धादिङबेसीमा गाईजात्रा, संस्कृति जोगाउँदै मनोरञ्जन

Avatar photo
Dhadingpost
मङ्लबार, साउन २४, २०७४

धादिङ साउन २४ । झिंगु नेवा समाज धादिङले धादिङबेसीमा गाईजात्रा पर्व धुमधामले मनाएको छ । गाईजात्रालाई ऐतिहासिक एवम् साँस्कृतिक पर्वका रुपमा विगतका वर्षहरुमा जस्तै नेवार संस्कृति र कलाको साथमा यो वर्ष पनि समाज ले विशेषतः नेवार समुदाय भित्र एक वर्षसम्म दिवङ्गत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईको रुपमा सिँगारी आ–आफ्नो क्षेत्र वरिपरी घुमाएर यो पर्व मनाएका थिए । साङ्केतिक गाईलाई घुमाउने क्रममा श्रद्धालु भक्तजनले दूध, फलफूल, रोटी, दही चिउराका साथै अन्य परिकार पनि खुवाई सम्मान प्रकट गरेका थिए ।

गाईजात्राको प्रचलन

राजा प्रताप मल्लले आफ्ना छोराको सानै उमेरमा निधन भएपछि शोकाकुल रानीलाई यस्तो पीडा भोग्नेहरु धेरै छन् भन्ने देखाउने एक वर्ष भित्र दिवङ्गत सबै संझनामा गाईजात्रा निकाल्ने चलन शुरु गर्नु भएको थियो ।

प्रताप मल्लले आ–आफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू भन्ने आज्ञा दिएकोले अहिलेसम्म गाईजात्रा पर्व चलेको विश्वास गरिन्छ । गाईजात्राबाट पनि रानी शोक मुक्त हुन नसकेपछि हाँस्य–व्यङ्ग्यात्मक कार्यक्रम पनि सुरु गरेको विश्वास छ ।
त्यसै अनुसार नेपाली कलाकारले विभिन्न प्रकारका हाँस्य–व्यङ्ग्यात्मक कार्यक्रम गर्ने गरेका छन ।

आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गर्ने र पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हाँस्य–व्यङ्ग्य प्रकाशित गर्ने गरिन्छ ।

गाईजात्रा पर्व काठमाडौं उपत्यकाका लगायत धादिङ, नुवाकोट काभ्रेको बनेपा, धुलिखेल र पनौती, सिन्धुपाल्चोक लगायतका जिल्लाहरुमा पर्व कै रुपमा बनाईने गरिन्छ । धादिङबेसीमा विगतका वर्षहरुमा जस्तै आज गाईजात्रा र लाखे नाच निकालिने झिंगु नेपाल धादिङका नारायणकुमार श्रेष्ठले धादिङपोष्टलाई बताउनु भयो ।

एड्भान्स एकेडेमीमा पनि गाईजात्रा
धादिङबेसी पुछारबजार स्थित एड्भान्स एकेडेमीमा पनि गाईजात्रा पर्व मनाईएको थियो । स्कुलले आयोजना गरेको उक्त कार्यक्रममा स्कुलका विद्यार्थीहरुले व्यङ्ग्यात्मक कला र सृजना प्रस्तुत गरेका थिए । प्रायस नेता र विकास निमार्णको गति मुलुकको राजनीतिलाई विद्यार्थीहरुले कटाक्ष गरेका थिए ।