ढुक्क हुनुस् अस्थायी शिक्षकको माग पूरा हुन्छ: शिक्षामन्त्री श्रेष्ठ

Avatar photo
Dhadingpost
आइतवार, साउन २९, २०७४

धादिङ साउन २९ । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले आन्दोलनरत अस्थायी शिक्षकलाई माग पूरा गराउने आश्वासन दिदै मन्त्री श्रेष्ठले भदौ ३ गते हुने अस्थायी शिक्षकको परीक्षा अगाडि नै समस्याको समाधान गर्ने बताए । ढुक्क हुनुस् अस्थायी शिक्षकको माग पनि पूरा हुन्छ, शिक्षा क्षेत्रको विकृति र विसंगतिलाई पनि अन्त्य गर्छु । नेपालको शिक्षालाई गुणस्तरीय र वैज्ञानिक पद्धतिमा लैजान्छु ।

शनिबार शंखादेवी भूपू विद्यार्थी समाजले अयोजना गरेको सम्मान तथा प्रशंसापत्र वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले आन्दोलनरत अस्थायी शिक्षकलाई माग पूरा गराउने आश्वासन दिएका हुन् ।

नीलकण्ठ नगरपालिकाका प्रमुख भिम ढुङ्गाना, पर्यटन व्यवसायी तथा भिटोफ नेपालका अध्यक्ष कमल सापकोटा र रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला विशेष अतिथ्यता रहेको उक्त कार्यक्रममा मेयर ढुङ्गानाले उक्त विद्यालयलका लागि सहयोग गर्न तयार रहेको बताए । निलकण्ठ नगरपालिकाका साविकको ज्यामरुङ क्षेत्रको विकासका लागि आफू प्रतिवद्ध रहेको बताउँदै मेयर ढुङ्गानाले शंखादेवी माविको स्तर उन्नतिका लागि आवश्यक सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाए ।

रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले धादिङको शंखादेवी उच्च माविको स्तरउन्नतिका लागि सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए । धमलाले उक्त विद्यालयका लागि शिक्षा मन्त्रालयले कम्तिमा पनि २ करोड बजेट छुट्टयाउनुपर्ने माग गरे । आफु पढेको विद्यालयलाई भौतिक रुपमा सम्पन्न बनाउने र गुणस्तरीय शिक्षामा जोड दिने र त्यस विद्यालयमा पढ्ने विद्यार्थीहरुका लागि खेलकूद लगायत व्यक्ति विकास लगायतका विषयमा ध्यान दिने धमलाको भनाई छ ।

पर्यटन व्यवसायी हरी धरेल, टुकी नेपालका अध्यक्ष तथा पर्यटन व्यवसायी कमल सापकोटा, पूर्व सासंद कल्पना धमला लगायतले शंखादेवी माविको विकासका लागि विगतमा पनि सहयोग गरेको र आगामी दिनमा पनि दाताको खोजी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
शंखादेवीका विद्यार्थी समाजका अध्यक्ष रामचन्द्र धमला, महासचिव नवराज लम्सालले विद्यालयको गतिविधि उद्देश्य, र आगामी योजनाको बारेमा स्पष्ट पारे । विद्यार्थी समाजकी सदस्य निर्मला धमलाले स्वागत मन्तव्य राखेका थिए ।

समाजले गरेको कार्यक्रममा विद्यालय स्थापनाकालदेखि सहयोग गर्ने सात जना व्यक्तिलाई विशेष सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा मोतिलाल धमला, दुर्गाप्रसाद धमला, लालप्रसाद धमला, इन्द्रप्रसाद बोहोरा, रत्नप्रसाद लम्साल, तिलप्रसाद धमला र जयराम शर्मा दुवाडी छन् ।

साथै यस वर्षको एसइइ परीक्षामा उत्तिर्ण विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर श्रेष्ठ र प्रधानध्यापक गणेश पन्तले विद्यालयको वस्तुस्थितीको बारेमा जानकारी गराएका थिए । समाचार श्रोतः रिपोर्टर्स क्लब