सम्झनामाः पोष्टबहादुर बोगटी

Avatar photo
Dhadingpost
बिहिबार, भदौ २९, २०७४

हामी कम्यूनिष्ट कार्यकर्ताहरु भाद्र ३० लाई स्मृतिका दिनकारुपमा मनाउँदै आएको तेश्रो वर्षमा प्रवेष गर्दै छौ । ०७१ साल भाद्र ३० गते हामीले नेपाली कम्यूनिष्ट आन्दोलनका शालिन नेता पोष्टबहादुर बोगटीलाई गुमाएका थियौं ।

मेरो मानसपटलमा बोगटी
०६१/६२ सालको बीचमा जनामुक्ति सेनाको मध्य डिभिजन कार्यालय प्राविधिक बिभागमा कार्यरत थिए । रोल्पा जिल्लाको ढाङडुङ कुरेली उपबाङमा प्राविधिक विभाग अन्तर्गतको मुख्य कारखाना थियोे ।

डिभिजन कमाण्डर पासाङ र सहायक कमाण्डर बरुण प्राविधिक क्षेत्रमा निक्कै गहिरो अध्यन गर्नु हुन्थ्यो । समय मिल्यो भने, बेला बेलामा विभागमा आर्इरहनु हुन्थ्यो । हाम्रो ३० मिनेटको दुरिमा सरावाङ भन्ने ठाउँमा पार्टीको कमाण्ड कार्यालय थियोे । कमाण्ड इन्चार्ज स्थायी समिती सदस्य (हेडक्वर्टर सदस्य) नुवाकोटका पोष्टबहादुर बोगटी (दिवकार) थिए । कमाण्डर पासाङले दिवकर सङ्ग प्राविधिकमा नुवाकोटको एकजना भार्इ छ, भनेर कुरा गर्नु भएको रहेछ । उहाँले भेट्ने इच्छा गर्नु भएछ ।

युद्धकालमा नेताहरू सङग भेट्ने छलफल गर्ने त के नेताको छाँया देख्न पाउनु पनि ठुलो कुरा मानिन्थ्यो । हाम्रो लेबलको कार्यकर्ता हरुको त्यसरी उच्च नेताहरु सङ्ग भट्नु अवश्यता पनि हुन्थेन ।केहि दिन पछाडी कमाण्डर पासाङ बिभाग प्रमख आउनु भयो उहाँको स्यटलाईट फोनबाट ३-४ मिनेट दिवकार सङ्ग कुरा गर्ने अवसर मिल्यो । समय मिल्यो भने भेटाउल भन्दै फोन रखियो । केही दिन पछाडी प्राविधिक विभागको ब्यबस्थापक शेषमगर दाईले मलाई उहाँ सङ्गै जाने भन्नुभयो । सरावाङ्ग पुगे पछि मात्र शेषदाईले तपाईलाई यहाँ दिवकारले बोलाउनु भएको भन्नू भयो । पहिलो चोटी यति ठुलो नेता सङ्ग भेट्ने अवसरले अत्यन्तै खुशी लाग्यो । हामी तल्लो गाउँ र माथिल्लो गाउँबासी थिए । सुरुमा मैले मेरो परिचय राखे ।

नुवाकोट धादिङ र बासु स्मृति ब्रीगेड हुँदै यहाँ सम्म आएको भने, अनि वीरबहादुर सर उहाँको परिवारको बारेमा सोध्नु भयो । वीरबहादुर, हरि काका, नबराज, बिजय लगायत ११ जना साथीहरूको ठुलो गाउँमा सेनाले सामुहिक हत्या गरेको थियो । यो घटनाको बारेमा थाहा भए सम्मको बताए । त्यसैगरि स्थानीय पार्टी र कार्यकर्ताहरुको बारेमा कुरा भयो । कुनै बेला उहाँको छोरा रबि बोगटी (अनन्त) र म एकै क्षेत्रमा कार्यरत थिए ।

सत्यादेवि हत्याकाण्डमा कमरेड अनन्त सङ्गै बर्सुङचेतको बिमल घले (प्रज्ञ) र धादिङ खाल्टेको डम्बर श्रेष्ठको तत्कालीन शाही सेनाले कब्जामा लिएर निर्मम यातना दिएर हत्या गरेको थियो । प्रकाशनको काममा व्यस्त अवस्थाम गिरफ्तार गरेका थिए । हामी एउटै सेल्टरबाट बिहान काम विशेषले छुटेका थियौं । १ घण्टा अगाडि छुटेका साथीहरू गिरफ्तार परेको खबर प्राप्त भयो र दिउँसो सेना फर्केपछि हामी पुग्दा साथीहरू शाहीद पङ्तिमा पुगि सक्नु भएछ ।साथीहरूको लासलाई खनियाबासको बच्छ्ला मा.वि. को पछाडी छोपछाप गरिराखेको अवस्थाम भेटाइयो । लास हेर्दा निकै यातना दिएर गोली हानिएको थियो । यी घटनाहरुको बारेमा मैले सरसर्ती बताउँदै गर्दा उहाँ निकै भाबुक गम्भीर हुनुभयो ।

भावुकतामो बीचबाट यो क्रान्तिको नियम हो, कुनै नौलो कुरा होइन, हजारौं सहिदहरुमा रबि पनि समाहित भएछ । एक छोरा सहिद भए हजारौं छोराहरु जन्मिरहेको छ भन्नुभयो । अत्यन्तै सरल र सहज रूपमा नेता दिवकारको अभिव्यक्तिले जोसुकैलाई पनि प्रभाव पार्ने खालको थियो । करिब एक घण्टा कुराकानी भयो ।उहाँको श्रीमती तथा सहिद अनन्तको आमा राङकोट तिर भएकोले भेट्न सकिन समय मिलेमा फेरि भेटौल भन्दै बिदा भएको थिए ।

समय बदलियो, जनायुद्ध शान्ति प्रक्रियामा प्रवेश भयो । नेता दिवकार पटक पटक मन्त्री भए । म सेना संयोजन प्रक्रियामा स्वेच्छिक अवकशमा घर फर्के । यो अवधिमा नेता दिवकार सङ्ग कहिल्यै पनि भेट भएन मेरो उहाँ सङ्ग भेटन जाने काम पनि थिएन र अनावश्यक नेताहरूको म गएर गफ दिने स्वभाव पनि थिएन मेरो । गाउँका साधारण वाईसीएलको सदस्य लिएका र अन्य धेरै सङ्ग भेटघाट हुने गर्थ्यो । सेना संयोजन पछि कार्यदिशाको हिसावले म बैद्य लाईनमा पुगे पछि झनै टाढा दुरी भयो । म उहाँको बिचार र पार्टीको लाइनमा मेरो असहमत भए । अझै पनि माओवादी केन्द्रको नीति तथा कार्यक्रम प्रति मेरो सहमत छैन ।

संविधानसभाको दोस्रो निर्वाचन अगाडी देउरालीबाट जनायुद्धमा सहिद हुने पाँच जना योद्धाहरुको सम्मानमा नुवाकोटको दोस्रो ठुलो फुटबल प्रतियोगिता सहिद स्मरक कप हुँदै थियो ।आयोजनाको संयोजक म थिए, बहुमत साथीहरूले पोष्टबहादुर बोगटीलाई नै प्रमुख आतिथि बनाउने निर्णय अनुसार उहाँ कार्यक्रममा आउँदा भेट भयो । त्यो भन्दा अगाडि कहिल्यै वास्त नगरेको जस्तो लग्थ्यो तर त्यो दिन भने रोल्पा सरावाङ्गको भेट्को पुनःस्मरण मात्र भएन उहाँले मेरो बारेमा धेरै प्रसंषा गर्नु भयो । सहिदहरुको सम्मानमा स्मारक निर्माण र खेलको आयोजना प्रति खुसी व्यक्त गर्दै धन्यवाद दिनु भयो । सके पुरानै घर फर्कन र चुनावमा सहयोग गर्न समेत अग्रह गर्नु भयो । चुनाव अगाडि पुरानो कार्यकर्ता अवश्यक्त हुँदो रहेछ भन्ने महशुस भयो मलाई।

बैचारिक हिसावले माओवादी केन्द्र विचलनको उतकर्षमा छ, आज नव सामन्तहरुको प्रवेष र नीतिगत रुपमा संशोधनवादमा गिरेको पार्टीको बारे मैले टिका टिप्पणी गर्न उचित ठान्दिन तर पनि युद्धकालका सहिद वेपत्ता घाईतेहरुको सम्मानार्थ नेपाली वर्ग संघर्षको उठानमा अतुलनीय योगदान र जनायुद्धको संस्थपक नेता स्व. बोगटी पार्टी भित्र स्वच्छ छवि र कार्यकर्तामा स्थपित कुशल सगठक र जनयुद्धमा योगदानको मुल्यांकन र वर्णन जत्ति गरे कमी नै हुन्छ जस्तो लाग्छ । नुवाकोट तुप्चेमा जन्मेर जनयुद्धको नेतृत्व गर्नु भयो ।जनायुद्धको सिपाहीको हैसियतले रोल्पामा ओज पुर्ण भेट भएको नेता पोष्टबहादुर बोगटी(दिवकर)लाई पशुपति आर्यघाटमा अन्तिम सलामी अर्पण गरे । आदरणीय दिवकर प्रति हार्दिक श्रद्धाञ्जली ।