काँग्रेसले बैशाख ७ भित्रै उम्मेदवार छनौट गर्छ

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र २२, २०७३

(स्थानीय तहको निर्वाचन प्रचारको माहौल तातिँदै जान थालेको छ । सबै दलहरु आ–आफै जित्ने दावी सहित जनताकोमा जान थालेका छन् । दिनहुँ हुने चुनाव केन्द्रित कार्यक्रममा जान नेताहरुलाई भ्याइ नभ्याई छ । नेपाली काँग्रेस धादिङका सभापति रमेश धमला काँग्रेसलाई कसरी जिताउने अभियानमा छन् । युवा पुस्ताका जिल्ला नेतृत्वका रुपमा हेरिएको धमलालाई जुझारु आँटिलो र योजनाकार नेताका रुपमा काँग्रेस भित्र विश्लेषण हुने गर्दछ । सभापति भएर जिल्ला आएपछि नयाँ संरचनागत रुपमा पार्टी अगाडी बढाएका धमला सँग पत्रकार बाबुराम श्रेष्ठले गर्नुभएको कुराकानी ।)

आजभोली के मा व्यस्त हुनु हुन्छ ?

  • २०७४ साल बैशाख ३१ गते नेपाल सरकारले स्थानीय चुनावको मिति घोषणा गरे संगै नेपाली काङग्रेस चुनावी माहोल तथा जिल्ला सभापति भएकोले चुनावमा पर्टीका सबै अंगहरु परिचालन र पार्टीलाई थप मजबुद बनाउने गृहकार्य मानै व्यस्त छु ।

तोकिएकै समयमा चुनाव हुन्छ ?

  • अवस्य नेपाल सरकारले घोषणा गरेको मिति मै जनताहरुको माझ स्थानीय निकायको चुनाव हुन्छ । तोकिएकै समयमा चुनाव हुनुपर्छ । स्थानिय तहको चुनावलाई कसैले बिथोल्नु हुँदैन । यदि चुनाव बिथलियो भने देश धरापमा पर्न जान्छ । संविधान कार्यान्वयनमा समस्या हुन्छ त्यसैले चुनाव हुँदैन कि चुनाव हुने दिन सर्छकि भनेर सोच्नु नै आवश्यक छैन चुनाव तोकिएकै मितिमा हुन्छ ।

चुनावी माहौलको स्थिति के छ ?

  • आम धादिङबासी दाजुभाई दिदी बहिनीहरु र तमाम मतदाताहरु चुनावमा सहभागि हुन आतुर छन् । आफूलाई मनपरेको पार्टीका उम्मेदवारहरु चुन्न र जिताउन उत्साहित देखिन्छ । हामी पार्टीकार्यक्रमको सिलसिलामा होसवा अन्य कार्यक्रममा जनताकोमा जाँदा होस् लामो समय पछि अधिकार सहितको स्थानीय तहको निर्वाचनले जनताहरुमा उत्साहा छाएको छ ।

नेपाली काँग्रेस धादिङले चुनाव जित्छ ? चुनाव जित्ने आधार के ?

  • नेपाली काँग्रेसले चुनाव नजित्दा संघीय लोकतान्त्रिक गणतान्त्र संस्थागत हुन नसक्ने भएकोले आम मतदाताहरु नेपाली काँग्रेसका उम्मेदवारलाई चुनाव जिताउन तम तयार रहेको देख्दछु । नेपाली काँग्रेसको स्थिति राजनीतिक दृष्टिकोण, मूलुकलाई समृद्ध बनाउने उद्धेश्य र पार्टीको नेता–कार्यकर्ताहरुको व्यवहार, अनुशासित आचरण र मतदाताहरु प्रतिको सम्मान यसको मूल आधार छन् । हाम्रो पार्टीका महान नेता गिरिजा प्रसाद कोइरालाको त्याग नभएको भए मुलुकमा न गणतन्त्र आउँथ्यो न राजतन्त्र फालिन्थ्यो जनताले राम्रो सँग बुझका छन् ।

जनताले नेपाली काँङग्रेलाई भोट हाल्छन् ?

  • मतदान गर्न आम जनता उत्साहित देखिन्छन् । कारण के छ भने, सार्वभौम सत्ता जनतामा निहित संविधानको प्रयोग भएकोले सबै क्षेत्रका मतदाता मतदान गर्न आतुर छन् । जनताहरुको प्यारो, मुटुको ढुकढुकी, क्रियाशिल पार्टी नेपाली काँग्रेसलाई भोट हाल्न आतुर छन् ।

स्थानिय चुनाव पछि विकासले गति लेला त ?

  • स्थानिय निर्वाचन आम जनताको सार्वभौम सत्ता स्थापना अधिकार, स्थापना गरी सुशासन कायम गर्न आफूलाई मन परेको पार्टीका उम्मेदवार चुन्नु नै स्थानिय चुनाव हो । १९ वर्ष पछि जनताले जनप्रतिनीधि चुन्ने अवसर पाउँदै छन् । अधिकार सम्पन्न बनाइएको स्थानिय तहको चुनाव विगतको जस्तो होइन, यसले दुरगामी महत्व बोकेको छ, योजनाकार र कुशल व्यक्तिलाई जिताउन सकिएन भने विकासले गतिलिन सकिँदैन ।

उम्मेदवार छनौट मापदण्ड के छ ? कहिले सकिन्छ उम्मेदवार छनौट कार्य ?

  • हामीलाई उम्मेदवार छनौट गर्न कुनै अफ्ठ्यारो छैन, केन्द्रीय समितिको वैठकले बनाइदिएको मापदण्ड अनुसार नै उम्मेदवार छनौट हुने छन् । केन्द्रीय समितिको वैठकले स्थानीय तहमा पार्टीका तर्फबाट बनाउने उम्मेदवारको बारेमा टुङगो लगाउने कार्यभार क्षेत्र, जिल्ला र केन्द्रमा बाँड्ने निर्णय गरेको छ । नगरपालिकाको उम्मेदवार बनाउने जिम्मा सम्वन्धित जिल्ला समितिलाई तोकेको छ । गाउँपालिकाको प्रमुख उपप्रमुख र वडा अध्यक्ष र वडा सदस्यको चयन गर्ने जिम्मा क्षेत्रीय समितिलाई जिम्मा दिएको । काँग्रेसले आगामी बैशाख ७ गतेभित्र जिल्ला र क्षेत्रको निर्णय अनुसार सबै नगरपालिका, गाउँपालिका र वर्डाहरुमा उम्मेदवार छनौट गरि सक्छ ।