सिद्धलेकका २८ माओवादी केन्द्रका उम्मेदवारको खर्च शून्य

Avatar photo
Dhadingpost
मङ्लबार, असार १३, २०७४

धादिङबेसी असार १३ । बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र सिद्धलेक गाउँपालिका उपाध्यक्ष सहित २८ उम्मेदवारको खर्च शून्य देखिएको छ ।

निर्वाचन सम्पन्न भएको मितिले ३० दिन भित्र जिल्ला निर्वाचनको कार्यालयमा खर्च विवरण बुझाउने क्रममा माओवादी केन्द्रसिद्धलेक गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष पुष्प थपलियाले १ लाख १२ हजार १७५ रुपैया विभिन्न शिर्षकमा खर्च भएको देखिएका छन् भने उप प्रमुख पदका उम्मेदवार सम्झना पण्डित (लामिछाने) सहित २८ जना उम्मेदवारले निर्वाचनमा शून्य खर्च भएको हिसाव पेश गरेका छन् ।

निर्वाचन कार्यालयमा प्राप्त उम्मेदवारको खर्च विवरणमा एउटै गाउँपालिकबाट त्यसमा पनि एउटै पार्टीका उम्मेदवारहरुको खर्च विवरण शून्य आएको अहिले सम्म यो पहिलो हो ।

निर्वाचन सम्पन्न भएको ३० दिन भित्र निर्वाचनको खर्च बिल भौचर सहित विवरण निर्वाचन कार्यालयलाई बुझाउनु पर्ने भएता पनि धादिङका २ नगरपालिका सहित ११ गाउँपालिकाका २१६२ उम्मेदवार मध्य ४०४ जनाले मात्र हिसाव बुझाएका छन् । यस मध्य पनि २६४ जनाले मात्र बिल सहित हिसाव बुझाएका छन् भने अन्यले विल भरपाई समाबेस नगरी बुझाएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी जीवनाथ पोखरलले हिसाव बुझाउने समय सिमा समाप्त भै सक्यो थाहा नभएर पक्कै हैन, खै किन बुझाएनन् आएका विवरण अब १–२ दिन मै माथि पठाइने जानकारी दिनुभयो । जिते पनि हारे पनि अनिवार्य बुझाउनु पर्छ तर अधिकांश जित्ने उम्मेदवारहरु कै हिसाव प्राप्त नभएको बताउँदै अब १–२ दिन भित्र पनि नआए उहाँहरुको आम्दानी खर्च विवरण निर्वाचन आयोग केन्द्रिय कार्यालयमा पठाउन नसकिने बताउनु भयो ।

हिसाव विवरण बुझाउनेमा अधिकांश माओवादी केन्द्रका उम्मेदवारहरु रहेका छन् । माओवादी केन्द्र धादिङका सचिव त्रिपुरासुन्दरी गाउँपालिका प्रमुखका उम्मेदवार दलबहादुर बुर्लाकोटीले बिल भरपाई सहित १ लाख ११ हजार खर्च भएको हिसाव बुझाएका छन् । यस्तै जिल्ला सहसचिव तथा नीलकण्ठ नगरपालिकाका निर्वाचित उपमेयर मनराज भण्डारीले २ लाख ५ हजार ३७५ खर्च भएको बिल समाबेस गरि हिसाव बुझाएका छन् ।

यसै गरी नेपाली काँग्रेसका नेता तथा नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाले ३ लाख १४ हजार ५६० खर्च गरेको हिसाव विवरण पेस गरेका छन् । २८ जना सिद्धलेकका माओवादी केन्द्रका उम्मेदवार र अर्का एक स्वतन्त्र उम्मेदवार शिवहरि अधिकारी गरि २९ जनाको हिसाव शून्य छ, भने १४० जना उम्मेदवारले बिलभरपाई समावेस नगरी हिसाव पेस गरेका छन् ।