Dhading News

खनियावास विद्रोहबारे पुस्तक प्रकाशित


बुधबार, साउन २५, २०७४
मुख्य समाचार, विचार / ब्लग

तत्कालिन पश्चिम १ नं विद्रोह समेत भनिने आन्दोलनको खोजमा लागिरहेका गोपाल फ्युबा तामाङले हालै खनियावास विद्रोह, पुस्तक प्रकाशनमा ल्याएका छन् । क्रान्तिकारी सेक्केः खनियावास विद्रोहको अगुवा नामक पुस्तक रामबहादुर तामाङ (सेक्क)को जीवनी हो । लेखकले उनको जीवनी खोतल्दै खनियावास विद्रोहको जग खोजेका छन् ।

सुकबहादुर तामाङ र टाशीपल्मो तामाङले प्रकाशन गरेको सो पुस्तकमा समाजशास्त्री तथा राजनीतिशास्त्री बाबुराम फ्युबाको लेख समेत समेटिएको छ । त्यसो त लेखकले राजालाई पीडितहरूको तर्फबाट दिइएको विन्तिपत्र समेत संकलन गरेर समेटिएको छ ।

(लेखक फ्युबा तामाङ लोकसाहित्यका खोजकर्ता हुन् । त्रिविविबाट लोकसाहित्यमा स्नातकोतर गरेका उनी लगातार एक दशकदेखि यसै क्षेत्रमा सम्लग्न छन् । तामाङ गाउॅखाने कथा र म्हन्दङ कृतिका साथै असङ्ख्य फूटकर लेख तथा रचनाहरू प्रकाशित छन् । पेशाले शिक्षक फ्यूबा ल्हप्सङकर्पो व्यक्तित्व खोज श्रृङ्खलाका संयोजक समेत हुन् । भर्खरै प्रकाशनमा आएको पुस्तकबाट फ्यूबाको एक लेख

रप्रष्ट विद्रोहः राजनीतिक नेतृत्व विहिन लडाई

सन्दर्भः
हरेक समुदायसॅग विद्रोहका इतिहास हुन्छन् । भाषा, धर्म, संस्कृति, राज्य र पहिचान जोगाउन होस् वा खान, लाउनको लागि होस् । अथवा अन्याय, अत्याचार, उत्पीडन र विभेदको प्रतिकारमा होस् । अझ अधिकार प्राप्तिकै संघर्ष मै किन नहोस् । निशष्त्र वा सशष्त्र । सहरमा होस् वा गाउॅमा । रिसको ज्वालाले उकुसमुकुस भए पछि प्रतिकार हुन्छ तब विद्रोह वा आन्दोलनले प्रश्रय पाउॅदछ ।
यस्तै प्रकारको एक आन्दोलन तत्कालिन पश्चिम एक नंबर यानेकी हालको नुवाकोट धादिङ रसुवामा पर्ने विभिन्न स्थानमा स्थानीय सामन्तहरूको विरूद्ध आन्दोलन भएको पाइन्छ ।

परिचयः
भारत ब्रिटिस उपनिवेशबाट मुक्ति, नेपाल जहानीया निरङ्कुश राणाशासनबाट मुक्ति पाएको सन्दर्भमा स्थानीय सामन्तबाट मुक्ति पाउने अभिलाषा बढ्दै गयो । खासगरी लाहुरेहरूमा यो मोह बढिसकेको थियो -(डुक्पा लामा) ।
भौगोलिक विकटताले गर्दा केन्द्रिकृत आन्दोलन भएन । तर स्वरूप भने एकै प्रकारको थियो ।
बि स २०१२ ताकादेखि विद्रोह देखिन थाल्यो (खोबहादुर) । सामन्तहरू कहॉ काम गर्न अनुकुलमा मात्र जाने, अन्न सकेसम्म पैसामै किन्ने । व्याज नतिर्ने गर्न थाले । यस चरणलाई अवज्ञा आन्दोलन भन्न सकिन्छ ।
अवज्ञाबाट रिसाएकाहरूले शोषण झन बढायो । यसले जनताको मनमा ती काजी तथा बाजेहरू प्रति रहेको सद्भाव मेटियो । चुनावी नारा नै हली बाधा उन्मूलन गर्ने बन्यो । २०१५ को चुनावमा क्षेत्र नं १०६ बाट राष्ट्रवादी गोरखा परिषदका उमेद्वार ललितमान घले विजय भए -(देवकोटा) । उनको घर चिह्न र जातले भोट पायो ।
वि पी नेतृत्वको वहुमतीय सरकारले क्रमशस् स्थानीय तामाङहरू अनुकूलको नीति काङ्ग्रेस सरकारले लिदै गए । विर्ता उन्मूलन र जसको जोत उसको पोतको समर्थन बढ्न थाल्यो (अधिकारी) । तब अवज्ञा आन्दोलन हस्तक्षेपमा पुग्यो । हस्तक्षेपको क्रममा किन्छु भनेपछि अन्न दिनै पर्ने भो । दिन्न भन्दा खोसिन्थ्यो । खेतमा पाकेको बाली आन्दोलनकारीले उठाउन थालियो । हस्तक्षेपमा गएका आन्दोलनकारीलाई प्रतिकार हुन थाल्यो । तब आन्दोलनले उग्र रूप लियो-(आइतराम) ।
२०१६ देखि०१७ मध्यसम्ममा सबै सामन्तीहरूलाई लखेटी भ्यायो । तर एकिकृत लडाई नभई एकै प्रकृतिका अनेक स्थानमा विद्रोह भइरहेका थिए ।
विपी सरकारले आन्दोलनकारीको माग बमोजिम जाली तमसुक च्यातिदिए । लुटिएका भाडाकुडा फिर्ता दिलाए । मूख्य आन्दोलनकारीहरूले २०० जरिवाना तिरे । सामान्यतः मेलमिलाप भयो । तर गाउॅगाउॅमा बिग्रह भइरह्यो । भागेकाहरूले कांग्रेस निकट बडाहाकिम र प्रहरी प्रमुखको राजिनामाका साथै अन्य विभित माग राखी काठमाडौं गई राजामा विन्तिपत्र हाले -(देवकोटा) ।
सोही बेला महेन्द्रले सत्ता लिएर प्रत्येक आन्दोलनकारीलाई पक्रन आदेश दिए । पक्रन आएकालाई पनि लखाटेपछि अन द स्पट सूट अर्डर लिएर सेना आए । आन्दोलनका नेतृत्वको टाउकाको मोल तोकियो ।

थप कुराः
यसरी हेर्दा २००७ सालको क्रान्ति र राजनीतिक परिवर्तन, द्दण्ज्ञछ सालको आम चुनाव, विपी सरकारको लोकप्रीयता, २०१६र१७ सालमा तामाङ समुदायका अगुवाहरूले गरेको विद्रोहले तामाङ समुदायमा राजनीतिक चेतनाको आधार तयार गर्यो । यसमध्ये २०१६र१७ सालमा नुवाकोट, धादिङ टक्सार, दार्खा खनायोबास र मार्पकमा भएको ऐतिहासिक तामाङ विद्रोहको महत्व तामाङ समुदायको इतिहासमा उल्लेख्य रहेको छ । उक्त तामाङ समुदायले गरेका विद्रोहलाई ‘पश्चिम एक नं काण्ड’को रूपमा बुझ्ने गरिन्छ ।
स्थानीय सामन्तहरूले जालझेल, षड्यन्त्र गरी धादिङ, नुवाकोट र रसुवाका तामाङ समुदायलाई तीव्र रूपमा शोषण र उत्पीडन गरी घरबास उठाई हली, बाधा–गोठाला बस्न बाध्य बनाउँदै आइरहेका थिए । राम्रो खेतबारी, गाई–भैंसी र खसी–बाख्रा मात्र होइन, कोदालोको राम्रो बिंडसम्म पनि षड्यन्त्र पूर्वक लुट्ने तथा तामाङ समुदायका चेली–बेटीमाथि यौनशोषण गर्नेजस्तो अन्याय र अत्याचारले सीमा नाघेपछि त्यसका विरुद्धमा २०१६र१७ सालमा रसुवा, धादिङ र नुवाकोटको तामाङ समुदायका झन्डै ३ हजार युवाहरूले विद्रोहको झन्डा उठाएका थिए९कृष्णबहादुर पाख्रिन० । २०१६र१७ सालमा तामाङ समुदायका तीन हजार युवायुवतीहरूले हतियार उठाउँदा तत्कालीन राज्यसत्ताको मूलजरो नै हल्लिन पुगेको थियो । राजा महेन्द्रले एकतान्त्रिक शासन व्यवस्था लाद्नुको दोस्रो कारण समेत बन्यो । लोकप्रिय विपी सरकारलाई अपदस्त गर्न भूमिका खेल्यो ।
विद्रोही तामाङ युवाहरूले स्थानीय सामन्तको भकारी फोर्ने, झूटा र जाली तमसुक च्यात्ने तथा जलाउने, तामाङ समुदायबाट लुटी थुपारेको धन–सम्पत्ति र जग्गाहरू कब्जा गरी वितरण गर्नेजस्ता महत्वपूर्ण कामहरू गरेका थिए । विभेदी राज्यसत्ता र उसका स्थानीय सामन्तहरूबाट तामाङ समुदायमाथि गरिँदै आएको उत्पीडनका विरुद्ध ऐतिहासिक विद्रोहहरू भएको थियो । यी विद्रोहहरूले रसुवा, नुवाकोट, धादिङलाई मात्र होइन, देशैभरिका उत्पीडित तामाङ तथा अन्य समुदायमा महत्वपूर्ण प्रभाव पार्यो भने सामन्ती शासकहरूलाई चुनौतीपूर्ण धक्का दियो । धादिङका सेक्के, काजिमान, दामन, रख्ली, छेज्यू, तुलबहादुर, बहादुर घले, नुवाकोटका धर्मसिंह तामाङ, प्रेमकुमारी, रसुवाका मानबहादुर तामाङलगायतका तामाङ नेताहरू यस विद्रोहमा संलग्न थिए । नेपाली काङ्ग्रेस वा गोरखा परिषद जुनसुकै राजनीतिक दलमा भएका तामाङ समुदायका नेता कार्यकर्ता र सिंगो तामाङ समुदाय उक्त विद्रोहमा ९९ प्रतिशत संलग्न हुनुले यस आन्दोलनलाई तामाङ समुदायले स्थानीय सामन्तीको विरुद्धमा गरेको ऐतिहासिक आन्दोलन भन्न सकिन्छ । टक्सारमा सापकोटा, मार्पाकमा अधिकारी, सत्यदेवीमा रिजाल, दार्खा गुम्दीमा सिम्खडा थरका सामन्तहरूको जगजगी थियो ।
उक्त विद्रोहलाई सामन्ती राज्यका सेना प्रहरीको दमनलाई आन्दोलनकारी तामाङ समुदायले प्रतिरोध गर्दा ३०३ थान हतियार कब्जा गरेका थिए । यसरी प्रहरी दमन असफल भएपछि आफ्नो एजेन्टमार्फत् उक्त आन्दोलनलाई बदनाम गराउने उद्देश्यले लुटपाट र डकैती गरेको भनी आरोप लगाए भने अर्कोतिर सैनिक प्रयोग गरी आन्दोलन रोक्ने प्रयास गरे । उक्त ऐतिहासिक तामाङ समुदायको विद्रोहको क्रममा टाफी, कालु तामाङलगायत दर्जनौं नेता तथा कार्यकर्ताहरूको हत्या गरे भने सयौंलाई गिरफ्तार गरी बेपत्ता बनाए ।
आन्दोलनको उभार बढीरहेकै समय २०१७ सालमा महेन्द्र शाहले कू गरी एकदलीय अधिनायकवादी शासन व्यवस्था लादेका कारण उक्त आन्दोलन पूर्णरूपमा सफल हुन सकेन । त्यस आन्दोलनका क्रममा कब्जा गरेका सामग्रीहरू आन्दोलनकारी तामाङ समुदायले पीडितहरूलाई वितरण गर्ने तयारी गरेको भए पनि सैनिक हस्तक्षेपका कारण सफल भएन । तामाङ समुदायको विद्रोहलाई दमन गर्न पुगेको दरबारिया सैनिकका एजेन्टहरूले थुपार्ने काम गरेका थिए ।
पिपा गोश्वारा, हली–गोठाला र भारी बोक्नेजस्तो अपमानित कार्यमा संलग्न हुन बाध्य भए पनि तामाङ समुदायले इतिहासमा कहीं कतै कुनै पनि जनविरोधी शासकसँग झुकेको र उनीहरूसँग आत्मसमर्पण गरी तिनीहरूलाई सहयोग गरेको इतिहास छैन । वर्तमान समयमा तामाङ समुदायका हजारौं युवायुवतीहरू आफ्नो पुर्खा र समुदायको गौरवमय इतिहासलाई निरन्तरता दिँदै जानु पर्दछ ।

अन्त्यमाः
वास्तवमा सही नेतृत्वमा आन्दोलन रहेन । आन्दोलनकारीमा तर्साउने मात्र नभई भगाउने नीति लागु भो । हुन्न हुन्न भन्नै नसक्ने भए । सामन्तीको गरीव सगोत्री समेत मर्कामा पारिए ।
सबै स्थानका आन्दोलनकारी नेतृत्वहरू बीच तालमेल र समन्वय भएको भए त्यही बेला मुक्ती पाउने थियो । तामाङ समूदाय धेरै अघि बढिसकेको हुन्थ्यो । आर्थिक र सामाजिक रूपमा तामाङ समुदायमा सकारात्मक परिवर्तन ल्याउन सफल यो आन्दोलनले राजनीतिक नेतृत्व भने खासै जन्माउन सकेन ।

Loading...
santoshdojer