स्कुलमा बम विस्फोट घटनाका ‘मुख्य योजनाकार’ समातिए

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक ५, २०७३

धादिङ कात्तिक ५ –

pakrau

गत असोज ४ गते काठमाडौं उपत्यकाका विभिन्न विद्यालयअगाडि बम राख्ने र विस्फोट गराउने समूहका थप चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी आयुक्त कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा घटनाका ‘मुख्य योजनाकार’ माओवादी कम्युनिष्ट केन्द्र नामक समूहका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव केशव दाहाल, पोलिटब्युरो सदस्य मुस्ताकिम अन्सारी र सो पार्टीको विद्यार्थी संगठनका संयोजक मीन देवकोटा रहेका छन् ।

उनीहरुको साथबाट नेपालमा नपाइने ग्यास सिलिन्डर, प्रेसरकुकर, बम बनाउने सामाग्री, पर्चा, ब्याट्री र कागजात बरामद भएको पनि प्रहरीले जनाएको छ ।

यसअघि, यही घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको थियो ।

सो समूहका नाइके देवेन्द्रसिंह महत भने अझै फारार रहेको र उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।

सो समूहले जोरपाटीस्थित मनकामना र आकाशदीप स्कुलमा बम विस्फोट गराएको थियो भने सानेपाको रेडियन रिडर्स एकेडेमी, डल्लुको कन्चनजंघा स्कुल, बौद्धको राई र इस्टपोल स्कुल तथा जोरपाटी माकलबारीको बालसंसार स्कुलमा बम राखेको थियो ।