मुग्लीन अपडेटः मृतक निश्चल कुमार तामाङको घर धादिङ खनियावास गाउँपालिका ४ रहेको पुष्टी

Avatar photo
Dhadingpost
शुक्रबार, असार ९, २०७४

धादिङ,असार ९- मुग्लिन सडक खण्ड अन्तर्गत कालिखोला नजिक खसेको पहिरोले प्रहरीको भ्यान बगाउँदा २ प्रहरीको मृत्यु भएको छ ।

मृत्यु हुने प्रहरीमा धादिङ खनिया बास गाउँपालिका-४ वस्ने वर्ष २९ का ईलाका प्रहरी कार्यालय मुग्लिङमा कार्यरत प्रहरी सहायक निरीक्षक निश्चल कुमार तामाङ र बारा हरैया ६ वस्ने वर्ष ३० का ई.प्र.का.मुग्लिङमा कार्यरत प्रहरी जवान दिपक कुमार मास्के रहेको प्रहरीले जनाएको छ ।

वेपत्ता भएका प्रहरी जवानहरुमा गोर्खा मकैसिंह -१ वस्ने वर्ष ३१ का ई.प्र.का. मुग्लिङमा कार्यरत प्रहरी जवान लिलबहादुर चेपाङ र तनहुँ रुपाकोट -३ वस्ने वर्ष २१ का ई.प्र.का.मुग्लिङमा कार्यरत प्रहरी जवान सन्दिप कार्की रहेका छन् ।

ईलाका प्रहरी कार्यालय मुग्लिङबाट प्रहरी निरीक्षक योगेन्द्र हमालको कमाण्डमा खटिएकोे टोलीले घटनास्थलमा २ जना प्रहरीको शव नदिको किनारमा पुरिएको अवस्थामा फेला पारेको हाे । प्रहरीसँग रहेको हतियार एसएलआर २ नाल, त्यसमा लाग्ने गोलि १०० राउण्ड, चाईनिज हत्कडी १ थान तथा संचार सेट हराएको प्रहरीले जनाएको छ ।

घाइते ट्रक चालक रामकुमार लामाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ट्रकका सह-चालक मकवानपुर मनहरी बस्ने बर्ष २७ का सानु ब्लोनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय मुग्लिङबाट प्रहरी सहायक निरीक्षक निश्चल कुमार तामाङको कमाण्डमा खटि गएको टोलीले अवरुद्ध सडक एकतर्फि खुलाई ईलाका प्रहरी कार्यालय मुग्लिङ तर्फ फर्कने क्रममा १.५ कि.मि. अगाडि कालीखोला भन्ने स्थानमा गएराती पहिरो झर्दा उक्त घटना भएको प्रहरीको भनाइ छ ।

विहीबार राति १० बजेको समयमा ईच्छाकामना गाउँपालिका–६ स्थित नारायणगढ मुग्लिङ सडक खण्डको चार किलो भन्ने स्थानमा पहिरो पन्छाएर प्रहरी टोलि मुग्लिन तर्फ जाँदै थियो । ईलाका प्रहरी कार्यालय मुग्लिङको ना.१झ. १३९० नं.को प्रहरी सहितको भ्यान र ना.५ ख. ७८२७ नम्बरको ट्रक समेत पहिरोले बगाएर सडकबाट तल त्रिशुली नदी किनारमा झरेको प्रहरीको भनाइ छ ।

ना.५ख.७८२७ नं.को ट्रक समेत त्रिशुली नदिको किनारमा पुर्ण रुपमा क्षती भएको अवस्थामा रहेको छ । ट्रकका चालक र सहचालकलाई उद्धार गरि उपचारको लागि भरतपुर ल्याइएको छ । वेपत्ता भएका प्रहरी र ना.१झ. १३९० नं.को प्रहरी भ्यानको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

अहिले मुग्लिन-नारायणगढ सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । भ्यान सहित २ प्रहरी अझै वेपत्ता छन् । अझै पहिरो खस्न सक्ने सम्भावना रहेकाले यात्रुलाई सो सडक खण्डको बैकल्पिक बाटो अपनाउन र सोहि सडक खण्डमा यात्रा गर्ने यात्रुहरुलाई सुरक्षा सतर्कता अपनाई यात्रा गर्न प्रहरीले अपिल गरेको छ ।