अस्पतालमा जागिर खाको २५ वर्ष भयो तलव ७ हजार अझै अस्थायी बोल्दिने को ?

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ १८, २०७३


नारायण सिलवाल
धादिङबेसी । निलो कुर्ता र कलेजी रङको सलवार । विगतले पोतेका दुःखहरु अनुहारमा पढ्न पाईन्छ । बुढेसकालको यो हातले कयौं कुँचो र झाडु फेरिसक्यो तर आफ्नै जीवन भने कहिल्यै फेर्न सकेन । न त आफ्नो जीवन नै समृद्ध बन्यो । भगवति रिजाल उनको नाम हो ।

जिल्ला अस्पताल धादिङमा उनको जागिर छ । यो जागिर गरेको झण्डै २५ वर्ष बितिसक्यो । योबीचमा धादिङ बजार भएर बहने थोपल खोलामा कति पानी बगे होलान् । न त त्यो पानीले भगवतिको दुख नै बगायो । पटक–दलहरुका थोत्रा आश्वासनले त छोएन नै यो पटक सरकारले बढाएको बजेटले पनि उनलाई चिनेन । २५ वर्षदखि भगवतिको तलब उही ७ हजार छ । यो बीचमा कति महंगी बढे होलान् । उनको जीवन कसरी चल्यो होला ? सरकारलाई के मत्लव । आखिर सरकार भनेको जनताका लागि कहाँ होर ? जनताले पो सरकारको लागि सेवा गर्नुपर्छ हैन र ?

धादिङ जिल्लाको निलकण्ठ नगरपालिका चार अल्छिडाँडाकी उनी नियतीहरुको शिकार बनेकी छिन् । उनको दुःख न सरकारले देख्छ, जिल्ला अस्पतालले सुन्छ ।

दैनिक जिल्ला अस्पताल धादिङबेसीमा भेटिने रिजालको जागिरे जीवन कम पिडादायी छैन ।

०४८ सालमा धादिङमा जिल्ला अस्पताल थिएन । तर उनी भने अस्पतालको काम गर्थिन् । जिल्ला अस्पताल बन्नुभन्दा अगाडीको जिल्ला हेल्थ सेन्टरमा करारमा कार्यालय सहयोगीको नियुक्ती पाएकी उनी अहिलेसम्म थाई भएकी छैनन् ।

उनीसँगै नियुक्ती लिएका अन्य कार्यालय सहयोगीहरुको अहिले बढेर २३ हजार पुग्यो । ‘अब बुढेसकालले छोयो, न स्थायी भईयो, न तलब नै समान छ, राज्यले सरकारले उपदान दिएको भए बन्दोबस्त हुन्थ्यो’ उनले भनिन् ।

०५८ सालमा उनीसँगै जागीर खाएकाहरु लोकसेवा आयोग मार्फत सबै स्थायी भए तर उनलाई भने उमेर हदबन्दीका कारण देखाईयो । र, उनले लोकसेवा आयोग फर्म भर्न नै पाईनन् ।

यो भनिरहन पर्दैनकी अस्पतालमा पियनको जागीर कस्तो हुन्छ । ‘यो काम गरेको यत्तिका वर्ष भयो म सँगै काम गर्ने साथीले २३ हजार पाउँछन्,’ उनले दुखेसो पोखिन्, ‘म ७ हजार कति सम्मको अन्याय हो समान कामको समान ज्याला खै ?’

०४८ सालमा १२०० तलब बाट जागिर सुरु गरेकी रिजाल एकल महिला हुन् । ‘एउटा छोरो छ, उसले पनि वास्ता गर्दैन, भएको यहि जागिर पनि उमेरका कारण छोड्ने दिन आई सक्यो,’ भावविहल हुँदै भगवति भन्छिन्, ‘अस्थायीमा सुरु गरेको अस्थायीमै अन्त्य हुने भयो । म जस्ता अन्यायमा परेका हरुलाई जुन सरकार के फरक नहुँदो रहेछ ।’

हेल्थ सेन्टरबाट सुरुभएको जिल्ला अस्पताल अहिले उच्च प्रविधि युक्त भै सकेको छ तर उनको जीवनमा भने कुनै नयाँ प्रविधि आएको छैन ।
‘यो अस्पतालको सबैभन्दा पुरानो कर्मचारी अहिले मै मात्र हुँ र अस्थाई पनि मै हुँ,’ आफूलाई अन्याय परेको दुखेसो पोख्दै उनले वाक्य टुङ्ग्याईन् ‘जागीरको पिडा मलाई भन्दा अरु कस्लाई होला, मेरो बारे बोल्दिने कोई छैन मैले बोलेको कसैले सुन्दैन ।’