Dhading News

एड्भान्सका विद्यार्थीलाई प्राथमिक उपचार तालिम दिईयो



धादिङबेसी साउन २५ । धादिङबेसी पुछारबजार स्थित एड्भान्स एकेडेमीको रेडक्रस सर्कलमा आवद्ध भएका विद्यार्थीहरुलाई प्राथमिक उपचार तालिम दिईएको छ ।

अध्यापनलाई नयाँ र व्यवहारीक बनाउने जोडमा लागेको जिल्लाको एड्भान्स एकेडेमीले विद्यार्थीका क्षेमता विकासमा टेवा पुर्याउने लक्ष्यका साथ मंगलबार प्रथामिक उपचार विधिका विषयमा तालिम दिईएको स्कुलका प्रिन्सिपल गोविन्द बुढाथोकिले बताउनु भयो ।

नेपाल जुनियर रेडक्रस सर्कल एड्भान्स एकेडेमीले आयोजना गरेको २ दिने विद्यालय प्राथमिक उपचार तालिममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका प्रशिक्षक नारायण कुमार श्रेष्ठले प्राथमिक उपचारको व्यवहारिक प्रयोग, यसको महत्व र फाईदाबार तालिमका सहभागि विद्यार्थीलाई प्रशिक्षित गर्नु भएको थियो ।

के हो प्राथमिक उपचार ?
प्राथमिक उपचार भन्नाले बिरामी अथवा घाइतेलाई अस्पताल अथवा स्वास्थ्य संस्थामा पुर्याउनु अघि गरिने उपचारलाई बुझिन्छ । प्राथमिक उपचार भनेको प्रथम उपचार अथवा सुरुमा गरिने उपचार हो । कुनै पनि घटनास्थलमा चिकित्सकको आगमन अघि सामान्य उपकरण तथा सामाग्रीको प्रयोग गरी गरिने बिरामीको उपचारलाई प्राथमिक उपचार भनिन्छ । दुर्घटनामा परी घाइते भएका मानिसको अवस्था अझै नबिग्रियोस भनेर घाइतेलाई चिकित्सकको पहुचमा पुग्नु अघि दिइने सामान्य उपचार प्राथमिक उपचार हो ।

प्राथमिक उपचारले बिरामी अथवा घाइतेलाई तत्काल राहत तथा मानसिक रुपमा खतरामुक्त भएको महशुस गराउन मद्दत गर्दछ । प्राथमिक उपचार सेवाको क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्दै आएको नेपाल रेडक्रस सोसाइटीको प्राथमिक उपचार सम्बन्धि परिभाषालाई यहाँ प्रस्तुत गरिनु सान्दर्भिक हुन्छ ।

“घाइते वा बिरामीलाई तत्काल उपलब्ध स्थानीय साधन र श्रोतहरुको प्रयोग गरी, सुरक्षा नियमका आधारमा, दक्ष चिकित्सा नपाउँदा सम्म, गरिने स्यहार वा सुसार नै प्राथमिक उपचार हो । ”

यी माथिका २ परिभाषालाई हेर्दा प्राथमिक उपचार भन्नाले बिरामी वा घाइते मानिसलाई दक्ष चिकित्सा सेवा उपलव्ध हुने स्थानसम्म पु¥याउन पूर्व गरिने उपचार, स्यहार, सुसार आदिलाई प्राथमिक उपचार भनिन्छ । प्राथमिक उपचार सेवा डाक्टरले जस्तो विभिन्न औषधीहरु प्रयोग, अपरेशन आदि गरी गरिने उपचार होइन् । स्वास्थ्य संस्था वा अस्पताल पु¥याउन पूर्व जोखिम कम गर्न, सान्तवना दिन र हौसला प्रदान गर्न गरिने सामान्य उचपार वा प्रयासलाई बुझ्नु पर्दछ । यो सेवामा स्थानीय स्तरमा उपलव्ध सामाग्रीहरुको प्रयोग गरी जोखिम कम गर्ने प्रयास गरिन्छ । जस्तैः हाड भाँचिए बाँस, कार्टुन आदि प्रयोग गरी काम्रो बाध्ने, कुनै अंग काटिएर रगत बगेमा रक्तश्राव रोक्न सफा कपडा वा पट्टी प्रयोग गरी रक्तश्राव रोक्ने आदि कार्य गरिन्छ । प्राथमिक उपचार पश्चातः आवश्यक अन्य उपचार र सेवाका लागि तुरुन्त अस्पताल वा स्वास्थ्य संस्था लाने काम गरिन्छ वा सल्लाह दिइन्छ ।

प्राथमिक उपारका सिद्धान्तहरुः

प्राथमिक उपचारकले घाइते वा बिरामीको प्राथमिक उपचार गर्दा निश्चित सिद्धान्तमा आधारित रहेर गर्नुपर्छ ।

ती सिद्धान्तहरु निम्नानुसार छन्ः

१. सुरक्षा प्रथमः घाइते वा बिरामीको प्राथमिक उपचार गर्दा उपचारकले पहिले आफ्नो सुरक्षालाई प्राथमिकता दिनुपर्छ । त्यसपछि घाइतेको र रमितेको सुरक्षाको बारेमा समेत ध्यान दिनुपर्दछ ।

२. अस्थायी हेरचाहः दुर्घटनामा प्रभावित वा बिरामीले दक्ष चिकित्सकको सेवा नपाउन्जेलसम्म गरिने स्याहार–सुसार अस्थायी हेरचाह हो । यस अवस्थामा एउटा प्राथमिक उपचारकले दक्ष उपचारको स्थान लिंदैन ।

३. मानवतामा आधारित नैतिक सहयोगः प्राथमिक उपचार गर्न कसैलाई कानुनी रुपमा वाध्य गराउन सकिदैन । तर समुदायमा रहेका सुख–दुःख बाँडचुँड गर्ने चलन अनुसार दुर्घटनामा चोटपटक लागेका असहाय व्यक्तिलाई सहयोग गर्नु आफ्नो नैतिक र मानवीय कर्तव्य ठानेर प्राथमिक उपचार गरिएको हुन्छ । यस अर्थमा प्राथमिक उपचारलाई मानवतामा आधारित सहयोग मान्न सकिन्छ ।

४. निष्पक्षताः प्राथमिक उपचारकले कुनै पनि आधारमा भेदभाव नगरी घाइतेलाई निष्पक्ष सेवा पु¥याउँदछ । तर यसको अर्थ प्राथमिकताका आधारमा जसलाई जे बढी आवश्यक हुन्छ सो अनुसार सेवा प्रदान गर्नु पनि हो । यस्तै प्रकारले प्राथमिक उपचारकले धेरै घाइते वा बिरामी भेटेको स्थितिमा पनि सबैभन्दा गम्भिरलाई पहिलो प्राथमिकता दिने गरी आफ्नो सेवा अगाडि बढाउनु पर्दछ । जस्तैः टाउको मा चोट लागेको र हात भाचिएको मध्ये प्राथमिकताको आधारमा टाउकोमा चोट लागेको व्यक्तिलाई उपचार गर्न पर्दछ ।

५. तटस्थताः कुनै–कुनै दुर्घटना हुनुमा विवादास्पद कारण हुन सक्छ । सडक दुर्घटना भए चालक वा यात्रु मध्ये कसैको त्रुटिको कारणले दुर्घटना भएको हुनसक्छ । हुलदङ्गा भए साम्प्रदायिक, राजनीतिक आदि विवादका मुल कारण हुनसक्छन् । यस्तो विवादास्पद अवस्थामा प्राथमिक उपचारकले उपचारबाहेक घटनाको कारणको विश्लेषण गर्ने, ठीक–बेठीकमा आफ्नो मनसाय व्यक्त गर्ने र न्यायिक प्रक्रियामा भाग लिने कार्य गर्दैन । किन भने प्राथमिक उपचार तटस्थतामा आधारित सेवा मानिन्छ ।

यसका अतिरिक्त राजनीतिप्रेरित द्वन्द्वात्मक परिस्थितिमा प्राथमिक उपचारकको रुपमा अघिसर्ने व्यक्तिलाई राजनीतिक दृष्टिकोणले पनि तटस्थ व्यक्ति हुनुपर्ने अपेक्षा राखेको पाइन्छ । त्यसैले प्राथमिक उपचारक तटस्थ रहेमा उसले सबै पक्षबाट सहयोग र विश्वास प्राप्त गर्न सक्दछ ।

६. एैच्छिक सेवाः प्राथमिक उपचार सेवा स्वेच्छाले गरिने सहयोग हो, यो आर्थिक लाभबाट नभई विशुद्ध सेवाको भावनाले गरिन्छ ।


प्राथमिक उपचारका ४ महत्वः

१. जीवन रक्षाः प्राथमिक उपचार सेवा वा ज्ञानले दुर्घटनाका घाइते वा बिरामीलाई स्वास्थ्य संस्था वा अस्पताल पु¥याउन पूर्व जीवन रक्षाका लागि प्राथमिकताका आधारमा आवश्यक प्राथमिक उपचार वा रोकथाम गर्न मद्दत गर्दछ । साथै घाइतेको ओसार–प्रसारको सुरक्षित माध्यम निधारण गरी कम जोखिमपूर्ण माध्यमबाट सुरक्षित साथ अस्पताल वा स्वास्थ्य संस्था लैजान मद्दत गर्दछ । जस्तैः कुनै रक्तश्राव भएको घाइते वा बिरामीको रक्तश्राव समयमा नै रोक्न नसके धेरै रगत बगेर रगतको कमि हुन गई मृत्यु हुन सक्ने वा अन्य जटिलता देखिन सक्छ । त्यसकारण जटिलता कम गर्न र जीवन रक्षाको लागि प्राथमिक उपचारको ज्ञान वा सीप महत्वपूर्ण हुन्छ ।

२. जोखिम कम गर्नुः प्राथमिक उपचारको ज्ञान वा सीपले कुनै घाइते वा बिरामीको स्वास्थ्य अवस्था, घाउ आदिको अवस्था हेरी प्राथमिकताका आधारमा प्राथमिक उपचार गर्न मद्दत पु¥याउदछ । जसले घाइतेका अवस्थालाई स्थिर राख्न, आवश्यक विकल्पका बारेमा सोच्न र निर्णय लिन र आवश्यक प्राथमिक उपचार वा रोकथाम गर्न मद्दत गर्दछ । जसले घाउ वा चोट–पटकबाट उत्पन्न हुने जोखिम कम गर्न, संक्रमणबाट बचाउन, हाड भाचिएको अवस्थामा हाडहरुलाई स्थिर राख्न, सर्पले टोकेको अवस्थामा पट्टीको माध्यबाट रक्तश्रावको प्रवाहलाई कम गर्न र रक्तश्राव भएको अवस्थामा रक्तश्राव रोक्न चाप दिने, उठाउने तथा पट्टी बाध्ने आदि बैकल्पिक उपायहरु अवलम्बन गर्न प्रेरित र सहयोग गर्दछ ।

३. मनोबैज्ञानिक परामर्श दिनुः प्राथमिक उपचारको ज्ञान वा सीपले घाइते वा बिरामीलाई आवश्यक मनोबैज्ञानिक परामर्श दिन सहयोग गर्दछ । कुनै व्यक्ति वा परिवार यदि दुर्घटनमा परेमा उक्त घाइते व्यक्ति र उनीहरुको परिवार आत्तिने , हडवडाउने, बेहोस हुने आदि समस्याहरु देखा पर्दछ । यस्तो समस्या न्यूनिकरणका लागि बिरामी वा घाइतेलाई सान्तवना दिने, केहि भएको छैन, चिन्ता लिनु पर्दैन भन्दै ढाड्स दिने र सम्झाउने कार्य गर्न जरुरी हुन्छ । यदि यसो नगरिएको खण्डमा आत्तिएर, चिन्ता लिएर थप खतरा वा जोखिम देखा पर्न सक्दछ । जस्तैः क्षोभ हुने, हृद्यघात हुने समस्याहरु देखा पर्न सक्दछ । जसले थप तनावको वातावरण सिर्जना गर्दछ । यहाँ, सर्पले टोकेको अवस्थाको बारेमा चर्चा गरिनु उपयुक्त हुन्छ ।

यदि कुनै व्यक्तिलाई सर्पले टोकेमा उक्त व्यक्ति आत्तिने र हडबडाउने हुन्छ । जसले गर्दा उसको मुटुको धड्कन झन बढ्न जान्छ । जसले गर्दा रगतको प्रवाह अझ बढ्दछ । जसले गर्दा टोकिएको स्थानबाट विष रगतको माध्यबाट मष्तिस्क वा शरिरका अन्य भागहरुमा चाडै फैलिन्छ । जसले गर्दा जोखिम सिर्जना हुन्छ वा विरामीको मृत्यु सम्म हुने सम्भावना हुन्छ । यस्तो अवस्थामा उक्त बिरामीलाई सान्तवना दिदै, प्राथमिक उपचार गरी अस्पताल पु¥याई उसको ज्यान बचाउन सकिन्छ । साथै सर्पले टोकेको बिरामीलाई निदाउन दिनु हुदैन । यदि निदाएका खण्डमा उसको मष्तिस्कलाई चाडै विषले प्रभाव पार्न सक्ने हुदाँ उसलाई निदाउन दिनु हुदैन । यस्तो ज्ञान वा कला सबै मानिसमा नहुने हुदाँ प्राथमिक उपचारको ज्ञान वा सीपले यी कुरा बुझ्न र व्यवहारमा प्रयोग गर्न मद्दत गर्दछ ।

४. वैज्ञानिक सीपः प्राथमिक उपचार एक कला हो । यसलाई आफ्नो लगन र ज्ञानको आधारमा अभिबृद्धि गर्न र परिस्कृत गर्न सकिन्छ । साथै यो विज्ञानमा आधारित सिकाइ वा सीप हो । यहाँ प्रयोग गरिने हरेक विधि र उपायहरुको वैज्ञानिक कारण वा तर्क हुने गर्दछ । जसले गर्दा घाइते वा विरामीको प्राथमिक उपचार सहि र जोखिम रहित हुने गर्दछ । त्यसकारण प्राथमिक उपचारको ज्ञान वा सीप लिनु, सिक्नु आवश्यक र महत्वपूर्ण छ ।

जस्तैः सामान्य वा स्थानीय विधि अनुसार नाकबाट रक्तश्राव वा रगत बगेमा नाकलाई आकाश तर्फ फरकाई राख्न सुझाव दिइन्छ वा राख्न लगाइन्छ । तर प्राथमिक उपचारको औपचारिक शिक्षा वा तालिम लिएको व्यक्तिले यस्तो अवस्थामा उक्त व्यक्तिलाई नाक हातका औलाले बन्द गर्न लागाई जमिन तिर निहुरेर बस्न लगाउछन् र सास फेर्न सजिलो होस भनेर मुखमा मकैको खोया, कलम, मार्कर आदि दह्रो बस्तु दातले टोक्न लगाउछन् ।

अब प्रश्न उठ्छ, की नरु यसको बैज्ञानिक कारण सहितको उत्तर पनि छ, उक्त रक्तश्राव भएको व्यक्तिलाई नाक आकाश तिर पार्न लगाएमा रगत मष्तिस्क तर्फ जाने र मष्तिस्कको नजिक गएर जम्ने साथै सफा गर्न गाह्रो हुने हुन्छ । जसले गर्दा थप समस्या देखा पर्न सक्दछ । तर यदि उक्त व्यक्तिलाई नाक समाई जमिन तर्फ निहुरेर बस्न लगाउने हो भने रगत आफै जम्दछ । रक्तश्राव बन्द भएपछि नाको टुप्पामा आएर जमेको रगतलाई सजिलै संग सफा कपडा र पानीको सहयोगमा सफा गर्न सकिन्छ । साथै यसो गर्दा कुनै पनि जोखिम देखा पर्दैन । यो त एक प्रतिनिधि उदाहरण मात्र हो। प्राथमिक उपचारको तालिम वा सीपमा यस्ता विभिन्न वैज्ञानिक विधि र कारण सहितको सीप र ज्ञान प्रदान गरिन्छ ।

Loading...
santoshdojer