रोजगारी मुलक प्रोजेक्ट संचालनको तयारीमा छौं -दाहाल

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज २४, २०७४

धादिङ जिल्लाको बुढाथुम गाउँको सामान्य परिवारमा जन्मेका लोक दाहाल गैर आवासीय नेपाली संघ (एनआरएन) बेल्जियमका अध्यक्ष हुन । भिजिट भिसामा बेल्जियम पुगेका उनले अहिले बेल्जियममा ५ वटा रेष्टुरेन्ट संचालन गरेका छन् । जसमार्फत सयौले रोजगारी पाएका छन् । यसका अलवा उनले नेपालमा विभिन्न सामाजिक सेवाका कामहरु समेत गर्दै आएका छन् । उनै दाहाल यसै साता देखि राजधानीमा सुरु हुने एनआरएनको आठौ विश्व सम्मेलनमा भाग लिन एक सय ४१ बेल्जियममा रहेका गैरआवासी नेपालीहरुको प्रतिनिधिको नेतृत्व गर्दै नेपाल आएका छन् । उनै दाहाल सँगको संवाद

हाल बेल्जियमा रहेका नेपालीहरुको मुख्य समस्या के हो ?
बेल्जियममा अन्य मुलुकहरुमा जस्तो नेपालीहरुले खासै समस्या भोग्नु परेको छैन । पहिलो त त्यहाँ सबै नेपालीहरु बैद्यानिक रुपमा बसेका छन् । जसमध्ये कोही अध्ययन त कोही आ–आफ्नो व्यापार–व्यवसाय गरेर सामान्य जिवन विताइरहेका छन् । त्यसकारण त्यहाँ खासै ठुलो समस्या केही छैन ।

एनआरएनए बेल्जियमको नेतृत्वमा तपाई आइसकेपनि अहिले के गर्दै हुनुहुन्छ ?
एनआरएन बेल्जियममा मेरो नेतृत्वमा नयाँ कार्यसमिति चयन भइसकेपछि त्यहाँ रहेको नेपालीहरुको समस्या समाधानमा हामी अहोरात्र खटिइरहेको छ । केही समस्या आए तत्काल समाधान गर्न हाम्रो टिम तयार छ । यसका लागि नेपाली दुतावाससँग पनि सहकार्य गरिरहेका छौ । त्यहाँ रहेका अन्य संघसंस्थाहरुसँग पनि हाम्रो घनिष्ट सम्बन्ध छ । भोलीका दिनमा पनि हाम्रो प्रमुख काम यही हो र त्यसैमा केन्द्रित हुने छौ । दोस्रो, भावी पुस्ताको ज्ञान, सिप र क्षमतालाई संरक्षण गरेर कसरी नेपालमा एउटा रोजगारीमुलक प्रोजेक्ट भित्र्याउने भन्ने विषयमा पनि हामी अहिले गृहकार्य गरिरहेका छौ ।

नेपालमा लगानी भित्र्याउने कुरा गर्नुभयो बेल्जियममा रहेका नेपालीहरु नेपालको कुन क्षेत्रमा लगानी गर्न चाहन्छन् ?
संविधान निर्माण पछि नेपाल विस्तारै आर्थिक, सामाजिक विकासको क्रममा अघि बढिरहेको छ । सरकार र राजनीतिक दलका प्राथमिकता पनि यही विषय पर्न थालेको छ । त्यसलाई सघाउन गैरआवासी नेपालीहले पनि मुलुक भित्र विभिन्न क्षेत्रमा लगानी बढाउदै लगिरहेका छन् । तर मैले अघि पनि भने हामी रोजगारी मुलक प्रोजेक्ट नेपाल भित्र्याउने गृहकार्यमा छौ । हाम्रो मुख्य धेय भनेकै रोजगारीका लागि विदेशीनु पर्ने अहिलेको समस्यालाई कम गर्ने हो । जसको लागि हामी आपसी गृहकार्य गरिरहेका छौ भने सँगै नेपाल सरकारसँग पनि आवश्यक परामर्श लिइरहेका छौ । अव छिटै एउटा निचोडमा हामी पुग्छौ ।

प्रसंग बदलौ, बेल्जियमबाट नेतृत्व गरेर एनआरएनको विश्व सम्मेलनमा सहभागि हुन आउनु भएको छ तपाईहरु एनआरएनएनमा अव कस्तो नेतृत्व चाहनु हुन्छ ?
एनआरएनमा अहिले जति पनि आवद्ध साथीहरु छन् उनीहरु आ–आफ्नो क्षेत्रमा दक्ष र योग्य हुनुहुन्छ । नेतृत्वका लागि अहिले पनि जस–जसले आकाक्षा देखाउनु भएको छ । उहाँहरु आफैमा नेतृत्वको जिम्मेवारी लिनका लागि सक्षम हुनुहुन्छ । तर यसपटक मेरो अपेक्षा के छ भने विगतमा जस्तो निर्वाचन भन्दा सहमति आधारमै नेतृत्वको जिम्मेवारी दिनुपर्छ । जसको कारण उसलाई काम गर्न पनि सहज हुन्छ भने निर्वाचनमा हुने खर्च समेत घटाउछ । र, शेष घले नेतृत्वको वर्तमान कार्यसमितिले निकै रामो काम गरेको छ । उनी र उनको टिम आफ्नो काम छाडेर गैरआवासी नेपालीका हकहित र नेपालको विकास निर्माणको काममा कसरी सघाउन सकिन्छ भनेर लागेका छन् । त्यसो हुँदा गैरआवासी नेपालीहरुको समस्या समाधानमा त आउँदो नेतृत्वले काम गर्नुपर्छ नै वर्तमान कार्यसमितिले गरेका राम्रा कामहरुलाई निरन्तरता दिदै सबै गैरआवासीय नेपालीलाई एउटै मालामा जोड्न सक्नुपर्छ ।
अर्को महत्वपूर्ण कुरा हामी अहिले जहाँ–जहाँ भएपनि हामीलाई हाम्रो जन्म भूमिप्रति आगाध माया छ । हाम्रो तन, मन र धन सबै कुरा नेपालमै छ । एउटा आमाको सन्तानले नेपाल छोड्दा नेपाली आमाको छाती कति पोल्छ ? अव नेतृत्व गर्ने नेपाली आमाको सन्तानको पनि छाती त्यसै गरि पोलोस ता कि गैरआवासी नेपालीहरुको ज्ञान, सिप र लगानी थप बढाउन सकौ ।

तपाईलाई पछिल्लो समय गैरआवासी नेपाली संघमा पनि राजनीतिकरण भएजस्तो जस्तो लाग्दैन ?
पक्कै पनि नेपालको राजनीतिको छाप हाम्रो संघमा पनि परेको छ । तर मलाई के लाग्छ भने हामी झिना मसिना विषयमा अल्झिएर बस्न हुदैन । एक पटकको नेपाली सधैको नेपाली भन्ने नारालाई आत्मसाथ गर्दै नेपालको वृहत विकासमा ध्यान दिनुपर्छ । मुलुकमा लगानी बढाउदै सम्बृद्ध बनाउने गैरआवासीय नेपालीहरुको जुन गहन अभिभारा छ त्यो पूरा गर्ने अभियानमा लाग्नुपर्छ ।

अन्तमा नेपाल सरकारसँग तपाईहरुको अपेक्षा चाही के छ ?

पछिल्लो समय नेपाल सरकारको पनि गैरआवासी नेपाली प्रति हेर्ने दृष्टिकोण निकै परिवर्तन भएको छ । आवश्यक सेवा सुविधाहरुमा पनि सहजीकारणको काम गर्दै आएको छ । तर अव हाम्रो एउटै माग छ । गैरआवासी नेपालीले दोहोरो नागरिकताको सुविधा पाउनुपर्छ । यसलाई पनि सरकारले सम्बोधन गर्ने छ भन्ने हाम्रो विश्वास छ । यो व्यवस्था नहुदाँ हामीलाई अहिले नेपाल आउ, जाउ गर्नमै समस्या हुने गरेको छ । यदी यो भएको खण्डमा नेपालमा गैरआवासी नेपालीहरुको लगानी थप बढ्न जाने छ । साभारः गन्तव्य न्यूजबाट