सपना

Avatar photo
Dhadingpost
आइतवार, असार ११, २०७४

सुनसान सडक थियो प्रिया
कतै जादैं थिएँ म,
एक्लै रमाउदै परदेशका गल्लीहरु
चहार्दै हिड्दै थिएँ म ।
अचानक कोही आयो प्रिया
चिनेका केही अनुहारहरु थिए,
गफगाफ हुन थाल्यो हाम्रो
नजिकै का असल मुहारहरु थिए ।
सामान्य भनाभन शुरु भो प्रिया
मनमुटाव चर्किदै गयो अनि,
एता उती खोजी हेरें ,
भेटें केही हतियार पनि ।
हात नै हालाहाल को स्थिति प्रिया
हाने उनीहरुले मलाई ,
भन्दै थिएँ मुड्की ताक्दै,
‘बाँच्न मन छैन कि तलाई ? ‘
हातमा मेरो धारिलो चिज प्रिया
अन्धाधुन्द प्रहार गरें ,
भागेर कहीँ जान सकिन,
कानुनको फन्दामा म परें ।
अन्जानमै हो प्रिया
मैले जानेर गरेको हुदैं होइन ,
प्राण त्यागे उनीहरुले
मेरो बच्ने उपाय अब छैन ।
याद तिम्रो अनि पुरा परिवारको प्रिया
रुदैं छट्पटाउदै छु म,
मृत्युदण्डको सजाय सुनें
आफैं हड्बडाउदै छु म ।
भेट्न पनि तिमीलाई प्रिया
यो जुनीमा पाउन्न सोच्दै थिएँ,
सपना रहेछ चिच्याउन पुगेछु
नजिकैको साथीले बिउँझाइ दिए ।
यस्तै यस्तै सपनाले प्रिया
मन साह्रै डराउने,
अनि यो परदेश र बिछोड
मैले किन मन पराउने ?
सपना पनि दिनदिनै प्रिया
भित्र भित्रै खिइदै गा’छु,
थोरै समय कुर्नु तिमी
तिम्रै पासमा आउने भा’छु ।
थोरै समय कुर्नु तिमी
तिम्रै पासमा आउने भा’छु ।

 

 

 

 

 

सुर्यमान शाक्य , नीलकण्ठ ३ धादिंग हाल : मकाउ, चीन