पहिरोले अवरुद्ध मुग्लीन -नारायगढ सडकखण्ड साँझबाट सुचारु

Avatar photo
Dhadingpost
शुक्रबार, असार ९, २०७४

धादिङ, असार ९- मुग्लिन-नारायणघाट सडक खण्डको कालीखोलामा झरेको पहिरोका कारण बिहीबार रातिदेखि भएको सडक अवरुद्ध शुक्रबार साँझ ६:२० बजे खुलेको छ ।
सडक सञ्चालन नहुँदा सयौं गाडीका हजारौं यात्रीहरु बाटोमा अलपत्र परेका थिए । सडक खुलाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली खटिएका थिए । पहिरो हटाउन दुईवटा एस्काभेटर प्रयोग गरिएको थियो । सडक बन्द हुँदा यात्रु तथा सवारी साधन बिहानदेखि नै बिच बाटोमा नै अलपत्र परेका थिए । सडक खुले पनि बिहानदेखि जाममा फसेका गाडीलाई बिस्तारै गन्तव्यतिर पठाउने काम भैरहेको छ । जसका कारण जाम सकिने केही समय लाग्ने छ ।

केही सुरक्षाकर्मी भने वेपत्ता प्रहरीहरुको खोजीमा पनि लागेका छन् । राति काली खोलाको पहिरोले बगाएर इलाका प्रहरी कार्यालय मुग्लिनको बा १ झ १३९० नम्बरको स्कारपियो गाडी त्रिशूली नदीमा पुर्‍याएको थियो । प्रहरी गाडीमा सवार असई निश्चल तामाङ र चालक समेत रहेका जवान दीपककुमार मास्केको ज्यान गएको थियो । उनीहरुको शव निकालिसकेको छ । प्रहरी सञ्जीव कार्की र लीलबहादुर चेपाङको भने खोजी भइरहेको मु्ग्लिन प्रहरीका इन्स्पेक्टर योगेन्द्र हमालले जानकारी दिए ।