धादिङका लाजनिति दल र नेताबारे जानौं

Avatar photo
Dhadingpost
मङ्लबार, साउन २४, २०७४

धादिङ साउन २४ ।
एनजिओ पार्टीका 
०४६ सालको जनआन्दोलनमा महत्वपूर्ण भुमिका निभाएको तर अहिले लाजनीतिमा रुपान्तरण हुँदै एनजिओ पार्टीको रुपमा स्थापित पार्टी अहिले धादिङमा सारै चर्चामा छ । साम, दाम दण्ड भेद देखि छलछाम गर्न जान्ने जति सबै, स्तर हेरी यो पार्टीमा आवद्ध भएका छन् ।

यो पार्टी २ गुटमा विभाजित छ एउटा गोलीका विश्वास पात्रले अध्यक्षले चलाई रहेका छन् । भने अर्को चुनाव भनेसी कहिल्यै अरुलाई पालो नदिने भद्रगोलका पाँडे भन्दा बढी हसाउने नेता पाडेले अदृष्य रुपमा धादिङमा मा पार्टी चलाई रहेका छन् ।

एनजिओ पार्टीका नेताहरुको परिचयः
१. पाडे हो मेरो परिचय काडमाडौमा बसेर दक्षिण हाक्छु, पार्टीको आडमा अस्पताल, कलेज र सहकारी खोलेको छु । मृगौला वेचबिखन देखि मेनपावर खोलि मान्छे विदेश पठाउँछु मिडियामा छाउन मलाई धेरै मजा लाग्छ आरोप त मानव तस्करीको पनि लाग्न थालेको छ ।
२. गंगा कहिलै रातो देख्नुभएको छ ? त्यसैले म आफुलाई लाल मात्र भएको बताउँछु । मलाई प्रत्यक्ष चुनाव लड्न डर लाग्छ तर पनि समानुपातिकबाट आफ्नो हैसियत कायम राखेको छु, भुकम्प आएकोले मलाई डिग्रि गर्ने अवसर पनि जुट्यो अलि अलि कमाईयो तर पनि अनुशासन कमिटि चुस्त दुरुस्त राख्न तल्लिन छु ।
३. पटक पटकको पराजय पछि अस्थायी सरकारी जागीर मिलेको छ, पार्टीका गोली मान्छेहरुले रिस गर्दछन् । १ वर्ष भरिमा धादिङको ग्रामिण सडक पुरै पिच गर्ने अभियानमा छु । जनताको काम, आफुलाई माम त्यसले जनताले मलाई फुर्लाकोटी उपमा दिएका छन् ।
४. गोली ज्यू को शरणम् आफ्नो कतव्र्य हो, जस्ले बोलीको गोली ठोक्छ त्यहि नेता बन्छ म त्यहि पृष्ठभुमबाट अध्यक्ष बनेको हुँ ।
५. म पढेलेको छु, जाँड खाँदा अंग्रेजी राम्रै फुर्छ, केन्द्रमा पहुच राख्छु, जिल्ला चलाउनु छैन, कमाउने परिपार्टीको विरोधी हुँ तर आफुले अलि अलि कमाउन सल्लाह पाएको छु । त्यसैले होला पूर्वे सभापति पनि भन्छन् ।

व्यापारी काँग्रेस
नेपाली काँग्रेस त हामी सबैले सुनेको पार्टी हो, अहिले यहि पार्टी व्यापारी पार्टीमा रुपान्तरण भएको पाईएको छ । स्थानीय चुनावमा भोट खुबै बचेको यस पार्टीका नेताहरु स्वयम् बताउदछन् । एउटै कार्यक्रममा दुई सभापति राख्ने यस पार्टी आफुलाई जेठो र जुठो पार्टी भएको ठान्छ ।
व्यापारी काँग्रेस नेताहरुको परिचयः
१. मुखमा रामराम बगानीमा छुरा भन्छन्, बाहुनको छोरो हुँ भित्र जे गरेनी बाहिर त राम राम भन्नै प¥यो नि, राजनितिमा लागेर आफुले नकमाए पनि केहि ठेकदाहरुले राम्रै कमाएका छन् बस भन्छन्, खा भन्छन्, आफुलाई यत्ति भए पुगि गो । व्यापारी काँग्रेसको केन्द्रिय सदस्य बन्ने धोको छ लठ्यब्रोले आफ्नो कहिलै सोच्दैन । कालले लैजाओस् भनुम् भने पनि अधिकारी बाहुन परें नराम्रो सोच्नु भएन ।
२. म एक्काइसौ शताब्दीको मुन्द्रे नेताको रुपमा स्थापित हुन मन छ जिल्ला सभापति चलाउन गारो हुँदो रहेछ, २ वटा नगरपालिकाको मेयर र उप मेयरको उम्मेदारी त आफ्नो निर्णय गर्न पाईदैन सिधै व्यपारीक केन्द्रबाट आदेश आउँछ । त्यसैले म मुन्द्रे डनको नेता बन्न रहर छ । जिल्लाभर धमलाले गर्छ हमला भन्ने ध्वनी छर्न चाहन्छु ।
३.व्यापारी काँग्रेसको एनजिओ नेता हुँ म अब व्यापार पार्टीमा गुण्डा मुन्दे्रहरुको राज गर्न नदिने अन्तिम तयारीमा छु । जिल्लाको चलेको एनजिओ मेरै छ, करोडौको बजेट पास गर्न पढेलेखेका बज्रस्वाँठहरु राखेको छु, रिपोट तयार गर्छन् आधा उनीहरु खान्छन् आधा मेरो जनपेट लागे कै छ । नामै नगर छ काम के गर्ने तर यसको प्रमुख छु । यसको बजेट आफु अनुकुल खर्च गर्ने हो जनतालाई यहि भन्देको छु । अब व्यापारी काँग्रेस मेरो हो ।

खाओवादी केन्द्र
यो पार्टी विगत केहि बर्ष देखि धादिङ जिल्लामा कहिले लेउ जस्तै कहिले झयाउ जस्तै गरि अगाडी बढ्दै आएको पार्टी हो । यसको नाम खासका कहिले के हुन्छ अड्कल काट्न गारो छ । यो पार्टी अहिले खाओवादीमा रुपान्तरण भएको धेरै भएको छैन जान्ने बुझनेहरु अन्दाज गर्दै भन्छन् सायद ०६८ पछि खाओ रुपान्तरण भएको हो । केटी काण्डदेखि जुवा काण्ड भ्रष्ट काण्ड र चन्दा आतंकको आरोप खेप्नुपर्ने र गुटै गुटको यो धादिङको पहिलो पार्टी भएको खासखुस सुनिन्छ । यो पार्टीको नेताहरुको नाम पनि सर्पको काचुली जस्तै फेरि रहन्छ ।
खाओवादीका नेताको परिचयः
१. आर्थिक रुपमा जम्प गर्न सक्छु, २–४ करोड अदृष्य जोडियो होला, रेडियो, बालुवा तिर लगानी गरियो होला, तर काठमाडौको घर चाहि श्रीमतीको हो भन्ने गरेको छु । केन्द्र पार्टी संग सिधै सम्पर्क गर्न सक्ने र मिडियाको मालिक भएकाले चुनाव भन्दा बाहेक अरुबेला पछारिनु परेको छैन । सम्पत्ती र निरङ्कुशताको आवाज उठाए केटी काण्ड र जुवा तस्करी काण्ड उठाई दिन्छु केन्द्र चुप तलका तलै । पैसा हुने साहुहरु एकाध बाहेक जुन पार्टीका भएनी आफ्नै कब्जामा छन् । गुट हल गर्न धादिङ आको आफै गुटको गोल चक्करमा परियो तर म जम्प हान्न सक्ने नेता हुँ तैसैले मलाई खाओवादी केन्द्रको जम्प कटेल भन्दछन् ।
२. सत्य युगका भगवान त के बलिया थिए र गोलीले छेडेर अब मामा घर गयो भनेर बाँचेको व्यक्ति हुँ । अहिले पनि आफु जस्तै अरु २–४ जनालाई लडाउन सक्छु, म त्यति बलियो छु । द्धापर युगमा भए मलाई बलराम भन्थे होला तर अहिले हराम बहादुर भन्छन् । मेरो पक्ष कोहि नहुँदा पनि आँट र जोस १६ वर्ष जस्तै छ । खाओवादी नामाकारण चेन्ज गर्ने मेरो प्रस्ताव पास भएन । अहिलेको युनिक नाम हराम बहादुर आफैलाई पनि ठिकै हो किं जस्तो पो लाग्न थालेको छ ।
३. खाओवादी केन्द्र नाम सुन्दा अप्ठ्यारो लागे पनि आखिर सबैले खाए कै छन् सबैको प्रतिनिधित्व गर्ने पाटीको नेता हुँन पाउँदा खुसी छु आफ्नो परिचय दिन पर्दा म आगन्तुक परिवारबाट आश्रित व्यक्ति हुँ हाम्रो यताउता उतायता सबै खाओवादी तिरै छौ । खाओवादी भित्रको पिडितहरुको पक्षको नेतृत्व गरे जस्तो लाग्छ कुनै दिन आफुहरुको पनि विजय फुर्ला भन्ने आशावादी भएकोले होला बजारमा फुर्लाकोटी भन्छन् रे ।
४. खाओवादी केन्द्र भनेर मात्र हुँदो रहेन छ मौकामा हिरा फोर्न नसक्दा ओझेल परियो, खाओवादी केन्द्र भित्र केहि थाहा नपाउने गरि खाईयो होला तर अहिले मौकामा हिरा फोर्न सकेको छु । व्यपारी काँग्रेसले सरकारी जागिर खुवाइ दियो, आफु खाइन्छ, अनि बाँकी भए अरुलाई खुवाइन्छ । कहाँ त्यो पहिलेको म कहाँको यो मने भँडारी ।
५. के के न होला भनेर घर फुटाईयो तर घर चलाउन गारो रहेछ त्यसैले खोओवादी तिरै फर्केको । सबैले अवसरबादी भन्छन् कमाउन आको भन्छन् त्यसैले निल्नु न ओकल्नु भयो घर फुटाएर भाग्नु नै आत्मग्लानी भै रहेको छ नत्र यहि बसेको भए खाओवादी केन्द्रको गर्व गर्ने खालको नेता बन्न सक्थे होला, अब त चिन्नु भयो होला जय शम्भो ।

नयाँ भक्ति पार्टी
धादिङमा पछिल्लो चरण गठन भएको पार्टी भनेको नयाँ भक्ति पार्टी हो, चुनावमा सबै उम्मेदवारका धरौटी जफत गराउन सफल यस पार्टीका नेताहरु विभिन्न पार्टीबाट जम्मा भएको समुह हो ।
नयाँ सोच, विकास र समृद्धिको नारा बोकेको यस पार्टीका नेताहरुमा आ–आफ्नै पुराना पार्टीमा रहँदाको हर्मन बोकेर भक्ति पार्टीमा जम्मा भएका समुह हो । नेता कार्यकर्ताले चस्मा मात्र फेरे आखिर हेर्न चाहि चर्पिको आचि नै हेरे अनि कसरी नयाँ बन्छ । विघटनको आवाज बुलन्द हुन थालेको छ ।
यस्ता छन् नयाँ भक्ति नेताः
१. ०६४ सालमा जनताको विश्वास पाएर धेरै मातिए छु । केहि कमाइयो, खाओवादी तिर बसेर काठमाडौमा घर बनाईयो थप वस्नु भन्दा कमाएको रकम समृद्धि तिर लगाउँ भनेको धादिङका जनताले पटक्कै विश्वास गर्दैनन् । स्थानीय चुनावमा ज्यामरुङमा झण्डै नमारेका भक्ति पार्टीको बिउ गतिलो भएपनि पानी मिलेन । केहि गर्न सकिएला जस्तो छैन कल्पना ग¥यो बस्यो । सायद मलाई चिन्नु भो होला उहि विगतको चिर परिचत धमला ।
२. मोवाइल चलाएर कपाल दाह्री पालेर आफुत स्मार्ट बनिएला तर आवेगमा भक्ति पार्टीमा लागिए छ । बरु आफै स्मार्ट आफै समृद्ध र आफै विकसित भए त पुरै नेपाल समृद्ध भै हाल्छ नि । त्यसमा म आफै नेपाल चुप बसेको भएनी अरुले समृद्ध बनाई हाल्थे कुन दशाले यो भक्तिपार्टी तिर लागिए छ । चिन्नु भयो हैन त म धुवाँकोटेलाई ।
३. जाँगर शुन्य छ, पुरै शरिर सभासद हुँदा मोज मस्ती र आरामले विग्रिएछ, कृषिमा रुपान्तरण, एक गाउँ एक उद्यम, ओ हो हो हो हो.. सुन्दानी शरीर भतक्क गल्छ गोरखाली बाहुनले पनि के–के प्लान ल्याउँछन् । कम्सेकम कार्यकर्ताका भावना अनुसार चल्ने बनाको भए हुने नि ? एनजिओ पार्टीमा जाने भनेको अहिले शिखर चढेको बेला वास्ता गर्दैन । आफुको त नाम मात्र बीरहारदुर मासी भसक्कै गलेछ । भक्ति पार्टी तिर काम गर्न सकिएला जस्तो मलाई त लाग्दैन है ।
यो सामाग्री आज प्रकाशित सूचक सन्देशको गाईजात्रे विशेषबाट साभार गरेका हौं, अरु गाईजात्रा व्यङ्ग्यहरु पढ्न आजको सूचक सन्देश खोजिखोजी पढौं ।