खोजी नेपालको

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक २, २०७३

म आफ्नै भूमिमा
नेपाल खोज्दैछु
मावली बनेर चेलीको
अस्तु खोजेझै
अहॅ कही देख्दिन म
कही पाउदिन म
लगातार आठमासदेखि
खोजिरहेछु
सुन्दर, शान्त नेपाल

पारी टेक्छु
भारतीय बक्छ
बिहारीभन्दा बढीh
वारी सोध्छु
मधेसी बोल्छ
नेपालीभन्दा बढी

अचेल म मधेसमा
नेपाल खोजिरहेको छु
दुलाहा बनेर
स्वयम्वरमा
दुलही खोजेझै
अहॅ देख्दिन म
पाउदिन म
लगातार केही सातादेखि
खोजिरहेछु
स्थिर, समृद्द मधेश
सुन्दर, शान्त नेपाल

घामले डामिरहेको म
सहन नसकी
जागिरे मोज भूलेर
आफ्नै वस्ति कल्पेर
सोजनको सब्जी
टिकोलाको अचारसॅग
चामलको भात
चिनी, दही र सातु
अहॅ पचाउनै सकिन ज्यानले
सहनै सकिन मनले
जङ्गे पिलरसॅगै
निलेको स्वाभिमान
ङिच्च दात देखाउनै सकिन

अचेल म नेपाल सोध्दैछु
कतै भूले कि भनेर
राष्ट्रवादको नारामा
पाखण्डी बनेर
खाद्य, लत्ता र ओखती
बिना कर ढुवानी गरेर
उतैको नम्बरी गाडी
सुन, चादी र साडी किनेर
खाट्टी नेपाली बनेर
राष्ट्रवाद ओकल्दैछु
दिनहुॅ चोकमा जमेर
लगातार खोजिरहेको छु
समृद्द नेपाल
शान्त नेपाल
विशाल नेपाल

म आफ्नै भूमिमा
नेपाल खोज्दैछु
मावली बनेर चेलीको
अस्तु खोजेझै
स्वयम्वरमा दुलाहाले
दुलही खोजेझै
लगातार आठमासदेखि
खोजिरहेछु
सुन्दर शान्त नेपाल ।।

 

 

 

 

 

 

 

 

हाल:
वहुअर्वा, सर्लाही

नाम: गोपाल फ्युबा तामाङ
दार्खा -3, धादिङ