फोस्रेटारमा सफल महिला मितेरी भवन उद्घाटन

Avatar photo
Dhadingpost
सोमवार, असार १२, २०७४

धादिङ असार १२ । योगदान फाउण्डेसन, नेपालले धादिङको गल्छी गाउँपालिका वडा नं. १ फोस्रेटारमा महिला समूहका लागि सामुदायिक भवन निर्माण गरिदिएको छ ।

स्थानीय सफल महिला कृषक समूहका लागि करिब २ सयजना अट्ने हल, एउटा कोठा, किचन र तीनवटा शौचालयसहितको भूकम्प प्रतिरोधी भवन निर्माण गरिएको हो । नवनिर्मित भवन आइतबार गल्छी गाउँपालिकाकी उपाध्यक्ष राधा तिमिल्सिनाको प्रमुख आतिथ्य तथा नेप्लिज असोसिएन अफ फ्लोरिडाका महासचिव कमल तिवारी र ट्याम्पा बे नेपाली कम्युनिटीका कार्यकारी सदस्य माधव आचार्यको विशेष आतिथ्यमा आयोजित एक कार्यक्रमका बीच आईतबार उद्घाटन गरियो । भवन निर्माणपश्चात स्थानीय महिलाहरु उत्साहित भएका छन् । भवनलाई प्राकृतिक विपन्न इमर्जेन्सी सेल्टर तथा महिला सशक्तिकरणका लागि विभिन्न सीपमुलक तालिम सञ्चालनका लागि प्रयोग गर्न सकिने उनीहरुको विश्वास छ ।

यस भवनलाई आगामी दिनमा समूहको आम्दानीको स्रोतका रुपमा समेत उपयोग गर्दै लैजाने समूहकी अध्यक्ष कमला खतिवडा बताउनुहुन्छ । ‘२ सय जना अट्ने हल निर्माण भएको छ, यसलाई समूहको हितमा प्रयोग गर्ने लक्ष्य राखेका छौं,’ खतिवडाले भन्नुभयो, ‘विभिन्न संघ–संस्थालाई कार्यक्रम सञ्चालनका लागि भाडामा दिएर त्यसबाट आएको रकमले भवन मर्मतसँगै समूहको आर्थिक उपार्जनको स्रोतको रुपमा उपयोग गर्नेछौँ ।’

भवन निर्माण भएपछि स्थानीय महिलाहरुलाई सीपमुलक तालिम सञ्चालनका लागि पनि सहज भएको खतिवडाको भनाई छ । ‘हामीसँग अब आफ्नै भवन छ, गाउँपालिका तथा विभिन्न संघ–संस्थालाई सीपमुलक तालिम सञ्चालनका लागि आग्रह गर्नेछौँ, जसले स्थानीय महिलाहरुलाई अझै सक्षम बन्न सहयोग पुग्ने अपेक्षा छ,’ उहाँले भन्नुभयो ।

फोस्रेटारका २९ जना महिला सदस्य रहेको यस समूहले सामूहिक खेती गर्दै आएको छ । ६ रोपनी जग्गा भाडामा लिएर सामूहिक खेती गरी त्यसबाट आएको पैसाले समूहको कोष सञ्चालन गर्दै आएको अध्यक्ष खतिवडाले जानकारी दिनुभयो । साथै समूहका सदस्यहरुले मासिक १ सय रुपैयाँ बचत पनि गर्दै आएका छन् ।

मितेरी गाउँ बनाउन भवन
योगदान फाउण्डेसनले नेप्लिज असोसिएसन अफ फ्लोरिडा अन्तर्गत ‘ट्याम्पा बे नेपाली कम्युनिटी’सँगको सहकार्यमा करिब ४२ लाख रुपैयाँको लागतमा भवन निर्माण गरेको हो । फोस्रेटारलाई मितेरी गाउँको रुपमा विकास गर्न लागिएको संस्थाकी अध्यक्ष एवम् पूर्व्मिस नेपाल पुनम घिमिरे रिसालले बताउनुभयो । घिमिरे ‘मिस नेपाल १९९६’ हुनुहुन्छ । ‘फोस्रेटारलाई हामीले अमेरिकाको ट्याम्पा र यस गाउँबीचको मितेरी गाउँको रुपमा विकास गर्दैछौँ, जसले दुई गाउँबीच सद्भाव, सहकार्यको वातावरण बनाउने छ,’ उहाँले भन्नुभयो ।
मितेरी गाउँ र भवन निर्माणका लागि फोस्रेटार नै किन त ? घिमिरे भन्नुहुन्छ, ‘०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पपछि हामी तत्काल प्रारम्भिक राहतमा खटियौँ । विद्युत सेवा अवरुद्ध थियो ।

मानिसहरुबीच एकआपसमा सञ्चार सम्पर्कको माध्यम मोबाइलहरुमा चार्ज सकिन थालिसकेको थियो । सुरुमा जेनेरेटर गाडीमा राखेर हामी खुल्लामञ्च पुग्यौँ । त्यसक्रममा करिब २ हजार मोबाइल चार्ज गरियो । भूकम्पले काठमाडौंका अलावा आसपासका जिल्लाहरुमा निकै क्षति पुर्रुयाएको थियो। धादिङ पनि भुकम्पबाट अतिप्रभावित जिल्ला हो । त्यसै गाउँका स्थायी बासिन्दा पुरुषोत्तम खतिवडासँगको सम्पर्कमा हामी फोस्रेटार पुगेको हौँ ।’ फोस्रेटार भूकम्पबाट अतिप्रभावित गाउँ हो। त्यहाँका सबैजसो घर भत्किएका थिए । गाउँमा राहत पुगेको थिएन। ‘सुरुमा हामीले त्रिपाल, ब्ल्याङ्केट तथा खाद्य सामाग्रीसहित प्रारम्भिक राहतका सामाग्री वितरण गर्रुयौँ,’ घिमिरेले भन्नुभयो, त्यसपछि फोस्रेटार र आसपासका गाउँमा गरी १५० वटा अस्थायी टहरा निर्माण गर्रुयौँ ।’

उहाँले अघि भन्नुभयो, ‘राहत वितरणका लागि पटक–पटक त्यहाँ पुग्दा स्थानीय महिलाहरुले दुःख गरेर थेरैथोरै पैसा जोहो गरी भवन निर्माण गर्न लागेको थाहा पायौँ । महिलाहरुले निर्माण थालेको भवनमा भूकम्पले क्षति पुर्रुयाएको रहेछ। उनीहरुको दुःख र पसिना माटोमा मिलिसकेको थियो। महिलाहरुको त्यही दुःख देखेर तथा मेहेनतबाट प्रभावित भएर हामीले भवन निर्माण गरिदिएका हौँ ।’ भवन निर्माणपश्चात प्राकृतिक विपद्मा इमर्जेन्सी सेल्टरको रुपमा प्रयोग गर्न सकिने तथा विभिन्न सीपमुलक तालिम सञ्चालन गरेर महिलाहरुलाई सशक्त बनाउन मद्दत पुग्ने घिमिरेको विश्वास छ । योगदान फाउण्डेशनले धादिङको खाल्टेमा जागरण महिला समूहका लागि पनि २ कोठे सामुदायिक भवन निर्माणमा सघाएको छ । सो भवन पनि यसै महिना उद्घाटन गर्ने घिमिरेले जानकारी दिनुभयो ।