जनता, जनप्रतिनिधि र जनअपेक्षाहरु

Avatar photo
Dhadingpost
मङ्लबार, साउन १०, २०७४

शान्ता रोक्का

करीव २० बर्षको अन्तरालमा र गणतन्त्रको स्थापनापछि पहिलो पटक २ नं प्रदेशमा बाँकी नै रहे पनि देशका अन्य प्रदेशहरुमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ ।

अमुल्य मतको माध्यमबाट आम नेपाली जनताहरुले आफ्नो प्रतिनिधी आफै चुन्ने काम सम्पन्न गरिसकेका छन् । कहिले काही विद्यालय व्यवस्थापन समिति, खानेपानी समिति, वन उपभोक्ता समितिका चुनावहरुमा देखिने राजनैतिक चहलपहल यो पटक गाउँ–गाउँ र घर–घरमा पुग्यो । राजनैतिक रंग चढ्नबाट दुरादराजका वस्तीहरुमा सायदै कुनै घर बच्यो होला । बुझेर या नबुझेर, आफन्तको मन राख्दिन या स्वेच्छाले सबैले आफुलाई विभिन्न राजनैतिक दलको कित्तामा उभ्याए । कतिपय ठाउँमा शत्रुतापुर्ण गतिविधीहरु समेत भए, आफन्त–आफन्त बीचमा कित्ताकाट भए, बोलचाल बन्द भए, पानी बाराबारको समेत स्थिती पैदा पनि भयो, फरक राजनैतिक आस्था र विचार राखेकै निहँुमा मेलापर्म र सरसहयोगमा समेत मुन्टो बटार्ने स्थिति पनि पैदा भयो भने, कतिपय ठाउँमा जुनसुकै राजनैतिक विचार र आस्थाका भएपनि सोहार्दपुर्ण वातावरण कायम राख्दै स्थानीय तहको निर्वाचन सम्पन्न भएर छाड्यो ।

विगतका चुनावहरुमा के भए कस्तो भयो भन्नेमा मेरो आफ्नो अनुभव त्यति सपाट नभएपनि यो पटकको स्थानीय चुनावको प्रचारको सिलसिलामा म आफै प्रत्येक गाउँगाउँ बस्ती–बस्ती र घर–घरमा समेत पुगेकोले पनि जनताहरुको मनोभावना बुझ्ने मौका राम्ररी पाइयो । जनताले राजनैतिक दलहरुलाई हेर्ने नजर, उनीहरुले राजनैतिक दल त्यसको नेतृत्व र जनप्रतिनिधीहरुबाट राख्ने अपेक्षा र गर्ने व्यवहारलाई नजिकबाट नियाल्ने अवसरको रुपमा ग्रहण गरियो । जुन चित्र र प्रतिविम्बहरु देखिए त्यो कुनै पनि विश्वविद्यालयबाट ग्रहण गर्न सकिने शिक्षा थिएन । हामी आफुलाई जनप्रतिनिधि भनेर सगौरव घोषणा गर्छौ तर जनताले कुन र कस्तो रुपमा बुझेका छन् र बुझ्छन् त्यसको प्रतिछायाँ खोज्न सदरमुकामका तारे होटलहरुका बन्द कोठा भित्रका सभा र गोष्ठीहरुमा हैन जनताका झुपडीहरुमा पुग्नु पर्ने रहेछ भन्ने कुरा भोट माग्न पुग्ने प्रत्येक उम्मेदवारहरुले बुझे पनि सायद कमैले मनन् गरे होला । चुनावी अभियानका दौरान प्रत्येक राजनैतिक दलका उम्मेदवारहरुको साथमा अनगिन्ती आश्वासनका ठेलीहरु थिए ।

अथाह प्रतिवद्धताका पहाडहरु थिए मानौ यस्तो लाग्थ्यो कुनै अमुक दलको अमुक उम्मेदवारहरुले चुनाव जित्ने हो भने विकासको कायापलट हुनेछ, समृद्धिले सगर चुम्नेछ, विश्वमा सम्पन्न देशको नागरिक कहलिनेछौ तर पटक–पटकको चुनावी आश्वासन खादै मख्ख परेर आफ्नो अमुल्य मत दिएर हातको नङमा लागेको मसी मेटिन नपाउदै अलप भएका विजयी उम्मेदवारहरु न फेरी गाउँमा फर्किएर आए, न विकास बोकेर ल्यायो न समृद्धि हिडेर आयो यी यावत् कुराहरु बर्षौदेखि टुलुटुलु हेरेर पनि आँखा थाकिसकेका जनताहरुले त्यति ठुलो र भीमकाय सपना देख्न चाहेको देखिएन ।

अझ भनौ चुनावी मैदानमा होमिएका राजनैतिक दलका उम्मेदवारहरुलाई हृदयदेखि नै जनताको काम गर्छन भनेर स्वीकार्न सकिरहेको स्थिती थिएन । कसैले स्वीकार गरेपनि र नगरेपनि तीतो यथार्थ यही नै हो । आम जनताहरुलाई राजनैतिक दलहरुले गाउँ विकासको लागि देखाइएका चुनावी घोषणा पत्र र एजेन्डाहरुमा खासै चासो देखाइएको पाइएन । बारम्बार पाएको धोकाले हो या ग्रामिण जनताको चेतनास्तरको विकास नै त्यही ढंगले भएकोले हो नजिकैको मुख्य सडकबाट आफ्नो घरसम्म पुग्ने सडक, आफ्नो घरसम्म पुग्ने पानीको पाइप तथा बिजुलीको पोलजस्ता नितान्त व्यक्तिगत विषयहरुमा जनताको अपेक्षा देखिन्थ्यो । तर पनि हामी जनप्रतिनिधीहरु जनताको व्यक्तिगत मनोभावनालाई सामुहिकता र समग्रता ढाल्न असमर्थ थियौ किनकी विभिन्न गैरसरकारी संस्थाहरु तथा राजनैतिक दलका व्यक्तित्वहरुले उनीहरुमा त्यो किसिमको भोक जगाइदिएको सत्य हो । जनताका अपेक्षाहरु अहिले पनि त्यस्तै छन् । नगरपालिका, गाउँपालिका र वडाका साँध–सिमानाहरु बदलिदैमा जनताका मानसिकताहरु बदलिने भन्ने कुरा हुँदैन । त्यसलाई हामी जनताका प्रतिनिधि भनिनेहरुले नै बदल्ने दृढ संकल्प लिएर अघि बढ्यौ भने मात्र सम्भव छ ।

राजनैतिक दलहरुको “खोला तरेपछि लौरो विर्सने” प्रवृति र आम जनताहरुको आफ्नै दैनिक जीवनमा सरोकार राख्ने विषयहरुमा समेत आफैले गर्न सक्ने अवस्था हुँदाहुँदै पनि अरुको मुख ताक्ने प्रवृति यथावत नै रहने हो भने जुनसुकै प्रकारको राज्य व्यवस्था आएपनि शहर तथा गाउँहरुले विकासको फड्को मार्न असम्भव प्रायः छ ।

राजनैतिक दलहरुले भोट फकाउनकै लागि तत्काल के दिने भनेर सोच्ने र भोट दिने जनताहरुले हाताहाती के लिएर भोट दिने भन्ने तरीकाले चुनावलाई एउटा व्यापारिक प्रयोजनमा मात्रै सिमित गर्ने हो भने न त जनतालाई राजनैतिक दल र जनप्रतिनिधीहरुप्रति विश्वास रहने छ न त जनप्रतिनिधि तथा राजनैतिक दलहरुलाई जनताप्रतिको भरोसा हुनेछ । एक अर्काप्रतिको अविश्वासको खाडलकै कारण जनता र जनप्रतिनिधिहरु बीचको दुरी बढ्नु समग्र विकासको लागि अभिसाप हो । त्यसैले एकअर्कामा देखिएको विश्वासको दरार मेटाउनको लागि पनि आम जनतासँगको निरन्तर घुलमिल, भलाकुसारी र सहकार्य नै अनिवार्य सर्त हो ।

जनता र जनप्रतिनिधिहरुको सम्बन्ध माछा र पानी जस्तै हो । जनता भनेका पानी हुन् र जनप्रतिनिधीहरु भनेका माछा हुन् । जसरी माछाविना पानीको अस्तित्व रहन सक्छ तर पानी विना माछाको जीवन रहन सक्दैन त्यसरी नै जनप्रतिनिधिहरु विना पनि जनताका आधारभुत कामहरु भई नै रहन्छन् जसरी दुई दशकसम्म भईरहेको थियो तर जनता विनाका जनप्रतिनिधीहरु फगत बुख्याँचा मात्रै हुन् । त्यसैले जनताको अमुल्य मतबाट निर्वाचित सम्पुर्ण जनप्रतिनिधीहरुले जनताका सकारात्मक अपेक्षाहरुलाई केन्द्रविन्दुमा राखेर आफुलाई हरसम्भव परिचालिन गर्नु नै अहिलेको आवश्यकता हो । राजनैतिक दल र राजनैतिक दलको प्रतिनिधित्व गर्दै निर्वाचित भएका जनप्रतिनिधिहरुमाथि जनताको नजरबाट हट्न नसकेको अविश्वासको कालो बादल तब मात्र हट्न सम्भव छ जब जनता र जनप्रतिनिधिहरुबीचको सम्बन्धले घनिष्टता र पुर्णता पाउँछ ।