धादिङमा सेन्टर र यूनियनलाई रिङ आउट गर्ने चौतारी केन्द्रमा आफै किक आउट

Avatar photo
Dhadingpost
शनिबार, भदौ ३, २०७४

धादिङ भाद्र ३ । यतिबेला पत्रकारहरुमा चुनावी सारगर्मी बढेको छ । चुनावी माहौल बनाउन प्रेस युनियन प्रेस सेन्टर एकातिर छन भने अर्कातिर प्रेस चौतारी, प्रेस सोसाइटी र मधेशी पत्रकार लगायतको गठबन्धन बनेको छ । विप्लब निकटको क्रान्तिकारी पत्रकार महासंघ अझै पनि पर्ख र हेरको अवस्था रहेको छ ।

धादिङको जिल्ला अधिबेशनमा यूनियन र सेन्टरलाई जिल्याउने चौतारी र सोसाईटी केन्द्रमा पनि मिले तर धादिङमा अरुलाई जिल्याउने चौतारी भने केन्द्रमा आफै जिल्लिएको छ । धादिङबाट यूनियन र सेन्टरलाई पाखा लगाउँदै सबै केन्द्रिय प्रतिनीधिहरु जितेको चौतारी धादिङ अहिले एक जना केन्द्रिय सदस्य पनि पाउन नसक्दा जिल्लिएको हो ।

धादिङबाट १७ जना चौतारीबाट र ३ जना प्रेस सोसाइटीबाट केन्द्रिय प्रतिनीधी छन । यूनियन र सेन्टरको शुन्य अवस्था रहेको छ । १७ जना प्रतिनिधि लिएर केन्द्रिय अधिबेशनमा गएको चौतारीको भुमिका भोट बैकको रुपमा मात्रै रहेपछि चौतारीका कार्यकर्ताहरु आक्रोशित हुन पुगेका छन् ।

प्रेस चौतारी धादिङले प्रदेशबाट टिकट पाउँदा रामेश्वर कार्की खुल्लाबाट र केशव अधिकारीको नाम केन्द्रमा सिफारिस गरेको भए पनि अहिले दुबै जना नपरेपछि चौतारी धादिङमा यो सवाल गम्भीर बहस भएको छ । प्रेस चौतारी धादिङको अध्यक्ष हुंदै दुई कार्यकाल केन्द्रिय सदस्य एवम बागमती अंचल इचार्ज समेत रहेका केशव अधिकारी १७ बर्ष देखि धादिङ रहेर पत्रकारिता गरि रहेका छन भने प्रेस चौतारी धादिङका पूर्व अध्यक्ष एवम वर्तमान केन्द्रिय सदस्य धादिङ जिल्ला इन्चार्ज रामेश्वर काकी काठमाडौमा रहेर अनलाईन मिडिया मार्फत पत्रकारितामा सक्रिय छन् ।

जिल्लाको अधिबेशनमा अध्यक्षको वलियो दावेदार मानिएका अधिकारी र कार्की दुवै जनाले आंफुहरु चौतारीको केन्द्रिय तहमा रहेकाले दोश्रो कार्यकालको लागि भन्दै नवराज छत्कुलीलाई अध्यक्षमा सिफारिस गरेपछि चौतारीले सर्वसम्मतबाट अध्यक्षको टुङ्गो लगाएको थियो । महासंघको केन्द्रमा पुग्ने रहर वोकेका यि दुवैजना यस पटक आंफुसंग वलियो मत हुंदा हुंदै पनि पाखा लगाईएका छन । धादिङ जिल्लामा जन्मिएर राजधानी र अन्यत्र वसि पत्रकारिता गरिरहेकाहरु महामसंघको केन्द्रिय नेत्तृत्वमा पुग्न सफल भएपनि धादिङ जिल्लाबाटै प्रतिनिधित्व गरेर केन्द्रीय अधिबेशनमा सहभागी भएका कोही पनि अहिले सम्म कुनै संगठनबाट केन्द्रिय सदस्य हुन सकेका छैनन । यस अघि धादिङ जन्मथलो भएका किशोर श्रेष्ठ, ओम शर्मा केन्द्रिय नेत्तृत्वमा पुगेका थिए भने अहिलेको कार्य समितिमा पनि धादिङ जिल्लामा जन्मिएका धुव्र लम्साल,रुद्र भट्ट, रामहरि सिलवाल निर्वाचित भएका थिए । भट्ट अवको कार्य समितिको लागि खुल्लाबाट सचिवमा र रामहरि सिलवाल लेखा आयोगको संयोजकमा चु्नावमा भिड्दै छन ।

अन्य दलहरुमा जस्तै एमालेमा पनि वर्गिय संगठनहरुमा गुट उपगुटको समस्या रहेको भएपनि धादिङ चौतारीले यस पटक एकमत भएर केन्द्रिय सदस्यका लागि गरेको लविङ खेर गएको छ ।

महासंघको केन्द्रिय अधिबेशनमा एक जना पनि प्रतिनिधि नभएको युनियनले धादिङको राजमार्ग क्षेत्रमा केन्द्रिय अधिबेशनमा आउने प्रतिनिधिहरुको स्वागतका लागि ठाउँमा व्यानर राखेर प्रचार गरेको छ भने जिल्लामा एकलौटी नेत्तृत्व गरेको महासंघ र चौतारीले कतै पनि एउटा व्यानर समेत राखेको देखिंदैन । युनियनले जाजरकोटबाट धादिङ आई पत्रकारिता गरिरहेका हरिहरसिंह राठौरलाई केन्द्रिय सदस्यमा टिकट दिएपछि धादिङ युनियनको टोली राठौरको उम्मेदवारीको प्रचार-प्रसारमा जुटिरहेको छ ।