यसकारण मेरो नैतिक रुपमा राजिनामा -बस्नेत

Avatar photo
Dhadingpost
बिहिबार, साउन १९, २०७४

आदरणिय सम्पूर्ण सहकर्मी, शुभचिन्तक तथा साथीभाईहरुमा नमस्कार,
जव संविधान सभाबाट नयाँ संविधान घोषणा भयो, तव देशमा आन्दोलन मुखि राजनीतिलाई परिवर्तन गरि विकास र समृद्धिमुखी राजनीतिका थालनी गर्नु पर्ने आवश्यकता खड्कियो । तर दसकौं देखि विभिन्न चरणका आन्दोलनकारी राजननीति यात्रा पार गरि आएका यो देशका ठुला दलहरुले आफूलाई रुपान्तरण नगरी यथास्थिति मै समृद्धिको सपना देख्न थाले ।

समकालिन नेपालमा समृद्धि लागी वास्तवमै भिजन भएका विद्वान नेता डा. बाबुराम भट्टराईको नेतृत्वमा सुरुभएको नयाँ शक्ति निर्माण अभियानमा म आफू पनि सुरुवातकै चरण देखि समाहित भएर काम गर्दै आएँ देश भित्र र बाहिर गरी वेरोजगार, व्यवसायी तथा रोजगारीमा लागेका गरी झण्डै डेढ करोडको हाराहारीमा रहेका ५० वर्ष उमेर नकाटेकाहरुको लागी अबको राजनीति बढी महत्वपूर्ण छ, भन्ने लागेर पनि नयाँ शक्तिको आवश्यकता महसुस भयो ।

आर्थिक क्षेत्र, कृषि क्षेत्र, व्यावसायीक क्षेत्र, शैक्षिक क्षेत्र, पर्यटन क्षेत्र तथा विभिन्न सरकारी तथा गैर सरकारीका अनुभवी विज्ञहरुको साथमा विभिन्न राजनीतिक पार्टीका नेता कार्यकर्ताहरुको धु्रविकरणबाट बन्ने नयाँ शक्ति बिस्तारै नयाँ फ्रेस युवाहरुको आकर्षणले देशमा बिस्तारै क्षमतावान, उर्जाशिल नेतृत्व विकास गर्दै बढीमा दुई दशक भित्र देशले असल राजनीतिको साथमा आर्थिक छलाङ् मार्नसक्छ भन्ने परिकल्पनाबाट प्रेसित म जस्ता हजारौं कार्यकर्ता थोरै अफ्ठ्यारो मै रह्यौं ।

डा. बाबुराम भट्टराईको त्यो निश्वार्थ समर्पण र उद्धेश्यमा उनकै वरीपरी घुमेर नितान्त आफ्नो स्वार्थपूर्ति गर्ने र पुराना संस्कार छोड्न नचाहाने पदलोलुपहरुको सिमित जमातले गर्दा गएको डेढ वर्षमा पार्टीले उल्टो यात्रा तय गर्यो । आफुलाई सँधै राजनीतिक दर्शनका हिमायती ठान्नेहरुबाट निर्देशित नेपालको राजनीतिमा नयाँ पुस्ताहरु भने नितान्त सदाचारी, परिणाममुखी र विधि युक्त राजनीतिको पर्खाइमा हुनुले नै नयाँ पुस्ताको आकर्षण बन्न सकेन ।

तथापी डा. बाबुराम भट्टराईको देश र समाजप्रतिको निरन्तर समर्पण र महान उद्धेश्यमा शुभेच्छुक रहि रहेने प्रणका साथ यस पार्टीले विगतमा दिएको संघीय परिषद सम्मको जिम्मेवारीलाई आफ्नो क्षमतानुरुप कार्य गर्दा गर्दै पनि धेरै कुराहरुमा तारतम्य नमिल्दा स्थानीय चुनावमा मेरो जिम्मेवारी रहेको नीलकण्ठ नगरपालिकाको निर्वाचन परिणामबाट आफुले उक्त जिम्मेवारी नैतिक रुपलमा छोड्नु मानसिप ठानी जिल्ला पार्टीलाई एक महिना अघि नै औपचारिक पत्र दिईसकेको र हाल सामान्य शुभचिन्तक मात्रै रहेको व्यहोरा सम्पूर्ण सहकर्मीमा अवगत गराउन चाहान्छु ।

एकछाक टार्न धौ-धौ पर्ने नेपाली समाजमा पुरानै प्रकृतिको भड्किलो र निरन्तर योजना तथा कार्यक्रम भन्दा सिजनेवल उपस्थिति जन्य राजनीतिमा नेपालका इमान्दार गरि खानु पर्ने तथा परिणाम मुखि राजनीतिको अपेक्षाकृत युवाहरुको पलायनता वा वेहालत बाहेक अरु केहि हुन सक्दैन ।

घर न घाटको राजनीतिमा धेरैले आफ्नो सपना ५० औं वर्ष देखि सडकमा अलपत्र बनाईसकेको परिदृष्यमा पुनः उस्तै प्रकृतिको यात्रामा अन्दाधुन्द दौडनु भन्दा असल र राम्रा कुरामा सहकार्य र समर्थन गर्दै आ आफ्नो पेशा व्यवसायमा तल्लिन हुनु नै केहि हद सम्म उपलब्धि हुन सक्छ । भन्दै सम्पूर्ण पार्टी पङ्तीलाई धन्यावाद दिँदै युवा वर्गलाई सावधानी पूर्वक आ-आफ्नो यात्रा निर्धारण गर्नु हुन शुभकामना पनि व्यक्त गर्दछु ।

दुर्भाग्य यो देशले अर्को दशक पनि कुनै उलेख्य परिवर्तन बिना यथास्थिति कै साथ नेपाल र नेपालीको भाग्यमा ग्रहण लगाउँदै बिताउने छ । हुन त तर्क र दर्शनमा मात्रै रमाउन जानेकाहरुले यसलाई कटाक्ष कमेन्ट पनि गर्लान् तर भविश्य हाम्रै अगाडी साक्षी बनेर आउने छ, जो हामी भोग्दै हुने छौ ।

अशोक कुमार बस्नेत
नीलकण्ठ नगरपालिका धादिङ