पर्यटन उद्योगको लागि विनियोजन बजेट सन्तोष जनक छैन

Avatar photo
Dhadingpost
बिहिबार, असार १, २०७४

(कमल सापकोटा गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपाल (भिटोफ–नेपाल) को अध्यक्ष हुनुहुन्छ । सफल पर्यटन व्यवसायीसँगै समाजसेवामा पनि सक्रिय सापकोटासँग स्थानिय तहको निर्वाचनले दिएको सन्देश, पर्यटन क्षेत्रको पछिल्लो गतिविधिबारेको कुराकानीको सम्पादीत अंशः)

  • स्थानिय तहको निर्वाचनले संस्थागत गर्न सकेको समृद्ध–नेपालको मुलभुत आधारहरु के–के हुन् ?

यो निर्वाचनले इतिहासमा पहिलोपटक केन्द्रको अधिकार गाउँ–गाउँमा पु¥याएको छ । ति अधिकारहरुमा आर्थिक, सामाजिक, राजनैतिक, भौतिक, सांस्कृतिक आदि समान रुपमा समावेशी भएका हुन्छन् । भर्खरै सरकारले घोषणा गरेको सरकारको नीति तथा कार्यक्रम एवं बजेटमा पनि समृद्धिका मुलभुत आधारहरु सम्बोधन भएका छन् । गाउँमा स्थानिय सरकारलाई दिइएको अधिकारले पनि शहरको समृद्धि अब गाउँ–गाउँसम्म पुग्छ भन्ने कुरा स्पष्ट छ ।

  • पहिला कम स्रोत साधान, जनशक्ति र खर्च प्रयोग हुँदा त जनतालाई आवश्यक सेवा तथा सुविधाहरु प्रदान गर्न नसकेको राज्यले अब त झन् तीन गुणा बढेको यो अवस्थामा जनताले झन् सहज रुपमा राज्यका सेवा सुुविधा पाउन सक्छन् भन्ने आधार के छ ?

सबैभन्दा पहिला नेपाल सरकारको ईच्छाशक्ति हुनुपर्छ । हामीसँग स्रोत, साधान नभएको होइन तर, ईच्छाशक्ति नभएको कारण राज्यका सेवा सुविधाबाट बञ्चित भएका हौँ । तर, अब नेपाल सरकारले जहाँ अधिकार दिएको छ त्यहाँ व्यक्ति आफैँ कार्यकारी हुने भएकाले उसको ईच्छाशक्ति पनि अवश्य हुन्छ । मानौँ, एउटा घरको छोरो छुट्टिएर बस्यो भने उसले आफ्नो आधारभुत आवश्यकता पूरा गर्न अलि बढी परिश्रम गर्छ । त्यसकारण अब वडा, गाउँपालिका, नगरपालिका र महानगरपालिका हाँक्ने जिम्मा त्यहाँको नेतृत्वमा काँधमा आएको हुनाले उसले त्यहाँका स्रोत साधानको पहिचान र प्रयोग गर्ने प्रयास गर्छ र गर्नुपर्छ । त्यसैले अहिले पनि संघीयता नेपाले धान्न सक्दैन भन्ने एउटा भ्रम छ, तर, म यो कुरा मान्दिनँ । किनकि, हामीसँग भएका प्राकृतिक र सांस्कृतिक स्रोत साधान पहिचान र प्रयोग गर्न सक्यौँ भने हाम्रो देशमा संघीयता अत्यन्त अनुकुल हुन्छ ।

  • अहिलेको अवस्थामा हाम्रो देशमा समृद्धिको दृष्टिकोणमा संघीयता आवश्यक हो ?

हो, अहिलेको अवस्थामा हाम्रो मुलुकमा संघीयता आवश्यक र अनुकुल छ । किनकि, नेपालमा स्रोत साधानहरु जस्तै, नदिनाला, वनजंगल, हिमश्रृङ्खला, तालतलैया, संस्कृति आदी धेरै छन् । यस्ता स्रोत र साधानमा आर्थिक सम्भाव्यता धेरै छ । तर, विगतमा केन्द्रिले पनि समृद्धिको निम्ति अनुकुल नीति बनाउन नजानेकाले शहरकेन्द्रित विकास जुन थियो त्यसलाई संघीयताले गाउँ–गाउँमा पु¥याएको छ । अर्को कुरा राजनीतिक अधिकार पनि गाउँ–गाउँमा पुगेको छ । जसको माध्यमद्धारा जनताले आफ्नो अधिकार आफैँ फैसला गर्ने अधिकार राख्छन् । यि दुवै कारण संघीयता आजको आवश्यकता हो ।

  • यो त एजेण्डामात्र हो तर तपाईले भने झै हुने भनेको त कार्यान्वयन भए मात्र न हो, होइन र ?

मैले भनिसकेँ । किन यो सम्भावना छ भने, हिजो बगरको बागुवा खेर गएको थियो अहिले मैले कर लगाउँछु । हिजो वन खाली थियो अहिले मैले कर लगाउँछु । पर्यटनको सवालमा त्यहाँका स्रोत र साधानमाथि स्थानियले अधिकार राख्छन् । पहिला रोजगारको लागि शहरमा धाउनु पथ्र्यो तर अहिले गाउँ–गाउँमा रोजगारीका अवसरहरु सृजना भएका छन् । एजेण्डालाई कसरी कार्यान्वयन गर्ने भन्ने उदाहरणहरु यिनै हुन् ।

  • अघिल्लो निर्वाचन ०५४ र अहिलेको निर्वाचन ०७४ मा कति फरक पाउनुभयो ?

यी दुई निर्वाचनको व्यवस्था नै फरक हो । पहिला हामी केन्द्रिकृत एकात्मक सत्तामा थियौँ । अहिले जनताले आफ्नो अधिकार आफैँ पाउने हैसियत राखेका छन् । पहिले र अहिलेको निर्वाचनको संरचना नै फरक हो । यो बीचमा विकासको दृष्टिकोणले पनि हामी निक्कै अघि बढीसकेका छौँ । गाउँकोभन्दा शहरमा धेरै भोट बदर भएको छ । यो गाउँघरका मानिसहरुमा आएको राजनीतिक चेतनाको उपज हो । ठूलो कुरा गाउँघरका मानिसहरुमा राजनीतिक चेतनाको लहर आएको छ । जनतामा आएको यो चेतनाको लहर नै अघिल्लो र अहिलेको निर्वाचनको फरक हो ।

  • अहिले राजनीतिक पाटीले पाएको मत जनताको स्वविवेकले प्रदान गरेको पारदर्शी मत जुन जनतामा आएको राजनैतिक चेतनाको उपज हो ?

हामीले मतको सम्मान गर्नुपर्छ । मत प्राप्त गर्न चुनावमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विभिन्न आर्थिक, भौतिक, नैतिक र मनोवैज्ञानिक कुराहरु प्रयोग हुन्छन् । चुनावको जितमा विभिन्न टिक्काटिप्पणीहरु पनि आउँछन् । तिनीहरुलाई पनि नकार्न सकिँदैन । यो निर्वाचनले जनता सचेत भैसकेको प्रमाणि गर्दछ । त्यसकारण अब हामी राजनीतिकबाट एक कदम अघि बढेर समृद्धिको निम्ति भएका स्रोत साधानहरुलाई कसरी पहिचान र प्रयोग गर्ने र रोजगारीको वातावरण कसरी बनाउने भन्नेतर्फ अग्रसर हुनुपर्छ ।

  • आफ्ना लोभलाग्दा एजेण्डाहरु कार्यान्वयन गर्दै समृद्ध नेपाल निर्माणमा राजनीतिक पाटीहरु प्रतिबद्ध छन् भन्ने कुरामा तपाई ढुक्क हुनुहुन्छ ?

म ढुक्क छु । किनकि, पर्यटन उद्योगकै कुरा गर्ने हो भने व्यवसाय र समग्र उद्योगमा राजनीति भयो भनेर आवाज उठाउनेहरु आज उत्साहित भएर चुनाव लड्न गएका छन् । यसले राजनीतिले नै विकासका सबै कुरा निर्धारण गर्दछ भन्ने कुरा प्रमाणित गर्दछु । पछिल्लो राजनीतिकप्रति मानिसहरुमा पलाएको बितृष्णा सुधार्दै समृद्धी तर्फ बढ्नु आजको आवश्यक हो ।

  • लामो समयपछि भएको स्थानिय तहको निर्वाचनले दिने मुख्य सन्देश के हो ?

यसले समृद्धीको ढोका नै खोलेको छ । अर्को सन्देश भनेको, पहिलो चरणको निर्वाचन जसरी उत्साहजनकरुपमा भयो दोस्रो पनि यसरी नै उत्साहका र अनुकरणीय रुपमा सम्पन्न हुन्छ भन्ने नै हो । आर्थिक रुपमा दुई चरणमा निर्वाचन गर्नु घाटा हो । तर, सुरक्षाको दृष्टिकोणबाट चरणबद्ध निर्वाचन राम्रो हो ।

  • भर्खरैमात्र सरकारले घोषणा गरेको नीति तथा कार्यक्रम एवं नयाँ बजेटले पर्यटन उद्योगलाई न्यायोचित रुपमा सम्बोधन गर्न सकेको छ ?

समग्र बजेट राम्रो आए पनि पर्यटन उद्योगको लागि सरकारले विनियोजन गरेको बजेट सन्तोष जनक छैन । सरकारले नयाँ नीति तथा कार्यक्रम ल्याउन सकेन । पुरानोलाई नै निरन्तरता दिएको भएर बजेटले पर्यटन उद्योगलाई सम्बोधन गर्न नसकेको हो ।

  • प्रसङ्ग बदलौँ, नेपाल पर्वतारोहण संघ (एनएमए) को निर्वाचन नजिकिँदै गर्दा भिटोफ–नेपालको अनुकरणीय नेतृत्व गर्नुभएको तपाईले सो निर्वाचनलाई स्वस्थ र सुरक्षित अवतरण गराउन आफ्नो भूमिकालाई कसरी हेर्नुभएको छ ?

पर्यटन क्षेत्रमा हुने विभिन्न संघसस्थाको नेतृत्व लिनको लागि निर्वाचनमा अस्वस्थ प्रतिस्पर्धा गर्ने र ८० लाखसम्म खर्च गर्ने भन्ने जुन हल्ला आएको थियो त्यसलाई हामीले असत्य प्रमाणीत गरेका छौँ । त्यसैले, एनएमएको निर्वाचनलाई पनि भिटोफ–नेपालको जस्तै सर्वसम्मत नेतृत्व चयन गर्न तथा गराउन मेरो भूमिका महत्वपूर्ण छ भन्ने मलाई लाग्छ र मेरो भूमिका म ईमान्दारीताको साथ निर्वाह गर्छु भन्ने कुरामा म ढुक्क छु । साभारः टुरिजम् एक्सप्रेस