आरुवासटारमा तरकारी खेती सम्बन्धी तालीम

Avatar photo
Dhadingpost
बिहिबार, असार १५, २०७४

विवेक अर्याल,
धादिङ असार १५ ।
निर्वाहमुखी तरकारी खेती गर्दै आएका धादिङ जिल्लाको सिद्दलेक गाउँ पालिका वडा नम्बर ४ स्थित आरुवासटारका किसानहरुलार्इ व्यावसायिक तरकारी खेती सम्बन्धी तालीम दिइएको छ ।

तालीममा सिद्दलेक ४ नम्बर वडाका करिव २५ जना किसानहरुको सहभागीता रहेको छ । कृषकलाई प्रयोगात्मक शिक्षा सहित तरकारीको बिरुवा उत्पादन, नर्सरी, बिरुवा व्यवस्थापन, टर्नेल खेती, रोगकिराको पहिचान गरी निवारणको उपाय लगायतका दिएको तालिम बुधबार
देखि सुरु भएको हो ।

विगतदेखी परम्परागत र निर्वाहमुखि तरकारीखेती उत्पादनमा लागेका सिद्दलेक ४ आरुवासटारका किसानहरूले तालिमपछि आधुनिक र व्यावसायिक तरकारी उत्पादनमा लाग्ने बताएका छन् । तालीमको उद्घाटन प्रमुख अतिथि एवम् सिद्दलेक गाउँ पालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामहरि वराकोटीले परम्परागत र निर्वाहमुखी तरकारी खेती गर्दै आएको आरुवासटारका किसानलाई प्रदान गरिएको तालीमले व्यावसायिक तरकारी उत्पादनमा थप प्रोत्साहन मिल्ने अपेक्षा गरेको बताउनुभयो ।

सिद्दलेक ४ आरुवासटारका कृषकले आगामी दिनमा जिल्लाको तरकारी मागलाई अझ बढी योगदान गर्न सक्ने अपेक्षा गरेको उहाले बताउनुभयो । तालिममा आधुनिक कृषिको महत्व र नेपाल सरकारले कृषि सम्बन्धी दिइने अनुदानको विषयमा जिल्ला कृषि विकास कर्यालय धादिङका कृषि प्रसार अधिकृत रामचन्द्र गौतमले जानकारी दिनुभयो । असार १४ गतेदेखि शुरू भएको तालीम आगामी असार १६ गतेसम्म सञ्चालन हुनेछ ।