Dhading News
log dhading

कम्युनिष्ट नेताको धार्मिक अवतार !


शुक्रबार, अशोज १३, २०७४
पत्रपत्रिकाबाट, मुख्य समाचार

नेपालका कम्यूनिष्ट आन्दोलनका हस्तीहरु अहिले १/१ वटा पार्टी खेलेर बसेका छन्, सबैले अफुनै सच्चा कम्यूनिष्ट अरु सबै गैर कम्यूनिष्ट भएको दावी गरि रहेका छन् । नेपालमा को हो सच्चा कम्युनिष्ट समान्य जनताले बुझ्ने कुरै भएन बहस भने व्यप्त छ । हामी भौतिक बादी हौं भने कम्यूनिष्ट नेताहरु दशै सुरु नहँदै दशै मान्न घर पुगेका देखिन्छन् ।
यसै सेरो फेरोमा अनलाईन खवरमा प्रकाशित सामाग्री हामीले साभार गरेका छौं ।

यस्ता छन् भौतिकवादी पार्टीका आध्यात्मवादी क्रियाकलाप
उपेन्द्र पोखरेल

गत आइतबार सम्पन्न पार्टीको आठौं केन्द्रीय कमिटी बैठक बिट मार्दै एमाले अध्यक्ष केपी ओली वरिष्ठ नेता माधवकुमार नेपाललाई कटाक्ष गरे, ‘मलाई देवत्वकरणमा रुचि छैन र त्यस्ता कुरामा विश्वास पनि गर्दिनँ ।’ धार्मिक गतिविधिसँग जोडिएका संघसंस्थाबाट लगातार नेता नेपाल विदेश भ्रमणमा जाने गरेकोप्रति व्यंग्य गरेका हुन्, ओलीले ।

ओलीको यस्तै अभिव्यक्ति १ असोज ०७३ मा पनि आएको थियो । पार्टीको जनवर्गीय संगठनको एक प्रशिक्षण कार्यक्रममा उनको स्वीकारोक्ति थियो, ‘पार्टी त भौतिकवादी हो तर सदस्यहरुलाई भौतिकवादी बनाउन सकिएन ।’

पार्टीले आफ्ना सदस्यहरूलाई प्रशिक्षित गराउँदै आएको ज्ञान र सिद्धान्त अपर्याप्त रहेको तथा पुराना ज्ञान र सिद्धान्तले जित्दै लगेको ओलीको स्पष्टोक्ति थियो ।

पार्टीभित्र अध्यात्मवादी चिन्तन हाबी हुँदै गएको ओलीको चिन्ता संयोगवस वरिष्ठ नेता नेपालकै चीन भ्रमणसँग जोडिन पुगेको थियो । नेता नेपालले बौद्ध धार्मिक संस्थाको नेपाल च्याप्टर अध्यक्षको हैसियतमा उक्त भ्रमण गरेका थिए, जसको औपचारिक जानकारी न त पार्टीलाई थियो, न निकटस्थ सल्लाहकारहरूलाई नै सुइँको दिइएको थियो ।

महासचिवका रूपमा १६ वर्षसम्म पार्टी प्रमुख रहेका नेपाल इन्टरनेसनल बुद्धिस्ट सेन्टरको नेपाल च्याप्टरको अध्यक्ष बनेका थिए । च्याप्टर सचिव उनकै भाइ सरोज नेपाल र पत्नी गायत्री सदस्य थिए । स्वकीय सचिव मोहन गौतम कोषाध्यक्ष र चीनका लागि पूर्वराजदूत टंक कार्की उपाध्यक्ष थिए । उक्त सेन्टरको अन्तर्राष्ट्रिय अध्यक्ष हुन्, चिनियाँ धर्मगुरु मिस्टर ली ।

नेपाली कम्युनिस्ट आन्दोलनकै ‘टावरिङ पर्सनालिटी’ हुन्, नेपाल । हाल एमाले स्थायी समिति सदस्य र वरिष्ठ नेता छन् । तुलनात्मक रूपमा आर्थिक र नैतिक दाग नलागेका व्यक्तित्व पनि मानिन्छन् । त्यस्तो व्यक्तित्वले पारिवारिक र धार्मिक संस्था निर्माण गरेर अध्यक्षको जिम्मेवारी लिन मिल्छ कि मिल्दैन भन्ने बहसले त्यतिबेला एमालेवृत्तमा चुलिएको थियो ।

नेता नेपालले उक्त चीन भ्रमणबारे अहिलेसम्म सार्वजनिक रुपमा केही बोलेनन् । तर, भेटेरै आपत्ति जनाएका पार्टी नेताहरु सामु उक्त संस्थाले बुद्ध धर्मबारे अध्ययन र अनुसन्धान गर्ने दाबी गरेका थिए ।

केहीले त मार्क्सवादबाट विचलित देखिएको बताउँदै उनको सामुन्नेमै आपत्ति जनाएका थिए । उक्त संस्थामा नेता नेपालको संलग्नता बाँकी नरहेको दाबी उनी निकटस्थहरुको छ । तर, त्यस्तै धार्मिक संस्थाको संयोजनमा २७ साउनदेखि ३ भदौसम्म उत्तरकोरियाको भ्रमण गरेर अर्को विवाद सिर्जना गरे, नेपालले ।

एमाले पोलिटब्युरो सदस्य वेदुराम भुसाल भन्छन्, ‘धर्मनिरपेक्षता मान्ने नेताहरू कुनै धर्मका पक्षमा उभिने कुरा विल्कुलै गलत हो । यो धार्मिक मात्र होइन, दृष्टिकोणमा समेत स्खलन हो । दृष्टिकोणमा रहेको समस्याले गर्दा सिद्धान्त र व्यवहारबीच बेमेल देखिएको हो ।’

विचलनको सिलसिला

मार्क्सवादको लामो अभ्यासबाट विचलित देखिनेमा माधव नेपाल एक्ला कम्युनिस्ट नेता होइनन् । पार्टीभित्र अध्यात्मवादी चिन्तन हाबी हुँदै गएकामा चिन्ता व्यक्त गर्ने अध्यक्ष ओली स्वयंले प्रधानमन्त्री रहँदा मुक्तिनाथ बाबाका नामले चिनिने स्वामी कमल नयनाचार्यलाई चितवन राष्ट्रिय निकुञ्जको जग्गा उपलब्ध गराउने ‘क्याबिनेट’ निर्णय गराएका थिए ।

मन्त्रिपरिषदले ५ साउन ०७३ मा निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने नयनाचार्य नेतृत्वको गजेन्द्र मोक्षधामले चर्चेको १५ विघालाई ‘धार्मिक वन’का रूपमा हस्तान्तरण गर्ने निर्णय गरेको थियो । व्यापक विरोधका बावजुद ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनु चार दिनअघि उक्त निर्णय भएको हो । जबकि, २९ असार ०७२ मा वन क्षेत्र अतिक्रमण गरेर भौतिक संरचना निर्माण गरेको अभियोगमा निकुञ्जले नयनाचार्यका सहायक कृष्ण प्रपन्नाचार्यलाई पक्राउसमेत गरेको थियो ।

नयनाचार्यले सरकारको उपल्लो तहको दबाब सिर्जना गराएर उनलाई छुटाएका थिए । अवैध रूपमा धर्मका नाममा वन क्षेत्र उपभोग गरिरहेका नयनाचार्यको गतिविधिलाई ओली सरकारले भने वैधानिकता दिएको थियो ।

फागुन ०७१ मा बाग्लुङको पञ्चकोटमा निर्माण गर्न लागिएको एक सय आठ फिट अग्लो काँसको करुवा शिलान्यासमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेताद्वय नेपाल र झलनाथ खनाल, एमाले उपाध्यक्ष बामदेव गौतम पनि सहभागी भएका थिए ।

पानीमा मुछिएको माटोको टीका लगाइदिँदै नयनाचार्यले सुध्रिनका लागि दिएको उपदेश ग्रहण गर्नेमा उनीहरू पनि अग्रपंक्तिमै थिए ।

वैशाख ०७१ मा पशुपतिनाथ परिसरमा नेपाल माता महिमा राष्ट्रिय महायज्ञ लगाइएको थियो । नयनाचार्य प्रमुख रहेको अखण्डज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्रस्टले त्यसको अगुवाइ गरेको थियो । राज्यका ८५ जना उच्चअधिकारी आयोजक समितिमा थिए ।

माओवादी अध्यक्ष दाहाल, एमालेका तत्कालीन अध्यक्ष खनाल र वरिष्ठ नेता नेपाल पनि यज्ञ आयोजक समितिका वरिष्ठ सल्लाहकार थिए । महायज्ञको वरिष्ठ उपाध्यक्षमा तत्कालिन उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष बामदेव गौतम पनि थिए भने नयनाचार्य समितिका परमाध्यक्ष । महायज्ञ उद्घाटनमा नेपाल र दाहालको उपस्थिति थियो ।

बाग्लुङ नगरपालिका ८ मा जन्मेका नयनाचार्यले काठमाडौं, भक्तपुर र नवलपरासीमा आश्रम खोलेका छन् । तत्कालीन राजा ज्ञानेन्द्रलाई मुक्तिनाथ भ्रमण गराएयता उनको चर्चा चुलिएको हो । उपल्लो तहमा घुसपैठ गरेर राज्यका स्रोत उपभोग गर्नमा माहिर मानिंदै आएका छन् । वाम नेताहरू पनि उनको त्यस्तो घुसपैठबाट टाढा छैनन् ।

त्यसो त, एमाले पूर्वअध्यक्ष तथा वरिष्ठ नेता खनालको काठमाडौंस्थित बौद्ध स्तुपाका गतिविधिमा सहभागितालाई पनि अनौठो मान्ने गरिएको छ । जस्तो: विवादको घेरामा तानिएका नयाँ धर्मगुरु सेरप लामाको आशन ग्रहण समारोहमा पनि खनाल उपस्थित थिए ।

जबकि, उक्त समारोहमा स्थानीयवासीकै उपस्थिति कम थियो भने बौद्ध क्षेत्र विकास समितिकै पदाधिकारी सहभागी भएनन् । खनाल पत्नी रविलक्ष्मी चित्रकार बौद्ध परिवारकी सन्तान हुन् । सोही कारण लुम्बिनी र बौद्धका गतिविधिमा खनालको चासो देखिने गरेको छ ।

अर्का शक्तिशाली साधु छन् पाइलट बाबा, जसले नेपालका मार्क्सवादी नेताहरूलाई समेत प्रभावमा राख्दै आएका छन् । २६-२९ कात्तिक ०६५ को उनको नेपाल भ्रमण विशेष गरी सम्झिइने गरिन्छ ।

तीन दिने यात्राका क्रममा उनले शान्ति प्रक्रियापछिको निर्वाचनमा सहभागी भएर भरखरै सत्ताको बागडोर सम्हालेका माओवादी अध्यक्ष दाहाल, तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईलाई आशिर्वाद दिएका थिए । २७ कात्तिकको बिहान सात बजे बालुवाटारमा भेला भएका दुवै नेतालाई पाइलट बाबाले सुरक्षाकवचका रूपमा १/१ वटा रुद्राक्षका माला पहिर्‍याएका थिए ।

स्रोतका अनुसार दाहालले त्यसअघि नै नेपाल र भारतमा गरी दुई पटक उनलाई भेटिसकेका थिए । पाइलट बाबाले नेपालका माओवादी नेता र भारतीय जनता पार्टीका नेताबीच सम्बन्ध विस्तारमा सेतुको रूपमा काम गरेको दाबी गर्नेहरू पनि छन् ।

२८ कात्तिक ०६५ मा नेपाल पुलिस क्लबमा भएको दीक्षा ग्रहण समारोहको उद्घाटन तत्कालीन उपप्रधानमन्त्री वामदेव गौतमले गरेका थिए । त्यस क्रममा उनले बाबालाई चमत्कारी संज्ञा मात्र दिएनन्, उनीबाट आशिर्वादसमेत लिए ।

भारतका सन्दर्भमा कुनै पनि कर्पोरेट हाउसभन्दा मन्दिरहरु शक्तिशाली छन् । जगतगुरु कृपालुजी महाराज, रविशंकर, रामदेवलगायत धर्मगुरुको शक्ति हेर्दा त्यो कुरा पुष्टि हुन्छ । समाजमा त्यो प्रभावी छ र कम्युनिस्ट नेताहरू पनि त्यसबाट अछुतो रहन सकेका छैनन् ।

कांग्रेस नेता विश्वेश्वरप्रसाद कोइराला आफैंमा भौतिकवादी थिए तर उनले कांग्रेसलाई भौतिकवादी बनाउन सकेनन् । व्यक्ति बन्नु र संस्थालाई बनाउनुको बीचमा अन्तर छ । कम्युनिस्ट पार्टीहरू सिद्धान्तमा भौतिकवादी हुन् तर सबै कार्यकर्तालाई भौतिकवादी बनाउन सकेका छैनन् ।

योगीदेखि यक्षकारीसम्म

झापा विद्रोहका अभियन्ता मोहनचन्द्र अधिकारी अहिले राजनीतिको कुनै उपल्लो दर्जामा छैनन् । तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखरले एसियाकै मण्डेला संज्ञा दिएका उनी गुमनामझैं जीवन बिताइरहेका छन् । उनी यतिबेला आध्यात्मतिर लागेका छन् ।

पञ्चायती व्यवस्थाविरुद्धको सशस्त्र आन्दोलनका अगुवा भएका कारण उनले १६ वर्ष जेल जीवन बिताएका थिए । नेपालका सबै कम्युनिस्ट पार्टी संशोधनवादी बनेकामा उनी असन्तुष्ट छन् । भन्छन्, ‘नेपालमा कम्युनिस्ट पार्टी नै छैनन् । कम्युनिस्ट बनेको मान्छे कि त जमिनदार वर्गबाट आएको छ कि पेटी बुर्जुवा वर्गबाट । उसको आचरण पनि त्यस्तै देखिने गरेको छ ।’

अधिकारीले १६ वर्षे जेल जीवनका क्रममा पञ्जावी बाबाबाट निर्विकल्प समाधि सिकेका थिए । चरम असन्तुष्टिलाई सतहमा पोखिन नदिन उनी ध्यान गरेर शान्ति प्राप्त गर्ने प्रयास गर्छन्, अहिले । सोही कारण उनलाई अध्यात्मवादी भएको आरोप लाग्दै आएको छ ।

सप्ताह लगाउने, योगी भेष धारण गरेर शक्तिपीठ धाउनेलगायत अधिकारीका कर्म सार्वजनिक भएकै विषय हुन् । उनी स्वयंले पूजाआजा गर्ने गरेको स्वीकार्ने गरेका छन् । आफू कम्युनिस्ट भएकाले सत्यतथ्य पत्ता लगाउन प्रयोगहरु गर्न रुचाउने गरेको बताउने गरेका छन् ।

जेलबाट छुटेपछि पार्टीमा भूमिका नपाएको र पार्टी पनि संशोधनवादी हुँदै गएको बुझाइका कारण अधिकारीमा अध्यात्मवादी चिन्तन हाबी हुन पुग्यो । खुलामञ्चमा कोटीहोममै बसेर त्यसको प्रमाण दिए । ‘पूर्वीय दर्शनको आधार हाम्रो संस्कार हो, त्यसमा पनि विचार गर्नुपर्ने धेरै कुरा छन्,’ अधिकारी भन्छन्, ‘पूर्वीय दर्शनको वैदिक साम्यवाद अध्ययन नै नगरी पाश्चात्य साम्यवादको मात्र व्याख्या गर्नुको औचित्य छैन । पाश्चात्य दर्शनले मात्र हाम्रो जीवन चल्छ भन्ने मलाई लाग्दैन ।’

त्यसभन्दा बढी त माओवादी अध्यक्ष दाहालकै गतिविधि र अभिव्यक्तिले कतिपय बेलामा विवाद सिर्जना गराएका छन् । भारतीय योगगुरु रामदेवले चैत ०६६ मा टुँडिखेलमा आयोजना गरेको योग शिविरमा पुगेका दाहालले अभिव्यक्ति दिए, ‘भौतिकवाद र अध्यात्मवादको मिश्रणबाट राष्ट्रवादको जन्म हुन्छ ।’ स्वामी रामदेवको जवाफ थियो, ‘राष्ट्रियता र स्वदेशी सामानको पक्षमा मेरो र उहाँहरूको कुरा मिल्छ ।’

बिर्सन नहुने पक्ष के भने माओत्सेतुङ आफ्नो नाममा वादको तहमा थिएनन् र उनले जीवनकालभर त्यस्तो वादको वकालत पनि गरेनन् । चिनियाँ क्रान्ति आफैंमा राष्ट्रवादी थियो, जसमा अध्यात्मवादको कुनै झल्को थिएन ।

‘माओका विचारधारा अध्यात्मवादका कट्टरविरोधी थिए,’ एमाले पोलिटब्युरो सदस्य भुसाल भन्छन् ‘राष्ट्रवादी क्रान्तिका लागि कुनै अध्यात्मवादसँग मिलिरहनुपर्दैन ।’

तीन दिने राजकीय यात्रामा ३० भदौ ०७३ मा भारतीय राजधानी नयाँदिल्ली पुगेका प्रधानमन्त्री दाहालको सूचीमा हरिद्वारस्थित पतञ्जली योगपिठको भ्रमण पनि थियो । पत्नी सीता र छोरा प्रकाससहित पुगेका उनलाई रामदेवले भव्य स्वागत गरे । त्यसक्रममा पतञ्जली फुड एन्ड हर्बल पार्क निरीक्षण गरे । त्यस्तो पार्क नेपालमा पनि स्थापना गरिने रामदेवले घोषणा गरे ।

त्यसअघि ०६५ सालमा पहिलो पटक प्रधानमन्त्री बनेको केही समयपछि दाहालले सुनसरीको चतरा पुगेर भैंसी पूजा गर्न भ्याएका थिए । १० दिने आयुर्वेद शिविर उद्घाटनमा पुगेका थिए, दाहाल त्यहाँ । यद्यपि, पुजारी कृष्णदासजी महाराजले दाहालले भैंसीपूजा नगरेको जिकिर गर्दै आएका छन् ।

तत्कालीन एमाओवादीबाट दोस्रो संविधान सभा निर्वाचनमा गोर्खाबाट उम्मेदवार बनेका डा. बाबुराम भट्टराईले आफ्नो चुनाव प्रचार अभियान मनकामना मन्दिरको दर्शनबाट थालेका थिए । शान्ति प्रक्रियामा आउनुअघि माओवादीको वार्ता समिति संयोजक बनेका भट्टराईले बुबाआमालाई मनकामना दर्शन गराएर पितृभक्ति प्रदर्शन गरेका थिए ।

भट्टराई नेतृत्वको नयाँशक्ति नेपालले त स्वास्थ्य तथा योगसाधना विभाग खडा गरेको छ । स्वामी विकासानन्द पार्टीका सल्लाहकार नै हुन् । बालुवाटारस्थित ओशो आश्रममा पटक-पटक ध्यान शिविर सञ्चालन गरिसकेको छ, उक्त पार्टीले ।

प्रधानमन्त्री निवास बालुवाटार सर्ने क्रममा तत्कालीन एमाले अध्यक्ष खनालले साइत मात्र जुराएनन्, नेवारी परम्पराअनुसार पूजापाठसमेत लगाए । पत्नी रविलक्ष्मीसहित पूजा गर्दै गरेका खनालको तस्बिर र भिडियोले त्यतिबेला चर्चा कमाएका थिए । त्यसो त, ०४७ सालको अन्तरिम सरकारमा मन्त्री बनेपछि उनले बाबुआमालाई साथमा लिएर दक्षिणकाली मन्दिरको दर्शन गरेको विषयले त्यतिबेला राम्रै चर्चा बटुलेको थियो ।

नयाँ प्रधानमन्त्री बनेपछि बालुवाटारमा बोको काट्ने परम्परा नै छ । खनाल, नेपाल, दाहाल र भट्टराईजस्ता कम्युनिस्ट नेताले पनि त्यसलाई रोक्न ध्यान दिएनन् । सुरक्षाकर्मीले नयाँ प्रधानमन्त्री भएको खुशीयालीमा बोको काटेर भोज गर्ने गर्छन् ।

एक पटक माधवकुमार नेपालले भारतस्थित तिरुपति मन्दिरको भ्रमण गरे । उनले स्वदेश फर्केर त्यहाँको सरसफाइ हेर्न गएको अभिव्यक्ति दिए । केपी ओली र राधाकृष्ण मैनालीले जेलमा छँदा विष्णुस्तोत्र पढेका थिए । विष्णुस्तोत्रको जानकार भएको आरोप भने मोहनचन्द्र अधिकारीमाथि लगाए ।

इसाईकरणको फन्दामा

इसाई अभियन्ता एकनाथ ढकाल मार्क्सवादी नेताहरू भट्टराई र ओली नेतृत्वका सरकारमा मन्त्री बने । नेपाल, भट्टराईलगायत कम्युनिस्ट नेताहरुलाई समेत उनले जापान, कोरिया, थाइल्यान्ड, सिंगापुर, इन्डोनेसियालगायत मुलुकको शयर गराइसकेका छन् । दक्षिण कोरियाली इसाई पादरी सुन म्युङ मुन नेतृत्वको युनिभर्सल पिस फेडेरेसनका नेपाल च्याप्टर प्रमुख हुन्, ढकाल । र, नेपालमा इसाईकरणको अभियान सञ्चालन गर्छन् ।

इसाईकरणको अभियानमा नेपाली कम्युनिस्ट नेताहरूको सहभागिता त्यतिमै सीमित छैन । प्रधानमन्त्रीका रूपमा बाबुराम भट्टराईले संयुक्त राष्ट्रसंघको ६६ औं महासभामा सहभागिता जनाए । त्यसक्रममा आफूलाई पढाएका शिक्षकहरूलाई तीन दशकपछि पहिलो पटक भेटेका उनलाई उपहारस्वरूप बाइबल प्राप्त भयो ।

र, उनले आफूले गुरुहरूबाट महत्वपूर्ण उपहार पाएको तथा नेपालमा पनि त्यसको संरक्षण र संवर्द्धन गर्ने अभिव्यक्ति दिए । तत्कालीन एमाओवादी त्याग गरेर नयाँशक्ति पार्टी गठन गरेका भट्टराईलाई वामपन्थबाटै स्खलित भएको आरोपसमेत लाग्न थालेको छ, अहिले ।

माओवादी नेता तथा वर्तमान परराष्ट्र मन्त्री कृष्णबहादुर महराले १२ साउन ०७० मा नेपालगञ्जमा इसाई पादरीबाट आशिर्वाद ग्रहण गर्दै गरेको तस्वीर सार्वजनिक भयो । माओवादीका स्थानीय नेताले भने त्यो संयोगवस भएको घटना बताउँदै खण्डन गरे ।

इसाईकरणको आरोप बाक्लिँदै गर्दा अध्यक्ष दाहालले नेपालगञ्ज नै पुगेर बोलबमको काँवरिया वस्त्र धारण गरेको तस्बिर सार्वजनिक भयो । इसाइकरणको आरोपबाट बच्न माओवादी नेताहरू अन्य धार्मिक समुदायका कार्यक्रममा पनि सहभागी हुन थालेका छन्, आजभोलि ।

एमाले सचिव शंकर पोखरेलको बुझाइमा माओवादी नेतामा इसाईकरण सुरक्षाको अवधारणाअन्तर्गत् भएको देखिन्छ । स्रोत परिचालनका कुरामा पनि उनीहरूले इसाईकरणलाई प्रयोग गरेको उनको बुझाइ छ । त्यस्तो स्रोत युरोपेली समाजमा छ र त्यहाँको समाज इसाईकरणको पक्षमा । तिनका संस्थाहरूलाई प्रयोग गर्दा स्रोत जुट्ने र सशस्त्र संघर्षलाई वैधता दिन सकिने बुझाइ माओवादी नेताहरूमा देखिन्छ ।

‘इसाई संस्थाहरूको उद्देश्य धर्मप्रचार हो र माओवादीजस्ता सशस्त्र गतिविधि गर्ने समूहको उद्देश्य स्रोत जुटाउने हुन्छ,’ एमाले नेता पोखरेल भन्छन्, ‘दुई वटाको स्वार्थ मिल्दा माओवादी नेताहरू प्रयोग भएको देखिन्छ । गिरफ्तार हुँदा मारिने, युद्धअपराधमा बन्दी बनाइने कुरामा इसाईकरणतिर ढल्किए त्यस्ता संस्थाले आफ्ना पक्षमा वकालत गरिदिने बुझाइमा माओवादी नेताहरू देखिन्छन् ।’

धार्मिक र जातीय मुद्दा उठाएर कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने रणनीतिमा माओवादी फसेको यसभन्दा गतिलो उदाहरण अरु हुन सक्दैन । पोखरेलको विचारमा वर्गीय चिन्तनलाई चुनौति दिन जातीय पहिचानको कुरा उठाइएको छ ।

सिद्धान्तको कसी

एमाले पोलिटब्युरो सदस्य भुसाल मार्क्सवादलाई ऋग्वेदसँग तुलना गर्छन् । भन्छन्, ‘सँगसँगै खाऔं, हिंडौं, गीत गाउँ, नाचौं भन्छ ऋग्वेदले । साम्यवाद भनेकै त्यही हो । यस हिसाबले मार्क्सवाद र ऋग्वेदबीच समानता पाइन्छ । ऋग्वेदले भनेकै सिद्धान्तमा आधारितजस्तो देखिन्छ मार्क्सवाद ।’

ऋग्वेदले मानिसको मृत्युपछि दाहसंस्कारको पक्षमा मात्र जोड दिन्छ, १३ दिनसम्म काजकिरिया, वर्षदिनसम्म बरखी र जीवनभर श्राद्ध गर्नुपर्ने बताउँदैन । त्यसैमा आधारित भएर नेपालका कम्युनिस्ट नेताहरूबीच बाबुआमाको काजकिरिया नगर्ने प्रचलन बसेको हो । जस्तोः माधवकुमार नेपाल र पुष्पकमल दाहालले बाबुको काजकिरिया गरेनन् ।

यद्यपि, त्यसलाई कम्युनिस्ट सिद्धान्तका रूपमा व्याख्या गर्ने हो भने बाबुआमाको काजकिरिया गर्ने र बरखी बार्ने नेताहरू पनि नभएका होइनन् । ०२८ सालको झापा आन्दोलन धेरै चर्को थियो । लुम्बिनी अञ्चलमा त्यत्तिकै मात्रामा वर्गसंघर्ष चर्केको थियो । दुवै मोर्चाका नेताहरूलाई अड्डासार गर्दै ०३७ साउनमा केन्द्रीय कारागारमा ल्याइयो । त्यहाँ झापा आन्दोलनका मुख्य नेताहरू राधाकृष्ण मैनाली, केपी ओलीलगायत पनि आइपुगे ।

लुम्बिनी अञ्चलका नेताहरू मैनालीले बाबुको बरखी बारिरहेको थाहा पाएर आश्चर्यमा परे । १३ दिनको काजक्रिया मात्र होइन, सेतो लुगा नै लगाएर बसेका थिए, मैनाली । जबकि, मैनाली आफ्नै बाबुलाई नै सामन्त, जमिनदार भन्दै हिँडेका थिए ।

त्यसपछि नख्खु जेलमा रहँदा वेदुराम भुसालका बाबु पनि बितेको समाचार आयो । मैनालीले भुसाललाई काजक्रिया गर्न दबाव दिए । उनले गर्न मानेनन् । ‘किरिया गर्ने बाबुलाई स्वर्गमा पठाउनका लागि हो । तर, मलाई स्वर्ग छैन भन्ने लागेको छ । मार्क्सवादले त्यही सिकाएको छ । मैले मार्क्सवाद मान्ने कि स्वर्गवाद ? त्यसैले किरिया गर्दिन,’ भुसालको जवाफ थियो ।

एमाले नेताका घरमा पनि तल्लो तहका नेता/कार्यकर्ता दशैंमा टीका लगाउन पुग्छन् । माधवकुमार नेपाल, झलनाथ खनाल, केपी ओलीलगायत सबै नेता कहाँ जाने गरेका छन् ।

नेपाली कम्युनिस्ट नेतामा ढोंग र संस्कारलाई त्याग्न नसकेको दुवै पक्ष देखिन्छन् । त्यसमा कुनै सीमा रेखा पाइँदैन ।

सुरुवातका दिनमा केही न केही सीमा थियो । ०४६ सालको परिवर्तनपछि बनेको अन्तरिम सरकारमा तत्कालीन नेकपा मालेबाट झलनाथ खनाल मन्त्री बने । उनले ईश्वरका नाममा सपथ लिन मानेनन् । त्यसको साटो ‘सत्यनिष्ठापूर्वक’ शब्द राख्न लगाएर सपथ लिए । त्यो राम्रो प्रतिकात्मक सुरुवात थियो । ०६२/६३ को आन्दोलनपछि पुनःस्थापित संसदलाई सपथ दिलाउने क्रममा फेरि विवाद भयो ।

‘ईश्वरका नाममा/सत्यनिष्ठापूर्वक’ शब्द राखेर सांसदहरूले सपथ लिए । पहिले रेकर्डमा सत्यनिष्ठापूर्वक उच्चारण गरे पनि रेकर्डमा ईश्वरका नाममा भन्ने नै रहन्थ्यो । ०६२/६३ पछि भने दुवै शब्दलाई रेकर्डमा राख्न थालियो । जसले जे बोल्ने हो, त्यसैमा चिह्न लगाउने चलन सुरु भएको छ अहिले । त्यसको जस खनाललाई नै जान्छ ।

यसो भन्छ मार्क्सवादले

कार्ल मार्क्सले ‘हेगेलको न्याय दर्शनको आलोचना’ शीर्षकको रचनामा धर्मबारे व्याख्या गरेका छन्, त्यसैसँग जोडेर उनले धर्म अफिमजस्तो हो भनेका छन् ।

भौतिकवादीहरू यही जीवनलाई सुखी बनाउनुपर्ने मान्यता राख्छन् । स्वर्ग धर्तीमै चाहियो भन्छन्, माक्र्सवादी र साम्यवादीहरू ।

एमाले नेता पोखरेलको बुझाइमा समाज विकाससँग जोडेर माक्र्सवादले धर्म र संस्कृतिलाई विवेचना गरेको छ ।

‘मार्क्सले धर्मलाई व्याख्या गर्ने मुल कडीका रूपमा आर्थिक सम्बन्धका हिसाबमा अगाडि बढाएका छन्,’ पोखरेल भन्छन्, ‘धर्म, संस्कृति, रीतिरिवाज र परम्परा उत्पादन प्रणाली र अर्थतन्त्रसँग जोडिन्छन् भन्ने मार्क्सको व्याख्या हो ।’

Loading...
  • धादिङबेसी बसपार्क स्थानियद्वारा बन्द

    धादिङबेसी बसपार्क स्थानियद्वारा बन्द

    धादिङबेसी कार्तिक ६ । धादिङ सदरमुकाम स्थित बसपार्क अनिश्चितकालीन बसपार्क बन्द गरिएको छ । विभिन्न ठाउँमा राखिएका टिकट काउण्टरहरु हटाएर बसपार्कमा काउण्टर राख्नुपर्ने, फोहर व्यवस्थापन र मर्मत संहारको माग गर्दै
  • धादिङमा तीन पार्टीका प्रमुखहरु चुनावी मैदानमा

    धादिङमा तीन पार्टीका प्रमुखहरु चुनावी मैदानमा

    धादिङबेसी कार्तिक ६ । धादिङका प्रमुख तीनठुला पार्टीका जिल्ला प्रमुखाहरु मंसिर १० गते सम्पन्न हुन गहिरहेको चुनावी मैदानमा होमिएका छन् । आगामी मंसिर १० गते हुन गहिरहेको प्रतिनिधि सभा सदस्यका
  • आँखाको नानी नै गुम्न सक्छ, झुसिलकिराबाट

    आँखाको नानी नै गुम्न सक्छ, झुसिलकिराबाट

    धादिङ कार्तिक ६ । धादिङको सामुदायिक आँखा केन्द्रमा दैनिक ५-७ जना आँखामा विझेको झुसिल किराको झुस निकाल्न आउने गर्दछन् । सामुदायिक आँखा केन्द्रका इन्चाज रामासिंह तामाङका अनुसार यो पछिल्लो पटक
santoshdojer