भत्तामा हैन विकासमा ध्यान केन्द्रित गर

Avatar photo
Dhadingpost
मङ्लबार, साउन १०, २०७४

धादिङ साउन १० । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि सिंहदरबारबाट गाउँ–गाउँमा आएको अधिकार जनताको मतबाट चुनिएर आएका प्रतिनिधिहरुबाटै दुरुपयोग हुन सक्ने सम्भावना यतिबेला बढेर गएको छ ।

बजेट विनियोजन लगायत विकास निर्माणका सम्पुर्ण योजनाहरुको निर्माणदेखि कर निर्धारणका कार्यहरुसम्म गाउँपालिका तथा नगरपालिकबाटै गर्ने अधिकार केन्द्रले सुम्पिएपछि जनस्तरबाट पनि गाउँ विकासले गति लिने अपेक्षा राख्नु स्वाभाविक नै हो । बिडम्बना निर्वाचित प्रतिनिधीहरु विकास निर्माणका कार्यहरुको योजना र छलफलमा लाग्नुको साटो आफ्नो तलब, सुविधा र भत्ता कसरी आफु खुसी बढाउने भन्ने दिशामा अग्रसर देखिएका छन् ।

सरकारले स्थानीय स्रोतको आधारमा आफुखुसी जनप्रतिनिधिहरुको तलब, सुविधाहरु तोक्न सक्ने अधिकार दिएको भन्दै चुनावअघि आफुले पाउने सम्पुर्ण तलब भत्ता नलिने घोषणा गरेका व्यक्तिहरु समेत तलब सुविधा बढाउनको लागि हात धोएर पछि परेको प्रष्टैसँग देखियो । जसले गर्दा नीलकन्ठ नगरपालिकाको नगरसभामा विवाद समेत हुन पुग्यो । नगरपालिका प्रमुख उपप्रमुख तथा वडा प्रमुखहरुले आफु खुसी तलब सुविधा निर्धारण गर्दा वडा सदस्यहरुले आफुले पनि भत्ता मात्रै नभएर निश्चित मासिक तलब पाउनुपर्ने माग राखी हंगामा समेत गरे ।

नगरपालिककाको पहिलो वैठकले सस्तो लोकप्रियताको लागि स्मार्ट सिटी बनाउने भनेर निर्णय गरेका जनप्रतिनिधीहरु विकासका एजेन्डाहरुमा छलफल गर्न छोडेर आफ्नै सुख सयल र मोजमस्तीका विषयहरुमा केन्द्रित हुदा १० बर्षीय जनयुद्ध र जनआन्दोलनको माध्यमबाट संघीयताको बाटो हुदै घरआँगनसम्म आइपुगेको जनताको अधिकार केही व्यक्तिहरुको पोल्टामा मात्र सिमिति हुने खतरा देखिन्छ । ठुलो त्याग, तपस्या र बलिदानबाट सम्भव भएको यो उपलब्धि अहिले आएर “बाँदरको हातमा नरिवल” बनाउन उद्यत छ ।

निर्वाचित प्रतिनिधीहरुको तलव निर्धारण चुनाव भन्दा पहिले नै सरकारी स्तरबाट गरिसकेको सन्दर्भमा फेरी आम्दानीको स्रोतको आधारमा आफुखुसी निर्धारण गर्न खोज्नु जनताको सम्पति माथि ब्रम्हलुट नै हो ।

बर्षौसम्म सत्ता र भत्ताको लागि लुछाचुडी गरिरहेका राजनैतिक दलहरुको व्यवहारबाट आजित जनताहरुको लागि “झिकिदे गाँड भन्दा थपिदे गाँड” जस्तो बोझ बाहेक केही नहुने देखिन्छ । त्यसैले जनताको अमुल्य मतबाट निर्वाचित प्रतिनिधीहरुले सत्ता र भत्ताको छिनाछपटीमा नलागी आफुलाई गाउँ÷नगरको विकासमा केन्द्रित गर भन्दै धादिङबेसीबाट आज प्रकाशित सूचक सन्देश साप्ताहिकले सम्पादकिय लेखेको छ ।