दुवै होटलमा नेपालीलाई प्राथमिकता : अर्जुन धरेल

Avatar photo
Dhadingpost
शनिबार, पुस १६, २०७३

अर्जुन धरेल
सञ्चालक, होटल स्विस टन इन/वेलकम इन गेष्ट हाउस
पहाडगञ्ज, नयाँदिल्ली, भारत

धादिङ स्थायी घर भएका अर्जुन धरेल भारतको नयाँ दिल्लीका नाम चलेका होटल व्यवसायी हुन् । वि.सं. २०४५ मा एसएलसी दिएपछि दिल्ली पुगेका धरेलले अहिले दुईवटा होटल सञ्चालक गरिरहेका छन् । आफ्ना होटलमा नेपालीहरुलाई प्राथमिकता दिँदै आएका धरेलले रोजगारीमा पनि नेपालीलाई प्राथमिकता दिएका छन् । व्यवसायिक भावना मात्र होइन सेवाको भावनासमेत भएका धरेलले दिल्लीमा पुगेर समस्यामा परेका नेपालीहरुको सहयोगमा पनि समय बिताउने गरेका छन् ।

भारतको राजधानी दिल्ली कहिले पुग्नुभयो ?
म २०४५ सालमा एसएलसी दिएर माघमा भारत आएको हुँ । गाउँका साथीहरुसँग म यहाँ आएको हुँ । एसएलसीको नतिजा पनि मैलै दिल्लीमै बसेर सुने । म द्वितीय श्रेणीमा एसएलसी उत्तीर्ण भएको रहेछु । होटलमा काम गर्दै जाने क्रममा मैले पढ्ने अवसर प्राप्त गरेँ । होटल व्यवस्थापनमा डिप्लोमा गरेँ । त्यसपछि करिब २ वर्ष यहाँ काम गरेँ । त्यसलगत्तै आफ्नो व्यवसाय शुरु गरेको हुँ ।

दिल्लीमा आएर व्यवसाय गर्दा सुरुको दिनमा समस्या परेन ?
व्यवसाय शुरु गर्ने क्रममा मलाई धेरै अप्ठ्याराहरु आइ परे । नियम अनुसार यहाँ घर भाडामा लिदा एक वर्षमा ११ महिनाकोे मात्र सम्झौता हुन्छ । ११ महिना पछि मात्र घर भाडामा दिने लिने दुवै राजी भएमा मात्र थप प्रक्रिया अघि बढ्छ । म विदेशी भएको हुँदा धेरै अप्ठ्यारा तथा बाधाहरु भ्mेल्नुप¥यो । नेपालका विभिन्न ठाउँमा आफ्नो व्यवसायको प्रचार–प्रसार गर्ने क्रममा मैले हौसला प्राप्त गरेँ । परिवारबाट एक्लै दाजुभाई मात्र बसेर हामीले यहाँ काम गर्न थाल्यौं । दिल्लीमा विभिन्न कामले आउने नेपाली दाजुभाइ दिदी बहिनीहरुको माया र साथ मैले पाएको छु । सुरुका दिनमा संघर्ष गरेपनि अहिले व्यवसाय सन्तोषजनक छ ।

दिल्लीमा बसेर व्यवसायसँगै नेपालीहरुको सेवामा पनि खटिदै आउनुभएको छ । सेवाको भावना कसरी आयो ?
विभिन्न चुनौतिको सामना गर्दै दुःख र मेहनत गर्दै जादा मैले नेपालीलाई नै प्राथमिकता दिएको छु । व्यापारी, उपचारको लागि तथा विभिन्न कामले दिल्ली आउने नेपालीहरु लुटिएको मैले देखेँ । त्यो देखेपछि मैले नेपालीको बिशेष ख्याल गर्न थालेँ र नेपालीलाई सहयोग गर्न थालेँ । व्यवसायमात्र ठुलो कुरा होइन सेवाको भावना आवश्यक छ भन्ने मलाई लाग्छ । सेवामा खटिन पाउँदा म आफूलाई आनन्दित महसुस गर्छु । दिल्लीमा आएर दुःख पाएका नेपालीहरुलाई अहिलेसम्म पनि आफूले सकेको सहयोग गर्दै आइरहेको छु ।

तपाईंको परिवार अहिले कहाँ हुनुहुन्छ ?
मेरो परिवार नेपालमै छ । छोराछोरीलाई मैले नेपालमा नै पढाएको छु । बाबा पलायन भएपनि हामी आफ्नै देशमा बस्छौं भन्ने उनीहरुको सोच छ । स्वदेशमा नै केही गर्ने उनीहरुको लक्ष्य छ । मैले पनि उनीहरुलाई आफ्नो ठाउँबाट साथ दिइरहेको छु ।

दिल्लीमा कति जनालाई रोजगारी दिनुभएको छ ?
मेरो होटलमा काम गर्ने कामदार पनि नेपाली नै छन् । ३० जना नेपालीलाई मैले प्रत्यक्ष रोजगारी दिएको छु । आफ्नै गाउँका मानिसलाई मैले काम दिएको छु । पारिश्रमिक भुक्तानी गर्ने क्रममा व्यवस्थित रुपमा बैंक खाताबाट उनीहरुको पारिश्रमिक नेपालमा नै पठाइन्छ ।

दिल्लीमा आउने नेपालीहरुले के–कस्ता समस्या भोेग्नुपर्छ ? तपाईंले उनीहरुलाई के–के सहयोग गर्दै आउनुभएको छ ?
लामो समय यहाँ बस्दा मैले सामाजिक क्षेत्रमा पनि काम गरेको छु । घुम्न, विभिन्न काम तथा अस्पताल जान आउनेहरुको लागि मैले विभिन्न सहयोग गर्दै आएको छु । यातायात व्यवस्थापन लगायत भाषाको समस्या, अस्पतालमा आइपर्ने विभिन्न समस्यामा मैले सहयोग गर्ने गरेको छु । विभिन्न बोर्डरबाट समस्याहरु झेल्दै आउने कतिपय दिदीबहिनीहरु बेचिने अवस्थामा पुगेका हन्छन् । उनीहरुलाई बेचिनबाट बचाएर उद्धार गरी नेपाली दुतावास हुँदै स्वदेश फिर्ता गराएको छु । आफ्नो व्यवसायलाई भन्दा समाज सेवालाई प्राथमिकता दिएको छु । सोझा, निमुखा, बोल्न नसक्ने व्यक्तिहरु जसले काम गरेर तलब समेत पाउँदैनन् उनीहरुको सहयोग गर्न म सधैं तयार हुन्छु ।

तपाईंले सञ्चालन गरेको होटलको विशेषता के हो ?
मैले दिल्लीको पहाडगञ्जमा होटल स्विस टन इन र वेलकम इन गेस्ट हाउस गरी २ वटा होटल सञ्चालन गरिरहेको छु । होटलमा नेपालीलाई बढी प्राथमिकता दिएको छ । अर्को वर्षदेखि मैले यसलाई प्रमोट गरेर अझै स्तरीय होटल सञ्चालन गर्ने तयारी गरेको छु । मैले नेपाली दाजुभाई तथा दिदीबहिनीलाई दिएको सेवा तथा सुविधा र उहाँहरुको मायाको कारण मेरो व्यवसाय फस्टाएको छ । म एउटा नेपाली भएको नाताले मैले प्रत्येक नेपालीलाई प्रत्येक बिलमा १० प्रतिशत छुट दिने गरेको छु । यसलाई मैले प्रचारको क्रममा पनि भन्ने गरेको छु । नेपाली रुपैयाँमा पनि मैले कारोबार गर्ने गरेको छु । विभिन्न कामको सिलसिलामा भारत आउने नेपालीले भारतीय रुपैयाँ साट्ने क्रममा ठगिने गरेको मैले पाएको छु । विभिन्न बोर्डर तथा अन्य ठाउँमा पैसा साट्ने क्रममा नेपालीहरुले चर्को मूल्य तिर्न बाध्य हुन्छन् । यस्ता समस्या समाधानको लागि मैले नेपाली रुपैयाँमा पनि कारोबार गरेर सहयोग गरिरहेको छु । बिशेष कारण पैसा नभएमा नेपालमा गएर तिर्छु भने पनि मैले त्यसको व्यवस्था मिलाएको छु । यहाँ आउने बिरामीको लागि निःशुल्क अस्पताल लैजाने व्यवस्था गरेको छु । मेरो यस होटलको मुख्य बिशेषता भनेको मैले नेपाली खाना खुवाउँछु । बिरामीलाई बिशेष महत्व दिन्छु । भाषा नजानेको खण्डमा ट्रान्सलेटरको भुमिका खेलेको छु ।

विभिन्न कामको शिलशिलामा भारतमा आउने नेपालीलाई के सल्लाह दिनुहुन्छ ?
भारत आउनु भन्दा पहिले आफनो परिचय खुलाएर मात्र आउनुहोला । नागरिकता नबनेका साथीहरु नागरिकता बनाएर मात्र आउनुहोला । नागरिकता नभएकै कारण बोर्डरमा हामीले विभिन्न समस्या झेल्ने गरेका छौं । बोर्डरमा बस्ने कर्मचारीहरु कानुनी रुपमा काम नगरी दलाली तरिकाले काम गर्ने गर्दछन् । पैसाको लोभमा काम गर्दछन् । हामी सचेत भएर बोर्डर क्रस गर्नुपर्छ । यातायातको क्षेत्रमा पनि विभिन्न समस्याहरु छन् । महिला दिदीबहिनीलाई झुक्याएर ल्याउने गरेको पाइन्छ । बोर्डरमा बस्ने सुरक्षाकर्मी तथा विभिन्न निकायले यसमा बिशेष ध्यान दिनुपर्छ र प्रक्रिया अनुसार चेक जाँच गरी सक्रिय भुमिका निवार्ह गर्नु आवश्यक छ । दिल्लीमा नेपाली विभिन्न राजनीतिक दलका भातृ संगठनहरु छन् । यिनीहरुले पनि नेपालीको समस्या समाधानमा बिशेष ध्यान दिनु आवश्यक छ ।

घुम्नका लागि भारत आउने नेपालीहरुको संख्या कस्तो छ ?
पछिल्लो समय भारतका विभिन्न स्थानहरुमा घुम्न आउने नेपालीको संख्या बढेको पाएको छु । दिल्लीमा विशेषगरी नेपाली व्यापारीहरु बढी मात्रामा आउनुहुन्छ । नेपाल आर्थिक रुपमा सम्पन्न छैन तर नेपालीको आर्थिक स्थिती सुध्रिएको छ । व्यवसायिक काम र घुम्न आउने नेपालीको रोजाईमा मैले सञ्चालन गरेको होटल पर्दा खुसी लाग्छ ।

होटलबाट नेपालीहरुलाई प्रदान गरिने मुख्य सुविधाहरु के–के छन् ?
के काम बिशेषले आउनुभएको छ त्यही अनुसार सुविधा प्रदान गरिन्छ । भाषाको समस्या छ भने मैले सकेसम्म समाधान गर्छु । कुन ठाउँमा के कामको लागि जान आएको हो सोही गन्तब्यमा पु¥याउँछु । फर्कने क्रममा टिकट बुकिङकोे व्यवस्था मिलाउने गरेको छु । घुम्न आउनेको लागि दिल्लीका विभिन्न स्थान तथा आगरा, मथुरा, बृन्दावन लगायतका ठाउँमा प्याकेजमा घुम्ने व्यवस्था मिलाउँछु र समस्या समाधानका उपाय सुल्झाउछु । भारतका अन्य शहर घुम्नको लागि पनि प्याकेजको व्यवस्था मिलाउँछु । मेरो २ वटा होटलमा ४४ कोठा छन् । औषतमा यी कोठाहरु प्राय भरिएका हुन्छन् । होटल पर्यटकमैत्री र सुविधा सम्पन्न पनि छ ।

नेपाली चेलीहरुलाई फसाउने गिरोह भारतमा सक्रिय छ भनिन्छ, सत्य हो ?
धेरै चेलीबेटीहरु गलत मानिसको संगतबाट तेस्रो मुलुक जाने क्रममा यहाँ आइपुग्ने गरेका छन् । भारतमा मात्र होइन नेपालमै पनि त्यस्ता गलत मानिसहरु छन् । उनीहरुबाट जोगिन आवश्यक छ । आफू बेचिन लागेको उनीहरुलाई थाहा हुँदैन । भर्खरै मात्र भारतीय प्रशासनको सहयोगमा महिलाहरुलाई दुतावास मार्फत नेपाल फर्काएका छौं । नेपाली महिलालाई सचेत गराउनु जरुरी छ । विभिन्न सम्बन्धित निकाय तथा पत्रपत्रिकाले आफ्नो ठाउँबाट पहल गर्नु आवश्यक छ । (साभारः खवरसेवाबाट)