मुग्लीन नारायगढ सडकखण्डमा पहिरो प्रहरीको भ्यान पुरिदा २ जनाको ज्यान गयो, सडक अवरुद्ध

Avatar photo
Dhadingpost
शुक्रबार, असार ९, २०७४

धादिङ, असार ९-मुग्लिन–नारायणगढ सडकखण्डको कालीखोलामा पहिरोले प्रहरीको भ्यान पुरिँदा दुई जनाको मृत्यु भएको छ । अरु दुई प्रहरीहरु वेपत्ता छन् ।बिहीबार राति काली खोलामा पहिरो हटाएर फर्कने क्रममा इलाका प्रहरी कार्यालय मुग्लिनको बा १ झ १३९० नम्बरको स्कारपियो गाडी त्रिशूली नदीमा झरेको हो । गाडी त्रिशूली नदीमा खस्दा असई निश्चल तामाङ र चालक समेत रहेका जवान दीपककुमार मास्केको ज्यान गएको छ । सञ्जीव कार्की र लीलबहादुर चेपाङ हराइरहेका मु्ग्लिन प्रहरीका इन्स्पेक्टर योगेन्द्र हमालले जानकारी दिए । कालीखोलामा पहिरो जाने क्रम नरोकिएकोले बेपत्ताको खोजी हुन सकेको छैन । सोही स्थानमा एउटा मालवाहक ट्रक पनि पहिरोमा पुरिएको छ । मुग्लिन–नारायणगढ सडकखण्ड गएराति ११ बजेदेखि नै पहिरोले अवरुद्ध छ ।

यस्तै सोही पहिरोमा परी मुग्लिनदेखि नारायणगढ आउँदै गरेको ना ५ फ ७८२७ नम्बरको ट्रक पनि बगाएर भीरमा अड्केको छ । ट्रकका चालक भागेको र सहचालक सानु ब्लोन तामाङलाई घाइते अवस्थामा उद्धार गरिएको चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिए । अहिले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, एसपी थापा लगायतको टोली घटनास्थल पुगेको छ ।पहिरोका कारण बाटो अबरुद्ध भएपछि सवारी साधनहरुको लामो लाइन लागेको छ । सवारी साधनका सैयौं यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।

वैकल्पिक सडक प्रयोग गर्न आग्रह

मुग्लिन–नारायणगढ सडकमा पहिरोको जोखिम र गाडीको चाप बढेकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ । मुग्लिन–नारायणगढ सडकखण्ड आयोजनाका इन्जिनियर शिव खनालले झरी पर्न थालेसँगै सडकमा जोखिम बढेकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्नु भएको हो । मुग्लिन–नारायणगढ सडकखण्ड हुँदै पूर्व जाने गाडीले बनेपा–सिन्धुलीको बाटो प्रयोग गर्न सक्ने छन् । यस्तै पश्चिम ओहोरदोहोर गर्ने गाडीले पोखरा, पाल्पा हुँदै बुटवल निस्कने वैकल्पिक सडक प्रयोग गर्न सक्ने छन् । पहिरोका कारण दुवैतर्फ सवारीको लाम लागेको छ । पहिरोको बीचमा पनि गाडी रहेकाले यात्रु भयभित भएका छन् । सडक दिउँसो बन्द गरेर काम गर्ने हुँदा रातको समयमा सवारी चाप बढ्ने गर्दछ ।