जनप्रतिनिधिहरुलाई काम गर्न सहज हुने -मन्त्री थापा

Avatar photo
Dhadingpost
आइतवार, भदौ ४, २०७४

धादिङ भाद्र ४ । कानुुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापाले स्थानीय तहमा निर्वाचिन जनप्रतिनिधिहरुका लागि काम गर्न सहज हुने किसिमको कानुन छिट्टै आउने बताए । मन्त्री थापाले कानुन निर्माणका लागि सबै प्रक्रिया र र तयारी भइरहेकोले यसलाई छिट्टै संसदमा पेश गरि पारित गराउने तयारीमा आफू र मन्त्रालय रहेको जानकारी दिए ।

नेपाली कांग्रेस, धादिङ–पोखरा सम्पर्क सदनको शनिबार दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले भने–‘कानुनको अभावमा जननिर्वाचित प्रतिनिधिले काम गर्न नपाएको गुनासो तीव्र छ । त्यसैले छिट्टै्र कानुन निर्माण गरि जनप्रतिनिधिलाई सहज ढङ्गले काम गर्ने वातावरण मिलाउने छौं ।’
मन्त्री थापाले छिट्टै अर्को निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको भन्दै मंसिरको पहिलो साता निर्वाचन गर्ने सहमति दलहरुबीच भैसकेकोले त्यसैको पेरिफेरिमा अर्को चुनावको मिति घोषणा हुन सक्ने बताए । दुवै चुनाव एकै पटक गर्ने तयारीमा सरकार र निर्वाचन आयोग रहेको भन्दै उनले सरकार तोकिएकै समयमा निर्वाचन गराउन प्रतिवद्ध रहेको स्पष्ट पारे ।

नेपाली कांग्रेस कास्कीका पूर्व सभापति समेत रहेका थापाले स्थानीय तहको निर्वाचनमा विविध कारणले कांग्रेस पराजित भएको भएपनि २ नम्बर प्रदेशको चुनावले कांग्रेसलाई पुनः पहिलो शक्ति बनाउने दावी गरे । उनले भने–‘स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा कांग्रेस पराजित भएको छ तर तेस्रो चरणको निर्वाचनबाट कांग्रेस पुनः पहिलो पार्टी बन्ने कुरामा शंका छैन ।’

अव हुने दुुई वटै निर्वाचनबाट कांग्रेस मुलुकको बलियो शक्ति बन्ने उनले दावी गरे । मन्त्री थापाले भने–‘कम्युनिष्टहरुले मुलुुकलाई धेरै घुमाए तर केही गर्न सकेनन् । आधार दर्जन सरकार पटक कम्युनिष्टहरुले सत्ता हाकेर पनि बनाउन नसकेको संविधान कांग्रेसले बनाएर देखायो र त्यहि संविधान अनुरुप २० वर्षपछि स्थानीय तहको निर्वाचन सम्पन्न हुने क्रममा छ ।’

कांग्रेसकै नीतिमा मुलुक अघि बढिरहेको भन्दै मन्त्री थापाले मुलुुक आर्थिक क्रान्तितिर होमिएको भन्दै बाँकी दुुईवटै निर्वाचन सम्पन्न गरेपछि संविधान कार्यान्वयन हुने र मुलुक अग्रगामीतर्फ लम्कने स्पष्ट पारे ।

नेपाली कांग्रेस धादिङका सभापति रमेश धमलाले कांग्रेसको पक्षमा जनलहर बढिरहेको भन्दै कांग्रेसलाई पहिलो शक्तिमै कायम रहन कसैले रोक्न नसक्ने स्पष्ट पारे । उनले अब हुने २ वटै निर्वाचनमा सक्रियतापूर्वक जिल्ला फर्कन पोखरामा रहेका धादिङवासीहरुलाई आग्रह गरे ।
कांग्रेस धादिङका पूर्व सधापति एवं पूर्व सांसद रामनाथ अधिकारीले मुलुुकको विकास बढी गरेको छ भने कांग्रेसले नै गरेको भन्दै कांग्रेसको नीति र सिद्धान्तलाई सबै नेपालीले आत्मसाथ गर्नुपर्नेमा जोड दिए । उनले भने–‘जहाँनिया राणा शासन, पञ्चायति शासन र निरङ्कुश राजतन्त्रसंग पौठेजोरी खेल्दै यहाँसम्म आइपुुगेको कांग्रेसलाई कुनैपनि कम्युनिष्टले हल्लाउन सक्दैनन् ।’

धादिङ नीलकण्ठ नगरपालिकाका प्रमुुख भीम प्रसाद ढुुङ्गानाले कांग्रेस जुवाको त्रुुप भएको भन्दै ठूला–ठूला वादशाहलाई ढाल्न सक्ने बताए । उनले धादिङ जिल्ला करिब १५ वर्ष कम्युनिष्टले कब्जा गरे तर जिल्लाका लागि माखो मार्न नसकेको भन्दै अब जिल्लाको मुहार फेर्ने काम कांग्रेसले गर्ने स्पष्ट पारे ।

सदनका सभापति केदार धमलाको सभापतित्वमा भएको कार्यक्रममा धादिङ कांग्रेसका सचिवद्वय विनोद तिमिल्सिना, हरिराम अधिकारी, कास्की अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवर, कास्की कांग्रेसका सदस्य गिरीराज गौतम, धादिङका जिल्ला सदस्य रामप्रसाद अधिकारी, धादिङ खनियाबास गाउँपालिका प्रमुख रणबहादुर तामाङ र उपप्रमुख योगमाया तामाङ, सदनका सल्लाहकार डा. ठाकुर सिलवाल, उपसभापति यादुप्रसाद ढकाल र सचिव माधव लम्साल लगायतले आ–आफ्नो भनाइ राखेका थिए । उक्त अवसरमा धादिङ र कास्कीका विभिन्न स्थानीय तहमा निर्वाचित जनतिनिधिहरुलाई सम्मान गरिएको थियो ।

सदनको सभापतिमा पाठक निर्वाचित
नेपाली कांग्रेस, धादिङ–पोखरा सम्पर्क सदनको सभापतिमा लालप्रसाद पाठक निर्वाचित भएका छन् । सदनको शनिबार पोखरामा सम्पन्न दोस्रो अधिवेशनले अघिल्लो कार्यकालमा सल्लाहकार रहेका धादिङ ज्यामरुङ निवासी पाठकलाई सभापतिमा निर्वाचित गरेको हो । पोखराको सभागृहचोकमा रहेका पाठक बुक्स एण्ड स्टेशनरीका संचालक पाठक धादिङ–पोखरा सम्पर्क समाजका पूर्व कोषाध्यक्ष समेत हुन् ।

सदनको वरिष्ठ उपाध्यक्षमा यादुप्रसाद ढकाल, उपाध्यक्षद्वयमा टेकबहादुर थपलिया र ईन्द्रबहादुर अधिकारी, सचिवमा माधव लम्साल, सह–सचिवत्रयमा नारायण दुवाडी, सीता श्रेष्ठ र वेणु पण्डित, कोषाध्यक्षमा किशोर भट्ट, सह–कोषाध्यक्षमा देवराज अर्याल निर्वाचित भएका छन् । यसैगरी कार्यसमिति सदस्यहरूमा लालकाजी श्रेष्ठ, लालकाजी श्रेष्ठ, लालबहादुर घले, हरिकृष्ण सिटौला, राकेश श्रेष्ठ, राजु थापा, शान्ता धरेल, नवीन थपलिया, कुमार पन्त र भरत कडरिया चयन भएका छन् ।

सदनका सल्लाहकार कृष्णकुमार श्रेष्ठ संयोजक, डा. ठाकुर सिलवाल, मोहन पण्डित र रामप्रसाद अधिकारी सदस्य रहेको निर्वाचन समितिले नयाँ नेतृत्व चयन कार्यक्रम सम्पन्न गरेको हो ।

सभापतिमा निर्वाचित भएपछि बोल्दै सदनका नवनिर्वाचित सभापति पाठकले कांग्रेसको विधि र सिद्धान्त अनुरुप लोकतन्त्र र प्रजातन्त्रमा आस्थावान धादिङवासीलाई एकतावद्ध बनाएर अघि बढ्ने प्रतिवद्धता जनाए । (धादिङपोष्टको लागि हरि पन्त पोखरा)