Dhading News

यस्तो छ थाँक्रे गाउँपालिकाको २०७४/७५ को वजेट



यस गाउँपालिकामा समाहित भएका थाक्रे, भूमेस्थान, तसर्पु, केवलपुर र गोगनपानी (५,६,७,८) बाट कुल ६ करोड ३ लाख ४३ हजार ६ सय असी, केन्द्र सरकारवाट प्राप्त अनुदान रु. ५२ लाख र सामाजिक सुरक्षा ३ करोड २६ लाख २६ हजार ८०० गरी कुल आय ९ करोड ८१ लाख ४३ हजार ६ सय ८० मध्ये आर्थिक वर्ष ०७३/७४ को अन्त्य सम्ममा जम्मा खर्च ९ करोड २१ लाख ४३ हजार ६ सय असी भई ६० लाख मौज्दात देखिन्छ । यद्यपी साविक गाविसहरुमा जिम्मेवारी सरी आएको रकमको एकिन आर्थिक विवरण तयार भई नसकेको अवस्थामा करिब ८५ प्रतिशत भन्दा माथी रकम खर्च भएको जानकारी सभा समक्ष पेश गर्दछु ।

यस अवधिमा साविक गाविसहरुवाट गाउँ परिषद् सम्पन्न गरी छनौंट भएका योजना तथा कार्यक्रमहरुनै सम्पन्न गरिएका छन् । गाउँ पालिका स्थापना भएपनि केन्द्र सरकारवाट प्राप्त चालुमा रु २० लाख र पुजीँगतमा रु ३२ लाख गरी जम्मा रु.५२ लाख मध्येबाट कार्यालय व्यस्थापन, मेसिन औजार र कर्मचारीहरुको तलब भत्तामा समेत रु.४९लाख १४ हजार खर्च भएको छ र यसवाट बचत रकम गाउँपालिकाको सर्वसंचित कोषमा जम्मा हुने व्यवस्था मिलाएको छु ।

अध्यक्ष महोदय,
अव म आगामी आर्थिक वर्ष २०७४/७५ को लागि आय अनुमान प्रस्तुत गर्न गईरहेको छु । आगामी आ.ब.०७४/ ७५ का लागि नेपाल सरकारवाट वित्तीय हस्तान्तरण भई कुल ३१ करोड २२ लाख ३५ हजार प्राप्त भएको छ । यसमा समानिकरण तर्फ रु.१८ करोड ८० लाख ७८ हजार र सशर्त अनुदान तर्फ रु. १२ करोड ४१ लाख ५७ हजार रहेको छ । नेपालको संविधानले केन्द्र, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रहरु वर्गिकरण गरे अनुरुप स्थानीय तहलाई समेत राजश्व संकलनको अधिकारहरु प्रदान भएको छ । साविक स्थानीय निकायहरुमा रहेका अधिकार क्षेत्रका विषयलाई प्रदेश तथा केन्द्र सरकारको अधिकार क्षेत्रभित्र राखिएको छ । यसले आन्तरीक आय अपेक्षित रुपमा संकलन गर्न नसकिएपनि व्यवशायीक कर, सेवा शुल्क र दस्तुतको माध्यमवाट रु.२२ लाख आय अनुमान गरेको छु । यस्तै गाउँपालिकाको संचित कोषमा नेपाल सरकारवाट पछिल्लो समयमा प्राप्त रकम समेत रु.६० लाख र श्रमदान १ करोड ६७ लाख २५ हजार गरी कूल ३३ करोड ७१ लाख ६० हजार अनुमान रहेको छु ।

कार्यक्रम तथा वजेट
१. विकास कार्यक्रमहरु संचालन गर्न केन्द्रीय अनुदान निर्भरताले मात्र हाम्रा आवश्यकतालाई परिपुर्ति हुने सक्ने देखिदैन यसको लागि भरपर्दो आन्तरीक श्रोतका क्षेत्रहरु पहिचान गर्नुपर्ने देखिन्छ । गाउँपालिकाको आन्तरीक श्रोत प्रर्वद्धन हुने क्षेत्र पहिचान गर्न सरोकारवालाहरु संग समेतको छलफलवाट राजश्व परामर्श समितिको सिफारीसमा राजश्व संकलन हुने केही क्षेत्र पहिचान गरिएका छन् । करलाई नागरिक दायित्वको रुपमा विकास गर्दै आगामी दिनमा यसको दायरा र दरलाई फराकिलो बनाई वैज्ञानिक कर प्रणाली कार्यान्वयनका लागि विज्ञहरुवाट राजस्व प्रक्षेपण गराई दीगो श्रोतको रुपमा उपयोग गरिनेछ ।
२. जनताले लामो समयपछि स्थानीय तहमा जनप्रतिनिधिहरु पाएसगै जनअपेक्षा ठूलो रहेको छ । जनताको यीनै अपेक्षाहरुको सम्बोधन गर्न शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, र सडक निर्माण विकास पूर्वाधार– बैज्ञानिक कृषि प्रणाली थाक्रे समृद्धिका आधार भन्ने लक्षका साथ तयार गरिएको यो बजेटको उद्देश्य निम्नानुसार प्रस्तुत गरेको छु ।
– नागरिकहरुलाई सरकार आफूसंगै रहेको प्रत्याभूती दिने ।
– आर्थिक विकास र आर्थिक समृद्धिको हासिलमा अग्रसर हुने ।
– दु्रत आर्थिक विकासको राष्ट्रिय लक्ष्यमा सहभागि हुने
– राजनैतिक परिवर्तन, संघीयता र स्थानीय सरकारलाई संस्थागत गर्नु

३. यी उद्देश्य हालि गर्न बजेटका प्राथमिकता देहाय अनुसार निर्धारण गरिएको छ ।
– वडा केन्द्र जोड्न सडकलाई सर्वेयाम सडकको रुपमा विकास गर्ने र ग्रामीण सडकहरुको स्तरोन्नती गर्ने
– बैज्ञानिक र व्यवशायीक कृषि विकासको प्रवद्र्धन गर्ने
– खानेपानी सुविधाको विस्तार र सुदृढीकरण र सरफाई कार्यक्रम प्रवद्र्धन
– राष्टिय अभियान खुलादिशा मुक्त,पूर्णखोप अभियान जस्ता कार्याक्रमको अभियान वढाउने
– पूर्वाधार निमार्णमा प्राथमिकता

४. नयाँ संरचना स्थापना संगै भौतिक संरचनाको अभाव रहेको अवस्थामा गाउँपालिका तथा वडा कार्यालयहरु व्यस्थित हुन सकेका छैनन् जसले सेवा प्रवाहलाई प्रत्यक्ष प्रभाव पारेको छ । साविकमा रहेका ४ वटा गाविसका भवनवाट संयुक्त वडा कार्यालयवाट सेवा प्रवाह गरिरहेको अवस्थामा यस गाउँपालिकाका ११ वडा मध्ये ७ वटा भाडा बस्नुपर्ने अवस्थालाई मध्यजनर गर्दै गाउँपालिकाको एउटा भवन र ५ वटा वडा कार्यालयको सेवाग्राही मैत्री कार्यालय भवन यसै आर्थिक वर्ष भित्र निर्माण गर्ने कार्यक्रमको लागि रु.२ करोड विनियोजन गरेका छु ।

३ विनासकारी भुकम्पवाट क्षतिग्रष्त निजी आवास तथा सार्वजनिक पूर्वाधारहरुको पूनर्निमाणलाई उच्च प्राथमिकतामा राखिएको छ । निजी आवास अनुदानलाई व्यस्थित बनाउन र सार्वजनिक पूर्वाधारहरुको पुनर्निमाणमा गैरसरकारी क्षेत्र तथा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने निजी साझेदारी कार्यक्रमहरुमा सहकार्य गर्ने गरी बजेट विनियोजन गरेको छु ।

४. छरिएर रहेको बस्ती विकासको चुनौतिको रुपमा रहेको तथ्यलाई मध्यजनर गर्दै आवश्यक भौतिक पूर्वाधार युक्त एकिकृत बस्ती विकासको अध्ययन गर्न कार्यक्रम तर्जुमा गरी लागु गरिनेछ ।

५. विकासको मेरुदण्डको रुपमा सडक पूर्वाधारलाई लिने गरिन्छ । विगतमा पनि धेरै संख्यामा सडकहरु निर्माण भएपनि विस्तृत सर्भे डिजाईन र मापदण्ड विना सडक निर्माण हुँदा सर्वेयाम रुपमा संचालन हुन सकेको छ्रैन । यसले गर्दा हरेक वर्ष भएको राज्यको लगानीको अनुत्पादन भएको हुँदा आगामी आ.ब.मा यस गाउँपालिका भित्र रहेका सडकहरुलाई वर्गिकरण गरी क वर्गमा पर्ने सडकहरुलाई कम्तिमा ८ मीटर चौडा र ख वर्गमा पर्ने सडकलाई ५ मीटर चौडा कायम गरी सडकको दाया वाया किनारामा घर बनाउदा अनिवार्य रुपमा ५ फिट सडक क्षेत्रमा छोडी घर बनाउने प्रावधान मिलाइनेछ । भवन निर्माण आचार संहितालाई कार्यान्वयनमा ल्याई अनिवार्य नक्सापास गर्ने व्यवस्था मिलाईनेछ । आगामी आ.ब.देखि नयाँ ट्रयाक खोल्ने कार्यलाई निरुत्साहित गरी नाली निर्माण, ग्याविन जाली, ग्राभेल, सडक चौडा गर्ने, कल्भर्ट बनाउने जस्ता कार्यमा लगानी गर्ने व्यस्था गरिनेछ । अत्यावश्यक भएको क्षेत्र र गाउँपालिकाको केन्द्रसंग वडाको केन्द्रसंग जोड्ने सडकलाई उच्च प्राथमिकता दिई बजेट विनियोजन गरेको छु । यस गाउँपालिका सडक स्तरोन्नतीका लागि ५९ वटा सडकमा रु ४ करोड १९ लाख विनियोजन गरेको छु ।

६ यस गाउँपालिका भित्र मा.वि. र आधारभुत विद्यालय गरी जम्मा ४३ वटा विद्यालय रहेकोमा कतिपय विद्यालयमा विद्यार्थि शिक्षकको अनुपात नमिली गुणस्तरिय शिक्षा पुराउन नसकिएको छ भने कतिपयमा न्यून विद्यार्थि भई शिक्षकको दरवन्दी वढी भएको अवस्था विद्यमान छ । निजी श्रोतवाट शिक्षकको व्यवस्थापन गर्नु पर्ने त्यसमा पनि नियमित रुपमा एऋँ ँगलम वाट आउने रकम समेत वन्द भन्ने वुझिएको अवस्थामा स्कुल संचालनका लागि समस्याका रुपमा देखिएको छ । यसरी शिक्षाको गुणस्तर सुधारका लागि निजीश्रोतका शिक्षकको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने सम्वन्धमा गाउँ कार्यपालिकाको नेतृत्वमा शिक्षा कार्यालयका प्रतिनिधि, विद्यालयका प्रतिनिधि समेत समेटी निश्चित मापदण्डका आधारमा कार्य गर्ने गरी एक समिति गठन गरी सो समितिको प्रतिवेदनका आधारमा विद्यालयको गुणस्तर सुधारमा अगाडी वढिाइनेछ । शिक्षा क्षेत्रको पूर्वाधार तथा व्यवस्थापनको लागि कुल रु.१ करोड ७७ लाख विनियोजन गरेको छु । यसरी सडक पूर्वाधारहरुमा हुने लगानीवाट कम्तिमा ३ प्रतिशत रकम अनिवार्य रुपमा वातावरण संरक्षण कार्यक्रममा खर्च गर्नुपर्ने व्यवस्था मिलाईने ।

७. भुकम्पको कारण क्षतिग्रष्त भएका खानेपानी योजनाहरु अझै पनि मर्मत सम्भार हुन सकेका छैनन भने कतिपय स्थानमा मूल सर्ने वा सुक्ने कारण पुनर्निमाण प्रभावित भएको छ । नयाँ खानेपानी आयोजना शुरु गर्नुपूर्व विस्तृत सर्भे डिजाईन गरेर ३ वर्ष भित्र सम्पन्न गर्ने गरी कार्य गर्न साथै मर्मत सम्भार तथा सर्भे डिजाईन तयार गर्न समेत कूल १ करोड ६६ लाख ५० हजार विनियोजन गरेको छु ।

८. सरसफाई सभ्यताको सूचक हो । अझैपनि हामी राष्ट्रिय अभियानको रुपमा घरमा चर्पी बनाउने, सार्वजनिक सौचालयहरु निर्माण गर्ने अभियानमा जुटी रहनु परेको छ । यसर्थ यस गाउँपालिकालाई आगामी असोज मसान्त भित्र खुला दिसामुक्त गाउँ निर्माण गरी पूर्ण सरसफाई युक्त थाक्रे अभियानमा जुटन कार्यक्रम तर्जुमा गरी बजेट विनियोजन गरेको छु । फोहोरमैला व्यवस्थापन समेत खुला दिसामुक्त तथा पूर्ण सरसफाई युक्त गाउँपालिकाको प्रवद्र्धनात्मक कार्यक्रमको गर्ने र सरसफाईका लागि फोहरलाई श्रोतमै व्यवस्थापन गरी नकुहिने फोहरलाई ल्याण्डफिलको अध्ययन गरी उचित व्यवस्थापन गर्न एक कार्यदल गठन गरी सोको सिफारिसका आधारमा कार्य गर्ने गरी हाललाई एकमुष्ठ रुपमा रु.२० लाख विनियोजन गरेको छु ।

९. राज्यको ठुलो खर्चको रुपमा रहेको सामाजिक सुरक्षा भत्तालाई सवैले विश्वास गर्न सक्ने र पारदर्शिता कायम गर्नका लागि आगामी आर्थिक वर्ष २०७४÷७५ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको बैकमा व्यक्तिगत खाताखोली वैक मार्फत वितरण गर्ने व्यवस्था गरिनेछ । व्यक्तिगत घटना दर्ता सवै वडामा अनलाईन बनाईनेछ ।

१०. सूचना प्रविधिको विकासले कामलाई व्यवस्थित, सहज र पारदर्शी बनाउन मद्दत गर्दछ । सवै वडा केन्द्रसम्म टेलिफोन, ईन्टरनेट सुविधा र सूचना प्रविधिको प्रवद्र्धन तथा सुशासनको प्रवद्र्धनको लागि रु.१० लाख विनियोजन गरेको छु ।

११. उज्यालो गाऊँपालिका वनाउनका लागी बिद्युत सेवा नपुगेका बस्तीलाई प्रथामिकता दिई विद्युत विस्तार गर्न र काठको पोललाई विस्तापन गरी फलामको पोल राख्ने व्यवस्थाको लागि रु.३७ लाख विनियोजन गरेको छु ।

१२. कृषिलाई अर्थतन्त्रको मुख्य आधारमा लिईएको छ । कृषि क्षेत्र विकाससंग थाक्रेको समृद्धि जोडिएको छ । विज्ञहरु समेतको सुझाव र कृषकहरुको सहभागितामा कृषि क्षेत्रका कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्ने लगायतका कार्यक्रमहरुको लागि एकमुष्ठ रुपमा रु. ५१ लाख विनियोजन गरेको छु ।

१३. मासु तथा दुग्ध उत्पादनमा वृद्धि गरी कृषकको आजआर्जन वृद्धि गर्न पशु विकास कार्यक्रम संचालन गरिनेछ । बाख्रा पकेट क्षेत्र, दुग्ध उत्पादन पकेट क्षेत्र जस्ता पकेट क्षेत्र विकास गर्ने, आधुनिक पशु बधशालाको स्थापना गर्न निजी क्षेत्रसंग सहकार्य गर्ने लगायतका कार्यक्रम संचालन गर्न रु.२७ लाख विनियोजन गरेको छु ।

१४. स्वास्थ क्षेत्रका कार्यक्रमहरु सशर्त अनुदान शिर्षकमा प्राप्त भएकोमा आवश्यकताको आधारमा संसोधन गरी कार्यान्वयन गरिनेछ । गाउँपालिका स्तरमा १५ शैयाको अस्पताल निर्माणमा आवश्यक पहल गरिने छ । स्वास्थ्य संस्था सम्मको पहुँच अभिवृद्धि गर्न गाउँपालिका स्तर र भूमेस्थान स्वास्थ्य चौकीमा एम्बुलेन्स खरिद गर्न बजेट विनियोजन गरेको छु । महिला स्वास्थ्य स्वयंसेविकाको कार्यको प्रशंसा गर्दै उनीहरुलाई सामाजिक सेवामा प्रोत्साहित गर्न मासिक खाजा खर्च उपलब्ध गराउन बजेट विनियोजन गरेको छु ।

१५. पर्यटन क्षेत्रको विकासवाट रोजगारीका अवसरहरु सिर्जना गर्न र थाक्रेलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पर्यटन पूर्वाधार विकास कार्यक्रम संचालन गर्ने कार्यक्रम रहेको छ । समग्र पर्यटन क्षेत्रको विकासको लागि रु ३१ लाख विनियोजन गरेको छु ।

१६. धार्मिक स्थल, सास्कृतिक तथा पुरातात्विक महत्वका स्थानहरुको सम्बर्धन र विकासका को लागि कार्यक्रम तथा बजेटको व्यवस्था गरेका छु ।

१७. युवाहरुको रोजगारीका लागि वैदेशिक श्रम बजार माथिको परनिर्भरता घटाउन गाउँपालिकामा ठुला उद्योग खोल्न राष्ट्रियस्तरका उद्योगपतिहरुलाई आमन्त्रित गर्दै उद्योग खोल्न प्रोत्साहित गर्ने कार्यक्रम रहेको छ । औद्योगिक ग्राम स्थापनाको लागि अध्ययन गर्न बजेट विनियोजन गरेको छु ।

१८.साना पूर्वाधार निर्माण मार्फत विकासलाई प्रतिपर्धी बनाउन उपभोक्ता संग लागत साझेदारी गर्न रु ५० लाख विनियोजन गरेको छु । यसवाट बजेटले समेट्न नसकेको तर समुदायको उच्च प्राथमिकताका योजनाहरु कार्यान्वनयमा आउन सक्ने विश्वास लिएको छु । यस्तै गैरसरकारी तथा निजी क्षेत्रसंगको सहकार्यमा पूर्वाधार विकास गर्न रु.५० लाख बजेट विनियोजन गरेको छु ।

१९. विकासको मूल प्रवाहमा क्रमश समेटिदै गएका वर्गहरु महिला, वालवालिका,जेष्ठ नागरिक, अपाङ, दलित चेपाङहरुका लागि उनीहरुको आवश्यकताका आधारमा वास्तविक लक्षित वर्ग सम्म पुग्नका लागि गाउँकार्यपालिकावाट ति वर्गको लगत संकलन गरी उचित कार्यक्रम वनाई लागु गरिने छ । हिंसा पिडित महिलाहरुका लागि यस क्षेत्रमा कार्यगर्ने तथा पैरवी गर्ने अन्य सरकारी तथा गैर सरकारी संस्थाहरुको समन्वयमा आगामी आ.व. देखि नै सुरक्षित आवास गृहको संचालनको व्यवस्था गरिने छ । छोटो समय यसमा राखि सकेपछि त्यस्ता हिंसा पिडित महिलाहरुको आय आर्जन तथा सीप विकास र उद्धारकार्यमा सहयोग गर्ने गरी लैगिंक हिंसा विरुद्ध कोषको स्थापना गरी निश्चित मापदण्डका आधारमा परिचालन गर्ने गरी रु २ लाखको कोषको समेत व्यवस्था गरिएको छ भने लक्षित वर्ग तर्फका कार्यक्रमहरुको लागि रुपमा रु. १ करोड १ लाख ८७ हजार विनियोजन गरेको छु ।

२० सुरक्षित आप्रवासन कार्यः व्यवसायी सीप र वैदेशिक रोजगारीका सम्वन्धमा प्रयाप्त ज्ञान नलिई विदेशमा रोजगारी गर्न जाने युवा युवतीका कारण आज वैदेशिक रोजगारी असुरक्षित वन्दै गएको छ । बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सुरक्षित आप्रवासनका लागि सुचना तथा परामर्श डेक्सको स्थापना यसैवर्ष देखि संचालन गरिनेछ । यस कार्यका लागि सम्बन्धित विषयमा कार्यरत सरकारी तथा गैर सरकारी संस्थाको सहयोग र सहकार्यमा जोड दिईने छ । बैदेशिक रोजगारीमा गएका र आगामी दिनमा जाने युवाहरुको तथ्यांक अध्यावधिक गर्ने र जाने युवाले अनिवार्य रुपमा गाउँपालिकामा जानकारी गराई गाउँपालिको सन्देश पत्र लिएर मात्र जाने व्यवस्था मिलाईने छ । वैदेशिक रोजगारीवाट फर्केका यूवाहरुलाई गाउँपालिका क्षेत्र भित्र उत्पादनमूलक क्षेत्रमा कार्य गर्ने वातावरण सृजना गर्न सहकार्यको वातावरण तयार गरिनेछ ।

२१.भु उपयोगः भूः उपयोग नीति नवन्दा एका तर्फ श्रम वजारमा कामदारको अभाव देखिएकोछ भने अर्को तर्फ रोजगारीका लागि हजारौको संख्यामा युवाहरु वैदेशिक रोजगारीको खोजिमा हिडि रहेको यथार्थ हाम्रो सामु विद्यमान छ । कृषि भुमी, वस्ती क्षेत्र, औद्यगिक क्षेत्र गरि भूमीको वर्गिकरण गरी भूमिको उपयोग गर्न भू उपयोग नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याईनेछ ।

२२. वन वातावरण तथा जैविक विविधताः हाम्रो विकास वातावरण मैत्री वनाउन नसक्दा हामिले निर्माण गरेका भौतिक संरचना तथा पूर्वाधारले आज हामिलाईनै चुनौती दिई रहेका छन् भर्ने अर्को तर्फ वर्षेनी ठुलो लगानी खेर गई रहेको छ । पूर्वाधार विकाससम्बन्धी आयोजना÷कार्यक्रम तर्जुमा गर्दा श्रममूलक तथा बातावरणमैत्री प्रविधिको प्रयोग गर्ने गरी कार्यक्रम तर्जुमा गरिने छ । मुख्य सडक क्षेत्रको वरीपरि वृक्षारोपण गरिनेछ । साथै विकासलाई वातावरण मैत्री वनाउनका लागि वन जंगलको संरक्षण, व्यवस्थापन र दिगो उपयोग गर्नका लागि समुदायमा आधारित वन व्यवस्थापन प्रणालीलाई सुदृढ गरिने छ । वन क्षेत्रमा भई रहेको अतिक्रमण, आगलागि जस्ता कार्यलाई समुदायवाटै नियन्त्रण गर्ने व्यवस्था गरिने छ । यस क्षेत्रवाट जिपिकोपार्जन गर्नका लागि खालि जग्गामा उपयुक्त भौगोलिक वातावरण अनुकुल हुने गरी कफि, अलैची, अम्रीसो, बास, निगालो लगाएत गैरकाष्ठ वनपैदावारहरुको खेती विस्तार गर्न विषेश योजना संचानल गरिनेछ । विपद्लाई समेत विकासमा मुलप्रवाहिकरण गरिनेछ । यसका लागि सम्भाव्यता अध्ययन गर्न विज्ञहरुको सहयोग लिईनेछ । यि सवै कार्य गर्नका लागि एकमुष्ठ रुपमा वन वातावरण क्षेत्रमा रु. २० लाख ५० हजार रकम विनियोजन गरेको छु ।

२३.विपद व्यवस्थापनः विपद् भन्ने कुरा कहिले कसरी आउछ र कस कसलाई असर गर्छ भन्ने कुरा पूर्वानुमान मात्र गर्न सकिने एकिन गरि भन्न नसकिने विषय भएको हुँदा यसका लागि विपद पूर्व तयारी योजना, प्रतिकार्य योजना वनाई उद्धार राहत र पुन निर्माण जस्ता विषयमा स्थानीय तहमै विपद व्यवस्थापन गर्ने प्रतिकार्य गर्ने र उद्धार गर्ने जस्ता क्षेत्रमा स्थानीयकै क्षमता र चेतना विकास गर्नु पर्ने हुन्छ । यसका लागि आगामी दिनमा स्थानीय विपद् व्यवस्थापन समिति गठन गरी संस्थागत संरचनाहरुलाई मजवुद वनाई खोज, उद्धार तथा राहत कार्यका लागि संस्थागत सुदृढीकरण एवं क्षमता अभिवृद्धिमा जोड दिइने छ र स्थानीय स्तरमा नै कोषको समेत व्यवस्था क्रमश गरिदै लगिने छ । आगामी वर्षका लागि सानातिना विपद परि समस्या भएकाहरुलागि गाउँ पालिकास्तरमा एक विपद व्यवस्थापन कोषको स्थापना गर्ने व्यवस्थाको सुरुवात गरिएकोछ यसको निश्चित मापदण्ड वनाई पिडितलाई राहतको व्यवस्थापन गर्ने प्रयोजनका लागि रु २० लाख विनियोजन गरेको छु ।

२४. महिलाः महिलाहरुको शैक्षिक स्तर उकास्न खुल्ला शिक्षा, किसोरीहरुका लागि विशेष कार्यक्रम लगायत लक्षित कार्यक्रमहरु संचालन गरिने छ । महिलाहरुको जनचेतना अभिवृद्धि गर्न अन्तराष्ट्रिय श्रमिक महिला दिवस, लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान लगायतका दिवशहरु संचालन गरिनेछ । आयआर्जन र सीप विकासका लागि समेत योजना वनाई कार्यक्रम लागु गरिनेछ । महिलाहरुको नेतृत्व र निर्णायक भुमिका स्थापित गर्न सम्पत्तिमा दम्पती भन्ने अभियान संचालन गरिने छ ।

२५.दलित तथा सिमान्तकृत चेपाङ वर्गको उत्थानको लागि उच्चस्तरिय समिती बनाई त्यसको प्रतिवेदनको आधारमा कायक्रम बनाई लागु गरिने छ । परंपरागत पेशाहरुको बैज्ञानिकीकरण गर्दै आय आर्जनतर्फ उन्मुख गर्ने कार्यक्रम लागु गरिने छ । भुकम्पवाट प्रभावित भएका भुमि हिन दलित तथा सिमान्तकृत चेपाङहरुलाई जग्गा खरिद गरी घर निर्माणमा सहयोग गरिनेछ । जातीय भेदभाव कसुर सजायँ ऐनलाई प्रभावकारी कार्यान्वयन गर्न पालिकाले विशेष व्यवस्था गरिने छ । हरेक वडामा दलितहरुलको सामुहिक आय आर्जनको कार्यक्रम लागु गरिने छ । दलित तथा सिमान्तकृतवाल वालिकाको निशुल्क शिक्षाको वातावरण मिलाईनेछ ।

२६.युवा तथा खेलकुदः सीप मुलक तालिमको व्यवस्था गरि सीप अनुसारको रोजगार वा व्यवसायको अवधारणा विकास गरिने छ । ५ युवा १ उद्यम कार्यक्रम लाइ प्रवर्धन गर्दै युवा लक्षित कार्यक्रम लागु गरिने छ । आगामी ५ वर्ष भित्र प्रत्यक वडामा १ खेल मैदान निर्माण गर्ने गरी व्यवस्था मिलाएको छु । महादेववेशीमा आर्थिक वर्ष २०७४/७५ मै मिनि कभर्डहलको निर्माण गर्ने गरि एकमुष्ट रुपमा रु.२७ लाख ५० हजार विनियोजन गरेको छु ।

२७. बलवालिका वालवालिकाको विकासका लागि बाल मैत्री अभियान संचालन मार्फत वाल मैत्री स्थानिय शासनका लागि आवश्यक सुचकहरु यसै वर्ष देखि अनिवार्य रुपमा अवलम्बन गर्ने व्यवस्था गर्दै वालश्रम निवारणका लागि गुरु–योजना तयार गरी कार्यान्वयनमा ल्याइने छ । दृष्य विहिन तथा अपाङ्गताभएका वालवालिकाको लागि विशेष कार्यक्रम संचालन गर्न रु.३ लाख लाख बजेट विनियोजन गरेको छु ।

२८.सुचना र संचारः सुचनालाई शक्तिका रुपमा विकास गर्ने वातावरण तयार गर्दै गाउँपालिकावाट संचालित कार्यक्रम तथा गतिविधिहरु चौमासिक रुपमा वुलेटिन मार्फत प्रकासन गरिने छ भने कार्यालयमा सूचना पाटी ध्भद कष्तभ का माध्यम्वाट नियमित सुचना प्रसारण गरि आम नागरिकलाई सूचित गरिने व्यवस्था मिलाईने छ । निश्चित आधार तथा मापदण्ड निर्धारण गरी सञ्चार माध्यमहरुको वर्गीकरण तथा विशिष्टीकरण गरिने छ संचारकर्मी तथा संचार माध्य्महरुसँग सहकार्य गरि जनताका चासोका विषयमा उनीहरुलाई सहयोग पुग्ने कार्यक्रम उत्पादन र प्रसारणको व्यवस्था मिलाएको छु ।

२८.सुशासन र सेवा प्रवाहः जनताबाट निर्वाचित जनप्रतिनिधिहरु जनताप्रति जवाफदेहि हुदै दैनिक कार्य संचालन गर्न तथा जनताका गुनासो समयमै सम्बोधनका लागि हरेक महिना हरेक वडामा जनतासंग “जनप्रतिनिधि कार्यक्रम” यसै श्रावण महिना देखि संचालन गरिनेछ ।
गाउँ पालिकाबाट संचालन हुने नीति तथा कार्यक्रम र वजेट, योजनाका उपलब्धि तथा समस्या हरुको विश्लेषण गर्दै सबल तथा सुधारात्मक पक्षहरको पहिचान गर्न हरेक आ.व. को अन्त्यमा सार्वजनिक सुनुवाई कार्यक्रम तथा आर्थिक वर्ष शुरु भएको पहिलो चौमासिक अवधि भित्र सामाजिक परिक्षण गर्ने व्यवस्था मिलाएको छु । वडा स्तरमा संचालन हुने कार्यक्रमहरुको पारदर्शिताका लागि रु.५ लाख भन्दा कमको योजनाहरुमा वडा अध्यक्षको अनिवार्य सहभागितामा र रु ५ लाख भन्दा माथिको योजनामा गाउँ पालिकाको अध्यक्ष, उपाध्यक्ष, कार्यकारी अधिकृत वा तोकिएको प्रतिनिधिको अनिवार्य सहभागितामा योजना स्थलमै अनिवार्य रुपमा सार्वजनिक सुनुवाई गर्ने परिपाटीको विकास गर्न यससम्बन्धी सोको निर्देशिका बनाउने प्रवन्ध मिलाएको छु ।

सार्वजनिक खरिद प्रक्रियालाई अझ खुला, पारदर्शी¸बस्तुनिष्ठ र विश्वसनीय बनाउन एकल पोर्टलमा आधारित अनलाइन विद्युतीय खरिद प्रणालीलाई प्रभावकारीरुपमा सञ्चालनमा पहल गरिने छ । सार्वजनिक खर्चको वित्तीय जवाफदेहिता सुनिश्चितताका लागि आन्तरीक खर्चलाई चुस्त बनाईनेछ । कार्यालयवाट हुने खर्च मासिक रुपमा सार्वजनिक गरीने र सवै भुक्तानी बैक मार्फत हुने व्यवस्था मिलाइनेछ । यसको लागि केन्द्र, प्रदेश सरकार तथा वित्तीय संस्थाहरुसंग सहकार्य गरिनेछ ।

साविक गाउँ विकास समितिवाट आर्थिक दायित्व गाउँपालिकामा सरे सँगै उपभोक्ता समितिका पदाधिकारी तथा अन्य व्यक्तिका नाममा रहेको पेश्की तथा वेरुजु एकिन गरी आगामी आर्थिक वर्षमा फछ्र्यौट गर्न गाउँ कार्यपालिकावाट वेरुजु फछ्र्यौट समिति गठन गरी सो को प्रतिवेदन समेतका आधारमा शुन्य गर्ने गरी कार्य गरिने र अवका दिनमा कार्य गर्दा वेरुजु नहुने गरी कार्य गर्ने व्यवस्था मिलाईने छ ।

३०.मजदुर लक्षित कार्यःयस पालिका भित्र अत्यन्तै जोखिमपूर्ण कार्य गर्ने मजदुरहरुको जिवन रक्षाका लागि मजुरहरुको पहिचान र कार्य प्रकृतिको आवश्यक तथ्यांक अभिलेखिकरण गरी मजदुरहरुको स्वास्थ्य तथा कार्य वातावरण मिलाउने कार्यको पहल गरिने छ । वजार क्षेत्रमा ट्याकटर संचालकहरुवाट संचालित साधन अव्यवस्थित र असुरक्षित भएको अवस्थामा त्यसको निश्चित मापदण्ड तयार गरी यसलाई सुरक्षित र व्यवस्थित गरिने छ ।

३१.गाउँपालिका भित्रका विभिन्न धर्ममा आस्ता राख्ने जनसमुदायहरुको आस्थालाई ध्यान राख्दै यहाका धार्मिक स्थलहरु, संस्कार,संस्कृतिको विकास र प्रवद्र्धन गर्दै धार्मिक सहिष्णुता र भाइचाराको विकासहुने वातावरण सिर्जना गरिने छ र धार्मिक स्थलहरुको मर्मत संभार गर्दै लगिने छ । यस गाउँपालिकामा रहेका दनुवार राईको संसकृती झल्कीने म्युजियमको स्थापना यसै आ.व.मा संभाव्यता अध्ययन गरिने छ ।

३२.सामाजिक समावेशीकरणः गाउँपालिका भित्रको श्रोत साधनहरुलाई समावेसी वितरण प्रणलीका आधारमा विनियोजन गरिने छ । गाउँपालिकाको हरेक निकायका समितीहरुमा समावेसी प्रतिनिधित्व सुनिश्चित गर्दै विकासका कामहरु कार्यान्वयन गरिने छ । समाजमा पछाडी पारिएका जाति, लिङ्ग, वर्गको आर्थिक उन्नतीको लागि क्षमता विकास , सीप बिकास र आय आर्जनका कार्यक्रमहरु लागु गरिने छ ।

३३.साविकका गाउँ विकास समितिमा भएका चल अचल सम्पत्तिको लगत संकलन गरी गाउँपालिकामा अभिलेख अध्यावधिक गर्ने साथै विषगत शाखाको स्थापना भई पूर्ण रुपमा कार्यान्वयनमा आएपछि सो समेतको सम्पत्तिको लगत अध्यावधिक गर्ने र गाउँ पालिकामा आम्दानी जनाउने कार्य गरिनेछ ।

Loading...
santoshdojer