एकीकृत जनक्रान्ती सम्पन्न गर्ने हाम्रो ध्येय हो- कार्की

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ १७, २०७३

विप्लव नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य मोहन कार्की ‘जिवन्त’ सशस्त्र द्वन्दकालमा चर्चित नाम हो । वि.स. २०१६ सालमा धादिङको निलकण्ठ गाविसमा जन्मिएका कार्की कम्युनिष्ट आन्दोलनमा सानैदेखी सक्रिय थिए । २०३६ सालको जनमत संग्रहमा समेत २ महिना जेल गुँजारेका उनी २०४४ सालमा रंगशाला प्रर्दशनको क्रममा पनि जेल परे । २०४५ सालमा तत्कालीन समयमा मोहन वैद्यले नेतृत्व गरेको मोटो मसालको धादिङ जिल्लाको प्रवक्ता समेत बनेका थिए । २०५२ फागुन १ देखि जनयुद्धकै क्रममा उनी धािदङ जिल्लाकै सचिव थिए । उनै कार्कीसँग पछिल्लो राजनीतिक अवस्थाबारे गरिएको कुराकानीको सम्पादित अंश:

हेर्नुस् माओवादीले सबै हतियार कहाँ बुझाएको छ र ? ४ सय (एके फोर्टी सेभन राईफल) कहाँ सबै सरकारलाइ बुझाएको छ र ? हामीसँग मात्रै होइन माओवादीका नेताहरुसँग पनि हतियार छ । वर्षामान, जर्नादन , बलदेव जीहरुसँग पनि हतियार छ ।

तपाईंहरुको पार्टी अहिले के गर्दैछ ?

अहिले हामी संगठन सुदृढीकरण तथा आन्तरिक प्रशिक्षणमा छौं । क्रान्तिकारीहरुलाइ एकजुट गर्ने, सर्वहारा वर्गको रक्षाको लागी जुटिटरहेका छौं ।

अहिले राजनीतिक बृतमा प्रधानमन्त्री ओली तपाईंहरुको महासचिव विप्लवको चर्चा छ । यसलाइ कसरी लिनुहुन्छ ?

प्रधानमन्त्री ओलीले हावादारी कुरा गरेकाले चर्चा बढी भएको हो । तर हाम्रो महासचिव विप्लवजीको चाँही चर्चा स्वाभाविक छ । नयाँ जनवादी सत्ता स्थापनाका लागि क्रान्तिकारीहरुलाई एकजुट गराई अलि कठिन बाटो रोजेकाले पनि चर्चा चलेको होला । हामी अहिले जनविद्रोहको तयारीमा भएकाले चर्चा चलेको होला ।

तपाईंहरु फेरी जनयुद्धकै तयारीमा हुनुहुन्छ हो ?

हामी जनयुद्धको तयारीमा छैनौं । अव एकीकृत जनक्रान्ति गर्ने हो । जनयुद्ध यसअघि नै एकचरण पुरा भइसकेको छ । अव हामी एकीकृत जनक्रान्ति मार्फत जनवादी सत्ता स्थापित गदै अगाडी बढ्रछौं ।

कस्तो हुन्छ तपाईंहरुले भनेको एकीकृत जनक्रान्ति ?

अहिलेको संसदवादी राजनीति बाट मुलुकको भलो हुँदैन । हामी उत्पीडित, अल्पसंख्यक, जनजाती, मधेशी, महिलाहरुको हितको लागि आवाज उठाउँदै आएका छौं । कार्यशैली भूमिगत छ । एकीकृत जनक्रान्ती गर्ने भनेको सशस्त्र क्रान्ति होइन । तर यसमा हतियार अनिवार्य सर्त हो । सरकारको कार्यशैली अनुसार हतियार कुन बेला उठाउने भन्ने तय गर्छ ।

हतियारको प्रयोग भएपछि सशस्त्र क्रान्ति र एकिकृत जनक्रान्ति एकै होईन र ? के फरक भयो र ?

यसअघि भएको जनयुद्ध हो । अब सबै समुदाय तथा पक्षको हक अधिकार स्थापित गर्न एकीकृत रुपमा क्रान्ति सम्पन्न गर्ने हाम्रो रणनीति हो । हाम्रो काममा अवरोध भयो भनेमात्रै हतियार उठ्ने हो । नत्र हामी हतियार तत्काल उठाउने पक्षमा छैनौं । सवै क्षेत्रमा जनसरकार मार्फत कामकारवाही गदै नयाँ सरकारको अभ्यास गरि जनवाद लागु गर्दै जाने नीति हाम्रो पार्टीले लिएको छ ।

तपाईंहरुको एकिकृत क्रान्तिमा सेना हतियार सबै हुन्छ होईन ?

हामीसँग अहिले केन्द्र, ब्युरो, जिल्ला र ईकाई मात्र छ । सेना निर्माण गरेका छैनौं । तर आवश्यकता अनुसार सेना पनि निर्माण गदै जान्छौं । हतियार भनेको त विचारको कुरा हो । विचार भएपछि हतियार त आफसे आफ आइहाल्छ नी ।

तत्कालिन माओवादीले पनि हतियार सहित १० वर्ष युद्ध लड्यो । तपाईंहरु पनि त्यसमा सहभागी हुनुभयो तर पूर्ण सफलता पाउनुभएन फेरी हतियारबाटै कसरी सफल हुनुहुन्छ ?

प्रचण्डले नेपाली जनतालाइ धोका दिए । पुरै संशोधनवादमा फसिसके । नेपाली जनताको हितमा काम गर्ने आशा गर्नु बेकार छ । हामी माओवादीले शुरु गरेको युद्धलाइ सार्थक रुपमा अगाडी बढाउन चाहान्छौं । शहीद वेपत्ता पारिएकाहरुको सपना साकार बनाउन चाहान्छौं । हामीसँग जनयुद्धकालमा लडेका लडाकु कमान्डरहरु पनि हुनुहुन्छ । आवश्यकता अनुसार हामी हतियार उठाउने तयारीमा छौं । अहिलेको ब्यवस्थामा जान हामीले युद्ध लडेकै होइन ।

लडाकु निर्माणमा लागिसक्नु भयो रे होइन ?

हाम्रो महासचिव विप्लव तत्कालीन प्रचण्ड नेतृत्वमा रहेको माओवादीकै बेला ३ वटा डिभिजन प्रमुख हुनुहुन्थ्यो । कसरी युद्ध गर्ने भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ । अहिले पनि हामीसँग विभिन्न डिभिजनमा काम गरेका साथीहरु हुनुहुन्छ । यसको अर्थ लडाकु निर्माण भयो भन्ने होइन । हामीले औपचारिक रुपमा सेना निर्माण गरेका छैनौं ।

हतियार पनि तपाईंहरुसँग छ नी होइन ?

हेर्नुस् माओवादीले सबै हतियार कहाँ बुझाएको छ र ? ४ सय (एके फोर्टी सेभन राईफल) कहाँ सबै सरकारलाइ बुझाएको छ र ? हामीसँग मात्रै होइन माओवादीका नेताहरुसँग पनि हतियार छ । वर्षामान, जर्नादन , बलदेव जीहरुसँग पनि हतियार छ ।

अब कसरी अगाडी बढ्नुहुन्छ त ?

हामी अव भ्रष्टाचारी, कालोबजारी लगायतलाई जनकारबाही गर्ने पक्षमा छौं । वैचारिक रुपमा प्रतिरोध गर्दै किन एकीकृत क्रान्ति गर्ने भन्नेमा जनतालाई बुझाउँदै जाने योजनामा छौं । तत्काल फौजी प्रतिरोध गर्ने पक्षमा छैनौं । जनवर्गिय संगठन लगायत सिंगो संगठनलाई मजबुद बनाउदै जनताको पक्षमा जनमत तयार पादै जान्छौं ।

दलका नेताहरुलाई पनि कारबाही गर्नुहुन्छ ?

हामी दल विशेषलाई कारवाही गर्ने पक्षमा छैनौं । केवल भ्रष्टचारी, घुसखोरी, फटाहा जालीलाई जनकारवाही जेठको २० गतेदेखि संगठित रुपमा सुरु हुन्छ । चैत्रमा सम्पन्न केन्द्रीय समितिको निर्णय अनुसार ३ महिने अभियान पुरा भएपछि थप कार्याक्रम लिएर जनताकहाँ जान्छौं । असार साउनसम्म अभियान सञ्चालन गर्ने पक्षमा छौं ।

संगठन निर्माण कसरी हुँदैछ ?

हामीले ७५ वटै जिल्लामा जनसरकार गठन गरिसक्यौं । अव स्थानीय स्तरमा गठन गर्दैछौंं । समिक्षा गरेर वैचारिक, सांगठानिक तथा आर्थिक पक्षलाई कसिलो बनाउदै जान्छौं ।

विभिन्न अभियोगमा सरकारले तपाईंहरुका कार्यकतालाई पक्राउ गरेको छ नी ?

सरकारले जे रवैया गरेको छ, त्यो गलत छ । धादिङ, काठमाण्डौं, झापा लगायतमा केही साथीहरुलाई पक्राउ गरि दुःख दिने काम सरकारले गरेको छ । यसको बारेमा हामी गम्भिर भएका छौं । नागरिकको बाँच्न पाउने हक विरुद्ध सशक्त रुपमा हामी प्रतिरोध गर्छौं ।

अब के गर्नुहुन्छ त ?

हामी दीर्घकालीन रुपमा जनयुद्धमा जाने हाम्रो रणनीति होइन । छोटो समयमा राजनीतिक हस्तक्षेप गरेर एकीकृत जनक्रान्ती सम्पन्न गर्ने हाम्रो ध्येय हो । हामी भारत लगायत खाडी मुलुकहरुमा समेत संगठन निर्माण गरि बलियो संगठन बनाउदै छौं । चीनसँग पनि हाम्रो कुरा भैरहेको छ । त्यसैले स्वदेश र विदेशमा रहेका नेपालीहरुबीचमा समेत पुगी संगठन बलियो बनाई राज्यलाई ठूलो धक्का दिई राजनीतिक परिर्वतन गराउने पक्षमा हामी छौै । हेर्दै जानुहोला हामी सफल हुन्छौं । दियोपोष्टबाट साभार गरिएको