शहीद छे ज्यु: एक स्मरण

Avatar photo
Dhadingpost
शनिबार, अशोज २८, २०७४

गोपाल फ्युवा तामाङ
नेपालको इतिहास रक्तरञ्जित छ । कैयौ होनहार क्रन्तिकारीहरुले आफ्नो प्राण उत्सर्ग गरिसकेका छन् । प्रगति, उन्नति र मुक्तिका लागि अनेकौ आन्दोलनहरु भए । ती आन्दोलनहरुमा नेपाललाई माया गर्ने विभिन्न जातजातिको योद्धाहरुको सहभागिता उल्लेख्य रह्यो । तामाङ लेखक अमृत योञ्जनले ओझेलमा तामाङ शहिदहरु नामक पुस्तकमा उल्लेख गरिए अनुसार विभिन्न आन्दोलनमा साहदत प्राप्त तामाङ शहिदहरुको विवरण तपसिल बमोजिम रहेको छ । २००७ को जनक्रान्ति दौरान १० जना, प्रजातन्त्र पुनस्थापनाको क्रममा ३३ जना, जनआन्दोलन र जनयुद्धमा गरी ९६३ जना तामाङ सपूतहरुले प्राणको उत्सर्ग गरेका छन् । बेपत्ता, अपाङ्ग र पीडितको विवरण डरलाग्दो छ । यी धेरै शहिदहरु मध्येबाट यसपटक राजा महेन्द्रले प्रजातन्त्र अपहरण गरेपछि गरिएको आन्दोलनको क्रममा साहदत प्राप्त गर्नु भएका शहिद छेज्यु तामाङको बारेमा समेट्ने प्रयास गरिएको छ ।
छेज्यु तामाङको जन्म हालको धादिङ जिल्ला सत्यदेवी गाविस वडा नं ६ मा पिता जितराम वाइवा तामाङ र माता मेनडोल्मो तामाङको कोखबाट जेठो सुपुत्रको रुपमा सन् १९१७ जुन २९ गते गोम्बोङ गाउँमा जन्मेका थिए । उनलाई गाउॅमा छ्युन्तोइ लाहुरे भनेर चिनिन्छ । तत्कालिन अवस्थामा त्यस क्षेत्रका खसआर्य जातिका केही सामन्तीहरुले अन्य जाति माथि क्रूर अमानवीय दमन र शोषण गरिरहेका थिए । यहाँसम्मकी तमसुकको भाखा नाघेमा सुन्य थप्ने गरिन्थ्यो भन्ने लोकोक्ति अझै प्रचलनमा रहेको छ । हरेक जसो घरका मानिसहरु उनीहरुको घरमा बाधा बस्न विवस थिए । यसलाई रकम भनिन्थ्यो । हरेक राम्रा चीजहरू उनीहरूलाई चढाउनुपर्दथ्यो । राजाको प्रतिनिधी हुॅ भन्दै उनीहरूको बिर्तामा बसेकले तिरोभारा तिराउथ्यो । स्थानीयहरू रा- जा-इ–जिमिन भनेर सहश्र दासता र उत्पीडन सहन्थे । यसले छेज्युको मन कुडियो । विवशतामा कतिन्जेल बाँच्ने भन्ने मनसायले साँहुका रिण तिर्न र पारिवारिक मुक्तिको लागि एक नवयुवाको रुपमा भारत गए । त्यहाँ आठौं गोरखा राइफलमा प्रवेश गरी ब्रिटिसहरुको लागि दोस्रो विश्वयुद्धमा सामेल भई कैयौ बहादुरीका तक्माहरु पाए । आफ्नो देश, जनता र आफन्तहरु सामन्ती व्यवस्थाले पिरोली रहेको तर आफू अर्कै देशको रक्षार्थ बन्दुक बोकिरहेको अवस्था चित्त नबुझी उनले लाहुरे जीवन छाडिदिए र आफ्नो मातृभूमीमा फर्के ।
सन् १९५५ ताका नै वि.पि. कोइरालाले नेतृत्व गरेको नेपालमा आधारित प्रजातान्त्रिक समाजवादी व्यवस्थाका जस्को जोत, उसको पोत, श्रमिकको अधिकार स्थापना, विर्ता उन्मुलन र राजारजौटा उन्मुलन लगायतका नारा, नीति तथा कार्यक्रमले उनलाई आकर्षित तुल्याएका थिए । देशमा प्रजातान्त्रिक शासन सुरु भएता पनि सत्यदेवी र आसपासका गाउँहरुमा तमसुक आतङ्क जीवित थियो । पछि उनले काजिमान तामाङ, दामन पाख्रिन, तुलबहादुर तामाङ र सेक्के तामाङहरुसँग मिलेर सन् १९६०मा खनियावास विद्रोह गरे । काजिमान तामाङ, दामन पाख्रिन, सेक्के तामाङ जेलमा परें । अन्य कैयौ उत्तरी धादिङका तामाङहरुले जरिवाना तिर्नु पर्यो । त्यसबेला रु १७०० जरिवाना जुटाउन एकदमै गाह्रो भएको आन्दोलनमा सहभागी एक पेमा तामाङका छोरा चिज तामाङको अनुभव छ ।
त्यहाँ पुनः सम्झौता गर्ने र आफूहरु नै दोषी भएको प्रमाणित गर्न खोज्ने राज्यको नीति र त्यसलाई सहस्र स्विकार गर्ने सहकर्मीहरुको व्यवहार ठीक लागेन । उनी खनियावास विद्रोह पश्चात भूमिगत भए । मार्पाकमा समेत विद्रोह चर्काए । त्यहा सेना परिचालन भएपछि थप विद्रोह गर्ने मनसायले तुलबहादुर तामाङ र छेज्यु तामाङ सम्झौतामा नआई भारत तर्फ भागे । पछि प्रजातान्त्रिक सरकारलाई अपदस्त गरियो । भारतमा जगत प्रकाश जङ्ग शाहसँग निकट सम्बन्ध राखी एकतान्त्रिक निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गर्न नेपाली काङ्ग्रेसले आह्वान गरेको सशष्त्र सङ्घर्षमा सामेल हुन पुगे । उनले खासगरी भारतबाट हातहतियार ल्याउने र दुर्गम गाउँ तथा जिल्लामा पुर्याउने काम गर्न थाले । उनले हातहतियारलाई शहिद सिङ्गमान तामाङको सहयोगमा नुवाकोटको चेक्मा भन्ने ठाउँमा लुकाएर राख्ने गर्दथ्यो । जब उनले नुवाकोट प्रशासनले आफूलाई खोजि गरिरहेको चाल पाएँ तब धादिङ सत्यदेवीको ओडारमा लुकि बसे । उनलाई अराष्टिय तत्व घोषणा गरी देख्नसाथ गोली ठोक्ने आदेश लिएर सन् १९६१मा शाही सेनाले उनको घर खानतलासी लिए । पछि उनको परिवारले केही आर्थिक बन्दोबस्तीको आधारमा नरकटियागञ्जमा बखानसिंह गुरुङले नेतृत्व गरेको नेपाली काङ्ग्रेसको आधार शिविरमा पुगें । पछि कलकत्ता पुगे ।
कलकत्तामा उनले आफ्ना १८ जना साथीहरुको नेतृत्व गरी ठोरीमा शाही सेनासँग लड्दै र पुलिस चौकीमा अधिकार जमाउदै चितवन पुगें । चितवन आक्रमणका योजनाकार योगप्रसाद उपाध्याय थिए । उनका योजना मुताविक वि. स. २०१८ माघ २४ गते देखि आक्रमण थालनी गरेर माघ २६ गते चितवनमाथि मुक्तिसेनाको कब्जा जमायो । तर माघ २८ पछि फेरि षड्यन्त्रपूर्वक चितवनमा शाही सेनाको कब्जामा आयो । जगत प्रकाश जङ्ग लगायतका पाँच जना लाई बाँधेर टिकौलीको जङ्गलमा मारियो । यही क्रममा छेज्यु, तुलबहादुर र सत्तलसिङ भाँगेर पर्सातर्फ लागे । त्यता पनि अनेक आक्रमणमा सहभागी हुदै भाग्दै गर्दा पर्साको रानीगञ्जमा शाही सेनाको टोलीले भेट्टाई तुलबहादुर र छेज्युलाई मारिदिए ।
यसरी नेपाली जनताको मुक्ति र स्वतन्त्रताका खातिर आफ्नो प्राणको वलिदान दिनु भएका छेज्यु तामाङको शाहदत सन् १९६२ जुन २९ मा भयो । प्रजातन्त्र, समानता र स्वतन्त्रताको लडाईमा अपूरणीय क्षति बेहोर्नु परेको छ । नेपाली काङ्ग्रेस, चितवन जिल्ला कार्य समितिले वि.स. २०४७ जेठ १ गते अभिनन्दन पत्र प्रदान गरेका छन् । अहिले आएर यस्ता वीर अमर शहिदहरुको कुर्वानी ख्याल गर्न नसकिरहेको देखिन्छ । उनको स्वार्थ त्याग, बलिदानलाई सम्झनु आवश्यक छ र सम्मानको खातिर थप अध्ययन र अनुसन्धान गर्नु आवश्यक छ ।
शहिद छेज्यु स्मृति प्रतिष्ठानको गठन गरी संस्थागत रुपमा लाग्न सके बढी व्यवस्थित हुन्छ । गतिलो खोजमूलक स्मारिका प्रकाशन गर्न सके धेरै धन्य हुने थियो ।

(लेखक गोपाल फ्युबा तामाङको प्रकाशोन्मुख कृति “महान शहिद : छेज्यु तामाङ खनियावास विद्रोहका उपज” बाट साभार )