विजयी हुनमा पोखरा स्थित धादिङेको महत्वपूर्ण योगदान -पाण्डे

Avatar photo
Dhadingpost
आइतवार, भदौ ४, २०७४

धादिङ भाद्र ४ । नेकपा एमाले पोलिटब्युरो सदस्य राजेन्द्रप्रसाद पाण्डेले धादिङमा अत्यधिक बहुमतका साथ स्थानीय निर्वाचनमा जीत हात पार्नुमा पोखरा स्थित धादिङे जनताको महत्वपूर्ण योगदान रहेको बताए ।

नेकपा एमाले, धादिङ–पोखरा सम्पर्क मञ्चको पाचौं अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै उनले कामको सिलसिलामा जहाँ रहेपनि आफ्नो पार्टीप्रतिको निष्ठा र समर्पण नछाडेको भन्दै पछिल्लो क्रममा सक्रिय गतिविधिका साथ मुलुकका सम्पर्क मञ्चमध्ये धादिङ–पोखरा सम्पर्क मञ्चले पनि आफूलाई स्थापित गरेको बताए । उनले धादिङको विकासमा सबै एक भएर लाग्नुपर्नेमा समेत जोड दिए ।

‘तपाईंहरु त पोखरामै बस्नुहुन्छ । वर्षको एक दुई पटक धादिङ जाँदा पनि हिलाम्ये र डरलाग्दो बाटोले दिक्दारी गराउँछ । यो सबैलाई थाहा छ’,उनले भने–‘अब ग्रामिण सडकका लागि हामी स्तरोन्नति गर्न लागिपरेका छौं । त्रिशुलीमा ६ वटा पुलहरु बन्दैछन् ।’
पूर्व स्थानीय विकास मन्त्री समेत रहेका पाण्डेले अब २ नं. प्रदेशको निर्वाचन समाप्तिसँगै प्रदेश र संसदको एकैपटक निर्वाचन गरी राष्ट्रिय सभा चुन्ने चरणमा अघि बढेको बताए । प्रदेश नंं. ३ मा बहुमत एमालेको पक्षमा रहेकाले प्रदेश सरकार एमालेको बन्नेमा कुनै शंका नरहेको तर प्रदेश नं. ४ मा स्थानीय निर्वाचनमा प्रतिष्पर्धा भएकाले अबका दुई निर्वाचनमा यहाँ पनि पहिलो पार्टी बनाउन कार्यकर्तालाई निर्देशन दिए ।

सांसद गुरु बुर्लाकोटीले धादिङका दुई नगरपालिका र ११ गाउँपालिकाका २६ पदमा १५ पदमा एमाले उम्मेदवार विजयी भएको, जिल्ला समन्वय समितिका नौ सदस्यीय समिति नै एमाले एकलौटी बनेको उल्लेख गर्दै अब काँग्रेस र माओवादी मिलेर पनि एमालेलाई कहिल्यै हराउन नसक्ने जिकिर गरे । विचार र सिद्धान्त नै दुई ध्रुब भएका दलहरु एमाले सिध्याउन एक ठाउँ भएको भनेर प्रचण्डले नै सार्वजनिक अभिव्यक्ति दिईरहँदा उनले एमालेप्रतिको चौतर्फी हमलालाई जनताले नै निस्तेज पार्ने बताए ।

एमाले धादिङका अध्यक्ष भूमी त्रिपाठीले धादिङका एमालेले गुमाएका स्थानमा पनि काँग्रेस र एमालेले घोषित र अघोषित रुपमा गठबन्धन गरेका कारण जितेको भन्दै अब धादिङ एमालेको किल्ला बनेको बताए । एमाले कास्की अध्यक्ष कृष्ण थापाले कास्कीमा एमालेले जित्नुमा धादिङबासीको पनि उत्तिकै योगदान रहेको बताए ।

जिल्ला समन्वय समिति धादिङ प्रमुख जगन्नाथ नेपाल, समिति कास्की प्रमुख बैनबहादुर अधिकारी क्षेत्री, अनेम संघ धादिङ अध्यक्ष गंगा श्रेष्ठ, थाक्रे गाउपालिका प्रमुख रामकुमार आचार्य, ज्वालामुखी गाउँपालिका उपप्रमुख जानुका सिंखडा, युवा संघ सचिवालय सदस्य रमेश आचार्य लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

मञ्चका अध्यक्ष बेनी पाठकको अध्यक्षतामा भएको साधारणसभामा सचिव गोकर्ण अधिकारीले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष समीर अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त अवसरमा धादिङमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान समेत गरिएको थियो ।

मञ्चको अध्यक्षमा थापा निर्वाचित
नेकपा एमाले धादिङ–पोखरा सम्पर्क मञ्चको अध्यक्षमा विरबहादुर थापा सर्वसम्मत चयन भएका छन् । उनी यसअघि मञ्चको सल्लाहकार परिषद संयोजक थिए । उनी धादिङ त्रिपुरासुन्दरी गाउँपालिका निवासी हुन् । मञ्चका तीन उपाध्यक्षमा अर्जुन खतिवडा, प्रेम थापा र रामकुमार घिमिरे, सचिवमा योगप्रसाद सापकोटा (नवराज), सह–सचिवमा सरस्वती श्रेष्ठ सरु र कोषाध्यक्षमा सरोज कुँवर सर्वसम्मत चयन भएका छन्।

मञ्चको कार्यसमिति सदस्यहरुमा नानीराम कोईराला, रामप्रसाद नेपाल, तोयनाथ सापकोटा, हरिकृष्ण श्रेष्ठ, प्रकाश परियार, गणेश गिरी, विष्णुमाया श्रेष्ठ, सरिता आले मगर, शान्ति मगर, शिव रिजाल, सुरेन्द्र बिक, रामप्रसाद दुवाडी, शान्ति रानामगर, ज्ञानेन्द्र बहादुर तुमसिंह, रचना अधिकारी थापा, कमला सापकोटा, अञ्जली लम्साल, युवराज इटनी, दिनेश तुलाधर, राजन नगरकोटी, बेलबहादुर तामाङ रहेका छन् ।

केशव थापा संयोजक तथा कृष्णबहादुर लम्साल र शम्भु अधिकारी सदस्य रहेको निर्वाचन मण्डलले सर्वसम्मत समिति घोषणा गरेको हो । नवनिर्वाचित अध्यक्ष थापाले पार्टीप्रति आस्था राख्ने सबै धादिङबासीलाई समेटेर संगठन विस्तार अभियानलाई अघि बढाउने बताए । (धादिङपोष्टको लागि हरि पन्त पोखरा)