एमाले नेतागणमा आग्रह, पछाडि फर्किने कुरा नगर्नुहोस्

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर २३, २०७३

बुद्धि तामाङ

कहिलेकाहिँ लाग्छ, हामीहरु अँध्यारोमै अभ्यस्त छौं । लामो समय अँध्यारोमा बसेकाहरुलाई एक्कासि उज्यालोमा आउँदा गाह्रो अवश्य हुन्छ। आँखा दुख्छ । तिरिमिरी हुन्छ ।

म काठमाडौंमा लामो समय बसेकै व्यक्ति हुँ । जब क्यानडा आएँ र फर्केर नेपाल जाँदा काठमाडौंको ट्राफिक भद्रगोल देखेर जिब्रो टोकेँ । भनिन्छ, वस्तु र चेतनाबीच द्वन्द्वात्मक सम्बन्ध हुन्छ । वस्तुले मान्छेको चेतनामा प्रभाव पारेको हुन्छ ।

मैले जे भोगेको छु, अनुभव गरेको छु त्यो प्रायः विकसित मुलुक जानुभएका साथीहरुले पनि त्यही अनुभव गर्नुभएको छ भन्ने लाग्छ ।

यति धेरै भद्रगोल, यति धेरै बेथिति र यति धेरै अव्यवस्था छ कुरा गरी साध्य छैन । अरु त अरु सरकारी कार्यालयसम्म व्यवस्थित छैन । सेवाग्राहीलाई लाइनमा राख्ने तरिकासम्म छैन ।
देश कंगाल छ । जनता अभावमा छन् । भएभरका युवाहरु विदेश हान्निएका छन् ।

देश बनाउने हो भने एकले अर्कोलाई हिलो छ्यापेर हुँदैन । म एक्लैले पहाड थाम्छु भनेर पनि हुँदैन। सबै मिल्नुको विकल्प छैन ।

हामीलाई आश लाग्न थालेको थियो अब चाहिँ देशमा केही हुन्छ भन्ने । तर केही दिन यताको राजनीति हेर्दा आशा लाग्ने अवस्था देखिनँ । हाम्रा नेताहरु अझै फेरिएका रहेनछन् भन्ने लागेको छ ।

उठेर बोलम हावाले उडाएर लान्छ, बसेर बोलम् कसैले सुन्दैन भने जस्तै हो । हामी जस्ताको कुरा कस्ले सुन्ला र ? त्यसमाथि युरोप-अमेरिका बस्नेहरुले देशको बारेमा बोल्न त बहुत होसियार हुनुपर्ने देखिन्छ । केही अलि बढी बोल्यो भने साला पिआरधारी भनी हाल्छन् ।

हामीलाई यहाँ भने जति टाढा उति गाढा भने जस्तै छ । तपाईंहरु जति आफ्नो देशलाई माया गर्नुहुन्छ हामीलाई पनि त्यत्तिकै लाग्छ । आफू जन्मिएको ठाउँ आफू हुर्किएको ठाउँ कसलाई पो प्यारो हुँदैन र !

आदरणीय नेताज्यहरु ! तपाईंहरुले देशको लागि लड्नु भो । राणा शासन फाल्नु भो । पञ्चायती निरंकुश व्यवस्था फाल्नु भो । गणतन्त्र ल्याउनु भो । संविधान बनाउनु भो । त्यसमा हाम्रो कुनै गुनासो छैन ।

कयौं मतभेदका बावजुद जसरी तपाईंहरु अगाडि बढेर आउनु भयो, त्यसरी नै अगाडि बढ्नु होस् ।

खासगरी एमालेका नेतागणमा मेरो आग्रह छ, अब पछाडि फर्किने कुरा नगर्नुहोस् । यसले थप बेथिति र अराजक्ता जन्मने छ । छिमेकीको स्वार्थ के छ सबैलाई थाहा छ । छिमेकीले के भन्छ के गर्छ त्यो प्रधान होइन । प्रधान त हामी नेपालीबीचको एकता कसरी बलियो हुन्छ भन्ने हो ।

अर्को कुरा नेता जनताको पछाडि वा भीडको पछाडि कुद्ने होइन । नेताले जनतालाई डोर्‍याउने हो । जनताको भन्दा नेताको चेतना एककदम अगाडि हुनुपर्छ । साथै, तपाईहरु त पछाडि पारिएकाहरुको आवाज पो बन्नुपर्छ । इतिहासले थिचिएका मिचिएकाहरुको चित्कार तपाईको नारा बन्नुपर्ने होइन र ?

देश टुक्रने कुरा कसैलाई पनि मन्जुर छैन । त्यसको लागि संविधानमा प्रष्ट लेख्नुहोस् । सिके राउतहरुका गतिविधिमा निगरानी बढाउनुस् । तर प्रदेशको नक्सामा लफडा नगर्नोस् । अलि बढी सहने ठूलाले हो । बाबुआमाले छोराछोरीसँग जोरी खोज्न सुहाउँदैन ।

जेजति मिलाइनुपर्ने छ, मिलाउनु पर्‍यो । एकतिहाई जनसंख्या भएको मधेसी समुदायलाई संविधान बाहिर राखेर संविधानको कार्यान्वयन हुँदैन । संविधानको स्विकार्यतालाई फराकिलो पार्दा देश टुक्रिँदैन । अझ आन्तरिक एकता मजबुत हुन्छ ।

त्यसपछि प्रमुख दलहरुबीच राष्ट्रिय सरोकारका बिषयहरुमा सहमति गरेर साझा अवधारणा बनाउनुहोस् र देशलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउनु होस् ।