिटर पृथ्वी राजमार्ग पर्दछ । यो हामीलाई अवसर बनेको छ कि चुनौती ? पटक पटक भइरहने दुर्घटना, होटलको गुणस्तर र महंगी, धमिलो त्रिशुली, गुणस्तरहिन सडक, कमजोर पूर्वाधार आदि आदि यसको पहिचानजस्तै बनेको छ । हरेक २० किलोमिटरमा हामीले कम्तिमा चारवटा रिफ्रेसमेन्ट सेन्टर खोल्नेगरी म योजना निर्माण र कार्यान्वयनमा सक्रिय रहनेछु । यी नमूना रिफ्रेसमेन्ट सेन्टरहरु सुविधासम्पन्न हुनेछन् । धादिङमा उत्पादित वस्तुहरुदेखि यात्रुको हरेक माग सम्बोधन हुनेगरी बनाइने यस्ता केन्द्रहरुबाट यात्रुले भरपूर आनन्द लिन सक्नेछन् ।काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको धार्के, गल्छी, आदमघाट र मलेखुमा लोकल स्टेशन राख्दै त्यहाँ अन्य पूर्वाधार निर्माण गरी नमूना शहरको रुपमा विकास गरिनेछ ।
सूचना प्रविधिको विकास र उपयोग:हाम्रा डाँडाकाँडाहरु अभिशाप मात्र होइन, वरदान पनि हो । डाँडाहरुमा शक्तिशाली वाईफाई राख्दै सूचना प्रविधिबाट विश्वलाई जोड्न पनि सकिन्छ । टेलिमेडिसिन, अनलाइन शिक्षा लगायतको विकासका लागि पूर्वाधार निर्माण गर्दै यो क्षेत्रलाई सूचना प्रविधिमैत्री बनाउँदै विश्वसँग जोडिनेछ ।
राजु नेपाल, प्रतिनिधिसभा सदस्य उम्मेदवार,
धादिङ क्षेत्र नं. १, नयाँ शक्ति पार्टी, नेपाल