स्वाइन फ्लूबाट बच्न अपनाऔं सावधानी

Avatar photo
Dhadingpost
बिहिबार, साउन २६, २०७४

धादिङ साउन २६ । यो पछिल्लो पटक निकै फैलदै गरेको प्रकोप हो स्वाइन फ्लू । देशेका मुख्य शहरहरु काठमाडौं, पोखरा, स्याङ्जा झापामा यस प्रकोपको रोगिहरु भेटिएको प्रमाणित भैसकेको छ ।

त्यसैले यसबोरे सबैको चासो बढेर गएको छ, यसरोगबाट बच्न र बचाउन जनचेतना जगाउन स्वस्थ्य कर्मीहरुले सकेसक्क दृढ रहेको बताउँछन् ।

विशेषतः मानिसको बढी चहलपहल हुन शहरमा स्वाइन फ्लूको प्रकोप देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुसार अहिले सम्म स्वाइन फ्लूका कारण ६ जनाको मृत्यु भइसकेको छ भने एक सय भन्दा बढीमा संक्रमण भएको प्रमाणित भइसकेको छ ।

सन् २००९ देखि नेपालको विभिन्न भुभागमा बेलाबेलामा स्वाइन फ्लु देखिने गरेको छ ।  स्वाइन फ्लू एक खतरनाक भाइरस हो जुन सुँगुरको कारण फैलिने गर्दछ। यसलाई कतै-कतै सुँगुर ज्वरो पनि भन्ने गरीन्छ र यो रोग फैलाउन टाइप ए इन्फ्लुएन्जा (H1N1) भाइरस जिम्मेबार हुन्छ।

यो भाइरस H1N2,H3N2, H3N1 आदि रुपमा देखा परेका छन् । जस मध्ये अहिले H1N1 जुन सबैभन्दा खतरनाक भाइरस हो जसले उपल्लो र तल्लो श्वासप्रश्वास प्रणालीलाई आक्रमण गर्छ । यसको लक्षण पनि पहिले जस्तो स्पष्ट रुपमा थाहा पाउन सहज छैन । पहिले भन्दा यो भाइरसको क्षमता ८ गुणासम्म बढेको पाइएको छ ।

स्वाइन फ्लू सबै उमेर समुहका मानिसमा देखिन सक्छ । तर, यसले रोग प्रतिरोधात्मक क्षमता कम भएका वृद्ववृद्वा, गर्भवती र बालबालिकामा चाडो प्रभाव पार्छ । सामन्यतया यो संक्रमण मौसम परिवर्तन हुने बेलामा बढी देखिने गर्छ ।

यसका लक्षणहरू
रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने वा सखस हुने, शरीरको विभिन्न भाग दुख्ने, आलस्य हुने, थकाइ लाग्ने, खान मन नलाग्ने , सास फेर्न गाह्रो हुने गर्दछ ।

कसरी सर्छ स्वाइन फ्लू ?
स्वाइन फ्लू बिरामीले खोक्दा, हाछ्यु गर्दा, बोल्दा थुकका साना कणबाट हावामा फैलन्छ । यो रोगको जीवाणु सार्वजनिक स्थानहरू जस्तैं रेलिङ, ढोका, लिफ्ट आदिमा घन्टौंसम्म जिवित रहन सक्छ । त्यस्ता ठाउँ छोएमा शरीरमा प्रवेश गर्छ र श्वासप्रश्वास नली र फोक्सोमा संक्रमण भएपछि स्वाइन फ्लूको समस्या देखिन्छ ।

यस प्रकोपको रुपमा देखा परेको रोगबाट कसरी बच्ने

हाच्छ्यु गर्दा, खोक्दा रुमालले नाक र मुख छोप्ने, सार्वजनिक स्थानमा हिड्दा माक्स प्रयोग गर्ने, संक्रमण वा महामारी देखिएको बेलामा भिडभाड, सार्वजनिक स्थानमा सकेसम्म नजाने, घरबाहिर वा सार्वजनिक स्थानमा गएर आएपछि साबुनपानीले हात धुने गर्नुपर्दछ । संक्रमीत मानिस, अस्पताल, महामारी देखिएको ठाउँमा सकेसम्म नजाने, हात मिलाउनु भन्दा नमस्कार गर्ने बानी बसाल्ने, आफ्नो हात आँखा, नाक, मुखतिर सकेसम्म नलैजाने, रुघाखोकी, ज्वरो वा माथि उल्लेखित लक्षणहरु देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउनु पर्दछ ।

यस अघि प्रकाशित यो लेख पनि पढौं ।

स्वाइन फ्लुः डराइहाल्नु पर्दैन तर सचेत रहनुपर्छ